६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
विचार

पूर्वाधार विकासमा नेपालको अवसर

सन् ६० को दशकमा गृहयुद्धबाट थलिएको दक्षिण कोरियाले पाँच वर्षे गुरुयोजनामार्फत पूर्वाधार विकासमा ठूलो लगानी गर्‍यो । यसमा पनि क्युन्ग्बू एक्सप्रेसवेको भूमिका पूरै देशलाई प्रगतिको दिशातर्फ ऊर्जा दिएको इतिहास छ । यही पूर्वाधार विकास कोरियाको औद्योगिक क्रान्तिको र आर्थिक प्रगतिको जरो बन्न पुग्यो । २०७२ सालको भूकम्पले नेपाली जनजीवन साथै अर्थतन्त्र अस्तव्यस्त हुन पुग्यो । त्यो दुखद् दिनले धेरैको घर उजाडियो र धेरैले आफन्त गुमाए । नेपालको भौगोलिक अवस्थाले राहत तथा उद्दारमा कठिनाइ भएको थियो । सिंगो राष्ट्रले नै आपत्को घडीमा पूर्वाधारको महत्व महसुस गर्‍यो । गुणस्तरीय पूर्वाधार विकास गरी भविष्यमा आइपर्न सक्ने संकटमा राहत तथा उद्दारलाई झन् प्रभावकारी बनाउन सकिन्छ र राष्ट्र निर्माणमा अग्रसर हुन सकिन्छ ।

नेपालको अर्थतन्त्र अहिले पनि परम्परागत आर्थिक संरचनाहरूमै रुमल्लिइरहेका कारण यहाँ आर्थिक विकासका लागि प्रशस्त ठाउँ छ । विकसित देशहरूको जस्तो ‘स्याचुरेसन पोइन्ट’मा नेपाली अर्थतन्त्र पुगेको छैन । बाघको अगाडि सिकार उपलब्ध भएझैँ आर्थिक विकासको प्रशस्त संभावना पनि नभएको होइन । प्राकृतिक साधन स्रोतको पनि उपलब्धता छ । युवा जनशक्ति पनि प्रशस्त छ । तर आर्थिक विकासले गति लिएको छैन । किन? किनभने त्यसका लागि चाहिने भौतिक पूर्वाधारको चरम अभाव छ ।

प्रगतिको अवसर पूर्वाधारको विकासपछि मात्र सिर्जना हुन्छ । गाउँगाउँमा बाटोघाटोजस्तो पूर्वाधार निर्माण गरेर पर्यटन विकास, गाउँका कृषि उत्पादनसहरमा बेच्ने अवसर, साना तथा मझौला उद्योगलाई  बजारसँग जोड्ने कडी, सिँचाइ विकास गर्दै कृषि उत्पादन वृद्धि, मलखाद सहज आपूर्ति हुने हो । जलविद्युत् जस्ता पूर्वाधार निर्माण गरेर नै औद्योगिक उत्पादन लागत घटाएर प्रतिस्पर्धी ढंगले औद्योगिक उत्पादन गर्न सकिन्छ । नेपालले आर्थिक खम्बाका रूपमा पनि कृषि, जलविद्युत्, पर्यटन जस्ता क्षेत्रलाई मानेकै छ । दिगो तथा गुणस्तरीय पूर्वाधार विकासले नेपाली अर्थतन्त्रलाई चौतर्फी प्रगतिको अवसर प्रदान गर्नसक्छ। नेपाली कृषि उब्जनीलाई बजारको पहुँचका साथै उचित सिँचाइबाट किसानको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ । राष्ट्रको अरबौँ रुपियाँ निकासा रोकिनुका साथै ग्रामीण अर्थतन्त्र पनि चलायमान बनाउन सकिन्छ। 

पूर्वाधार विकासद्वारा नै युवामा सकारात्मक ऊर्जा सञ्चार हुनुका साथै आर्थिक क्रियाकलाप चलायमान बनाउन सकिन्छ ।

विकेन्द्रित पूर्वाधार विकास नै योजनाबद्ध सहरीकरण तथा औद्योगिकीकरण जग हो । नेपाल यस्तो देश हो जहाँ राजमार्ग भन्दा पहिले मोटरगाडी श्रमिकहरूको काँध चढेर भित्रियो । साथै समयमै पूर्वाधार विकास हुन नसकेर अव्यवस्थित सहरीकरणले हाम्रा सहर कुरूप बन्न पुगेका छन्। यसको समाधान र योजनाबद्ध सहरीकरण, औद्योगिकीकरण तथा व्यवस्थित आर्थिक कोरिडोरको सारथि भनेको पूर्वाधार विकास नै हो। राष्ट्रिय राजमार्ग, जलविद्युत् परियोजना, सञ्चार क्षेत्रमा लगानी र भौतिक संरचना निर्माणले नेपालको साना र मध्यमस्तरीय उद्योग विकासमा मद्दत गर्छ ।

पूर्वाधार परियोजनालाई दिगो बनाउन र समग्र सामाजिक परिवर्तन बहन गर्न समुदायस्तरबाटै सहभागिता आवश्यक पर्छ । विकास क्षेत्रमा लगानी बढ्दा स्वतः स्थानीय जनसहभागिता पनि बढ्न जान्छ र समुदायस्तरमा नै सकारात्मकता सञ्चार हुन्छ । यसरी स्थानीय तहमा पूर्वाधार परियोजनाप्रति अपनत्व वृद्धि भएर विकास निर्माणका कार्य दिगो हुन जान्छ। नेपालकै सामुदायिक वनको अवधारणाले जनसहभागिताद्वारा वन संरक्षण कार्यक्रम सफल भएको उदाहरण विश्वसमक्ष छ ।  

नेपालले जुन–जुन क्षेत्रलाई आफ्नो आर्थिक विकासको मेरुदण्डका रूपमा लिएको छ ती सबै क्षेत्रको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ । पर्यटन, जलविद्युत् र साना तथा मझौला व्यवसायहरू नेपाली अर्थतन्त्रका मेरुदण्ड हुन् । यी सबै क्षेत्रको प्रभावकारी विकासको केन्द्रमा भौतिक पूर्वाधारको विकास नै रहेको छ। बाटो, रेल पूर्वाधार, सुक्खा बन्दरगाह, एयरपोर्ट, जलविद्युत्, सिँचाइ आदि क्षेत्रमा पूर्वाधारको विकास गर्न सके आर्थिक वृद्धि तीव्र गतिले गर्न सकिने गरिबीको रेखामुनि रहेका जनसंख्यालाई मध्यम वर्गमा उकाल्न सकिने विषय अब दोहोर्‍याइरहनु पर्दैन । पर्यटन प्रवर्धनमा पूर्वाधारको भूमिका हेर्न हामी मुस्ताङ जिल्लाले हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरेको उदाहरण हेर्न सक्छौँ ।

कुनै देशको राष्ट्रिय उत्पादकत्वमा त्यहाँका जनशक्तिको सिप र क्षमताको ठूलो भूमिका हुन्छ। जनशक्तिको सिप र क्षमता बढाउन देशले कदम चाल्न जरुरी देखिन्छ । सुरुका केही ठूला स्तरका पूर्वाधार विकासमा खटिने वैदेशिक दक्ष जनशक्ति र प्रविधिबाट नेपाली जनशक्तिको क्षमता वृद्धि हुनुका साथै भविष्यका राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दा सिप र प्रविधिमा नेपाल बिस्तारै आत्मनिर्भर भई सुनौलो भविष्यको जग राख्न सक्छ। गत तीन दशकमा पूर्वाधार क्षेत्रमा क्रान्ति ल्याउन सफल मुलुक दक्षिण कोरियाले पनि यहीफर्मुला अपनाएको पाइन्छ । साथै ठूला पूर्वाधार विकासले रोजगार प्रदान गरी जनशक्ति पलायन हुने क्रम अन्त हुन सक्छ। नेपालबाट रोजगार तथा शिक्षाको अवसर खोज्दै युवाहरू दैनिक हजारौँको संख्यामा विदेशिने क्रम जारी छ । यदि नेपालमा उच्चस्तरीय शिक्षा, रोजगार र जीवनस्तरको अवसर हुने हो भने यो क्रम रोकिन सक्छ। पूर्वाधारको विकासद्वारा नै युवामा सकारात्मक ऊर्जा सञ्चार हुनुका साथै आर्थिक क्रियाकलाप चलायमान बनाउन सकिन्छ । र, अन्ततः युवाहरूमा रहेको उच्चस्तरीय जीवन बाँच्ने आकांक्षा पूर्ति हुन्छ।

पूर्वाधार विकासले समग्र अर्थतन्त्र चलायमान बनाउनुका साथै राष्ट्रिय उत्पादन निर्यात गर्न ठूलो भूमिका खेल्छ। अन्तरदेशीय व्यापारको सक्षमता भनेको बन्दरगाह, राजमार्ग विस्तार, भन्सार व्यवस्थापन, विद्युत् तथा सञ्चार सेवा र वित्तीय पूर्वाधारहरू हुन् । छिमेकी भारतको गुजरात राज्यले निर्यातमैत्री पूर्वाधारहरू विकासमा जोड दिएर भारतकै निर्यातको केन्द्र बन्नपुगेको छ ।  ठूला बन्दरगाह, चौडा राजमार्ग, व्यवस्थित औद्योगिक पूर्वाधारले नै गुजरातलाई निर्यातमुखी अर्थतन्त्र बनाएकोछ । नेपालले पनि गुजरातको सकारात्मक सिको गर्दै पूर्वाधारमा जोड दिने हो भने नेपालको अर्थतन्त्रमा निर्यातको हिस्सा बढाउन सकिन्छ।  

अहिलेसम्म भएका पूर्वाधार विकासको केन्द्रमा गुणस्तरको महत्व आउन सकेको छैन । निर्माण सामग्री वा निर्माण उपकरणको गुणस्तरमा ध्यान दिने हो भने निर्माण सम्पन्न नै नभएर भत्किने पुल र सडकका समाचार विरलै सुन्न पाइन्छ । यस्तो अभ्यासले राज्यको स्रोतसाधनबाट अधिकतम लाभ उठ्न सक्छ। निर्माण सामान र उपकरणको खरिदमा एउटा निश्चित मापदण्ड स्थापित गरी र त्यसको नियमित अनुगमनले गुणस्तरीय पूर्वाधार र त्यसले ल्याउने दिगो विकासलाई सुनिश्चित गर्छ ।

अन्तमा,

भौतिक पूर्वाधारको विकासका कारण समग्र देशकै आर्थिक विकासले गति लिएको उदाहरण हाम्रासामु प्रशस्तै छन् । बाटोघाटो, पुल इत्यादि निर्माणले दोस्रो विश्वयुद्धताका गरिब देशको सूचीमा रहेको जापानले गरेको आर्थिक प्रगति हाम्रैसामु छ। अहिले विश्वको आर्थिक महाशक्ति बन्ने बाटोमा लागेको चीन पनि भौतिक पूर्वाधारको निर्माणमा तीव्र गतिमा लागेकै छ । त्यसैले नेपालका निम्ति पनि प्रगतिको अवसर पूर्वाधार विकास नै हो ।

(लेक्चरर, किन्स कलेज)

प्रकाशित: १९ फाल्गुन २०७७ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App