३१ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

उपनिवेश हो र नारीको शरीर?

कहिलेकाहीँ लाग्छ, नेपाली समाज र त्यसभित्रका व्यक्ति व्यक्तिमा एकसेएक  'श्री ३' र 'श्री ५'हरू जिउँदै छन् र तिनका लागि महिलाको शरीर भोगिने, डामिने र जलाइने वस्तुबाहेक केही होइन। लाग्छ, तिनले लोकतान्त्रिक गणतन्त्रमा पनि नेपाली मानसमा शासन गरिरहेका छन्। र, उनीहरूको आदेशमा कहिले काठमाडौँ, किन्डोलमै प्रमिला शाक्यलाई बोक्सीको आरोपमा १४–१४ वर्षसम्म घरलाई जेलजस्तो बनाएर कैद गरिन्छ। कहिले उनीहरूकै निर्देशनमा चितवन, बघौडाकी ढेगनीदेवी महतोलाई बोक्सीको आरोपमा कुटपिटपछि जिउँदै जलाइन्छ। कहिले त उनीहरूले नै बोक्सीकै आरोपमा पर्सा, सुपौल–९ की पार्वतीदेवी थारु चौधरीको निर्मम हत्या गर्छन्, छिमेकी र गाउँले पुरुषको अवतार लिएर कुटपिट गर्दै।
इतिहासकारद्वय तुल्सीराम वैद्य र त्रिरत्न मानन्धरको 'क्राइम एण्ड पनिसमेन्ट इन नेपाल'अनुसार श्री ५ र श्री ३ हरूले प्रत्यक्ष शासन गर्ने जमानामा बोक्सीको आरोप लगाएर महिलाहरूको जिब्रोमै तातो फलामले डाम्ने गरिन्थ्यो। उनीहरूको आदेशमा बोक्सीको बात लागेको महिलाको कपाल मुण्डन गरिन्थ्यो, दिसापिसाबजस्ता अभक्ष खुवाइन्थ्यो, तिनका सबै गरगहना जफत गरिन्थ्यो र अन्ततः उनलाई जिउँदै जलाइन्थ्यो वा अन्य तरिकाबाट मारिन्थ्यो। सन् १८२० को दशकमा केन्द्रमा श्री ५ राजेन्द्रको नाममा भीमसेन थापाको शासन चल्ने र पाल्पा–बुटवलतिर उजीरसिंह थापाको हुकुम चल्ने बेला तथाकथित बोक्सीहरूलाई अभक्ष खुवाएर जिल्लाबाट निकाला गरिन्थ्यो। लाग्छ, शाह शासकहरूले थालेको 'असली हिन्दुस्तान' बनाउने अभियानलाई सन् १८५४ मा मुलुकी ऐन बनाएर व्यवहारमा अनुवाद गर्ने राणाशासन गाउँसहर र परिवारपरिवारमा अझै चलिरहेको छ। राज्यमा उनीहरूको प्रत्यक्ष शासन समाप्त भए पनि नेपालीहरूको मनमस्तिष्कलाई आफ्नै पुरातन धर्म, कुपरम्परा र अन्धविश्वासले सांस्कृतिक उपनिवेश बनाएर हुकुम चलाउँदैछन्। र, दुई सय वर्षको लामो दूरीमा बाँचेका केही नेपाली पनि उन्नाइसौँ शताब्दीका तिनै शासकका नयाँ अवतारजस्तै देखिन्छन्, एक्काइसौँ शताब्दीका राजामहाराजाजस्तै छन्। त्यस्ता सांस्कृतिक राजामहाराजाको असांस्कृतिक, अवैज्ञानिक र अमानवीय शासनको सिकार हुँदै आएका छन्, मूलरूपमा महिला र दलितहरू।
गाउँ निकाला
आफूमाथि भएको बलात्कारको दुस्प्रयासविरुद्ध उभिँदा मोरङ, बेलबारीकी माया सार्कीलाई सार्वजनिकरूपमा कुटपिट, कालोमोसो र जातीय भेदभावको सिकार बनाइयो। सिकारलाई नै थप सिकार बनाउने, सिकारीलाई प्रहरी प्रशासनले परोक्षरूपमा संरक्षण दिने तथा न्यायालयले पनि कमजोर मुद्दाका रूपमा फैसला दिने तथा सवर्ण प्रशासकद्वारा चलेको राज्य पीडितलाई सहायता र पीडकलाई सजाय दिने मामिलामा तटस्थ बसिदिने भएपछि माया सार्कीहरू गाउँबाटै अघोषित निकालामा पर्छन् नै। आफ्नै देशमा आफ्ना गाउँबस्तीका छिमेकीबाट निर्वासनको सजाय पाएकी ती महिला अझै घर फर्कन सकेकी छैनन्, तर श्री ५ र श्री ३ बाट अविच्छिन्न निरन्ततरता पाएको राज्यलाई दलित महिला निर्वासित भएकोमा कुनै चिन्ता छैन।
कतिसम्म भने सवर्ण भिडले पत्रकार मनोज विश्वकर्मामाथि पनि कुटपिट गर्दै कालोमोसो दल्दासमेत राज्य र प्रशासन मात्रै होइन, विभिन्न पार्टीका अनेक नामधारी पत्रकार संघ र नेपाल पत्रकार महासंघसँगै प्रेस काउन्सिलसमेत मौन धारण गर्छन्, मानौँ उनी पत्रकारै होइनन्! पत्रकार विश्वकर्माको 'अपराध' हो, बलात्कार प्रयासको सिकार भएकी गाउँले दलित महिलाका लागि प्रहरी प्रशासनमा गएर न्याय माग्नु। यही 'अपराध' गरेबापत उनको पत्रिका र उनका दाजुको स्कुल बन्द हुने र उनीलगायत अधिकांश दलितको उठिबासै हुने स्थिति आयो भने पनि एकसेएक नयाँ राजामहाराजाहरूका गोहीको आँसुसमेत चुहिने सम्भावना देखिएको छैन।      
चाहे ढेगनीदेवी होऊन् या पार्वतीदेवी वा मायादेवी होऊन्, वास्तवमा उनीहरू नयाँ राजामहाराजाहरूको सिकार हुँदा अझै न्याय पाइने अवस्था आइसकेको रहेनछ। त्यसो त न्यायको हकदार हुन सर्वप्रथम महिलालाई 'मानिस'को रूपमा स्वीकारिने व्यवस्था निर्माण हुनु जरुरी हुँदोरहेछ। त्यस्ता मानिसलाई राज्यका 'नागरिक'का रूपमा हक र अधिकार पाउने प्रणाली सिर्जना भयो भने मात्रै न्याय सुलभ हुँदो रहेछ। तर अहिलेसम्मको तीतो सत्य के हो भने महिलाहरूलाई वस्तुभन्दा माथिको स्तर दिइएकै रहेनछ। उनीहरूलाई भोग वा उपयोगको चिज ठानिने, किनबेच, हिंसाचार र विभिन्न खालका सिकार गरिने माल मानिने भएकाले नै उनीहरूको हैसियतका मानिसको जस्तो, नागरिकको जस्तो नभएको हो। महिला शरीरको वस्तुकरणले समाजमा अमानवीकरणको झारपातलाई मलजल दिने कार्यलाई व्यापकता र सघनता दिइरहेको छ।
एक्काइसौँ शताब्दीका 'भर्चुअल इम्परर'
चाहे उन्नाइसौँ शताब्दीका श्री ५ राजेन्द्र र उनका प्रशासक कर्णेल उजीरसिंह थापा हुन् या एक्काइसौँ शताब्दीका अनिल चौधरी वा जीवन भेटवाल, उनीहरूको मनमस्तिष्कमा शासकीय स्वामित्वको संस्कृति रहेको हुनुपर्छ। यो त्यस्तो संस्कृति हो, जसले अरुमाथि शासन गर्न मन पराउँछ, जसले महिलामाथि स्वामित्व स्थापना गर्न रुचाउँछ, जसले अरु समुदायमाथि उपनिवेश कायम गर्न प्रेरित गर्छ। यस्तो संस्कृति भएका पुरुषमा रहने स्वामित्व चेतनाले नै उसलाई 'भर्चुअल इम्परर' बनाउने हो। शासन गर्न आफ्नो हातमा राज्य नभएर के भो, समाज, परिवार र कार्यालय छँदैछन्, ती पनि नभए पत्नी र छोरी त छँदैछन्। उनीहरूका लागि उपनिवेश बनाउन देश र भूमि नभएर के फरक पर्छ, महिला र अन्य कजोर समुदायको मनमस्तिष्क त छँदैछ।
चिन्तक पाउलो फ्रेरेका अनुसार, यस्ता पुरुषमा आफूलाई विश्व र मानिसको स्वामी ठान्ने भाव प्रभावशाली हुन्छ। विश्व र मनुष्यमाथि प्रत्यक्ष, ठोस र भौतिक स्वामित्वबिना उत्पीडक चेतनाले आफूलाई बुझ्नै सक्दैन। कहाँसम्म भने त्यस्तो स्वामित्वबिना उसको अस्तित्वसमेत हुँदैन। कुनै वस्तु किनबेच वा भोगचलन गर्न सकिने भावसहित विकास हुने स्वामित्व चेतले महिलाको शरीरमाथि आक्रमण गर्न पनि उक्साउने हो। कुनै न कुनै तरिकाबाट महिला शरीरमाथि आफ्नो स्वामित्व स्थापित गर्न सकिने रहेछ भन्ने मनस्थितिकै उपज हुन्, बलात्कार, कुटपिट, यातना र हत्याजस्ता प्रत्यक्ष हिंसाका व्यवहार। सामान्यतः यस्ता हिंसाचारलाई भावनात्मक उत्तेजनाको कार्य मान्ने, त्यसको जरो जैविक कारणतिर मात्रै खोतल्ने सैद्धान्तिक र व्यवहारिक पद्धति समाजमा अझै प्रभावशाली रहेको छ। यस्ता हिंसा र अपराधलाई व्यक्तिगत समस्या ठान्दै, हिंसा र अपराध गर्ने व्यक्ति एवं व्यक्तिका शरीरमा मात्रै कारकतत्व खोज्ने नीति र नियत नै राज्यको व्यवहारमा पनि देखिएको छ।
वास्तवमा बलात्कार वा अन्य हिंसाचार सर्सती हेर्दा व्यक्तिगत र जैविकजस्तो देखिन सक्छ र यो अस्वाभाविक पनि होइन। तर त्यस्ता हिंसाचारको नेपथ्यमा मूलतः समाज रहेको हुन्छ, सामाजिक संरचना कारकतत्वको रूपमा रहेको हुन्छ। किनभने बलात्कारी वा कुनै पनि खालको हिंसा गर्ने व्यक्तिका विचार र व्यवहारको निर्माण सामाजिक संरचनाले गरिरहेको हुन्छ, व्यक्तिका धारणा, रुचि, स्वाद, स्वार्थ र संस्कृतिको निर्माता त सामाजिक संरचनै हुने गर्छ। सामाजिक संरचनासँग व्यक्तिको अन्तद्वन्र्द्व र अन्तर्सम्बन्धले यस्ता सांस्कृतिक पक्षको निर्माण र विघटन गरिरहने तथ्यले नयाँ तथा पुराना राजामहाराजाहरूको व्यवहार पढ्न सघाउँछ।
स्वामित्वको लडाइँ   
सामाजिक संरचना चाहे सामन्तवादी होस् या पुँजीवादी, पुरुषमा स्वामित्व चेत र उपभोक्तावादी भाव जन्माउने मामिलामा उन्निसबीसको मात्रै अन्तर होला। दुवै संरचनाले पुरुषलाई स्वामी, भोगी र शासक बनाइरहेको स्थितिमा धेरैजसो महिला नै तिनको सिकार हुँदै आएका छन्। महिलालाई अझै पनि पाल्तु, घरेलु, पतिव्रता बनाउने संस्कृति घरपरिवारमा व्याप्त छ भने समाजमा पनि उनीहरूका स्वतन्त्रता, समानता र प्रगतिको बाटो छेक्ने तथा उनीहरूको गतिशीलतालाई नियन्त्रण र दमन गर्ने संरचना एवं संस्कृति प्रभावशाली छ। हुुन त यो बिस्तारै खुकुलिँदै पनि छ। त्यही प्रभावशाली संरचना एवं संस्कृतिको अभिव्यक्तिका रूपमा बलात्कार र अन्य खालका हिंसाचार देखिएका छन्।
कुनै केटी राम्री देखिनै नहुने, उसमाथि आफ्नो स्वामित्वको लालचा पैदा भइहाल्ने! कुनै महिला स्वतन्त्र, गतिशील र श्रमशील भएको देख्नै नसकिने, उसमाथि डाहा, ईर्ष्या र जलनका साथ छेकबार लगाउने शासकीय मनोभाव जन्मिहाल्ने! उनीहरूका प्रतिरोधलाई हिंसात्मक उपायद्वारा नष्ट गर्न गाउँ, सभा र भलादमीलाई उपयोग गर्ने! उनीहरूमाथि सके नियन्त्रण गर, नसके नष्ट गर भन्ने मत र मति पुरुषहरूका हुनु भनेको  सामन्ती संस्कृतिको नयाँ अभिव्यक्तिबाहेक के हुनसक्छ र? चाहे शरीरको होस् या सम्पत्तिको, चाहे वस्तुको होस् या देशको, के पुरुषको कामै तिनको स्वामी हुनु हो? स्त्री र सम्पत्तिमाथि कब्जाका लागि ठूलठूला लडाइँ भएको इतिहासकै 'मिनियेचर' (लघु रूप)को रूपमा समाज र परिवारमा युद्ध जारी रहेको छ। त्यसकै धेरै हदसम्मको विस्तार होः महिला शरीरको मात्रै होइन, अन्य व्यक्तिका शरीर, विचार, भूमि, सम्पत्तिमाथि स्वामित्व स्थापित गर्ने कार्य। अचेल ब्रिटिस साम्राज्यले जस्तो ससाना राज्यको भूमिमाथि कब्जा गर्दै उपनिवेश कायम गर्न कठिन भएको छ। तर अरुका शरीर, विचार, भूमि, सम्पत्तिमाथि स्वामित्व स्थापित गर्न छेकबार लगाउने पर्खाल पनि त्यति बलियो भएको छैन। त्यसमा पनि अरुका शरीर, विचार, भूमि, सम्पत्तिमाथि स्वामित्व स्थापित गर्दै नयाँ औपनिवेशिक शासन चलाउन रोक्न सक्ने जनआन्दोलन पनि त्यति व्यापक भएको छैन।
जनआन्दोलन कति हदसम्म कमजोर छ भने महिलाहरू बलात्कार, कुटपिट, कालोमोसो र अन्य खालको सिकार हुन्छन्, उनीहरू निर्वासित हुन्छन् कि मारिन्छन्, तर आन्दोलन उठ्दैन। पीडितहरूलाई संरक्षण दिने, कानुनी संघर्ष चलाउने र सामाजिक आन्दोलनमार्फत् उत्पीडकहरूलाई न्यायको कठघरामा उभ्याउने जनआन्दोलन अझै बनेको छैन। कुनै गैससमार्फत भएका त्यस्ता सीमित कामलाई संस्थागत विस्तार गर्ने हदसम्म कुनै सामाजिक आन्दोलन विकास भएको छैन। गैसस, जन र वर्गका संगठन, राजनीतिक पार्टी र राज्यका निकायमाथि मर्द र मर्दवादी विचारकै वर्चस्व रहेकै कारण महिलामाथि जारी हिंसाचार जनआन्दोलनको विषय बन्न गाह्रो भएको हुनसक्छ। सम्पत्ति, सत्ता शक्ति, ज्ञान र हैसियतमाथि कब्जा जमाएर बसिरहेका मर्दहरू र मर्दवादी विचारले हिंसाचारको मूल जरोमा रहेको सामाजिक संरचना र संस्कृतिलाई पुनर्गठन गर्न कुनै पनि हालतमा अनुमति दिँदैनन्।
मानवीकरणको खाँचो
यतिखेर सबैजसो जनआन्दोलनको रापताप सेलाउँदै गएको स्थितिमा विकास भएका प्रतिगामी चिन्तन र व्यवहारसँगै हिंसाचारले कुनै जनप्रतिरोध सामना गर्नु परिरहेको छैन। अधिकांश जन र वर्गका संगठनहरू नयाँ मण्डले र राजनीतिक डनहरूको सिन्डिकेटमा रूपान्तरण भएको बेला कमजोर सामान्य जनता, उत्पीडित वर्ग तथा दलित लिङ्ग र समुदायका लागि नयाँ प्रकारको सामाजिक आन्दोलनको जरुरत छ। त्यस्तो सामाजिक आन्दोलन, तत्कालका लागि पीडितलाई न्याय र पीडकलाई सजायका लागि व्यापक जनदबाब सिर्जना गर्छ अनि पीडितलाई संरक्षणसँगै संगठित र संघर्षशील पनि बनाउँछ। पीडितलाई आगो लागेको घरका मानिसलाई जस्तो उद्धार र उपकार गर्ने मात्रै होइन, घरै जल्न नदिने संरचना निर्माण गर्न थाल्छ। र, त्यस्तो संगठन, पद्धति र नेतृत्व बनाउँछ, जसले उत्पीडित र उत्पीडक दुवै वर्गलाई मानवीकरण गर्ने मुख्य लक्ष्य बोकेको हुन्छ।
अरुका शरीर, विचार, भूमि, सम्पत्तिमाथि स्वामित्व जमाउने मर्दवादी प्रयास वा अन्य कुनै कोसिसले अन्य व्यक्तिलाई मात्रै होइन, आफैँलाई पनि अमानवीकरण गर्दै आएको छ। अतः मानवीकरणका लागि संरचनागत परिवर्तन, संरचनागत परिवर्तनका लागि सांस्कृतिक हस्तक्षेप र सामूहिक पहल अनि सामाजिक परिवर्तनमार्फत मानिसको औपनिवेशिक मनमस्तिष्क र आचरणमा फेरबदलका लागि नयाँ खालको सामाजिक आन्दोलन आवश्यक जरुरत भएको हो। यसको अर्थ अहिले पीडितहरूको सहायता, उपचार, उद्धारका लागि कानुनी लडाइँ र अन्य खालका संघर्ष गर्दै नगर्ने भन्ने होइन। त्यसले दीर्घकालीन संघर्ष र परिवर्तनलाई टेवा दिइरहनेछ। महिला शरीर वा अन्य मानवीय पक्षलाई आफ्नो उपनिवेश ठान्ने नयाँ श्री ५ वा श्री ३ हरूलाई यस्तो आन्दोलन पक्कै पनि रुचिकर नहोला, तर जोजो श्री ५ वा श्री ३ भएका छैनन्, हुने क्रममा पनि छैनन्, उनीहरूले आफ्नो संगठन, आफ्नो संस्कृति, आफ्नो व्यवहारबारे पक्कै पनि पुनर्विचार गर्ने आशा र अपेक्षा लिन सकिन्छ।

प्रकाशित: ४ भाद्र २०७० २२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App