९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कोरोनाको बदलिँदो स्वरूप र खोप

कोभिड–१९ का कारण संसारभर २० लाख मानिस मरिसके । अहिले पनि दैनिकरूपले हजारौँ मानिस यो विषालु भाइरसका कारण मृत्युवरण गरिरहेका छन् भने अस्पतालहरूले बिरामीको बोझ धान्न नसकेको खबर छ । भाइरसलाई नियन्त्रणमा ल्याउन विभिन्न चरणका क्लिनिकल परीक्षणलाई पार गर्दै झण्डै १ दर्जन भ्याक्सिन मानिसका पाखुरामा रोपिन थाले । संसारका सबै मानिसलाई यथासक्य चाँडो कोरोना निरोधी बनाउने अभियानलाई सार्थक तुल्याउन झण्डै ३ दर्जन थप भ्याक्सिन क्लिनिकल ट्रायलको विभिन्न चरणमा छन् । यसरी फरकफरक बायोलोजिकल विधिमा आधारित धेरै भ्याक्सिनको मद्दतले कोरोना छिट्टै नियन्त्रणमा आउने आशा गरिएको छ । ९५ प्रतिसतसम्म असरदार देखिएका खोपको सहारामा कोभिड–१९ छिटै नियन्त्रणमा आउने उत्साहमा रहेको संसारलाई भाइरसको अणुवांशिक (जेनेटिक मटेरियल) पदार्थमा आएको परिवर्तनले सूक्ष्माणुको फरक (भेरियन्ट्स) स्वरूप देखिन थालेको खबरले खिन्न पार्‍यो । यसै परिवेशमा भाइरसको बदलिँदो स्वरूप, खोपको असर तथा संभाव्यता अनि भावी अनुसन्धानका सम्बन्धमा यो लेखमा चर्चा गरिएको छ ।

भाइरसको अणुवांशिक पदार्थमा व्यापक परिमार्जन भई कोभिड–१९ संसारबाट स्वतः हराउने झिनो संभाव्यतालाई नकार्न सकिन्न ।  

कुनै पनि जीवको अस्तित्वका लागि अणुवांशिक पदार्थ महत्वपूर्ण हुन्छ । मानिसलगायतका उच्च जीवमा ‘डिएनए’ अनि सूक्ष्म भाइरसमा ‘आरएनए’ अणुवांशिक पदार्थका रूपमा हुन्छन् । स्वरूप र बनोट विधिका कारण आरएनए डिएनएको तुलनामा परिवर्तनशील हुन्छ । आरएनएको बनोट फेरिने भएकाले उक्त अणुवांशिक पदार्थ भएका भाइरसहरूले आफूलाई छिटोछिटो परिवर्तन गर्छन् । एकै भाइरसका भिन्न स्वरूपलाई वैज्ञानिक भाषामा ‘भेरियन्ट्स’ भनिन्छ । एकै वंशका भए पनि भेरियन्ट्सको बनोट र चरित्र धेरै फरक हुन सक्छ ।  

आरएनएको तुलनामा डिएनएको संरचना स्थिर हुन्छ । तर डिएनएमा परिवर्तन आउँदैन भन्ने होइन । उदाहरणका लागि एकै माता–पिताबाट जन्मिएका सन्तानको अणुवांशिक बनोटलाई सूक्ष्म अध्ययन गर्दा उनीहरूको जेनेटिक मटेरियलमा समेत हजारौँ विविधता देखिन्छ । बायोलोजिकल विधि तथा वातावरणीय प्रभावका कारण डिएनएका आउने परिवर्तनका कारण दाजुभाइ, दिदीबहिनीको स्वरूप फरक फरक हुन्छ । स्थिर ठानिने डिएनएको आकृतिमा त यति धेरै विविधता आउँछ भने परिवर्तनशील आरएनएमा आउने फेरबदलले भाइरसको स्वरूप र चरित्रमा कति फरक पार्ला ?

कोभिड–१९ को अणुवांशिक पदार्थ आरएनएमा आधारित भएकाले कोरोना भाइरसको जेनेटिक मटेरियलमा परिवर्तन आउनु अस्वाभाविक होइन । आरएनएको बनोटमा हेरफेर हुँदा बन्ने प्रोटिनको आकृति तथा चरित्र फेरिन्छ अनि अन्ततः भाइरसको स्वरूप परिवर्तन हुन्छ, सूक्ष्माणुको नयाँ भेरियन्ट बन्यो । अब नयाँ भेरियन्टका लागि प्रचलित खोपको प्रभावकारिता हेरौँ । 

कोभिड–१९ को अणुवांशिक पदार्थ आरएनएमा आधारित भएकाले कोरोना भाइरसको जेनेटिक मटेरियलमा परिवर्तन आउनु अस्वाभाविक होइन । आरएनएको बनोटमा हेरफेर हुँदा बन्ने प्रोटिनको आकृति तथा चरित्र फेरिन्छ अनि अन्ततः भाइरसको स्वरूप परिवर्तन हुन्छ ।

विषयलाई प्रष्ट पार्न एउटा उदाहरण प्रस्तुत गर्नु श्रेयष्कर देखियो । कुनै गाउँमा नवीन विध्वंशात्मक जंगली जनावरको प्रकोपलाई मध्यनजर राख्दै समाजले इलाका प्रतिरक्षाका लागि एउटा सैन्य दस्ता तयार गर्‍यो । जंगली जन्तुको स्वरूप तथा तागतको बारे सुरक्षा दललाई खासै जानकारी भएन । त्यसैबीच गाउँलेले जंगलमा उक्त ध्वंशात्मक जीवको टाउको फेला पारे अनि सैन्य निकायलाई सुम्पियो । सुरक्षा दस्ताले आफ्ना अनुशासित सिपाहीलाई यस्तो प्रकृतिको टाउको भएको जीवले गाउँमा प्रवेश गरे फलानो हतियारले आक्रमण गरी नास गर्नु भन्ने आदेश दियो । नभन्दै गाउँमा आक्रमणको प्रयास भयो, देखाइएको जस्तो शिर भएको जीव देख्नेबित्तिकै सेनाले आक्रमण गरे, विध्वंश टर्‍यो । अर्कोपटक गाउँमा फेरि जन्तु पस्यो । तर त्यो जनावरको टाउको बनोट देखाइएको जस्तो भए पनि कान भने एउटा मात्र थियो । तालिमका क्रममा दुई कान भएको टाउको देखाइएकामा तत्काल आक्रमण गर्ने जीवको भने एउटा मात्र कान भएकाले आक्रमण गर्ने सवालमा सैन्य दस्ता विभाजित भयो । केहीले जन्तुलाई प्रहार गरे भने केही अनिर्णित भए । सैन्यले उक्त आक्रमणकारी शक्ति त्यही जन्तुको फरक स्वरूप भएको ठहर गर्दानगर्दै गाउँ ध्वस्त भयो ।  

अहिले प्रचलनमा रहेका अधिकांश खोपको आधार भनेको भाइरसको एउटा प्रोटिनलाई मानव शरीरमा उत्पादन गराउने हो । शरीरको प्रतिरक्षा (इम्युन) का कोसहरूले आफ्ना तथा बाह्य प्रोटिनलाई सहजै पहिचान गर्न सक्छन् । अनि बाह्य प्रोटिनले शरीरलाई हानि गर्न सक्ने भएकाले त्यसलाई अविलम्ब नाश गर्न प्रतिरक्षा प्रणाली क्रियाशील हुन्छ । खोपका कारण कोरोनाको बाह्य ‘स्पाइक’ प्रोटिन शरीरमा उत्पादन हुनेबित्तिकै इम्युन सिस्टमका सिपाहीरूपी कोसहरू क्रियाशील हुन्छन् । प्रोटिनलाई आक्रमण गर्न हतियाररूपी एन्टिबडी बनाउँछन् । एन्टिबडीको प्रहारबाट भाइरसको प्रोटिन नासिन्छ । उपरोलिखित उदाहरणमा टाउको देखाएर यस्तो सिर भएको जनावर आए अविलम्ब आक्रमण गर्न सैन्यलाई गाउँलेले तालिम दिएझैं खोपमार्फत ‘स्पाइक’ प्रोटिन उत्पादन गरेर इम्युन सिस्टमलाई फलानो आकृति भएको प्रोटिन शरीरमा आए ढिस्कानो चरित्रको एन्टिबडीले आक्रमण गर्नू भन्ने सिकाइन्छ । अब भाइरस आक्रमणपछि के हुन्छ त ?

कोभिड–१९ ले हामीलाई संक्रमण गरेपछि मानव कोसमा भाइरसको उत्पादन प्रारम्भ हुन्छ । कोरोना भाइरसको संरचनाको एउटा भाग हो स्पाइक प्रोटिन । खोपमार्फत स्पाइक प्रोटिनको पहिचान तथा नाश गर्न सफल भएको प्रतिरक्षा प्रणालीका कोसहरूले स्पाइक प्रोटिन नाश गर्न विगतमा प्रयोग गरेको हतियाररूपी एन्टिबडी उत्पादन गर्छ अनि भाइरसको नाश गर्छ । अब अणुवांशिक पदार्थमा परिवर्तन भई उत्पादन भएका ‘भेरियन्ट’ भाइरसले शरीरमा संक्रमण गरे प्रतिरक्षा प्रणालीले के/कस्तो प्रकारले काम गर्ला त ?

अणुवांशिक पदार्थको बनोटले प्रोटिनको आकृतिलाई निर्देशित गर्छ । तसर्थ, जेनेटिक मटेरियलमा परिमार्जन भएका भेरियन्ट भाइरसमा उत्पादन हुने प्रोटिनको स्वरूप प्रारम्भिक अवस्थाका कोभिड–१९ मा रहेका प्रोटिन भन्दा फरक हुन्छन् । क्लिनिकल ट्रायलमा ९५ प्रतिशत प्रभावकारी देखिएका मोडर्ना र भाइजरका भ्याक्सिनहरू कोरोनाको ‘स्पाइक’ प्रोटिनलाई लक्षित गर्ने किसिमको एन्टिबडी उत्पादन गर्ने गरी डिजाइन गरिएको छ । तसर्थ, कदाचित भाइरसको स्पाइक प्रोटिन बनाउने जिनमा कुनै परिवर्तन भएपछि बन्ने प्रोटिनको स्वरूप पहिलेको भन्दा फरक हुन्छ । यसरी स्पाइक प्रोटिनको स्वरूप फेरिएको अवस्थामा जन्तुको कानको संख्याले सेनालाई असामञ्जस्यमा पारेझैँ एन्टिबडीको प्रभावकारिता घट्दै जान्छ । खोप बनाउँदाको प्रारम्भिक आकृति भन्दा भेरियन्ट प्रोटिनको स्वरूप जति धेरै फरक भयो एन्टिबडीको प्रभावकारिता त्यही अनुपातमा कम हुँदै जान्छ । तसर्थ, खोपले लामो समयसम्म काम गर्न खोपले लक्षित गरेको प्रोटिनमा परिवर्तन आउनु हुँदैन । तर यथार्थमा त्यसो हुँदैन ।  

वातावरणीय प्रहार तथा आन्तरिक तनाव अनि रासायनिक बनोटका कारण आरएनएमा परिवर्तन आउनु अस्वाभाविक होइन । तसर्थ, आरएनएमा आधारित भाइरसका प्रोटिनहरूमा परिमार्जन आउँछ । त्यस्तो अवस्था कहिलेकाहीँ फाइदाजनक पनि हुन्छ । कदाचित भाइरल आरएनएमा व्यापक परिवर्तन आएको खण्डमा प्रोटिनहरूको चरित्रमा धेरै फरक आइ उसले आफ्नो दायित्व निर्वाह गर्न सक्दैन । त्यस्तो अवस्थामा भाइरसको मौलिक चरित्र ह्रास हुन्छ, सूक्ष्माणु नासिन्छ । उदाहरणका लागि अणुवांशिक पदार्थमा व्यापक परिवर्तन आएका कारण संसारमा आतंक फैल्याउनुअघि नै कोरोना परिवारकै सदस्य ‘सार्स’ भाइरस आफैँ नासियो ।  

कोभिड–१९ को अणुवांशिक पदार्थमा परिवर्तन आयो । बेलायतमा देखिएका कारण एउटा समूहलाई ‘युके’ भेरियन्ट भनियो भने दक्षिण अफ्रिकामा फैलिएकोलाई ‘साउथ अफ्रिकन भेरियन्ट’ भनियो । सार्वजनिक भएको तथ्यांकले ती दुई प्रजातिको संक्रमण रफ्तार प्रारम्भमा देखिएको कोरोनाको तुलनामा बढी भएको भन्छ । यद्यपि भाइरसका नयाँ प्रजातिहरू थप घातक रहेको भने अहिलेसम्म प्रमाणित नभएको अवस्था छ । संक्रमण दर प्रारम्भिक भाइरस भन्दा अत्यधिक भएका कारण यी भेरियन्ट्सहरूको संसारभर छिटै नै बाहुल्य ल्याउने आकलन गरियो । महिनौको प्रयासपछि बल्लबल्ल भ्याक्सिन बनेको अवस्थामा कोभिड–१९ का खोपले संसारलाई नवीन सन्तति भाइरसबाट जोगाउन सक्छ/सक्दैन भनी सर्वाधिक चासोको विषय रह्यो । त्यसै सन्दर्भमा मोडर्नाका वैज्ञानिक डेरिन एडवार्डको समूहले भ्याक्सिनको मात्रा पूरा गरिसकेका ८ मानिस र २४ बाँदरको रक्त संकलन गरी बेग्लाबेग्लैरूपले ल्याब परीक्षण गर्दा सर्वाधिक चासोका युके र साउथ अफ्रिकन भेरियन्ट्सका लागि समेत प्रचलनमा रहेका भ्याक्सिन झण्डैझण्डै उत्तिकै प्रभावकारी रहेको पाए । अहिलेसम्म खोपको प्रभावकारितामा कमी आएको छैन ।

भाइरसका अणुवांशिक पदार्थहरू निरन्तररूपले परिवर्तन हुँदै जाने भएकाले निकट भविष्यमा कोभिडका भिन्न भेरियन्टहरू देखिने निश्चित छ । भाइरसको आकृतिमा व्यापक परिवर्तन आएको खण्डमा प्रचलनमा रहेका भ्याक्सिनको प्रभावकारिता घट्न सक्छ, निकम्बा पनि सावित हुन सक्छ । त्यस्तो अवस्थामा के गर्ने भन्ने सम्बन्धमा समेत वैज्ञानिकहरू सजग देखिए ।

अहिलेसम्मको सबैभन्दा सफल सावित भएका मोडर्ना र फाइजरका कोभिड भ्याक्सिन ‘म्यासेन्जर आरएनए’ मा आधारित छन् । कदाचित प्रचलित भ्याक्सिन भाइरसको बदलिँदो स्वरूपका कारण प्रभावहीन देखिएको खण्डमा केही रूपतामै नवीन म्यासेन्जर आरएनएमार्फत परिमार्जित कोभिड–१९ लाई समेत सजिलै नियन्त्रणमा लिन सकिने कुरामा वैज्ञानिकहरू विश्वस्त देखिए ।  

कोरोना भाइरसमा आएको अणुवांशिक परिवर्तन, प्रचलित भ्याक्सिनको चरित्र तथा अनुसन्धान प्रगतिलाई विचार गर्दा निम्नलिखित संभाव्यता देखिन्छ । भाइरसको अणुवांशिक पदार्थमा व्यापक परिमार्जन भई कोभिड–१९ संसारबाट स्वतः हराउने झिनो संभाव्यतालाई नकार्न सकिन्न । आरएनएमा आउने परिवर्तनका कारण खोपहरू प्रभावहीन हुने अनि भाइरस थप प्राणघातक भइ धेरै मानिस मर्ने हुन् कि भन्ने संभाव्यतालाई पनि बेवास्ता गर्न मिल्दैन । कोभिड–१९ का भेरियन्ट्सहरू थप संक्रमणकारी देखिएको खण्डमा छोटो समयमै प्रभावकारी भ्याक्सिन बनाउन सक्ने अवस्थामा वैज्ञानिकहरू रहेकाले संसार नै तहसनहस होला भन्ने अवस्था भने देखिन्न । कदाचित भाइरस अझ विषाक्त भयो अनि विज्ञानले तत्कालै खोप बनाउन नसक्ने अति जटिल अवस्थामा इम्युन सिस्टमका कोसहरूको एकल प्रयासले समेत हाम्रो ज्यान जोगिन सक्ने यथार्थ भुल्नुहुँदैन ।

प्रकाशित: २० माघ २०७७ ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App