२३ फाल्गुन २०७७ आइतबार
विचार

‘मांसाहारी’ राज्यसत्ता

सन् १७७५ मा गोरखाको बोर्लाङ पीपलथोकमा जन्मिएका भीमसेन थापा नेपालका दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार(प्रधानमन्त्री) हुन् । उनको कार्यकालमा नेपालको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदीसम्म विस्तार भएको थियो । तर उनले सन् १८१४ देखि १८१६ सम्म २ वर्ष देशलाई अंग्रेज–नेपाल युद्धमा नराम्ररी फसाइदिए । ४ मार्च १८१६ मा पुष्टि गरिए तापनि २ डिसेम्बर १८१५ मै ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच सुगौली सन्धिमा हस्ताक्षर भएको थियो ।सन्धिसँगै दुई देशबीचको युद्ध समाप्त भयो तथापि सो सन्धिबमोजिम नेपालले आफ्नो एकतिहाइ जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनुपर्‍यो ।अर्थात् नेपालले आफ्नो कुल जमिनको एकतिहाइ भूभाग गुमायो र हाम्रो देशको सिमाना खुम्चन बाध्य पारियो।

सन् १८०६ मा राजा रणबहादुर शाहको हत्या उनकै सौतेलो भाइ शेरबहादुर शाहद्वारा हुन पुग्यो । सोही झोकमा राजा रणबहादुरका विश्वास पात्र एवं हजुरिया(शाही सचिव तथा सल्लाहकार) भीमसेन थापाले ९३ जनाको हत्या गरी स्वयं मुख्तियार(प्रधानमन्त्री) बने । यस हत्या काण्डलाई‘भण्डारखाल पर्व’भन्ने गरिन्छ । भीमसेन थापाद्वारा विरोधीहरूलाई मार्ने क्रममा२ वर्षे नाबालकदेखि ७० वर्षे वृद्धवृद्धालाई समेत नछोडी निर्ममतापूर्वक हत्या गरेका थिए । सन् १८१६ मा राजा गीर्वाणयुद्धविक्रम शाहको युवावस्थामै मृत्यु हुन पुगेपछि उनका उत्तराधिकारी नाबालक राजा राजेन्द्रविक्रम शाहको नाममा शासन सञ्चालन भने रानी ललित त्रिपुरा सुन्दरी (रणबहादुर शाहकी कान्छी श्रीमती)द्वारा चलाइन्थ्यो ।सोही समयमा शक्तिशाली बन्न पुगेका भीमसेन थापा जब सन् १८३२ मा उनकी विशाल समर्थक रानी ललित त्रिपुरा सुन्दरीको मृत्यु भयो र राजा राजेन्द्रविक्रम पनि युवावस्थामा पुगिसकेका थिए, सो समयमा थापा खलक र पाण्डे खलकबीच ठूलो पारिवारिक द्वन्द्व थियो ।

दाहाल विद्रोही नेताको हैसियतमा क्रान्तिका बखत आमहत्याका आरोपमा कतै फसिन्छ या फसाइन्छ कि भन्ने शंका र त्रास बोकेर बाँचेका ज्ञातव्य नै छ ।

पाण्डेहरू भीमसेन थापालाई दामोदर पाण्डेको सन् १८०४ मा भएको हत्याको योजनाकार ठान्थे । दामोदर पाण्डे नेपालको प्रथम मूलकाजी या प्रधानमन्त्री थिए। उनलाई १८६० चैत ३ गते हालको काठमाडौँसहिद गेटनेर गिँडिएको थियो । पाण्डेहरूलगायत थापा विरोधी दरबारियाहरूको अनेक षड्यन्त्र र गतिविधिका कारण भीमसेन थापालाई सन् १८३९ मा जेल हालियो ।उनीमाथि लागेको आरोप थियो– महारानी साम्राज्यलक्ष्मीका नाबालक छोरा देवेन्द्रविक्रम शाहलाई विष खुवाएर मारेको ।

थापाले जेलभित्रै भावविह्वल भइ झ्यालको सिसा फुटाएर त्यही सिसाले सेरिएर आत्माहत्या गरे ।उनको दर्दनाक र विभत्स मृत्युतथा लासमाथिको घृणाको कथाले हालसम्म समेत मुटु काम्ने गर्छ । उनको मृत्युपश्चातसमेत दरबारभित्रको आन्तरिक कलह शान्त भएन र परिणमस्वरूप मुलुकमा राणा शासनकाल उदय भयो ।

१९०२ जेठ २ गते राति ११ बजे प्रधानमन्त्री माथवरसिंह थापाको घरमा ‘महारानीलाई पेटमा शूल उठी बेहोस भएकाले घाटमा लानुपर्ने भएकाले तुरुन्त दरबार जानू’ भनी कुलमानसिंह बस्न्यात उनलाई घरमै बोलाउन आए । विनासुरक्षा माथवरसिंह थापा दरबार छिरेर राजालाई दर्शन गर्न लाग्दा पर्दापछाडि लुकेर बसेका उनकै सहोदर भान्जा जंगबहादुर कुँवर(पछि जंगबहादुर राणा बनेका)ले थापालाई गोली हानी हत्या गरे ।

१९०३ भदौ ३१ गते नेपालको इतिहासमा ‘कोत पर्व’को नाममा दोस्रो ठूलो हत्या काण्ड भयो । राजा राजेन्द्रविक्रमकी कान्छी श्रीमती लक्ष्मीदेवीका दुईजना प्रिय पात्र गगनसिंह भण्डारी र जंगबहादुर कुँवर थिए । जसमध्ये गगनसिंहको हत्या भयो ।गगनसिंहको हत्यारा पत्ता लगाउने निहुँमा जंगबहादुर र उनका बफादार भाइहरू मिलेर प्रधानमन्त्री फत्तेजंग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे, अभिमानसिंह राना मगरलगायत ३१ जनाको हत्या गरियो ।त्यस हत्या काण्डलाई कोत पर्वका नामले चिनिन्छ । सोही विभत्स नरसंहार एवं हत्या काण्डबाट जंगबहादुर नेपालका प्रधानमन्त्री र प्रधानसेनापति बने ।त्यसै बेलादेखि नेपालमा १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनको उदयहुनपुग्यो ।

१९३८ पुसमा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारका लागि चितवनतर्फ लागेको समयमा जगतजंगको नेतृत्वमा नरेन्द्रविक्रम शाहले प्रधानमन्त्री सिंह, प्रधानसेनापति धीरशमशेर र उनका पूरा शाखा सन्तान सिध्याउने षडयन्त्र बनाए ।त्यसै साल वैशाख ११ गते गद्दी आरोहण गरेका बालक राजा पृथ्वीविक्रम शाहलाई हटाएर राजामा नरेन्द्रविक्रम शाह,प्रधानमन्त्रीमा जगतजंग र प्रधानसेनापतिमा पद्मजंग हुने षडयन्त्रको पोल उत्तरध्वज भण्डारीले धीरशमशेरलाई खोलिदिए ।त्यसपछि उक्त ३८ सालको काण्डमा ४१ जनाको हत्या गरियो ।

१९४२ सालमा वीरशमशेरले आफू र आफूमातहतका सैनिकहरूको सहयोगमा प्रधानमन्त्री तथा उनकै काका रणोद्दीप सिंहको हत्या गरे ।त्यस घटनामा जंगबहादुरका छोरा जगतजंग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल)को समेत हत्या भएको थियो ।

माओवादीको जनयुद्ध अवधिमा प्रकटरूपमा १७ हजार नेपालीको हत्या भएको देखिए तापनि अज्ञात धेरै नेपाली जनताको हत्या भएका यथेष्ठ प्रमाणहरू जीवित छन् ।

१९३३ सालमा गोरखा बुङ्कोटका लखन थापा मगर र उनका अनुयायीहरूले १५०० जनाको सशस्त्र फौज तयार पारी जंगबहादुर राणाको निरंकुश राज्यसत्ताको विरुद्ध चुनौती दिएका थिए । थापा नेतृत्वको विद्रोही शक्तिको उद्देश्य राणा शासन अन्त्य गरी नेपालमा न्याय र समानताका आधारमा चल्ने प्रजातान्त्रिक व्यवस्था स्थापना गर्नु थियो । जंगेका सेनाद्वारा त्यसको दमन गरी अन्ततः लखन थापासहित उनका ६ जना सहयोद्धाको बुङ्कोटमै झुण्ड्याएर क्रूरतापूर्वक हत्या गरियो ।सो हत्या काण्डलाई चर्चित ‘बुङ्कोट काण्ड’का नामले स्मरण गर्ने गरिन्छ ।

त्यस विद्रोहमा स्पष्ट राजनीतिक दृष्टिकोण,सशस्त्र तयारी,भारी जनसमर्थन तथा स्थानीय जनताको सहभागिता जस्ता सबल पक्ष थिए ।नेपालका प्रथम सहिद लखन थापा मगरले गोरखाको बुङ्कोटमा मनकामनाको मन्दिर स्थापना गरी माता मनकामनाले आफूलाई जंगबहादुरको निरंकुशता समाप्त गर्ने दैविक शक्ति प्रदान गरेको बताउने गर्थे ।धार्मिक आस्थामा अत्यन्तै विश्वास राख्ने तत्कालीन समयमा सर्वसाधारण जनतामा विश्वास र विद्रोही भावना जगाउने उद्देश्यले पनि हुन सक्छ,उनले मन्दिर बनाए र कथित देवीको सहायता लिने कोसिस गरे । हालसम्म पनि गोरखा मनकामना मन्दिरको पुजारी उनकै सन्तान/दरसन्तान (मगर) नै रहने प्रचलन जीवितै छ । लखन थापा मगर र उनका सहयोद्धाहरूको बुङ्कोट विद्रोह र सहादत नेपालको इतिहासको प्रथम संगठित मुक्ति संघर्षसमेत थियो ।

कम्युनिस्ट विद्रोह

२०२८ सालमा नेकपा(माले), झापा जिल्ला कमिटीले गरेको विद्रोहलाई झापा विद्रोह भनिन्छ ।झापा शनिश्चरे वडा नं.६ का वडा अध्यक्ष बुटन चौधरीको टाउको काटी केपी ओली, नेत्र घिमिरे, वीरेन्द्र चौधरी, नारायण उप्रेती आदि युवाले झापामा टाउको कटुवा आन्दोलन सुरुवात गरेका थिए । पूर्वसांसदसमेत रहेका धर्मप्रसाद ढकाल र उनका कान्छा छोरा ज्ञानु ढकाल आदि विद्रोहका नाममा काटिए । झापा विद्रोह वर्ग सत्रु सिध्याउने नाममा सामन्तहरूद्वारा गरिएको अर्का सामन्तहरूको हत्या काण्डबाहेक अन्य केही थिएन । स्मरणीय छ, झापा विद्रोहको पूर्वसध्यामा क. माओत्से तुङकोकथित महान् वाणी ‘रगत नपोतिएका हातहरूबाट क्रान्ति सम्पन्न हुनै सक्दैन’को अनुशरण गर्दै झापाको जंगलमा जोगी काटेर रगत पोतेको स्मरण कामरेडहरूको मानसपटलमा अझै ताजा होला कि बिर्से होलान् ?

२०२९ फागुन २१ गते पञ्चायती निरंकुश सरकारले सुखानीको जंगलमा झापा विद्रोहका आरोपितहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल,नारायण श्रेष्ठ र वीरेन राजवंशीको गोली हानी हत्या गर्‍यो ।

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र क्रान्तिको शंखघोष गर्‍यो ।माओवादीको क्रान्ति १० वर्ष,९ महिना,१ हप्ता १ दिनसम्म चल्यो । (२०६३ मंसिर ५ गते सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि औपचारिकरूपमा युद्ध समाप्त भएको घोषणा भएको थियो ।) त्यस अवधिमा प्रकटरूपमा १७ हजार नेपालीको हत्या भएको देखिए पनि अज्ञात धेरै नेपाली जनताको हत्या भएका यथेष्ठ प्रमाणहरू जीवित छन् ।युद्धले हजारौँव्यक्ति अपांग,हजारौँ घरबारविहीन र सयौँ मानिस मानसिक रोगी भएका छन् । यद्यपि माओवादी क्रान्तिको मुख्य उद्देश्य ‘जनवादी क्रान्ति’ सम्पन्न गर्न असफल रहे तापनि सामन्ती राजतन्त्रको अन्त्य, जननिर्वाचित संविधानसभामार्फत् मुलुकको संविधान लेखिएको, (अर्ध) धर्म निरपेक्षता जस्ता उपलब्धि सशस्त्र क्रान्तिकै देन रहेको नकार्न सकिन्न । यद्यपि माओवादी नेतृत्व राजासँगको वार्ता र सहकार्यको परिणाम फलदायीर सफल नहुने देखिएपछि संसद्वादी दलहरूसँग सहकार्य निम्ति बाध्य भएको यथार्थ एकातर्फ छँदैछ ।

नेकपा (एक पक्षका) अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि कार्यकर्तालाई आक्रोशित र उत्तेजित बनाउने उद्देश्यले पुस ५ गते केपी ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद् (प्रतिनिधिसभा) विघटन गर्ने विवादास्पद कदमको विरोध गर्न मांसाहारी आन्दोलन गर्न आह्वान गरे । दाहालहरू मांसाहारी आन्दोलनद्वारा नै स्थापित भइआएका नेता हुन् । अझ प्रधानमन्त्री केपी ओलीसमेत ।ओली राजनीतिक कारणले नभई व्यक्ति हत्याको कसुरमा १४ वर्ष जेल सजाय भुक्तान गरिआएका व्यक्ति हुन् । दाहाल विद्रोही नेताको हैसियतमा क्रान्तिका बखत आमहत्याका आरोपमा कतै फसिन्छ या फसाइन्छ कि भन्ने शंका र त्रास बोकेर बाँचेको ज्ञातव्य नै छ । उनीद्वारा अभिव्यक्त हुने डरको आशय बुझ्न गाह्रो छैन । तर उनी सत्ताधारी जाति, धर्म, वंश, क्षेत्र र नश्लका नेता भएकाले त्यस्तो त्रास सत्यमा परिणत हुने रत्तिभर सम्भावना छैन । हत्यारा, विद्रोही, देशद्रोही, भ्रष्टाचारी आदि आरोप त सत्ताविहीन जाति, समुदायमाथि पो थोपरिने गर्छ । यो देशमा एकलजातिवादी ‘मांसाहारी’ राज्यसत्ता र लोकतन्त्र सँगै जानै सक्दैनन् । दुईमध्ये एक रोज्ने बेला भएन र ? यो व्यवस्था लोकतन्त्र पनि भनिएको छ र एकलजातिवादी राज्यसत्ता चलेकै छ ।राज्यसत्ता आखिर मांसाहारी नै हो र रहिरहनेछ ।

प्रकाशित: ६ फाल्गुन २०७७ ११:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App