३० वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

लाहुरेकरण र राज्यको पुनर्गठन

'बिहान उठ्नेबित्तिकै हिमाल हेर्न पाइयोस्
यी हातले सधैँ–सधैँ नेपाल लेख्न पाइयोस्।'
यस्तै यस्तै सुन्दर रहर हुनसक्छ घान्द्रुक गाउँको यात्रा गर्ने धेरैजसो पर्यटकका मनमा। घाम लागेका बेला घान्द्रुक गाउँबाट माछापुछ्रे र अन्नपूर्ण हिमाल छर्लङ्गै देख्न पाइन्छ, भिन्न रूप र आकारमा।पहिलो पटक घान्द्रुक गाउँको यात्रा गर्दा यस पंक्तिकारको मनमा पनि माछापुछ्रे र अन्नपूर्ण हिमाल हेर्ने उत्कट रहर थियो। र, बिहानै उठेर आफ्नो रहर अलिकति पूरा गरिरहँदा कवि विमल निभाको टिप्पणी खरो सुन्न पाइयो, बिहान उठ्नेबित्तिकै हिमाल हेर्न चाहने कवि लेखकले हिमालमुनि कठ्याङ्ग्रिँदो समाजबारे कमै लेखेका छन्।
हुन त माछापुछ्रे र अन्नपूर्ण हिमालमुनि रहेको घान्द्रुक गाउँको फस्टाउँदो पर्यटन व्यवसायबारे पनि धेरै लेखिएको छ। तर, यस गाउँमा पहिले बहुसंख्यक समुदायका रूपमा रहेका गुरुङहरूका विशिष्ट श्रम र सीपबारे, श्रम–सराइ र बसाइँ–सराइबारे भने कमै लेखिएको छ। गुरुङहरूको श्रम–सराइ र बसाइँ–सराइसँगै यस गाउँमा बढिरहेको दलित बस्ती र उनीहरूको जीवनबारे पनि खासै लेखिएको छैन, न त पर्यटन व्यवसायको वृद्धिसँगै यहाँ बस्न थालेका राई समुदायका जीविकाबारे कसैको ध्यान गएको छ। राष्ट्रवादी कोणबाट हिमालबारे, आर्थिक कोणबाट पर्यटनबारे कलम चलाउनेहरूका लागि एकतिर गाउँ र गाउँलेका विषय, अर्काेतिर उनीहरूको जीवन र जीविका सरोकारका विषय बन्न गाह्रै हुँदा रहेछन्।

लाहुरेकरणले चेपिएको घान्द्रुक
बिहानबिहानै माछापुछ्रे र अन्नपूर्ण हिमाल हेर्दा, घान्द्रुकका आकर्षक घर र ढंुगाले छाएका बाटोले भरिएको गाउँबस्ती घुम्दा जति सौन्दर्य र आनन्दको अनुभूति हुन्छ, त्यति सुखद भने लाग्दैन। यही बस्तीका घर र आँगनमा पस्दा, बचेखुचेका परिवार र व्यक्तिका जीवनभित्र छिर्दा। समाजशास्त्री चैतन्य मिश्रका शब्दमा, अधिकांश गुरुङहरू बसाइँ सराइ र श्रम सराइ गरेका कारण घान्द्रुक रित्तो गाउँजस्तै लाग्छ, पहिलेको बन्दीपुरजस्तै भूत्याहा बस्तीको झझल्को आउँछ। यद्यपि, बसाइँ सराइ र श्रम सराइको न्यान्द्रो घान्द्रुकबाट लन्डनसम्म जोडिएको सकारात्मक पाटो पनि देख्न सकिन्छ, एउटा ठूलो सामाजिक गतिशीलता र आन्दोलनका अर्थमा। यही क्रममा यहाँका 'लडाकु नस्ल' र 'लाहुरे जाति' ठानिएका गुरुङमध्ये कोही पोखरामा, कोही काठमाडौँमा त धेरै लन्डनमा छन्। यहाँ देखिन्छन् उनीहरूका पुराना चट्ट मिलेका घर, लोभलाग्दा बारी र केही खेत। तर, उनीहरूका घरघरमा भने ताल्चा मारिएको वा अर्कै कसैलाई कुरुवा राखिएको दृश्य देख्न पाइन्छ। त्यसरी कुरुवा बस्नेमा अधिकांश दलित छन्। पचहत्तरै जिल्ला घुमेर यस्ता दृश्य हेरेका अर्थराजनीतिक विश्लेषक हरि रोकाका भनाइअनुसार यो नेपालका अधिकांश पहाडी ग्रामीण समाजको सामान्य श्यामश्वेत चित्र हो भने लाहुरेकरणका सन्दर्भमा विशिष्ट तस्बिर पनि हो।
वास्तवमा गाउँले समाजको दलितकरणको नेपथ्यमा गुरुङलगायत अधिकांश मंगोल नस्लका पहाडी जनजातिको श्रम सराइ र बसाइँसराइको ऐतिहासिक सन्दर्भ जोडिएको छ, जसको कथा लेखिएकै छैन। श्रम सराइ र बसाइँ सराइको लामो राष्ट्रिय गाथामा यससँगै तीव्र भएको लाहुरेकरणको इतिहास पनि लुकेको छ, जसको वृत्तान्त कोरिएकै छैन। यस्तो दाबी गर्ने इतिहासकार प्रत्यूष वन्तका अनुसार १९ औँ शताब्दीको सुरुतिरै पन्जाबकेशरी महाराजा रणजित सिंहले लाहोरमा नेपालीलाई आफ्नो सेनामा काम दिन थालेपछि यस्तो काम गर्ने व्यक्तिलाई 'लाहुरे' भन्न थालिएको विश्वास छ। लाहुरे शब्दले मूलतः ब्रिटिस भारत र स्वतन्त्र भारतलगायत ब्रिटेन, ब्रुनाइ, मलेसिया र हङकङमा बेलायती सेनामा सेवा गर्ने नेपाली भन्ने बुझाए पनि हालैका वर्षमा यसको तात्पर्यमा बिस्तार भएको छ। घान्द्रुक यात्राको क्रममा टिपिएका सन्दर्भ कोट्याउँदा पहिलो विश्वयुद्धमा खटाइएका बाजे र दोस्रो विश्वयुद्धमा लडाइएका बाबुका सन्तान हरि रोका 'पुराना लाहुरे'का वंशज हुन् भने विमल निभाका अमेरिकामा कार्यरत छोरा 'नयाँ लाहुरे' हुन्। त्यस्तै, मलेसियासँगै कतारलगायत खाडी देशमा गएर डोरी नै डोरीले बाँधिएका ट्यांका लिएर फर्कने युवा डोरीलाहुरे हुन् भने स्वदेशमा हामीजस्ता तोरीलाहुरेको त कुनै अभाव छँदैछैन।
राष्ट्रवादी इतिहासबाट गायब लाहुरे
यस्ता अनेकथरी लाहुरेहरूको निर्माण र विस्तारले भरिएको लाहुरेकरणको कथा नेपालको राष्ट्रवादी इतिहासबाट भने नराम्ररी लुकाइएको छ। किनभने लाहुरेका आँखाबाट इतिहास लेखिएकै छैन। लाहुरेको सांस्कृतिक इतिहासबारे शोधपत्र लेखेकी मानवशास्त्री मेरी डेशनका अनुसार, नेपाली भाषामा 'लाहुरे' वा विदेशीको आँखामा 'गोरखा' नेपालका राष्ट्रिय इतिहासबाट गायब छन्। ती गोरखालाई 'आङ्लो–नेपाली सम्बन्धको मुद्रा'का रूपमा उपयोग गरेर सम्पूर्ण गोरखा इतिहास लेखियो। हालसम्म लेखियो राष्ट्रवादी इतिहास, मात्र कूटनीतिक इतिहास र भर्तीको गाथा कोरियो अनि कथियो केवल गोरखा वीरता र पराक्रम कथा। वन्तका अनुसार कूटनीतिक इतिहासका ठूल्ठूला बखान र राष्ट्रवादी गौरवगानले गोरखा इतिहासको विषय निखि्रँदैन। यसका लागि त सरकारी अभिलेखागारबाट बाहिर निस्केर लाहुरेले भोगेका कथाव्यथा र तिनका परिवारजनका मौखिक ऐतिहासिक स्रोतहरूलाई आधार मान्नुपर्छ र उनीहरूकै नजर र भोगाइका आधारमा इतिहासको पुनर्लेखन गर्नुपर्छ, वैश्विक परिघटनालाई ध्यानमा राख्दै।
वन्तका अनुसार, राष्ट्रवादी इतिहासकारका दृष्टिमा विदेशी सेनामा सेवा गर्ने नेपालीको बहादुरीले विदेशीको दृष्टिमा नेपालकैे सम्मान वृद्धि गर्छ र तिनले भित्र्याउने रूपैयाँले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासमा योगदान पुर्‍याउँछ भन्ने देखिन्छ। यथार्थमा ती नेपालीहरू बहादुर भनाउन, वीर कहलिन र वीर, बहादुर भएर नेपालको नाम उँचो पार्न लाहुरे भएका होइनन्। उनीहरू विदेशीको आँखामा नेपालको सम्मान वृद्धिका लागि नै प्रेमिका वा पत्नी छाडेर, गाउँघर र परिवारसँगै देशै त्यागेर युद्धभूमिमा मर्न मार्न जाने पनि होइनन्। मध्यपहाडको गुरुङ गाउँमा विशाल मात्रामा भएको लाहुरेकरणबारे अध्ययन गरेकी मेरी डेशनको शोधपत्रको एउटा निचोड हो :  विदेशी सेनामा भर्ती हुनु कूटनीति वा वीरता प्रदर्शन गर्ने मौका होइन, ज्यालादारी काम गर्ने अवसर प्राप्त गर्नु हो। सिपाहीका रूपमा गोरखाहरूले बिताएका वर्ष तिनको जीवनको 'स्वर्णिम काल' नभई जीवन क्रम भंग गर्ने 'बिरामकाल' हुन्। यस अर्थमा 'गोरखा सैनिक आवाज'को दोस्रो अंकमा भनिएझैँ, 'लगाउनेलाई मात्र थाहा हुन्छ, जुत्ताले कहाँ दुखाउँछ भनेर। हाम्राबारे लेख्ने ढाक्रे र गोराहरू मात्र छन्, उनीहरूले लेख्ने हाम्रो इतिहास हाम्रो प्रतिकूलको हुन्छ। हाम्रो इतिहास हामीले नै लेख्नुपर्छ।'
पहिले खोजीखोजी, अहिले रोजीरोजी
लाहुरेकरणको इतिहास हेर्दा दोस्रो विश्वयुद्धसम्म पनि गुरुङलगायत मगर, राई र लिम्बुजस्ता लडाकु नस्ल भनिएका युवा 'खोजी–खोजी' भर्ना गरिएको देखिन्थ्यो, ब्रिटिस साम्राज्य संलग्न रहेका विभिन्न क्षेत्रीय लडाइँ र विश्वव्यापी युद्धका चारा बनाउन। यसका लागि 'गोरखा खोज अभियान'का क्रममा नेपालका राणा प्रधानमन्त्रीदेखि गल्लावालसम्म पनि प्रयोग हुन्थे, निश्चित स्वार्थ पूर्ति गर्न। ब्रिटिस साम्राज्य र राणा शासनको निहित स्वार्थ रक्षार्थ नेपालको एक चौथाइ जनसंख्यालाई विश्वयुद्धमा होमिएको बेला 'गैरलडाकु नस्ल'का मानिसलाई मात्रै होइन, जेलका कैदीदेखि चोरडाँकालाई पनि जबर्जस्ती भर्ती गरिएको इतिहास बिर्सन सकिँदैन। त्यस्तो आतुरीको बेला ब्रिटिस शासकलाई न 'मार्सल रेस' (लडाकु नस्ल)को याद आयो, न त जबर्जस्ती भर्ती गरिएका नेपालीहरूको ज्यान, जागिर, पेन्सन र भत्ताकै सम्झना भयो। ती सबै पक्षलाई ताकमा राखेर गोरखाहरूलाई युद्धको आगोमा झोस्नेहरू नै आजभोलि 'लडाकु नस्ल'का हजारौँ युवाबीच खसीजस्तै रोजी–रोजी छान्दैछन्, लगभग सय जनाको भर्तीका लागि। उनीहरू नै ब्रिटिस गोरखाका भूपू अधिकृत इ. डी. स्मीथको शब्दमा कुर्लन्छन्, 'लाहुरेको परिवार र उसको गाउँको आर्थिक अवस्थामात्रै होइन, सम्पूर्ण नेपालको अर्थव्यवस्थासमेत यी व्यावसायिक सिपाहीले कमाएर ल्याएका पैसामा निर्भर रहन्छ। आफ्नो देशका नागरिकहरू भारत र ब्रिटेनको सेनामा कार्यरत रहेको तथ्य नरुचाउने काठमाडौंका वाम राजनीतिज्ञले यसको कुनै वैकल्पिक उपाय निकाल्न सकेका छैनन्।' यति हदसम्म हियाएर भन्नुनभन्नु भन्दा पनि नेपाल सरकार, यसको सञ्चालन गरेका वामपन्थी दलका नेताहरूदेखि लिएर देशकै अर्थव्यवस्थाको बागडोर सम्हालेको दाबी गर्ने उद्यमी र व्यवसायीका कुनै पनि संस्था र अगुवाले पनि ब्रिटिस दाबीको प्रतिवाद गर्ने ह्याउ देखाउँदैनन्, न त वैकल्पिक उपाय नै खोज्छन्। र, ब्रिटिस दाबीको प्रतिवाद गर्ने जिम्मेवारी 'गोरखा भर्तीले देशलाई बर्बाद पार्‍यो' भन्दै हिँड्ने गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को काँधमा हाल्दै लाहुरेकरणलाई तीव्र पार्नमै मग्न हुन्छन्।
त्यसो त लाहुरेका रूपमा जनतालाई विदेशी सैनिक सेवाका लागि निर्यात व्यापार तथा जनजातिको लाहुरेकरणसँगै भित्रिने रकम :  रेमिट्यान्सले नेपालको आर्थिक, राजनीतिक र सामाजिक विकासमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सघाएको दाबी गर्ने पुरुषोत्तम बाँस्कोटाजस्ता लेखकको कुनै अभाव छैन, न त 'नेपालको सैनिक इतिहास'जस्ता पुस्तककै कुनै कमी छ। वन्तका अनुसार विदेशी सैनिक सेवाबाट कमाइएको रकमले लाहुरेको शोषित परिवारका लागि सीमित चाहना परिपूर्ति नहुने नै होइन, हुन्थे तर त्यसले देशभित्रको शोषणलाई थेग्न पनि राणाकालमा लाहुरे प्रथाले सघाएको थियो। यो राणाकालको मात्रै होइन, शाहकालको समाप्तिपछिको पनि तीतो सत्य हो।

'पुस' र 'पुल' फ्याक्टरलाई उल्टाउने कि?
एकतिर गाउँघरमा जारी शोषण, उत्पीडनबाट मुक्तिको चाहना, अर्काेतिर रोजगार र समृद्धिको आकांक्षा :  यसरी घचेट्ने (पुस) र तान्ने (पुल) तत्वको बीचमा रहेका गुरुङलगायत जनजातिका हजारौँ युवा अहिले पनि भर्ती प्रक्रियामा सहभागी भएर भाग्यको कठोर परीक्षा दिन्छन्। लगभग सय जना मात्रै ब्रिटिस गोरखा पल्टनको रिकुटे हुन्छन्, केही हजारको संख्यामा भारतीय सेनाका रिकुटे पनि हुन्छन् भने अन्य हजारौँ युवा निराश भएर कि भारतका गोरखा दरवानदेखि खाडी मुलुकमा डोरीलाहुरे हुन जान्छन् कि स्वदेशमै तोरीलाहुरेको जीवन बाँच्छन्। कमै मात्रै युवा निराशाको अन्धकारलाई चिरेर नोवलकिशोर राईजस्ता भाषाविद् हुन्छन् वा किसन गुरुङजस्ता पर्यटन व्यवसायी हुन्छन्। यसरी गोरखा भर्तीका नाममा जारी आशा र निराशाको खेलबाट पढन्ते छोराको भविष्यसमेत बिग्रिएको देखेर दिक्क भएकी एक गुरुङसेनी दिदी घान्द्रुकमा कुर्लिएकी थिइन्, कि वर्षाैंवर्षसम्म कठोर परीक्षा दिने सबै युवालाई भर्ती गर्नुपर्छ, कि भर्ती नै रोक्नुपर्छ, यो खेला कति दिन चलाउने?
स्वदेशमा शिक्षा, रोजगार र समृद्धिको ढोकालाई अति साँघुर्‍याएर गुरुङ, मगर, राई र लिम्बु युवाका लागि आकर्षक जीविकाका रूपमा खोलिएको 'लाहुरे ढोका' पनि झन्झन् साँघुरिँदैछ। यस्तो अवस्थामा गोरखा भर्तीको वैकल्पिक उपाय खोज्ने सम्भावनाका ढोका खोल्नुको साटो 'गोरखा भर्ती बन्द गर' भन्दै नाराबाजी गर्नु सजिलो उपाय त हो, तर यसमा वैकल्पिक उपाय खोज्ने र राज्य पुनर्संरचना गर्ने बुद्धिमानीपूर्ण दृष्टिकोणको अभाव पनि सहजै झल्किन्छ। लाहुरे प्रथाको दिगो वैकल्पिक व्यवसायको खोजी सबै जनताको जीविका र समृद्धिका लागि जति जरुरी छ, त्यत्तिकै आवश्यक छ, शासकहरूको निहित स्वार्थ पूर्तिका लागि लाहुरेकरणलाई टेवा दिँदै आएको नेपाली राज्यको जनमुखी र अग्रगामी पुनर्गठन पनि।
पक्कै पनि दुई सय वर्ष लामो अनाहक बलिदानी र राष्ट्रको बर्बादीको क्षतिपूर्तिसहित गोरखा भर्ती बन्दका लागि ब्रिटेनसँग कानुनी र कूटनीतिक संघर्ष गर्नु निकै गाह्रो काम हो, जतिसुकै कठिन भए पनि यो एउटा बुद्धिमानीपूर्ण पराक्रम हुनेछ। यस्ता बुद्धिमानीपूर्ण पराक्रम गर्न सक्षम र सबल हुन पनि राज्य पुनर्र्संरचनाको अभियान छेड्नु जरुरी छ, जुन संघीयताको निर्माणमा मात्रै पक्कै पनि सीमित छैन। राज्यका स्रोत, साधन, शक्तिलाई गाउँघरसम्म, सबै समुदायका सदस्यसम्म बाँडफाँट गरी आम जनताको सशक्तीकरण गर्नेगरी राज्य पुनर्र्संरचना गर्न सकिएन भने कुनै न कुनै खालको लाहुरेकरण जारी नै रहनेछ। त्यस्तो स्थितिमा कवि श्यामलले स्याङ्जाका गाउँमा भएको लाहुरेकरणका सम्बन्धमा लेखेको 'रित्तो गाउँ' कास्कीको घान्द्रुकमा मात्रै होइन, देशभरि नै देखिने क्रम तीव्र हुनेछ। यस अर्थमा बीपी कोइरालाले भनेझैँ, 'हजारौँको संख्यामा नेपाली जनतालाई विदेशी पल्टनमा जागीर खाएर उदरपूर्ति गर्न कर लाउने तत्वले राष्ट्रियताको ढिँढोरा पिटेको सुहाउँदैन।'

प्रकाशित: ४ असार २०७० २२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App