३१ वैशाख २०८१ सोमबार
image/svg+xml
विचार

भानुभक्त र 'राष्ट्रिय एकता'

नेपाली मूलतः मूर्तिपूजक सांस्कृतिक प्राणी हौँ। मूर्ति पूजाका लागि कसै नै कसैलाई सके भगवान्, नसके राजा, त्यति पनि नसके कुनै न कुनै विषयका सम्राट त हामीलाई जरुरी भई नै रहन्छ, मूर्ति पूजाका लागि। हामीलाई पूजा गर्न कोही न कोही चाहिएकै कारण कसैलाई नाट्य–सम्राट त कसैलाई स्वर–सम्राट अनि कसैलाई आदिकवि त कसैलाई कवि शिरोमणिको पगरी गुथाएका छौँ। र, हामी उनीहरूको जन्मदेखि मृत्युसम्मका तिथिमिति हेर्दै पूजाआजामा मग्न हुन्छौँ। प्रत्येक वर्षझँै यस वर्ष पनि असारको अन्तिम साता नेपाली मिडियादेखि स्कुल–कलेजसम्म पनि भानुभक्तमय भए। भानुभक्तमय हुने क्रममा विदेशमा रहेका नेपाली संघसंस्थासमेत आदिकविका पूजाअर्चनामा रमाए। पहिलेदेखि 'आदिकवि, राष्ट्रिय कवि, महाकवि र जातीय कवि' आदि विशेषणले पुकारिएका कविप्रति श्रद्धा व्यक्त गर्ने क्रममा 'भावनात्मक एकताका सूत्रधार'का रूपमा भानुभक्त आचार्यको गाथा दोहोर्‍याइयो।
आदिकविभन्दा पहिलेका कवि
तर्क र तथ्यका आधारमा विश्लेषण गर्ने होइन, भावावेशमा एकोहोरिनु र महिमागान गाउँदै पूजाआजा गर्नु हाम्रो सामान्य संस्कृति हो। यसैको पछिल्लो संस्करणका रूपमा कवि भानुभक्त आचार्यलाई नेपाली भाषाका आदिकविको पगरी गुथाउने र उनी नै नेपालमा भावनात्मक एकताका सूत्रधार भन्दै पूजाआजा गर्ने संस्कृति निकै मौलाएको देखिन्छ। इतिहासकार प्रत्यूष वन्तका अनुसार १९४८ सालमा मोतीराम भट्टले भानुभक्तको नामअगाडि 'आदिकवि' लेखेदेखि, ब्रिटिस–भारतमा बस्ने नेपालीहरू, मूलतः सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान)जस्ता भाषासेवी र जातिकर्मीहरूले चलाएको 'नेपाली राष्ट्रवादी अभियान'लाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले १९९७ सालमा मान्यता दिएदेखि उनलाई आदिकवि भनिएको हो। तर, अन्धपूजाअर्चना गर्ने संस्कार भएका व्यक्तिले १९८९ सालमै कविराज दीननाथ सापकोटाले भानुभक्तले भन्दा अघि नै नेपाली भाषामा सुन्दरकाण्ड रामायण अनुवाद गर्ने रघुनाथ भट्टलाई आदिकवि भन्नुपर्ने तर्कसहित 'भानुभक्तलाई आदिकविको पद दिनु उपयुक्त होला र' भन्दै उठाएको प्रश्नलाई बेवास्ता गरेको तथ्य इतिहासकार ज्ञानमणि नेपालले 'नेपाली साहित्यमा आदिकविको समस्या' पुस्तकमा उल्लेख गरेका छन्।
इतिहासकार बाबुराम आचार्यले त 'पुराना कवि र कविता' पुस्तकमा भानुभक्त (१८७१–१९२६ साल)भन्दा अघिका नेपाली भाषाका कविहरूको सूची नै दिएका थिए। उनले इन्दिरस, विद्यारण्यकेशरी, वसन्त शर्मा, यदुनाथ पोखर्‍याल र पतञ्जलि गजुर्‍यालजस्ता अग्रज कविका कवितासमेत खोजेर सार्वजनिक गरेका थिए। भानुभक्तभन्दा ठीक सय वर्षअघि जन्मिएका शक्तिवल्लभ अर्ज्यालले लेखेको 'तनहुँ भकुण्डो' कविता पनि अनेपाली रचना त हैन। त्यस्तै, भानुभक्तभन्दा अघि नै नेपाली भाषामा 'बेताल पच्चीसी' खण्डकाव्य र 'पृथ्वीन्द्रोदय' महाकाव्य लेखेका उदयानन्द अर्ज्यालका रचनालाई पनि गैरनेपाली काव्य ठान्न सकिँदैन। नेपाली माटोमै फलेको फुलेको जोसमनी साहित्यका धरोहरहरूले पृथ्वीनारायण शाहका पालादेखि मूर्तिपूजा र कर्मकाण्डको विरोधमा मात्रै होइन, मानिसलाई जातपातमा भेदभाव गर्ने र छुवाछूतको परिपाटीको पनि विपक्ष कविता रचेर लोकप्रिय बनाइसकेका थिए। पृथ्वीनारायण शाहका समकालीन सन्त कवि शशिधर (१८०४–१९०६ साल)देखि जंगबहादुर राणा र भानुभक्त आचार्यका समकालीन सन्त कवि ज्ञानदिलदास (१८७८–१९४० साल)का काव्यरचना समय र विचारका हिसाबले भानुभक्तभन्दा पहिलेका रहेको तथ्य सामाजिक अध्येता जनकलाल शर्माको पुस्तक 'जोसमनी सन्त–परम्परा र साहित्य'बाट थाहा पाउन सकिन्छ। यस अर्थमा 'नेपाली साहित्यका इतिहास'का तानासर्माको भाषामा भन्न सकिन्छ, भानुभक्तभन्दा अघिको समयमा देखापरेका असंख्य कविहरूलाई भुसुक्क बिर्सेर भानुभक्तलाई आदिकवि अथवा पहिलो कवि भन्नु ऐतिहासिक दृष्टिकोणले असत्य छ र यस्तो नचाहिँदो र अवैज्ञानिक विशेषणले भानुभक्तको मर्यादामा आघात परेको छ।
भ्रान्त इतिहास :  झूठको जग  
जातपातका समर्थक, लिङ्गभेदका प्रचारक, कर्मकाण्ड र ब्राह्मणवादका प्रयोक्ता भानुभक्तका अग्रज कविहरूका कवितात्मक भाषा र प्राञ्जल नेपाली लेखनलाई बेवास्ता गर्दै उनलाई अनेक नाममा प्रशंसाको सगरमाथा चढाउने खेल खेल्ने क्रममा धेरै ऐतिहासिक तथ्यलाई छोपछाप गर्ने र अनेक मिथक गढ्ने काम भएको छ। त्यस्ता मिथकमध्ये एक हो – भानुभक्तले नै नेपाली भाषामा पहिलो पटक रामायण अनुवाद गरेका थिए र उनले नै संस्कृत तथा अन्य भाषामा लेख्ने परिपाटीलाई छाडेर नेपाली भाषामा रचना गर्न थालेका हुन् भन्ने। उनका अग्रजहरू रघुनाथ भट्टदेखि रघुनाथ पोखर्‍यालले रामायणको अनुवाद गरेको तथ्य उहिल्यै सार्वजनिक भइसकेका थिए। र, संस्कृत भाषामा लेख्ने परम्परालाई तोडेर भानुभक्तले नै नेपाली भाषामा पहिलो पटक साहित्य रचना गर्न थालेको भ्रान्त इतिहासको खण्डन पनि बाबुराम आचार्यदेखि ज्ञानमणि नेपालसम्मले गरिसकेका छन्।
प्रशंसाको पुल बाँध्ने क्रममा भानुभक्तलाई प्रकाशमा ल्याउन ठूलो योगदान दिएका कवि मोतीराम भट्टले 'कवि भानुभक्तको जीवनचरित्र'मा भावुक भएर लेखेका थिए, 'इन्को जन्मवर्ष विक्रमीय सम्वत् १८९६ सालमा हो। हाम्रा गोर्षा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नु।' भट्टकै सिको गर्दै साहित्यकार सूर्यविक्रम ज्ञवालीले भानुभक्तलाई गोर्षा भाषाबाट विकसित भएको 'नेपाली भाषाका जनकसमेत मानेका' थिए र 'नेपाली भाषाको वर्तमान युग भानुभक्तको रामायणबाटै प्रारम्भ भएको' ठोकुवा पनि गर्न भ्याएका थिए। यस्ता अतिशयोक्ति त्यत्तिकै रहरबाजीमा लेखिएको र प्रचार गरिएको पक्कै होइन, यस्तो ऐतिहासिक खोजबारे प्रत्यूष वन्तले भानुभक्तलाई राष्ट्रिय वीरका रूपमा कसरी स्थापना गरियो भन्ने विषयमा आफ्नो शोध प्रबन्ध र विभिन्न रचनामा लेखेका छन्। वास्तवमा मूर्तिपूजा र वीरपूजाजस्तै विद्वत्पूजाको परम्परा प्रादुर्भाव गर्ने भट्टको प्रयासलाई नेपालबाहिर सुधपाहरू र नेपालभित्र राजा–महाराजाले मलजल गरेका थिए, हिन्दूधर्म, नेपाली भाषा र राजतन्त्र र पहाडी वर्चस्व मिसाइएको 'नेपाली राष्ट्रवाद'को विस्तारका लागि। तर, भावावेश वा अन्धताबाट बचेर विवेकको आँखाले हेर्दा छर्लङ्गै देखिन्छ, त्यस्तो राष्ट्रवादको सांस्कृतिक जगचाहिँ झुटको ईंट र ढु्गाबाट हातकी सफाइका साथ हालिएको रहेछ।
भानुभक्तको नाम सुन्नासाथ हाम्रो मनमस्तिष्कमा अध्यात्म रामायणदेखि घाँसीसँगको संवाद, बालाजु बगैँचा र कान्तिपुरीको वर्णनसँगै जेलमा हुने लामखुट्टे–उपियाँको नाच र अड्डा अदालतमा हुने 'भोलि–भोलि'को सन्दर्भको सम्झना हुन्छ। मोतीराम भट्ट र अन्य जीवनीकार र प्रशंसाकारका अनुसार एक सामान्य ब्राह्मण युवा भानुभक्त घाँसीले घाँस बेचेर कुवा खनाएको अति महत्वपूर्ण कुरा सुनेर आँसुकवि बनेका थिए। घाँसीसँगको संवाद कविताको 'कन्टेन्ट' (अन्तर्वस्तु)बारे बाबुराम आचार्यले 'भानुभक्तप्रति भट्टजी' लेखमा लेखेका थिए, तनहुँमा घाँस काटी पैसा लिएर बेच्ने चलन न अघि थियो, न अचेल छ।' घाँसीको मुखबाट बोलाइएका कुवा, इनारसँगै 'म'को साटो 'मो' शब्दको व्यवहारमाथि खोज गरेका बाबुराम आचार्यको गम्भीर निष्कर्ष थियो, भर् जन्म नामक पद्य भट्टजीका कलमबाट निस्केको देखिन्छ।
नाम भानुभक्तकोः कविता मोतीरामको!
मोतीराम भट्टले भानुभक्त आचार्यलाई आदिकवि र आँसुकवि सिद्ध गर्न यस्ता काल्पनिक प्रसंगले भरिएको जीवनी लेख्ने कामसँगै आफैँले भानुभक्तको नाममा कविता पनि लेखेको हत्पती विश्वासै गर्न गाह्रो छ। तर, आचार्यले त 'रोज् रोज् दर्शन पाउँछु चरण' कविताबारे खरो भाषामा लेखेका थिए, १९०९ सालमा कुमारीचोकमा बही बुझाउन भानुभक्त ५ महिना थुनिएका थिए। आफ्ना चरित्रनायकलाई ठूला विपत्तिमा फसेर उत्रेको देखाई महत्व प्रकट गर्नाका निमित्त भट्टजीले लेखपढ गर्न समेत सुविस्ता भएको थुनुवा घरलाई कडा पहरा बसेको झ्यालखाना देखाएका छन्। त्यसमा थप खोज गरी ज्ञानमणि नेपालले पृथ्वीभरिको स्वर्गका रूपमा बयान गरिएको 'बालाजु' कविता काशी र पटना पुगेका; लखनउ देखेका; फारसी र अंग्रेजी पढेका मोतीरामले त लेखेका होइनन् भन्ने गम्भीर सबाल उठाएका छन्। नेपाल 'अलकापुरी कान्तिपुरी नगरी' कविताबारे किटानीसहित लेख्छन्, कान्तिपुरलाई भोट, चीन, दिल्ली, मद्रास अझ लन्डनसँग तुलना गर्न सक्ने; धनीलाई 'धनियाँ' लेख्ने, 'जनकी, यसरी, सुखकी, सगरी' भनी स्त्रीलिंगी हिन्दी ढाँचाको प्रयोग गर्ने; सागरलाई सगर बनाउने मोतीराम भट्ट नै हुन सक्छन्।
यी दुई कविता आचार्य वा भट्टमध्ये जसले लेखेका भए पनि यिनमा व्यक्त देशभक्तिको भावनालाई सराहनै गर्नुपर्छ। तर, कविता लेखिएको 'कन्टेक्स्ट' (समय–सन्दर्भ)सँग 'कन्टेन्ट' (अन्तर्वस्तु)लाई दाँजेर हेर्दा भने देशभक्तिको भावनाभित्र पनि राणाशासनको चाकडी ह्वास्सै गन्हाउँछ। भानुभक्तका साहित्यको रचनाकाल भनेको राजा रणबहादुर शाह मारिएको र राजा राजेन्द्र थुनामा राखिएको बेला, प्रधानमन्त्री चलाइसकेको पाँडे वंशलाई एकै चिहान बनाउने प्रधानमन्त्री भीमसेन थापाले आत्महत्या गरेसकेको र अर्का प्रधानमन्त्री तथा आफ्नै मामा माथवरसिंह थापालाई कोतपर्वमा मारेर जंगबहादुरले राणाशासन थालेको बेला थियो। त्यस्तो समयमा नेपाली समाजमा 'आदिकवि वा राष्ट्रिय कवि'ले 'रिस राग कपट् छल छैन जहाँ, तब धर्म कती छ कती यहाँ' भन्दै लेख्नु परोक्ष वा प्रत्यक्षरूपमा शासकहरूको स्तुतिगान गर्नबाहेक अरु के हुन सक्ला? कदाचित् यी दुवै कविता भानुभक्तकै रचना भए पनि जंगबहादुरका भाइ जनरल कृष्णबहादुर राणाको चाकडी गर्ने क्रममा 'दिनदिनै चरणको दर्शन पाउने' कविबाट अरु आशा गर्न पनि सकिँदैन।
मुलुकी ऐन १९१० को साहित्यिक विस्तार
मोतीराम भट्टदेखि सुधपा र राणाशासकहरूले भानुभक्तलाई आदिकविको दर्जा दिने तथा शाहवंशीय शासकहरूले त्यसमा नेपाली राष्ट्रवादको लेपन लगाएको तथ्य यहाँ स्मरणीय छ। यही क्रममा थालनी भएको 'पृथ्वीनारायण शाहले राज्यको एकीकरण गरेपछि भानुभक्त आचार्यले नेपाली समाजलाई भावनात्मक राष्ट्रिय एकता स्थापना गरेको' पञ्चायतकालीन प्रचारबाजी अहिले झन्–झन् तीव्र भएको छ। इतिहासको ऐना हेर्दा जंगबहादुर राणाले १९१० सालमा 'मुलुकी ऐन' बनाएर पृथ्वीनारायण शाहले देखेको नेपाललाई 'असिल् हिन्दूस्थान' बनाउने सपनालाई संवैधानिक र कानुनी रूपमा अनुवाद गर्न थालेको बेला भानुभक्तचाहिँ 'रामायण'को अनुवाददेखि महिलाद्वेषी 'वधूशिक्षा'को लेखनसँगै सती प्रथाको समर्थनमा व्यस्त थिए। उनले 'मुलुकी ऐन १९१०'ले जस्तै साहित्यमार्फत सबैभन्दा पहिले प्रभावकारी ढंगले नेपालमा धर्म, जात र लिङ्गका आधारमा नेपाली समाजको विभाजनको पक्षमा सरल भाषामा साहित्य रचना गर्दै दरिलो आधार निर्माण गरेका थिए। अतः सौन्दर्य चिन्तक निनु चापागाईंले 'दलित सौन्दर्यशास्त्र र साहित्य'मा जायज प्रश्न उठाएका छन्, जुन साहित्यको अन्तर्वस्तुले समाजमा ठूलो सामाजिक विभाजनको खाडल खन्ने विचार प्रवाहित गरेको छ, त्यसको भाषा र साहित्यिक विचारले चाहिँ कसरी राष्ट्रिय एकताका लागि जग हाल्ने काम गर्छन्?
धर्म, भाषा, जात र लिङ्गका आधारमा सामाजिक विभाजनलाई उचित ठहर्‍याएका भानुभक्तले नेपाली समाजमा भावनात्मक एकता ल्याएको दाबीलाई इतिहासकार प्रत्यूष वन्तले 'चेतनाहीन इतिहास लेखन' र 'अनैतिहासिक सङ्घटना' भनेका छन्। भानुभक्तको रामायण नेपालका पाठकहरूसम्म कहाँ कसरी पुग्यो, साक्षरहरूको संख्या नगण्य रहेको देशमा रामायणलाई त्यतिखेर केकस्ता पाठकले पढे अनि तिनले कुन अर्थ लगाएर पढे भन्नेबारे कुनै जानकारी छैन। भानुभक्तको रामायणको पाठकचक्रबारे राम्रो जानकारी नै नभई त्यस पुस्तकले नेपाली जनताबीच भावनात्मक एकता ल्याएको दाबी गर्नु गलत हुन्छ। वन्तका अनुसार, नेपाली जनताको भावनात्मक एकता रामायणको सहपठनको आधारमा भयो भन्नु नेपाली इतिहासबारे ठूलो कुरा गर्नु हो। नेपाली राष्ट्रियताको सिर्जना यसरी नै भयो भन्नु नेपाली इतिहासबारे सानो कुरा भन्नु होइन। तर यो दाबालाई प्रमाणित गर्ने सबुत खै, आधार खै? पाठक नै यो दाबाको केन्द्रविन्दुमा रहेकाले उसको अनुभवलाई ध्यान नदिई सहपठनको आधारमा भावनात्मक एकता खडा भयो भन्नु चेतनाहीन इतिहास लेख्नु हो। उनको 'दी पोलिटिक्स अफ ब्रेभरीः अ हिस्ट्री अफ नेपाली न्यासनालिज्म'को निष्कर्ष छः साहित्यमा आधारित राष्ट्रिय भावना सिर्जना गर्ने प्रक्रियाअन्तर्गत यस्तो दाबी गरिएको हो र इतिहास लेखनका सामान्य वैज्ञानिक आधारहरूलाई मान्दा पनि यस कुराको कहिल्यै पुष्टि गरिएको छैन।
भानुभक्त आचार्यलाई 'भावनात्मक राष्ट्रिय एकताका वीर'को रूपमा पूजा गर्दै थालिएको मूर्ति (आइकन)को निर्माणले तथ्य र तर्कलाई वास्ता पटक्कै गरेको छैन। तथ्य र तर्कलाई बेवास्ता गर्दै, विवेक र बुद्धिको घैँटोमा बिर्काे लगाउँदै 'भावनात्मक राष्ट्रिय एकताका वीर'को गुनगान र पूजाआजा गर्दै बसियो भने नेपाली समाजका अनेकता, विविधता र बहुलताको बदख्वाइँ मात्रै हुन्छ। जबसम्म कुनै न कुनै नाम र नारामा मूर्ति निर्माण र पूजाआजाको अति भइरहन्छ, तबसम्म मूर्तिभञ्जनको खति पनि व्यहोर्नुपर्ने रहेछ। मूर्तिपूजन सम्राट, वीर वा विद्वताका नाममा भए पनि त्यसले तर्क र तथ्यमा आधारित बुद्धि र विवेकलाई जगाउँदैन, बरु प्रत्येक पुस्तालाई 'स्लो प्वाइजन' खुवाएर सुताउँछ।

प्रकाशित: १ श्रावण २०७० २३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App