२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

प्रकृति हाम्रो होइन, हामी प्रकृतिका

हामी सबैको यो साझा पृथ्वी प्राकृतिक स्रोतले भरिपूर्ण छ। मानवमात्र नभएर जीवजन्तु, कीरा फट्याङग्रा पनि प्रकृतिमै अश्रित हुन्छन्। यसो सोचौँत, हामीले आज बिहान प्रयोग गरेको जुत्तावा अहिले न्यानो हुन ओढेको स्वेटर केबाट बनेको हो? उत्तर प्रस्ट छ, पक्कै पनि प्राकृतिक स्रोतबाट। हामीले फेर्ने श्वास प्रकृतिकै वरदान हो भन्ने कुरा त भनिरहनु नै नपर्ला । यो हिसाबले त हाम्रो सबै भन्दा मिल्ने मित्र प्रकृति हुनुपर्ने हो, हैन र?

जनसंख्या वृद्धिले गर्दा र प्राकृतिक स्रोतको सही प्रयोग गर्न नजान्दा हामीले वातावरणमा ह्रास निम्त्याइरहेका हुन्छौं। आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि वातावरणलाई ध्यानमा नराखी नयाँ नयाँ आविष्कार गरेर प्रकृतिलाई हानि पुर्‍याउन हामी कहिल्यैपछि पर्दैनाैं। जुन खोलाले हामीलाई पानी दिन्छ, त्यही खोलाको अत्यधिक दोहन गरेर हामी त्यसको अस्तित्व मेटाउन लागिपरेका हुन्छौँ। घरछेउको पसलबाट एक मुठा साग ल्याउनलाई पनि हामीलाई प्लास्टिकको झोला चाहिन्छ।  

त्यतिमात्र हैन, उब्जनी भइरहेको जमिनमा धेरै अन्नको लोभमा विभिन्न रासायनिक मल हालेर हामीले माटोको ऊर्बराशक्ति बिगार्दै गइरहेका छौं।  विभिन्न हाइब्रिड बिउले गर्दा हाम्रा स्थानीय प्रजाति लोप हुँदै गइरहेका छन् । हामीले गरेको यी अमानवीय व्यवहारले हामीलाई मात्र भन्दा पनि चेत नभएको जीवजन्तुलाई अझ धेरै हानि गर्छ। यहाँसम्म कि जीवजन्तुका अनुवांशिक अवशेषमा पनि प्लास्टिकका कण भेटिन थालेका छन् ।  

प्रकृतिलाई बुझ्न र महसुस गर्न एकदमै जरुरी छ। प्राकृतिक प्रणाली नबुझ्दाको असर सिधै हामीमा आइपर्छ । त्यसैले प्रकृतिको सम्बर्धन र प्रवर्धनबारे जनचेतना अभिवृद्धि गर्नुधेरै जरुरी छ। मुख्य कुरो त हाम्रो शैक्षिक प्रणालीमा सुधार ल्याउनुपर्ने देखिन्छ । हाम्रो हरेक सिकाइकागजी छ जसलाई प्रयोगात्मकरूपमा ढाल्न निकै कठिन हुने गरेको छ । हामी घनत्व, गुरुत्वाकर्षण भनेर पढ्छौँ तर पहिरो के कारणले जान्छ भनेर सोधे थोरैले जवाफ दिन सक्छन् । अर्को ठूलो समस्या कहाँ छ भने हामीले विद्यार्थीको दिमागमा यसरी कुरा पुर्‍याउँछौँ कि भोलि गएर उसलाई किसान र डाक्टरमा छान्नुपर्‍यो भने डाक्टर नै रोज्छ किनभने किसानलाई तल्लो वर्गको रोजगारीका रूपमा हामीले स्थापित गरिदिएका छौं। भोलिको दिनमा खानलाई अन्न नहोस् त, के गर्ने सोचेका छौ हामीले?

कोभिड–१९ सँगै हुर्केकोअहिलेको पुस्ताले प्रकृतिसँगको हाम्रो निर्भरता धेरै नजिकबाट नियालेको छ। वातावरण र प्रकृतिलाई हानि गर्दाको फल भोगिसकेको छ। त्यसैले आउँदो पुस्ताको भविष्य सुनिश्चित गर्न अहिले आजैबाट हाम्रो व्यवहार परिवर्तन गर्न जरुरी छ । वातावरणमैत्री व्यवहारको विकास गर्न विद्यालयस्तरदेखिनै यी सान्दर्भिक विषयका कुराकानी समेटिनुपर्छ। हामीले भोगेका र देखेका सबै कुरालाई पनि सिकाइका रूपमा लिएर हाम्रो आउँदो कार्यक्रम र गतिविधिहरूको योजना गर्नुपर्छ । हालसम्म भएका क्षतिलाई थप बढ्न नदिइअबका दिनमा वातावरणलाई कसरी सुधार्ने भन्नेतर्फ ध्यान दिँदै योजनबद्ध ढंगबाट अगाडि बढ्नुपर्छ ।  

आजका बालबालिका भोलिका कर्णधार हुन भनेर कुर्नुभन्दा आजका बालबालिकालाई आजकै कर्णधार बनाउने समय आएको छ । घर परिवारले बालबालिकालाई व्यावहारिक ज्ञान दिनु जरुरी छ। दोस्रो घरका रूपमा पनि विद्यालयबाट नै विद्यार्थीलाई सही मार्गदर्शन दिँदै एक कुशल र दक्ष जनशक्ति उत्पादन गर्नतर्फ प्रेरित गराउनुपर्छ। इको–क्लब, इको–गार्डन जस्ता कार्यक्रममा विद्यार्थीलाई संलग्न गराउनुपर्छ। इको–घर,स्कुल वरिपरि बोटबिरुवा लगाउने, सफाइ गर्ने, जथाभावी फोहोर नगर्ने, आफ्नो अनि आफ्नो परिवारको स्वास्थ्यमा ध्यान दिने, जीवजन्तुलाई हानि नगर्ने जस्ता सिकाइ आफ्ना बच्चालाई दिनु अत्यावश्यक भइसकेको छ । विद्यालयले भविष्य कोर्न मद्दत गर्ने भएकाले संरक्षणसँग सम्बन्धित जनचेतना विद्यालयस्तरबाट नै सुरुवात गराउनुपर्छ ।त्यसैगरी, प्रकृतिको महत्वबारे बुझाउने स्थलगत भ्रमणहरू गर्ने/गराउने, प्राकृतिक स्रोतका बारेमा बुझाउने गरे मात्र पनि विद्यार्थीले ती कुरा बुझ्न सक्छन् र आफ्नो जीवनमा उतार्न सक्छन्। यसो गरे मात्र हामी प्रकृतिको संरक्षण र प्रवर्धनमा योगदान पुर्‍याउन सक्छौँ ।

जब एउटा सानो चमेराले पुरै संसारलाई कोभिड–१९ को त्रासले हल्लाउन सक्छ भने के हामी सबैको स–सानो पहलले परिवर्तन ल्याउन सकिँदैन ? पक्कै पनि सकिन्छ । साँच्चै तपाईँ हामी जस्तै प्रकृतिलाई पनि मायाको खाँचो छ। यदि सबैले यस्तै सोच्ने भए, हामी सबैले खोजेको सुन्दर र हराभरा वातावरण बनाउन सकिन्छ।

(शिक्षा शाखा, डब्लुडब्लुएफ नेपाल)

प्रकाशित: ५ चैत्र २०७७ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App