मानव जीवन, पर्यावरण र पशुको सम्बन्ध अन्योन्याश्रित हुन्छ र रहिरहनेछ। मानिसले कतै जीवन निर्वाहका लागि त कतै व्यवसायका रूपमा पशुपक्षीको पालनपोषण वा प्रत्यक्ष सम्पर्कमा रहिआएका हुन्छन्। यस क्रममा कैयौँ पशुलाई घरपालुवा बनाइसकेको छ भने कैयौँ जंगली पशु मानिसको सम्पर्कमा आउने क्रम तीव्र हुँदैछ। विकासको तीव्र होडमा मानिसले वातावरण र पशुबारे उचित ध्यान दिन नसकेका कारण त्यसले जनस्वास्थ्यमा निकै ठूलो क्षति बेहोर्नुपर्यो। यस सम्बन्धमा विज्ञान, प्रविधि र चिकित्सा क्षेत्रले हासिल गरेको उपलब्धि अपर्याप्त र एकपक्षीय भएको महसुस भयो।
अहिले विश्वमा जनस्वास्थ्य समस्याका रूपमा देखापरेका नयाँ नयाँ रोगको एक मुख्य कारण यस्तै वातावरणमा आएको नकारात्मक असर र पशुहरू हुने गरेका छन्। विगतमा जनस्वास्थ्य महामारीका रूपमा विश्वलाई उथलपुथल पारेका प्लेग, इन्फ्लुएन्जा, जिका, इबोला हुँदै हालको कोरोना भाइरस नयाँ प्रजातिले सिर्जना गरेको विश्वव्यापी विपत्ति त्यसका उदाहरण हुन्। त्यसका साथै मानव स्वास्थ्यका लागि हानिकारक असंख्य प्रकारका ब्याक्टेरिया, भाइरसको मुख्य स्रोत पनि त्यस्तै पशु हुने गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म मानिसमा १४१५ थरीका रोगको संक्रमण पाइएको छ। ती रोगमध्ये करिव ६० प्रतिशत पशुबाट मानिसमा संक्रमण भएको पाइएको छ भने अन्य कैयौँ रोग वातावरणमा परेको नकारात्मक असरले सिर्जना भएका छन्। हाल फैलिएको कोरोना भाइरस रोगका सन्दर्भमा विश्व स्वास्थ्य संगठनलगायत विज्ञहरूले यो रोग सालक, चमेरो आदि जंगली पशुपक्षीबाट मानवमा सरेको बताएका छन्। यद्यपि अन्य पशुपंक्षीका प्रजातिमा समेत यो रोगका भाइरस भएको अध्ययनले देखाएका छन्।
यसका अलावा विगत लामो समयदेखि मानिसमा पाइएका महामारीजन्य संक्रामक जेनेटिक रोगहरू, जस्तै– प्लेग, बोभाइन क्षयरोग, रेविज, डेंगे ज्वरो, चिकुनगुनिया, एभियन इन्फ्लुएन्जा, जापानी एन्सेफलाइटिस, ब्रुसेलोसिस, लेप्टोस्पायरोसिस, साइस्टिकेरोसिस, फासियोलियोसिस, साल्मोनेलोसिस, कम्पोब्याटोरियल संक्रमण, एन्थ्राक्स, ग्लान्डर, स्ट्रेगल्स्लगायतका रोगहरू पशुबाट मानिसमा सरेको पाइएको छ। त्यसमध्ये पनि बढी संक्रामक एक दर्जन रोगबाट मात्र हरेक वर्ष विश्वमा करिव बीस लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। आगामी दिनमा यी र यस्तै अन्य कैयौँ प्रकारका ज्ञात/अज्ञात प्यारासाइट, ब्याक्टेरिया, भाइरस, फंगीको संक्रमणका कारण नयाँ नयाँ रोग मानवमा फैलिन सक्ने संभावना प्रबल छ।
नेपालमा हालसम्म करिब ३९ थरीका जुनोटिक रोगहरू पहिचान भएका छन्। त्यसमध्ये करिव आधा दर्जन भाइरल समूहका र त्यति नै संख्याका परजीवी समूहका रोगले नेपालमा निकै क्षति पु¥याएको अध्ययनहरूले देखाएका छन्। यस्ता रोग अधिक संख्यामा पशुहरूका बीचमा महामारीका रूपमा फैलिने र पशुहरूमा समेत मानिसमा जस्तै गंभिर असर पर्ने अवस्था आएमा त्यसले अर्को महाविपत्ति सिर्जना गर्नेछ। यसैले, कोभिड–१९ को वैज्ञानिक नियन्त्रण वा व्यवस्थापनमा जुटेका सबै सरकार र सरोकारवालाले पशु स्वास्थ्यका सम्बन्धमा पनि उत्तिकै तदारुकताका साथ जुट्नुपर्ने हुन्छ।
हालै महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगबारे विश्व समुदाय निरीह बन्यो। यसको कारण करिव उन्नाइस लाख चौवालीस हजार मानिसले ज्यान गुमाइसकेका छन् भने नेपालमा मात्र करिब दुई हजारले ज्यान गुमाएका छन्। यसबाट विश्वव्यापीरूपमा मानव जातिमा परेको सामाजिक–आर्थिक–मनोवैज्ञानिक क्षतिको पूर्ति हुन कहिल्यै सक्ने छैन। बितेको एक वर्षको अवधिमा विश्वले आर्थिकरूपमा मात्र करिव विगत दशकमा हासिल गरेको उपलब्धि गुमाएको छ।
कोभिडको व्यवस्थापन गर्न अन्य सावधानीका अलावा पशुपक्षी) को प्रत्यक्ष सम्पर्कबाट बच्न सुझाइन्छ। यो उपायको सही पालन ग्रामीण क्षेत्रका बस्तीमा निकै चुनौतीपूर्ण छ। त्यहाँका मानिसको दैनिक जीवन निर्वाह पनि पशुपक्षीबिना अधुरो हुन्छ। प्रायः सबै घरमा गाई, भैँसी, बाख्रा, कुखुरा, हाँस आदि केही न केही पालिएका हुन्छन्। खेती किसानी गर्ने वा अन्य प्रयोजनमा पनि पशुको प्रयोग हुने गर्छ। घरमा पशु नपालेका परिवारमा पनि कुकुर, बिराला, मुसा, चराचुरुंगीलगायत पशुपक्षीहरूको बाक्लो उपस्थिति हुन्छ। त्यसका अलावा मानवको जंगल क्षेत्रमा विचरण वा अतिक्रमणका कारण जंगली जनावरहरूको प्राकृतिक बासस्थान खलबलिएको कारण जंगली जनावरहरू मानव बस्तीमा छिर्ने, मानिस वा घरपालुवा जनावरलाई हमला गर्ने, मानव बस्तीको वरिपरि दिसापिसाब गरिदिने र त्यस्ता फोहोरको माध्यमबाट उनीहरूमा रहेको संक्रमण मानिसमा फैलिँदै गएको छ।
हाम्रा ग्रामीण तथा अन्य बस्तीहरूमा पशुपक्षीबाट मानिसमा सर्न सक्ने रोग र त्यसबाट सुरक्षित रहने सम्बन्धमा जनचेतना जगाउने काम भएको पाइँदैन। मानिसलाई जस्तै पशुपक्षीको पनि नियमित स्वास्थ्य जाँच गर्ने (र बिरामी भएको पाइएमा औषधि उपचार), सफा स्थानमा पाल्ने, स्वस्थ आहारा–पानीको व्यवस्था गर्नु अत्यावश्यक हुन्छ। पशुलाई मासुका रूपमा प्रयोग गर्दा मात्र यसमा भएका संक्रमण फैलिने होइन बरु कतिपय रोग तिनीहरूको सम्पर्कमा आउँदा पनि सर्न सक्छन् भन्ने कुराको जानकारी नभएका कारण नजानिँदो गरी धेरै संक्रमण मानिसमा फैलिएको हुन सक्छ। अभैm पनि पशुको दूधलाई बिनाप्रशोधन सेवन गर्ने, (खास जातिमा) काँचो मासु वा रगत खाने प्रचलन छ। यस्ता प्रचलन रोगको संक्रमण फैलाउन निकै सशक्त माध्यम हुन्।
नेपालमा मासुको खपत वार्षिक प्रतिव्यक्ति छ केजीको हाराहारीमा हुने गरेको पाइन्छ। यो आंकडा हरेक वर्ष बढ्दो क्रममा छ। व्यावसायिकरूपमा मासुको प्रयोजनका लागि पालिने पशुहरूका कारण वातावरणमाथि अत्यधिक दोहन भएको र व्यावसायिक मुनाफाका लागि पशु दानामा अत्यधिक प्रतिजैविक रसायन, भिटामिनको प्रयोग हुने गरेका कारण त्यस्ता पशुहरूमा नयाँ नयाँ रोगहरू देखिन थालेको छ। संक्रमित पशुजन्य पदार्थको बढ्दो खपत जनस्वास्थ्यका दृष्टिकोणले निकै घातक हुन सक्छ। अतः मासुको वा पशु पैदावारका लागि पालिने पशुहरूको स्वास्थ्य जाँच गर्ने गुणस्तरीय, भरपर्दो र सर्वसुलभ मापदण्डहरू तय गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेछ।
नेपालले रेविजविरुद्धको खोप तयार पारेको छ र अन्य कैयौँ रोगविरुद्धका उपचारका विधिहरू पनि अध्ययनका क्रममा रहेको बताइएको छ। यद्यपि असंगठितरूपमा हुने पशुपक्षी पालन तथा त्यसको कारोबारका कारण त्यस सम्बन्धमा संभाव्य स्वास्थ्य प्रभावका बारेमा प्रभावकारी रोकथामका उपायहरू अवलम्बन गर्न सकिएको छैन। यसको प्रत्यक्षरूपमा नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्त गर्ने कुरालाई पनि अवरोध पुर्याउनेछ।
पर्यावरणीय प्रतिकूलता वा जीवनशैलीमा आएको तीव्र परिवर्तनका कारण पशु र मानिसमा एकै प्रकृतिका रोग, जस्तै– मुटु बाथरोग, निमोनिया, रुबेला आदिको संक्रमण पाइएको अध्ययनले देखाएका छन्। त्यस्ता रोग पशुबाट मानिसमा समेत सहजै संक्रमण फैलिएको पाइएको छ। यसै तथ्यलाई मध्यनजर गर्दै विश्वव्यापीरूपमा वान हेल्थको अवधारणा निकै चासो र चर्चाको विषय बनेको छ। यस सम्बन्धमा हरेक देशले आफ्नो नीति तथा कार्यक्रममा त्यसअनुरूपको समायोजन गर्ने तयारीमा लागेका छन्।
नेपालमा वान हेल्थका सम्बन्धमा संयोजन गर्ने जिम्मेवार (केन्द्रीय) निकाय दुईटा तोकिएका छन्– सरुवा रोग नियन्त्रण महाशाखा र पशु स्वास्थ्य निर्देशनालय। यी निकायले बेलाबेलामा गोष्ठी आयोजना गर्दै सरकार र अन्य सरोकारवालालाई सुझाव उपलब्ध गराउने गरेका छन्। वान हेल्थका सम्बन्धमा कुरा हुन थाले पनि ठोस योगदान दिन सक्ने प्रयास सरकारको तर्फबाट भएको पाइँदैन। यसका लागि अन्तरसरकारी समन्वय, गैरसरकारी क्षेत्र, शैक्षिक तथा अनुसन्धान प्रतिष्ठानहरू समेटेर स्थानीय निकायमा ज्ञान, सिप र व्यवहार परिवर्तनका कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसका लागि स्थानीय सरकारहरूलाई सशक्तीकरण गर्दै लैजानुपर्छ। यस सम्बन्धमा दक्ष जनशक्तिको अभाव, संरचनागत तयारी नहुनु, बजेटको अभावलगायत राजनीतिक नेतृत्वको सुझबुझको कमी मुख्य चुनौति रहेको कुरा सन् २०१९ मा कृष्ण प्र. आचार्यको टोलीले वान हेल्थ जर्नलमा प्रकाशन गरेको लेखमा समेत उल्लेख छ।
जनस्वास्थ्य सम्बर्धन गर्ने एक मुख्य पेसा समूह मानिने भेटरिनरी पेसाकर्मीहरूलाई यस सम्बन्धमा थप प्रशिक्षित र जनचेतनाका लागि उत्प्रेरित गरिनु अत्यावश्यक हुन्छ भने चिकित्सा विज्ञानको अध्ययनमा पनि वान हेल्थलाई सघनरूपमा अध्ययन गराइनुपर्छ। आजसम्मको अवस्था हेर्दा अहिलेको कोरोना र यसपछि आउने वा दोहोरिन सक्ने रोगहरूलाई स्वीकारेर सँगसँगै अस्तित्वमा रहनु वा बाँच्नुको विकल्प छैन। अतः आगामी दिनहरूमा हामी मानिस नयाँ नयाँ रोगसँग अनुकूलन गर्दै बाँच्नुपर्नेछ। अतः नेपालले कोभिड–१९ पश्चातको नयाँ सामान्यीकरणको योजना तर्जुमामा गर्दा पर्यावरणीय, मानव र पशु स्वास्थ्यसँग सम्बन्धित विषयवस्तुलाई एकै टेबलमा छलफल गर्दै त्यसको व्यवस्थापनका उपायहरू खोजी गर्नुपर्छ। यो नै दिगो मानव विकासको भरपर्दो आधार हुन सक्छ।
(पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य संकायमा प्राध्यापनरत)
प्रकाशित: २७ माघ २०७७ ०६:२४ मंगलबार