पद्धति जुनसुकै होस्, प्रणाली जसरी बनाइएको होेस, त्यसमा जनताका अदम्य आकांक्षा प्रतिविम्बित भएका छैनन् भने त्यसमा जनताले आफनो प्रतिनिधित्व अनुभूत गर्न सकेको छैन, त्यसमा जनताले आफनो भागिदारी रहेको विश्वास गर्न सकेन भने त्यो पद्धति शब्दमा जतिसुकै लोकतान्त्रिक भए पनि सफल हुन सक्दैन।
नेपालमा प्रजातान्त्रिक चेतनाका वीजारोपण भएको सातौं दशक सुरु भइसकेको छ। तैपनि हामी पद्धतिको विवादमा छौं। पद्धतिकै विवादमा नेपाल र नेपालीमाथि अनेकन राजनीतिक प्रयोग भएका छन्। तर लोकसम्मत पद्धति बस्न नसकेकाले हामी हरेक क्षेत्रमा पछि पर्दै गएका छौं। हामीसँग प्रत्येक क्षेत्रका केही न केही ज्ञान छन् तर हामीले देश निर्माणका लागि तिनको संगठित प्रयोग गर्न सकेका छैनौं।
बितेका छ दशकको इतिहास फर्केर हेर्ने हो भने २००७ सालमा जनताले चिनेको र बुझेको प्रजातन्त्रले अहिलेसम्म पनि राम्ररी खुट्टो टेक्न सकेको छैन। यो कहिले सडक गल्लीमा फ्याँकिएको छ भने कहिले राजनीतिको मठ–मन्दिरमा मूर्तिका रूपमा पुजिएको छ। नेपाली जनताको जीवनमा गहिरो प्रभाव पार्ने हिसावले प्रजातन्त्रको प्रयोग हुनै सकेको छैन। यो नै नेपाली जनताको दुर्भाग्य र दुर्दशाको कारक तŒव हो।
सात सालमा वीजारोपण गरिएपछि प्रजातन्त्र नेपाली जनता र राजदरबारका बीच भकुण्डोको खेल बन्यो। राजाले प्रजातान्त्रिक मूल्य र मान्यताका विरुद्ध आफ्नो एकलौटी शासन चलाउन खोजेपछि सुरु भएको संघर्ष सात वर्षसम्म निरन्तर रह्यो। राजाका तर्फबाट अनेकन भारदारी सभा र सरकार गठनको लामो प्रयोगपछि नेपाली जनताले प्रतिनिधि चयनको शाश्वत प्रजातान्त्रिक अधिकार प्रयोग गर्यो । निर्वाचित सरकार स्थापनापछि देशमा राजनीतिक स्थायित्वको आशा पलायो। निर्वाचित सरकारले देशलाई आधुनिक पथमा अग्रसर गराउने प्रयत्न मात्रै गर्न लाग्दा राजाले भारदारी शक्तिको आडमा परिवर्तनलाई निरस्तमात्र गरेनन्, देशमा सुरु हुन लागेको प्रजातान्त्रिक पद्धति नै उखेलिदिए। त्यसपछि राजाले प्रजातन्त्रकै नाममा प्रजातान्त्रिक मान्यताहरुसँग कतै मेल नखाने निर्दलीय व्यवस्थाको खोटो सिक्का चल्तीमा ल्याए। तर यो सिक्का चल्नु थिएन र चलेन। प्रजातन्त्रका नाममा राजाको एकतन्त्रीय शासन तीस वर्षसम्म लगातार चल्यो। यो समयमा पनि परिवर्तनका प्रति जनताका आकर्षण र आशक्ति घटेन। राजाको दमनकारी नीतिहरुको सामना गर्दै तीन दशकसम्म प्रजातान्त्रिक शक्तिहरु संघर्षशील रहे। २०४६ सालको जनआन्दोलनमार्फत् प्रजातान्त्रिक शक्तिहरुले राजाको एकतन्त्री शासन अन्त्य गर्ने सफलता प्राप्त गरे। तर, पद्धति फेरि पनि बस्न सकेन। प्रजातन्त्रले फेरि पनि दह्रोसँग पाइला टेक्न सकेन। यो परिवर्तनको अपूर्णता थिएन, शासनमा बस्ने नेताहरुको अपर्याप्त राजनीतिक इच्छाशक्तिको परिणाम थियो।
तर २०४६ को परिवर्तनले आफ्नो अपूर्णता स्वीकारेको थियो। परिवर्तनका लागि धेरै यस्ता काम भएका थिए, जसलाई नांगो आ“खाले देख्न सकिँदैन। स्थानीय तहमा प्रतिनिधि शासनको प्रारम्भ, शासनमा पारदर्शिताको नियमित अनुगमन, सामाजिक संस्थाहरुको अभियान, कुनै पनि विषयमाथि जनताको चासो र जागरुकता र सर्वोपरि, सञ्चार माध्यमको बढ्दो प्रभावकारी भूमिका २०४६ पछिका उपलब्धि थिए। अपर्याप्त परिवर्तनले नै जन्माएको थियो माओवादीको हिंसात्मक आन्दोलन। यो आन्दोलनको आवश्यकता र यो आन्दोलनका क्रममा खडा भएका त्रासदीहरुको थुप्रै आलोचक भेटिन्छन् यतिखेर। तर अँध्यारो र अनकण्टारमा गुम्सिएर बसेका नेपाली जीवनका असंख्य विसंगत पक्षहरुलाई उज्यालोमा ल्याएर परिवर्तनको अपर्याप्त पक्षलाई सत्ताको केन्द्रमा स्थापित गर्न माओवादी आन्दोलन सफल भएको तथ्य कसैले पनि इन्कार गर्न सक्दैन।
पछिल्लो जनआन्दोलनमा जनताको जीत अपूर्व थियो। देशमा हजारौं वर्षदेखि जरो गाडेर बसेको परम्परागत शक्तिको विस्थापन र नेपाली जनतामा सार्वभौम शक्तिको अवतरण नेपाली समाजका लागि अभूतपूर्व घटना हो। संविधान सभाद्वारा संविधान लेख्ने जनताको छ दशकदेखिको चाहनाले मूर्त रूप पाएपछि देशका समस्या आफसेआफ समाधान हुने विश्वास सबैतिर जागेको थियो। विश्वले नेपाली जनताको लोकतान्त्रिक चाहनाको सम्मान गरेको थियो। जति शान्त र सौम्य परिस्थितिमा नेपालमा अकल्पनीय परिवर्तन भएको थियो, त्यो अनुपम थियो। तर नेपालका नया“ शासक वर्गले न त नेपाली लोकमतकै कदर गर्न सके, न विश्व जनमतका अपेक्षा नै पूरा गर्न सके। नेपाललाई एउटा अप्रतीम र सर्वाधिक उदाहरणीय लोकतान्त्रिक देशका रूपमा स्थापित गर्ने ठूलो अवसर गुमायौं हामीले। जनताको सर्वोपरि विजयलाई नयाँ शासकहरुले आफ्नो र आफ्नो पार्टीको विजयमा साँघुर्या।ए।
तैपनि नेपालीले आफ्नो लोकतान्त्रिक अभिप्रायलाई यथार्थमा बदल्ने अभियान रोकेको छैन। छ वर्षको निरर्थकताका कारण देशमा निराशा छाएको छ। तर जनताको यो निराशा क्षणिकमात्र हो। किनभने समकालीन विश्वमा लोकतन्त्रमात्र यस्तो पद्धति सावित भएको छ, जसमा अनेक अपूर्णता छ“दाछ“दै पनि मानिसले यसलाई आत्मसात गरेको छ। लोकतन्त्रमा मानिसको प्रतिनिधित्वको अहम् तŒव छ। विरोधका अधिकार र व्यक्तिका दायित्वको स्पष्ट किटानी छ। त्यसैले होला, लोकतन्त्र विपरितका शासन पद्धतिमा चलेका देशहरु समेत विभिन्न नाम र रूपमा लोकतन्त्रका प्रमुख तŒवहरुको समायोजन गर्दैछन्। अहिले विश्वव्यापीरूपमा नै आर्थिक र सामाजिक विकासका लागि लोकतान्त्रिक पद्धतिको सक्रिय प्रयोग सर्वमान्य भइसकेको छ।
लोकतन्त्रको सम्पूर्ण इतिहास र प्रयोगको अध्ययन गर्ने हो भने यसको प्रयोग आश्चर्यजनक देखिन्छ। यसले ठूला युद्धको मात्रै चुनौती खेपेको छैन, संसारका मैं हु“ भन्ने ठूला तानाशाहको समेत अन्त्य गरेको छ। सन् ४० को दशकमा भारत र पछिल्लो समयमा दक्षिण अफ्रिकामा लोकतन्त्रको प्रभावकारी विजय विकास विश्वका दुई यस्ता ठूला उदाहरण हुन्, जहा“ लोकतन्त्र मानिसको जीवन पद्धति बनेको छ। भारतमा जनप्रतिनिधि शासन व्यवस्थाको प्रवृत्तिमा नै परिवर्तन आएको छ भने दक्षिण अफ्रिकाले समावेशी समाज निर्माणमा उदाहरण नै प्रस्तुत गरेको छ।
नेपालमा लोकतन्त्रका बहुमुखी पक्षहरुको प्रयोग सहजमात्र नभएर प्रभावकारी पनि हुनेछ। किनभने, नेपाली जनता जतिसुकै जाति, जनजाति र वर्गमा विभाजित भए पनि शान्तिपूर्ण र सम्पन्न जीवनको खोजी सबै नेपालीको चाहना हो। यस हिसावले हेर्ने हो भने नेपालका राजनीतिक दलहरुले देश निर्माणका लागि विभिन्न प्रकारका सफल/असफल सैद्धान्तिक अवधारणाहरुको पासो थाप्नु आवश्यक नै छैन। नेपाली जनताका लागि समान अवसर र काम गरेर खान पाउने स्वस्थ वातावरणको निर्माण मात्रै उनीहरुका लागि चुनौती हो। संसारका विभिन्न देशमा अनेकन जाति र जनजातिहरु, अनेकन वर्ग र उपवर्गका मानिस बसोबास गरेका छन्। अनेकन विविधताले भरिएको नेपाल एउटैमात्र देश होइन। बरु, नेपाललाई समान विचार राख्दाराख्दै पनि सधैँ असमानताको खोजी गरेर आपसमा मतभेद बढाउने कलामा निपूण राजनीतिज्ञहरुको देश भन्दा अत्युक्ति नहोला। लोकतान्त्रिक पद्धतिका नियमहरुको पालना देशका नेताहरुको अभिमानका लागि अप्रिय हुन सक्छ। जतिसुकै लोकप्रिय र लोकतान्त्रिक नेताको मनमा पनि आफूलाई शक्तिको सर्वेसर्वा र आधिकारिकताको एकमात्र स्रोतका रूपमा स्थापित गर्ने चोर त लुकेको हुन्छ नै। त्यो चोरलाई मनभित्रै थुनेर लोकतान्त्रिक पद्धतिलाई जसले आत्मसात गर्न सक्छ, त्यसले मात्रै जनताको मनमा राज गर्छ। यही हो लोकतन्त्रको सौन्दर्य।
प्रकाशित: १० वैशाख २०७० १२:३० मंगलबार