९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कम्युनिस्ट कोरल्ने कम्युनिस्ट

गोविन्दप्रसाद लोहनी २००८ देखि २०१३ सालसम्म नेपालमा कम्युनिस्ट चल्ला कोरल्ने ह्याचरी मेसिन नै थिए । २००८ माघमा डा. केआइ सिंहले काठमाडौँमा गरेको जेल विद्रोहको निहुँमा सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । यो ठाडो अन्याय थियो । प्रतिबन्धित अवस्थामा काम गर्नुपथ्र्यो कम्युनिस्टहरूले । तर गोविन्दप्रसाद लोहनी काठमाडौँको सदर टुँडिखेलमा कम्युनिस्ट पार्टीबारे पढाउनुहुन्थ्यो । टुँडिखेल त्यतिबेला विशाल थियो । रानीपोखरीको डिलदेखि सानो टुँडिखेल हाल दशरथ रंगशालाको उत्तरतर्फको डिलसम्म खुला थियो । 

शहीद ढोका, सैनिक मञ्च, खुला सैनिक मञ्च रत्नपार्क केही बनेको थिएन । सदर टुँडिखेल काठमाडौँका मान्छेको हावा खाने ठाउँ थियो वास्तवमा । म घण्टाघर उत्तरको तीनधारा पाकशालामा बस्थेँ । पुतलीसडकमा वाल्मीकि विद्यापीठमा शास्त्री तहमा पढ्थेँ । गोविन्दप्रसाद लोहनी प्रखर कम्युनिस्ट थिए त्यतिबेला । नेपाल कम्युनिस्ट पार्टीमा उनी के थिए त्यसको हेक्का छैन । तर उनी कम्युनिस्ट दर्शन, सिद्धान्त, द्वन्द्वात्मक भौतिकवाद, पुँजी, वर्ग, वर्गसंघर्ष, अन्तर्विरोध, जनवादी केन्द्रीयता, उपनिवेषवाद, पुँजीवाद, साम्राज्यवाद, सामन्तवाद, जग्गा धनी, मोही, किसान, बाली, कुत, मोहियानी हक, अन्तद्र्वन्द्व, अन्तरसंघर्ष, विर्ता, रैकर, गुठी, विर्तामा पनि कुशविर्ता सुनाविर्ता, गुठीमा पनि सरकारी गुठी, निजीगुठी, खुवा, खान्गी, मालपोत, सरुवा, फलुवा चामल जस्ता अनेक कुरा सविस्तार पढाउँथे टुँडिखेलमा कम्युनिस्ट क्लास ।

सरकारी विद्यार्थीलाई माक्र्सवाद

सरकारी खर्चमा तीनधारा पाकशालामा निःशुल्क बस्ने, खाने र वर्षको दुई जोर लगाउने लुगासमेत पाइने सुविधा पाएका तीनधारा पाकशालाका हामी १२ जना जति विद्यार्थी सदर टुँडिखेलमा गोविन्दप्रसाद लोहनीसँग कम्युनिस्ट दर्शन पढ्थ्यौँ । त्यो पाकशालामा बसेर नेपाल कम्युनिस्ट पार्टीको सदस्यतासमेत पाउने म पहिलो विद्यार्थी हुँला । अब पार्टीले मलाई अरू विद्यार्थीलाई पनि कम्युनिस्ट बनाउने काम दियो ।  

कम्युनिस्ट पार्टीको सबभन्दा तलको संगठनलाई सेल भनिन्थ्यो । एउटा सेलमा तीन जना हुन्थे । तीमध्ये एक जना सेल सक्रेटरी हुन्थ्यो । म सेल सेक्रेटरी भएँ । सदस्यचाहिँटंकनाथ पथिक र अम्बिकाभक्त अधिकारी भए । अब संगठन ठूलो बनाउने निर्देशन आयो । परिवार तथा साथी पढाउन लाग्यौँ । रामचन्द्र न्यौपाने, रेवतीरमण खनाल, भुवनेश्वर गौतम, ठाकुरप्रसाद देवकोटा, राधाकृष्ण पराजुली, लीलाराज विष्ट, लीलानाथ सुवेदीहरूलाई पनि समर्थक समूहमा राख्यौँ । प्रतिमाहिना पार्टीलाई २० पैसा बुझाउनै पथ्र्यो । दैनिक तीन घण्टा पार्टीका दस्तावेज, माक्र्सवाद पढ्नै पथ्र्यो । नत्र सदस्यताबाट निकालिन्थ्यो । यसरी तीनधारा पाकशालामा बसेर पढ्ने विद्यार्थीलाई माकर््सवादी दर्शन पढाउन पाउँदा लोहनीजी प्रसन्न हुनुहुन्थ्यो ।  

लोहनीजी पास भए तर कक्षा सञ्चालन भएन  

लीलाराज विष्ट गोविन्दप्रसाद लोहनीसँग अनेक प्रश्न गर्ने । शंकागर्ने । तर्क गर्नेहरूलाई नेताहरू र शिक्षकहरू बढी मन पराउने । लीलाराज विष्ट गोविन्दजीका मन परेका चेला थिए । गोविन्दप्रसादजीका लेखहरू स्थानीय पत्रिकाहरूमा छापिन्थे । पुस्तिकाहरू पनि प्रकाशित हुन्थे । हामी खोजी खोजी पढ्थ्यौँ । अलि पछि पार्टीमा लाग्ने साथीहरू बढेपछि दुइटा सेल बनाउनु प¥यो । एउटा सेलको सेक्रेटरी टंकनाथ पथिक र अर्को सेल सेक्रेटरी अम्बिकाभक्त अधिकारी भए । मेरो दायित्व यी दुवै सेल सुचारुरूपले सञ्चालन गर्नु थियो । समर्थक समूहमा ८ जना भए तरसेल भने दुइटामात्र गठन गरियो । यी सेलबाट एउटा सानो कुरो पनि बाहिर जाँदैनथ्यो । गोप्यतामा ढुक्क थियो । अब भौतिक परिस्थिति र स्वरूप बदलिन थाल्यो । नेपाल सरकारले ८ वटा पोस्ट ग्य्राजुएट र ६ वटा ग्य्राजुएट अफिसरका लागि लोक सेवा आयोगमार्फत उम्मेदवार माग्यो । गोविन्दप्रसाद लोहनी, विश्वनाथ उपाध्याय, बब्बरप्रसाद सिंह, मंगलकृष्ण श्रेष्ठ, अनन्तनाथ पौडेललगायत ८ जना पोस्ट ग्य्राजुएटतर्फ र ग्य्राजुएट अफिसरतर्फ दाताराम शर्मा र मलगायत ६ जना उत्तीर्ण भएको सूचना सरकारी पत्र गोरखापत्रमा नामसमेत छापियो ।  

लोहनीजी योजना आयोगमा सदस्य

अब गोविन्दप्रसाद लोहनी नेपाल राष्ट्रबैंकका अनुसन्धान अधिकृतमा नियुक्त भए । विश्वनाथ उपाध्याय र बब्बरप्रसाद सिंह अदालतमा न्यायाधीश भए । मंगलकृष्ण र अनन्तनाथहरू प्रशासनमा नियुक्त भए । दाताराम शर्मा र मलाई भने राज्यले कतै नियुक्त गरेन । राज्यसँग म नेपाल कम्युनिस्ट पार्टीको सदस्य भइसकेको रेकर्ड रहेछ । सरकारले जागिर ख्वाएर कम्युनिस्ट नपाल्ने निर्णय गरेछ । तसर्थ मेरो लोकसेवा आयोगको सफलता त्यसै खेर गयो । यता धेरै जनालाई कम्युनिस्ट बनाउने, कम्युनिस्ट चल्ला कोरल्ने मेसिन ह्याचरी जस्ता गोविन्दजी भने सफल भइ अनुसन्धान अफिसरमा नियुक्त भए । लोहनीजी कम्युनिस्ट हुन् भन्ने कसैले उजुरी गरेन । कति सहयोगी भावना । प्रहरी प्रतिवेदन पनि लोहनीजीको विपक्षमा पेस भएनछ । कैयौँ समयपछि लोहनीजी पञ्चायत दर्शन खोजी गर्ने तीन सदस्यीय संयन्त्रमा पनि सदस्य भए । पाकिस्तानमा राजदूत, राष्ट्रिय योजना आयोगको सदस्यसमेत भए । गोविन्दजीसँग सदर टुँडिखेलमा माक्र्सवाद पढ्ने हामीमध्ये लीलाराज विष्ट बडाहाकिम, अञ्चलाधीश मात्र होइन, मन्त्रीसमेत भए । रेवतीरमण खनाल दरवारको जनसम्पर्क अफिसर हुँदै राजा वीरेन्द्रको प्रमुख सचिवसमेत भए । अम्बिकाभक्त अधिकारी सरकारको सचिव पनि भए ।

पार्टी सदस्यता नवीकरण

कम्युनिस्ट आन्दोलनबारे गम्भीर अध्ययन गरेका र सर्वसाधारण जनतालाई माक्र्सवाद कसरी सरल तरिकाले सिकाउने, कसरी असल कम्युनिस्ट बनाउने भन्नेमा चिन्तनशील गोविन्दप्रसाद लोहनी म भन्दा ९३ दिन कान्छा रहेछन् । तर ज्ञान र बौद्धिकतामा भने धेरै जेठो । उमेरले जेठो हँुदैमा ज्ञान र बुद्धि पनि जेठो हुने रहेनछ । म पत्रकार भएपछि गोविन्दजी मेरो समाचारका भरपर्दो स्रोत भए । कतिवटा दरवारका समाचार पनि दिएर मेरो पत्रकारिताको स्तर उचालिन मद्दत पुगेको थियो । उनी गम्भीर अध्ययन गर्ने समाजदवाद, राजनीति,साहित्य, बैंक, योजना, अर्थशास्त्र, दर्शनशास्त्र आदिमा बाक्लो अध्ययन भएका थिए । बाल्यकालमै वनारस लगिएका गोविन्दजी पछि काठमाडौँको जुद्धोदय हाइस्कुलमा पनि केही वर्ष पढ्ने अवसर पाएका रहेछन् जसले गर्दा लोहनीजीमा ज्ञानका अरू अन्तरकुन्तर पनि खुले । नेपाली कांग्रेस र पछि नेपाल कम्युनिस्ट पार्टीको प्रारम्भदेखिनै सम्पर्कमा रहेका लोहनीजीले पार्टी सदस्यता नवीकरण गरे÷गरेनन्, स्पष्ट भेटिँदैन । कम्युनिस्ट पार्टी प्रवेश गरेपछि नेपाली कांग्रेस जरुरै छाडे होलान् । यो कुराको निरुपण परिवारका सदस्यहरू वा अन्तरङ्ग साथीहरूबाट मात्र हुन्छ ।  

छनोट ठीक भएन जस्तो लाग्यो

पार्टी वा सङ्गठनमा आबद्ध हुनेहरूमा निरन्तरताको मुद्दा नेपालमा मात्र होइन प्रायः सबैतिर हुँदोरहेछ ।फेरि एकातिर बनेको व्यक्तित्वअर्कोतिर त्यही मात्रा र तहमा रूपान्तरण सहजै हुने रहेनछ । मान्छे होे, यो जटिल प्रकृतिको हुने रहेछ । गोविन्द लोहनीको व्यतिmत्व जागिर भएपछि अर्कै वृत्तमा रुमल्लिन लाग्यो । टँुडिखेलमा कक्षा लिने कुराले निरन्तरता पाउन सकेन । हामी टँुडिखेलका उनका चेला पनि आ(आफ्ना पेसातिर प्रतिबद्ध हुन लाग्यौँ । पछिल्लो अवस्था पञ्चायत शासनमा उनलाई दरवारका को÷कोले फकाए, उचाले  लोहनीजीलाई। समाजले पत्याएका अर्थविद् चन्द्रराज ढुंगेललगायत को को हो टेक्नोक्र्याटले सरकार बनाउने भन्ने माहोल बनेछ । त्यसरी गठन हुने मन्त्रिमण्डलमा  इमान्दार, परिपक्व र समाजमा नगनाएका मान्छे मात्र रहने योजना बनेछ । बेइमान कसैलाई पनि ढिम्किन नदिने रे । यस्तो प्रस्ताव लिएर गोविन्दजी एकदिन बिहानै मकहाँ आए । गोविन्दप्रसाद लोहनीद्वारा प्रस्तावित मन्त्रिमण्डलमा मलाई शिक्षा र संस्कृति मन्त्रीमा राख्ने भन्ने भएछ । मन्त्रिमण्डलको प्रथमपुरुष प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष गोविन्दप्रसाद लोहनीजी वा चन्द्रराज ढुंगेल वा अर्कै को थियो, खुला भएन । यही मेसोमा उनका घरमा बिजुली पानी पार्टीसहितको जमघट धेरैपल्ट भएछ । त्यस्ता काममा लोहनीजीको निकै खर्च भएछ । त्योबिजुली पानी पार्टीमा भएको खर्चंउनकी श्रीमती रुचिरावालादेवी लोहनीको उपचारमा लगाउन सकेको भए उनी निको हुन्थिन् कि ?उनी अलि बढी बाँच्थिन कि? भन्ने मेरो दृष्टिकोण हो । मान्छे अर्कालाई पर्दा यस्ता कुरा सोच्छ तर आफूलाई पर्दा भने बिर्सन्छ । गोविन्द लोहनीजीप्रति हार्दिक सम्मान र उनका परिवारप्रति हार्दिक समवेदना ।

प्रकाशित: २६ माघ २०७७ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App