९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
विचार

कसरत र प्रतिरोधात्मक क्षमता

हट्टाकट्टा अनि कुनै बिरामी नभएको व्यक्ति कोभिड–१९ ले संक्रमण गर्नेबित्तिकै मरेको तर शारीरिकरूपले जीर्ण मानिसले भाइरसलाई सजिलै जितेको देख्दा विज्ञान चकित पर्‍यो । शारीरिक बनोट हेरेर व्यक्तिको आन्तरिक अवस्थाको आकलन गर्न सक्ने अवस्था रहेन । भाइरसलाई शरीरको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली)ले जित्न नसक्दा मानिस मर्छ । तर के गर्दा व्यक्तिको इम्युन पद्धति मजबुत हुन्छ त भन्ने सम्बन्धमा धेरैथरीका अवधारणा आए ।ओखतीको प्रयोग, खानपिनको ढाँचा तथा दैनिकीको हेरफेर गरेर प्रतिरक्षा प्रणाली मजबुत गराउन सके हुन्थ्यो भन्ने लाग्नु अन्यथा होइन ।  

इम्युन सिस्टम मजबुत हुँदा रोग नलाग्ने भएकाले प्रतिरक्षा प्रणाली सबलीकरण गर्ने दाबाका साथ विभिन्न किसिमका ओखती बजारमा आए । दुर्भाग्यवस विज्ञानले ओखतीको प्रयोगले कोसहरूको अभिवृद्धि गर्दा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्न सकेको छैन । बरु ओखतीको प्रयोगले कोसको संख्या जबर्जस्ती बढाउँदा खर्चिलो पो पर्छ है भन्ने सन्देश दियो । उदाहरणका लागि खेलाडीहरूले आफ्नो रक्त सञ्चार प्रणाली सबलीकरणकालागि ओखतीको प्रयोग ‘ब्लड डोपिङ’ मार्पmत कोसको संख्या अभिवृद्धि गर्दा हर्टअट्याकको घटना अत्यधिक बढेको देखियो ।

शारीरिक बनोट हेरेर व्यक्तिको आन्तरिक अवस्थाआकलन गर्न सक्ने अवस्था रहेन ।  

ओखतीको प्रयोग प्रतिरक्षा प्रणालीको सबलीकरणका लागि फाइदाकारक नहुने भएपछि अन्य कुनै खान्की लक्ष्य प्राप्तिका लागि सहायक सिद्ध हुन्छ कि भन्ने लाग्नु अस्वाभाविक भएन । दुर्भाग्य, युनिभर्सल फर्मुलाका रूपमा रहेको ‘हेल्दी फुड ह्याबिट’ ले इम्युन सिस्टमलाई फाइदा गर्छ भन्नुबाहेकको जवाफ दिन विज्ञान अहिलेसम्म सफल नभएको अवस्थाछ ।

धेरै किसिमका कोसले बनेको प्रतिरक्षा प्रणाली शरीरको अतिनै जटिल पद्धति मानिन्छ । इम्युन सिस्टममा सैकडौँप्रकृतिका कोसले कस्तो किसिमको संक्रमणमा के भूमिका खेल्छ?विज्ञानले अहिलेसम्म खासै भेउ पाउन सकेको छैन । कोरोनाको संक्रमणमा भूमिका खेल्ने कोस दादुरा लाग्दा क्रियाशील हुने ‘सेल’ फरक हुने भएकाले ‘बायोलोजिकल सिस्टम’ को पर्याप्त ज्ञानविना इम्युन सिस्टमका सम्बन्धमा धेरै भन्न सक्ने अवस्था देखिन्न ।  

बाह्य विधिको सहारालिइ कोस अभिवृद्धि गर्न लाग्दा एक किसिमको उत्पादन गर्नुपर्नेमा अन्य चरित्रको सेल बने कस्तो असर पर्ला? बाह्य ओखतीको प्रयोग गर्दा नकारात्मक परिणाम आउन सक्ने भएकाले सदियौँदेखि प्रचलनमा रहेका आहारबिहारमार्पmत रोगसँग जुध्न सक्ने क्षमता बढाउने उचित हुने देखियो । अनि त्यसैको उत्खननमा वैज्ञानिकहरू लागे ।  

अणुवांशिक पदार्थ (डिएनए) ले शारीरिक प्रक्रियाका तमाम अवयवलाई नियन्त्रण गर्छ । शारीरिक बनोटलगायतका सम्पूर्ण बायोलोकिल सिस्टमको नियन्त्रणमा डिएनएको बनोटले भूमिका खेल्ने भएकालेअसल अणुवांशिक पदार्थ भएको मानिसको प्रतिरक्षा प्रणालीसमेत मजबुत हुनु अस्वाभाविक भएन । तर झण्डै ४ अरब एकाइले बनेको मानव डिएनएको यथार्थ व्याख्या गर्न विज्ञानलाई अभैm पनि त्यति सजिलो छैन । डिएनएको कुन खण्डमा कैफियत भए के÷कस्तो रोग लाग्छ भन्ने कुराको आंशिक भेउ पाए पनि अणुवांशिक पदार्थको बनोटका आधारमा व्यक्तिको जीवन चक्र भन्न सक्ने अवस्थामा पुग्न विज्ञानलाई शताब्दियौँ लाग्न सक्छ । तसर्थ, केबल ‘डिएनए सिक्वेन्सिङ’ का आधारमा व्यक्तिको इम्युन सिस्टमको चरित्र भन्न सक्ने अवस्था रहेन । 

इम्युन सिस्टम मजबुत हुँदा रोग नलाग्ने भएकाले प्रतिरक्षा प्रणाली सबलीकरण गर्ने दाबाका साथ विभिन्न किसिमका ओखती बजारमा आए । दुर्भाग्यवस विज्ञानले ओखतीको प्रयोगले कोसहरूको अभिवृद्धि गर्दा स्वास्थ्यका लागि लाभदायक हुन्छ भन्न सकेको छैन । 

कोरोनाका कारण संसार नै आक्रान्त भएका बेला गत वर्षको जुन महिनामा ‘क्लिनिकल एन्ड एक्सपेरिमेन्टल मेडिसिन’ मा एउटा रिभ्यु आर्टिकल छापियो । त्यसबेलासम्म प्रकाशित दर्जनौँ अनुसन्धानात्मक आलेखहरूलाई समेटेर तयार पारिएको उक्त समीक्षात्मक लेखले अनौठो तथ्य बाहिर ल्यायो । संसारभरको तथ्यांक नियाल्दा दैनिकरूपले शारीरिक व्यायाम गर्ने मानिसमा भाइरसको संक्रमण कम भएको देखायो उक्त रिभ्यु लेखले । नियमित अभ्यास गर्ने मानिसमा आखिर किन भाइरसको संक्रमण कम हुन्छ त भनी बायोलोजिकल पद्धतिको विश्लेषण भयो । ‘एक्सरसाइज’ का क्रममा शरीरमा विशेष प्रकृतिको ‘साइटोकाइन्स’ नामक रासायनिक पदार्थ निस्कन्छ । उक्त केमिकलको उत्पादनले शरीरमा नवीन बायोलोजिकल सञ्जालको विकास गर्छ । परिणामस्वरूप प्रतिरक्षा प्रणालीको स्वेतरक्त कणिकाको संख्या र संक्रियता दुवै बढ्छ । इम्युन सिस्टमका कोसको क्रियाशीलता उकासिँदाबाह्य संक्रमणकारी भाइरस तथा ब्याक्टेरियासँग जुध्न आवश्यक एन्टिबडीको उत्पादन पनि बढ्नेहो । यसरी शारीरिक परिश्रमले प्रतिरक्षा प्रणालीलाई सबलीकरण गर्ने अनि हामीलाई बाह्य जैविक आक्रमणबाट जोगाउने भएपछि दैनिक कसरत गर्ने मानिसलाई कोरोनाको संक्रमणको असर कम देखिनु अन्यथा होइन ।  

त्यही रिभ्यु आलेखलाई समर्थन गर्ने नै गरी गत हप्ता युनिभर्सिटी अफ टेक्ससका प्राध्यापक सान मोरिसलगायतका वैज्ञानिकले परीक्षण जीवमा अनुसन्धान गरी ‘एक्सरसाइज’ ले कसरी इम्युन सिस्टमलाई सबलीकरण गरी रोगबाट जोगाउँछ भन्ने विषय उजागर गरे । उक्त अनुसन्धान जर्नल ‘नेचर’ मा प्रकाशित  भयो । कुनै अंगमा क्षति हुँदा अथवा पुराना कोस जीर्ण भएको अवस्थामा शरीरमा नवीन ‘सेल’ को उत्पादन अपरिहार्य बन्छ । फोक्सोमा चोट लाग्दा अथवा मिर्गाैलामा कैफियत देखिँदा अंगको सबलीकरणका लागि नवीन कोस आवश्यकपर्छ । तर, फोक्सो र मिर्गाैलाका कोसको चरित्र फरक हुने भएकाले आवश्यकताअनुसार पृथक गुणका ‘सेल’ को निर्माण अपरिहार्य हुन्छ । हड्डीभित्रको ‘बोन म्यारो’ ले शरीरलाई आवश्यक पर्ने भिन्न किसिमका कोस बनाउने कारखानाका रूपमा काम गर्छ । आवश्यकताअनुरूप रानी बनाउन मौरीको घार स्वाबलम्बी भएझैँ विशेष प्रकृतिको कोस ‘स्टिम सेल’ लाई परिमार्जन गरी भिन्न भिन्न चरित्रका कोसको निमार्ण कार्य सम्पन्न हुन्छ बोन म्यारोमा । त्यति मात्र होइन,प्रतिरक्षा प्रणालीका विभिन्न किसिमका कोस बनाउने कामसमेत बोन म्यारोमै सम्पन्न हुन्छ ।  

शरीरलाई चाहिने विभिन्न किसिमका कोस निर्माण गरिने हड्डीको भित्री भागको सूक्ष्म अध्ययन गर्दा ‘शारीरिक अभ्यास गर्ने र शिथिल भएर निष्क्रिय जीवन बिताउने जीवको बनोट फरक देखियो । सक्रिय जीवन व्यतीत गर्ने जीवको बोनम्यारोमा प्रतिरक्षा प्रणालीअन्तर्गतका कोसको संख्या अत्यधिक देखियो भने अर्को समूहका प्राणीमा इम्युन सिस्टमका ‘सेल’ हरूको संख्या निकै कम देखियो ।  

प्राध्यापक मोरिसको समूहले शारीरिकरूपले क्रियाशील रहेका जीवमा इम्युन सिस्टमका कोसको संख्या अत्यधिक देख्नु अनि विश्वव्यापी तथ्यांकले  कसरत गर्ने मानिसलाई कोरोनाले कम सताएको भेटिनुका बीचको सम्बन्ध अनौठो देखियो । अहिलेसम्मको बायोलोजिकल अध्ययनले कस्तो प्रकृतिको इम्युन सेलले कोरोना भाइरसलाई परास्त गरी हामीलाई स्वस्थ राख्छ अनि त्यस्ता ‘सेल’ को उत्पादन गर्न के/कस्ता ओखतीको सेवन गर्ने भन्ने उत्तरको जवाफ दिन नसके पनि कसरत गर्ने मानिसको शरीरमा उत्पादन हुने ‘इम्युन सेल’ ले भने‘कोभिड–१९ भाइरसलाई परास्त गर्न सक्छ भन्ने सन्देश दियो ।  

खेलाडीमा गरिएको ‘ब्लड डोपिङ’ को प्रयोगले ‘ड्रग्स’ को सहारामा उकासिएको कोसको संख्या महँगो सावित हुन सक्ने देखिएकाले जैविक विधिमार्फत इम्युन कोसको अभिवृद्धि गर्नुपर्ने माग उठ्नु अस्वाभाविक होइन । त्यस्तो अवस्थामा डा. मोरिसको समूहले परीक्षण जीवमा अनुसन्धान गरी कसरत र प्रतिरक्षा प्रणालीका कोसको संख्याका बीच प्रत्यक्ष सम्बन्ध स्थापित भएको देखाउनु अनि कसरत गर्ने मानिसमा कोरोनाको लक्षण निकै न्युन देखिएको परिवेशमा आफूलाई चलायमान भइ क्रियाशील बनाउन सके भाइरसको संक्रमणबाट जोगिन सक्ने देखियो । घरमा बाँधिएर बस्नु भन्दा सामाजिक तथा स्वास्थ्य संहिता पालन गर्दै आफूलाई भौतिकरूपले सक्रिय राख्न सके सूक्ष्म जीवाणुको आक्रमणबाट आफूलाई बचाउन सकिने सम्भाव्यतालाई ध्यान दिन आवश्यक देखियो । कसरत गरे संक्रमणबाट जोगिन सकिन्छ भन्ने सन्देशको प्रवाह आवश्यक देखियो । 

प्रकाशित: १८ फाल्गुन २०७७ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App