६ वैशाख २०८१ बिहीबार
विचार

मञ्चमा नयाँ महाराजा

बाइरोडको बाटोमा

महाराजाहरूले एकअर्कालाई ललकारिरहेका छन् । एउटाले भनेका छन्– यो नाटकै हो । अर्काले भनेका छन्– यो नौटंकी नै हो ।  

सर्वसाधारणको मुखमै बसेको छ अहिले यो । टिकटक बनेका छन् । छोटा छोटा प्रस्तुति देखिएका छन् । महाराजाहरूको यो प्रस्तुति नाट्यकर्ममा लागेका लेखक, कलाकार, निर्देशक र आमदर्शकका निम्ति भने बिझाउने दृश्य हो ।  

नाट्यकर्मी सुनील पोखरेलले आफ्नो परिकल्पना/संयोजनमा मञ्चन गरिरहेको ‘अर्को अर्थ नलागेमा’ प्रस्तुत गर्ने क्रममा भनेका छन्, ‘सानो चित्त दुखाइ, मुलुकका नेताहरूले आफ्नो भाषणमा ‘नाटक’ र ‘नौटंकी’ (यो भारत उत्तर प्रदेशको प्रसिद्ध लोकशैली हो) शब्दको जसरी प्रयोग गर्दै हुनुहुन्छ, हाम्रो आपत्ति छ । थाहा छैन भने पढ्नुहोस् । तर, हाम्रो साधनाको, कामको अमान नगर्नुहोस् ।’

अहिलेको परिस्थिति सहज छैन । महाराजाहरूले राजनीतिलाई जुन विकृत स्थितिमा पुर्‍याइबक्सेको छ, त्यसप्रति धेरैको चित्त दुखाइ छ । सिर्जनात्मक चेत भएका व्यक्तिहरूले यो स्थितिमाथि कुनै न कुनै रूपमा हस्तक्षेप गरिरहेका छन् । कलात्मक ढंगले ती कहिले सडकमा पोखिएका छन् । कहिले ती रंगमञ्चमा प्रस्तुत भइरहेका छन् ।  

‘नाटक’ र ‘नौटंकी’ भन्नेहरूलाई महाराजाको नयाँ अवतारका रूपमा लेखक शरच्चन्द्र वस्तीका व्यंग्यात्मक आलेखमा निरन्तर आइरहेका छन् । अहिलेको सामयिक स्थितिमा बिम्बको प्रयोगले परिहासयुक्त बनाउन मद्दत गर्ने रहेछ । वस्तीका ती व्यंग्यात्मक लेखनको एकमुष्ठ प्रस्तुतिका रूपमा पोखरेलको ‘अर्को अर्थ नलागेमा’ वास्तवमै अहिलेको बोली हो ।

हाम्रो जुनी त यसै बितेर गयो तर आज जन्मिरहेका हरेक बालबालिकाको भविष्य फेरि अन्धकार भइरहेको छ ।    

जनआन्दोलन २०६२/०६३ पछि मुलुक महाराजामुक्त हुन्छ भन्ने ठानिएको हो । महाराजले भने नयाँ अवतार लिइबक्सियो । अघिका महाराजा देखिने हुन्थे, सुनिँदैनथे । बीचको केही समय महाराजा देखिन र सुनिन थालिबक्सियो । जनतालाई यी महाराजा फिटिक्कै मन परेनन् । त्यसैले ठूलो जनआन्दोलनमार्फत् मुलुकलाई महाराजामुक्त बनाइयो ।  

त्यसयता मुलुकलाई ‘नयाँ नेपाल’ भन्न थालियो । जेमा पनि नयाँ थपियो । अब केही नयाँ हुन्छ भन्ने थियो । जनताले पुराना महाराजाको लवाइखवाइ बिर्सँदै गए । तिनै पुराना महाराजाको ताज लगाएका नयाँ महाराजाहरू देखिन थाले । पुराना महाराजाले पनि केही गरेनन् । नयाँले केही गर्लान् कि भन्ने थियो । त्यो पनि बिस्तारै धुमिल हुँदै गयो । नयाँ महाराजाले दैनिकजसो सताउन थाले ।  

बोल्दै नबोल्ने पुराना महाराजालाई परबाट हेरेर जनता भित्रभित्रै मुर्मुरिन्थे । तर, नयाँ महाराजाका पालामा त जनतालाई तनावै तनाव थपियो । बोल्न पाइएको छ । गैँडाको छाला लगाएका नयाँ महाराजाहरूलाई जनताको आलोचनाको कुनै महत्व छैन । आखिर चुनावमा जनताले यिनैलाई भोट हाल्ने गरेका हुँदा यस्तो स्थिति आउनु स्वाभाविक थियो ।  

होइन पुरानै महाराजा पो ठीक हुन् कि ? मानिस फेरि झुक्किने अवस्थामा पुगे । पुराना महाराजा ठीक भएका भए नयाँको खोजी गर्नै पर्दैनथ्यो । राजतन्त्रका जनता नागरिकमा अनुदित भई आफूलाई अलि बढी नै सशक्त ठान्नु स्वाभाविक हो । त्यसमा नयाँ महाराजाहरूले आफूलाई झन् अपरिहार्य ठान्नु अनौठो होइन ।  

जर्ज अर्वेलले ‘एनिमल फार्म’ मार्फत कम्युनिस्ट सत्ताको विदु्रप स्वरूप उतारेका थिए । हाम्रा नयाँ महाराजालाई पनि यस्तै कुनै रूपमा चित्रित गर्नुपर्ने आवश्यकता रहेको हो । हाम्रो समयका प्रभावशाली नाट्यकर्मी सुनीलले यो काम पूरा गरेका छन् । ‘अर्को अर्थ नलागेमा’ पढ्न नभ्याएकाहरूका निम्ति फागुन १८ देखि चैत ७ गतेसम्म मञ्चमै हेर्ने व्यवस्था भएको छ ।

महाराजा निरोले बाँसुरी बजाइबक्सेको होइन, हाम्रो भविष्यमाथि खिसी गरिबक्सेको हो । मञ्चमा नयाँ महाराजा देखेपछि यस्तै यस्तै अनुभूति भइरहेको छ ।

नयाँ महाराजाहरू हाम्रा आँखालाई बिझाएका छन् । हामीले भनेका छौँ तर यसरी बिम्बको प्रयोगसहित मञ्चमा प्रस्तुत गर्दा यथार्थमै महाराजाहरू घृणाका पात्र जस्ता देखिने रहेछन् । अनामनगरस्थित मण्डला थिएटरमा ‘ज्ञ डिस्कर योरसेल्फ’को यो नाट्य प्रस्तुति हेरेर फर्कँदै गर्दा हामीले आपसमा छलफल पनि गर्‍यौँ– सर्वोच्च अदालतको फैसला आउनुअघि नै यसलाई देखाउन पाएको भए त झनै सान्दर्भिक हुने रहेछ ।

‘के हाम्रा जनता दूध/भात पनि खान पाउँदैनन् ?’ भन्ने राणाकालीन शासकको प्रश्नकै हाराहारीमा नयाँ महाराजाहरू पनि पुगेका छन् । ‘अब कोही भोकै मर्दैन’, नयाँ महाराजाहरू पनि उद्घोष गरिरहेका छन् । कोरोना महामारीका बेला महाकालीमा हामफालेर स्वदेश फर्केकाहरू फेरि पेटको आगो निभाउन उतै फर्केको हामीले देखेका छौँ । झण्डै त्यस्तै स्थितिको नाट्य रूपान्तरण मञ्चमा देखिन्छ ।  

मञ्चमा ठ्याक्कै अहिलेका महाराजा देखिन्छन् । उनी अट्टाहास गर्छन् । उनी व्यंग्य गर्छन् । अरूको दोहोलो काढ्छन् । केही दशकपछि यो नाटकको प्रस्तुति भयो भने यी महाराजालाई निरोको नेपाली अवतारका रूपमा लोकले सम्झिने छन् । लाग्छ, प्रत्येक युगका निरोका हातमा बाँसुरी हुन्छ । तिनका वरिपरि उस्तै चाकर हुन्छन् । उस्तै ‘रफुमास्टर’ हुन्छन् ।  

हाम्रा महाराजालाई पनि बाँसुरी अत्यन्तै मन पर्छ । एक दिन नयाँ महाराजाहरूले आफ्नो आलिसान मञ्चमा यो पंक्तिकारलगायतलाई बाँसुरी, सारंगीलगायतका वाद्यवादन सुन्ने अनुपम अवसर दिएका थिए । नाटकमा प्रस्तुत महाराजा त्यो दिन देखिएका महाराजाकै ‘सक्कलबमोजिमको नक्कल’ रहेछन् । महाराजासँगको त्यो रात्रिकालीन भेटको सम्झना मञ्चमा देखिएका महाराजाले झन् टड्कारो तुल्याइदिए ।  

कोरोना महामारीका बेला सबैतिर बन्द थियो । त्यहीबेला छिमेकी देशका दूत सिधै महाराजाको दरबारमा छिरेका थिए । यसको नाट्य प्रस्तुति बेजोड छ । छिमेकी देशका दूत फर्केपछि महाराजाको सुरुवाल हरायो । महाराजा अलि लामो पोशाक लगाएर हिँड्न थाले । नागरिकले महाराजा विनासुरुवाल हिँड्नु हुन्छ भन्ने थाहा पाएका थिएनन् । एक दिन नागरिकले पिङ खेल्दा महाराजाको सुरुवाल नभएको थाहा पाए । तर मुलुकका सबै महाराजाको सुरुवाल हराएको नाटकमा देखियो । यस्तो भव्य बिम्बको प्रयोगमार्फत मुलुकको वास्तविक स्थिति चित्रण गरिएको हो ।  

हान्स क्रिस्चियन एन्डरसनको ‘बादशाहको नयाँ पोशाक’ हामी सबैलाई थाहा छ । तर प्रत्येक युगमा नयाँ बादशाह जन्मन्छन् । तिनलाई आफू नाङ्गो भइसकेको थाहा हुँदैन । वरिपरि रहेका चाटुकारले उनलाई त्यो भनिदिँदैनन् । हाम्रा महाराजाका वरिपरि बसेकाले पनि त्यो कहिल्यै भनेनन् । महाराजा मात्र होइन, महाराजाका वरिपरि बस्नेहरू पनि प्रत्येक युगमा उस्तै हुन्छन् । समय फेरिन्छ तर तिनको नियति फेरिँदैन ।  

हाम्रो अहिलेको समयलाई मञ्चमा हेर्दा अत्यन्तै विद्रुप देखिने रहेछ । पत्रपत्रिका, चिन्तनमनन्, चियापसलदेखि कोठे गफसम्म हामीले यी देखेका छौँ । त्यसलाई एउटा कलात्मक प्रस्तुतिमार्फत अझ जीवन्त बनाएको मात्र हो । त्यसले हाम्रो समय अत्यन्तै पीडादायी रहेको पनि देखाउँछ । राजनीतिक चेतनायुक्त व्यंग्य र त्यसको प्रस्तुति यथार्थमै अहिलेका निम्ति मार्गदर्शक पनि छ ।  

हामी महाराजालाई देखेर मञ्चमा निकै हाँस्यौँ । नाटक सकियो, हामी दुःखी भयौँ । कठै हामी कस्तो समयमा आइपुग्यौँ ? यो त आफ्ना दुःखमा आफैँ हाँसे जस्तो लाग्यो । नाटक सकिनै लाग्दा सात वर्षकी बच्चीले आएर भनिन्– मेरा लागि यस्तो देश दिँदै हुनुहुन्छ ।

पर्दा खस्यो । हामी भावुक भयौँ । हाम्रो जुनी त यसै बितेर गयो । तर आज जन्मिरहेका हरेक बालबालिकाको भविष्य फेरि अन्धकार भइरहेको छ । महाराजा निरोले बाँसुरी बजाइबक्सेको होइन, हाम्रो भविष्यमाथि खिसी गरिबक्सेको हो । मञ्चमा नयाँ महाराजा देखेपछि यस्तै यस्तै अनुभूति भइरहेको छ ।  

नयाँ महाराजलाई देखेपछि प्रजातन्त्र, लोकतन्त्र आदिका निम्ति नागरिकले गरेका संघर्ष सिनेमाको पर्दाझैँ दिमागमा घुमिरहन्छन् । हामीले यतिका वर्षमा के सोच्यौँ अनि के पायौँ ? प्रजातन्त्रकै निम्ति यो मुलुकले संघर्ष गरेको ७० वर्ष पुगिसकेको छ । आमजीवनमा तात्विक अन्तर देखिएको छैन । समय व्यतित हुने क्रमसँगै देखिएका केही परिवर्तनलाई नै प्रगति ठान्ने र त्यसैको बखान गरेको मात्र देखिन्छ । यसले हामीभित्र पीडाका ज्वारभाटा उठ्छन् ।  

सुनीलले ठीकै भनेका छन्, ‘अहिलेको परिस्थितिसँग साह्रै रिस उठेको छ । दिक्क लागेको छ । वितृष्णा जागेको छ । अब, रिस उठ्यो भनेर अरूलाई कुट्दै हिँड्नु भएन, उल्टै कुटाइ खाइन्छ । सडकमा बिजुलीका खम्बालाई लात्तले हिर्काउँदै हिँड्नु पनि भएन, आफ्नै खुट्टा दुख्छ । अब गर्ने के ?

प्रकाशित: २३ फाल्गुन २०७७ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App