२९ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

नायकहरूका खतरनाक खलनायकी

गाली साहित्य होइन र सौन्दर्य पनि होइन तर राजनीतिमा त्यही गालीलाई साहित्य र सौन्दर्यका रूपमा प्रयोग गर्दैछन् स्वयं शीर्षनेताहरू नै । अहिले नेपाली राजनीतिका शीर्षनेताहरूले बोल्ने बोली र उनीहरूको व्यवहार देख्दा हामीलाई ती निष्ठाको राजनीतिमा भन्दा घृणाको गालीनीतिमा अब्बल छन् भन्ने लाग्न थालेको छ । तिनमा इमानदारी, नैतिकता, धैर्य, सहिष्णुता र मर्यादाको कमी टड्कारो देखिएको छ । कोही दम्भ, प्रमद र अहंकारले ग्रस्त छन् । कोही महत्वाकांक्षा र कुण्ठाले ग्रस्त छन् । यही अहंकार र कुण्ठाले गर्दा पदीय हैसियत र मर्यादाको सीमा नै उल्लंघन गरेर बोल्न थालेका छन् । एक–अर्कालाई हिलो छ्यापाछ्याप गरिरहेछन् । गाली र आरोप–प्रत्यारोप सँगसँगै धम्की र चेतावनीको दोहोरी पनि चलिरहेको छ ।

गाली रिसको अभिव्यक्ति हो । रिस उठेपछि गाली गर्न मन लाग्छ । हाम्रा शीर्षनेताहरूलाई एक–अर्कामा कति रिस उठेको हो, जसका कारण ती अत्यन्तै निकृष्ट ढंगले एकले अर्कालाई गाली गर्दैछन् ? व्यंग्यवाण प्रहार गर्दैछन् ? दोषारोपण गर्दैछन् ? र आरोप–प्रत्यारोपमा उत्रिएका छन् ? एकले अर्काको पोल खोलेर आफैँ नांगिदै छन् । यो चिसो मौसममा नांगिएर तातो महसुस गरिरहेका नेताहरूको आत्मश्लाघा जनताका लागि अति नै घातक छ, हानिकारक छ । 

राजनीतिलाई सत्यको कर्म मानेको भए देशमा कहिल्यै बेथिति निम्तिने थिएन । जनताले दुःख पाउने थिएनन् र राजनीतिसँग जनता निराश हुने थिएनन् । 

पदीय मर्यादामा बसेको व्यक्तिले रिसको आवेगमा बोल्दा त्यो मर्यादाको सीमा नै उल्लंघन गरेका छन् । बोल्दा शब्द चयन गर्नै बिर्सेका छन् । ती यसरी बोल्दैछन्, लाजै नमानी बोल्दैछन् र तिनको बोली सुनेर लाज स्वयंले लाज मान्नुपर्ने अवस्था छ । कुन्नि के गर्नेलाई भन्दा कसलाई लाज भने जस्तो । जगहँसाइ नै भएको छ । रिस र कुण्ठा पोखेर हाम्रा शीर्षनेताहरू सन्तुष्टि मान्दैछन् । आत्मरतिमा रमाउँदैछन् ।  

मन मिलुन्जेल सबथोक ठीकठाक थियो । एकलाई अर्को प्रिय थिए । जब मन फाट्यो र गठबन्धन तोडियो, त्यसपछि सबथोक बेठीक हुन थाल्यो । एकलाई अर्को अप्रिय लाग्न थाल्यो । अनि मनको भँडास सबै बाहिर ल्याउन थाले । हिजो मन मिलेको बेला बेठीकै भए पनि ठीक ठानेको कुरा आज बेठीक भएरै आए । पद र सत्तामा बसुन्जेल सबथोक ठीकठाक हुन्छ । पद र सत्ताबाट बाहिर आएपछि ठीकठाक भनिएका धेरैथोक बेठीक लाग्न थाल्छन् । राजनीतिको एउटा विशेषताकै रूपमा रहिआएको छ यो परम्परा । यो परम्परालाई राजनीतिक पार्टीका सबै नेताहरूले कायम राख्दै आएका छन् ।  

हिजो प्रचण्ड र ओली एक ठाउँमा उभिउन्जेल सबथोक ठीकठाक थियो । आज ती दुई भिन्न स्थानमा उभिन पुगेपछि प्रचण्डका लागि ओली बेठीक बने भने ओलीका लागि प्रचण्ड बेठीक । को ठीक र को बेठीक भनेर जनताले दिनदिनै तौलने गरेकै छन् । तर जनताले तौलेको कुरालाई मान्यता दिने कसले ? ती जे गर्छन् आफ्नै मर्जीले गर्छन् । तिनले जे गर्छन् त्यसैलाई सही ठान्छन् र सत्य ठान्छन् । खासमा त्यो सही पनि हुँदैन र सत्य पनि हुँदैन । झुटको खेती गर्छन् ती । राजनीतिलाई झुटको खेतीका रूपमा लिन्छन् । राजनीतिलाई सत्यको कर्म मानेको भए देशमा कहिल्यै बेथिति निम्तिने थिएन । जनताले दुःख पाउने थिएनन् र राजनीतिसँग जनता निराश हुने थिएनन् । अहिलेको राजनीति पार्टीका नेता र कार्यकर्तामा सीमित छ । जनतालाई राजनीतिप्रति कुनै सरोकार र मोह छैन । मोहभंग पारेका हुन् तिनै नेता र कार्यकर्ताको बोली र व्यवहारले ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिनायकवादी शैलीमा संसद् विघटन गरेपछिका दिनहरूमा विकसित घटनाक्रमहरूबाट नेपाली जनता निराशमात्रै होइन, आक्रोशित पनि छन् । एउटा व्यक्तिको सनकमा जे पनि हुने परम्परा राजनीतिमा विकसित हुन थालेपछि राजनीतिको गरिमा र महिमा त समाप्त भएकै छ, संसदीय अभ्यासमाथि नै प्रश्नचिह्न खडा भएको छ । संसद्लाई जनताको आवाजलाई अभिव्यक्त गर्ने थलोका रूपमा नभई सत्ताको खेल खेल्ने मैदानको रूपमा उपयोग गर्ने नेताहरूले जनताको पिरमर्कालाई कहिल्यै प्राथमिकतामा राखेनन् । सत्तास्वार्थ सर्वोपरि बनेका कारण यो स्थिति आएको हो ।  

एकथरि सत्ता पाउनका लागि जे पनि भन्न र गर्न तयार हुने । अर्कोथरि सत्ता नछाड्नका लागि जे पनि भन्न र गर्न तयार हुने । यी दुईबीचको चेपुवामा जनता सधैँ च्यापिइरहनुपर्ने । यो कस्तो विडम्बना ? सार्वभौम नेपाली जनतालाई निरीह बनाएर नेताहरू नै सर्वेसर्वा हुने परिपाटीले नेताहरू स्वच्छन्द भए बेलगामका घोडा जस्तै । सत्तामा बस्दा सबै ठीक र सत्ताबाट बाहिर आएपछि सबै बेठीक । अहिले सडकमा बसेर चिच्याउने प्रचण्ड–नेपाल समूहले यही सन्देश दिइरहेका छन् । ती केका लागि सडकमा बसेर कराइरहेछन् ? जनताका लागि होइन, आफ्नै सत्तास्वार्थ र पदका लागि । त्यही सत्ता र पदका लागि ती राजनीति छाडेर गालीनीतिमा उत्रिएका छन् । राजनीतिमा भन्दा गालीनीतिमा ती अब्बल सावित पनि भएका छन् । तिनको गालीले जगहँसाइ भइरहेको छ । उखानतुक्काले जगहँसाइ भइरहेको छ । देशका शीर्षनेताहरू नै जोकर जस्ता भएका छन् । देशमा राजनीतिको प्रहसन चलेको महसुस गर्दैछन् जनता । देशको दारुण अवस्था हेरेर रुन मन लाग्छ । नेताहरूका काइते कुरा सुनेर हाँस्न मन लाग्छ । रुनु न हाँस्नुको अवस्थामा छन् जनता ।

शीर्षनेता भनेका देशका नायक हुन् । तर तिनको बोली र व्यवहारले ती खलनायक जस्ता देखिएका छन् । अहिले ती सबै खलनायक भएर प्रकट भएका छन् । तिनको खलनायकी निकै खतरनाक देखिएको छ । सि वर्गको सिनेमाका खलनायकको जस्तो बोली र उसकै जस्तो आचरण हाम्रा शीर्षनेताहरूले देखाइरहेका छन् । एकले अर्कोलाई संगीन आरोपहरू लगाइरहेका खलनायक जस्ता नायकहरू निकै असहिष्णु बनेका छन् । अराजक बनेका छन् । आफ्नो बचाउ गर्न अर्काको दोष र कमजोरी खोतल्दैछन् । आफूलाई राम्रो देखाउन अरूलाई नराम्रो बनाउने धृष्टता गर्दैछन् ।  

जनता तमासे भएका छन् । सोच्दैछन् प्रधानमन्त्री बोलेका हुन् कि अरू नै कोही ? पार्टी अध्यक्ष बोलेका हुन् कि अरू नै कोही ? यति तल्लो स्तरमा झरेर आरोप–प्रत्यारोप र गालीगलौजमा उत्रने व्यक्ति देशको प्रधानमन्त्री वा पार्टी अध्यक्ष हुन सक्छन् ? टोले गुन्डाको जस्तो आचरण देखाएर यी शीर्षनेताले कार्यकर्तालाई के शिक्षा दिन खोजेका हुन् ? अनि कार्यकर्ताचाहिँ के हेरेर बसेका छन् ? आफ्ना नेताले जे बोले पनि समर्थनमा ताली बजाउने केही सय, हजार वा लाख कार्यकर्ताले गर्दा तीन करोड नेपालीसहित यो देशको भविष्य अन्धकारोन्मुख भइरहेको छ ।  

समय मूल्यवान हो । समय बलवान पनि हो । यही अमूल्य समय खेर फाल्दैछन् नेताहरू । यतिका दिनदेखि हामीले आशा र भरोसा गरेका हाम्रा शीर्षनताहरू एकअर्काविरुद्ध गालीगलौज र आरोप–प्रत्यारोपमा लागिरहँदा त्यो अमूल्य समय खेर गइरहेको छ । यो अमूल्य समय देश विकासको सोच र चिन्तनमा बिताउनुपर्ने थियो ।  

हिजो कोरोना र अस्वस्थताका कारण बालुवाटारमै बसेर देश चलाउने प्रधानमन्त्री स्वयं आज सारा स्वास्थ्य सुरक्षाको मापदण्ड तोडेर भीड जम्मा गर्दैछन् । हिजो सडकमा हिँडिरहेका जनतालाई धपाउँदै चिल्लो कारमा हुइँकिने नेताहरू अहिले ‘हामी यहाँ छौँ’ भन्दै सडकको चिसो भुइँमा पलेटी कस्न आइपुगेका छन् । कसका लागि ? पद र सत्ताका लागि । जनताको सुखसुविधाका लागि त हुँदै होइन । हिजो पीडित उखु किसानले त्यही माइतीघर मण्डलामा धर्ना बसेर रोइकराई गर्दा तिनको रोदन र वेदनालाई न सुने न देखे ती नेताहरूले ।  

चित्त फाटेर कित्ताकाट गरेर छुट्टिएका शीर्षनेताहरू गानो फुट्ने गरी एकले अर्कोलाई सराप्दैछन् । दोषारोपण गर्दैछन् । आरोप–प्रत्यारोप गर्दैछन् । कसले कसलाई के भने भनेर भन्न पनि लाजमर्दो छ । भनिरहनु आवश्यक पनि छैन । कसले कसलाई के भने भन्ने कुरा अहम् पनि होइन । जसले जसलाई जे भने पनि त्यो गलत नै हो । गलत अभ्यास हो । मर्यादाको सीमा उल्लंघन हो । अमर्यादित अभ्यास हो । यस्तो अभ्यासले राजनीतिलाई थप दूषित र विकृत बनाउँछ । जनताको आशा, भरोसा र विश्वासमा पहिरो जान्छ । कालान्तरमा फेरि सँगै बस्ने दिन पनि आउँछ । त्यसबेला कसरी एकले अर्काको मुख हेर्ने ? अमर्यादित र अराजक गालीगलौज र आरोप–प्रत्यारोपमा उत्रिएका नेताहरूले यति कुरा ख्याल गरुन् ।

प्रकाशित: ६ माघ २०७७ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App