९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

होली : संस्कारको डोली

सूर्यको वरिपरि घुम्दो यो पृथ्वी हाम्रा साझा घर। यजुर्वेदले पृथ्वीलाई प्राणीमात्रको महको चाका भन्यो। प्राणीमात्र पृथ्वीका मह भन्यो। मनलाई म्वाइ दिने यो उक्तिले मन छोएको छोयै छ। आफ्नै वृत्तमा घुमेर यसले दिन र रात दिन्छ। सूर्यको वृत्तमा घुमेर हामीलाई मौसम र ऋतुहरु दिन्छ। युरोप अमेरिकातिर चार ऋतु, एसियाका केही ठाउँ र देशहरुमा छ ऋतु दिन्छ। दक्षिणी र उत्तरी गोलार्द्धका मौसम आफ्नै परिवेशअनुरूप छ। अफ्रिका, अष्टे्रलिया र दक्षिण अमेरिकाका मौसम अर्कै प्रकारका छन्। युरोपीय महाद्वीपभित्रका पाश्चात्य मुलुकको चार ऋतु कण्ठ पारी हामीले मौसमी उपनिवेशवादी धारणा घोकिरहेका छौँ यद्यपि। जे होस्, वसन्त ऋतुको बहार सूचक होली पर्व एक मौसमी चाड पक्कै हो।

वसन्तले होली उपहार गरेको छ हामी र हाम्रो जस्तै मौसम पाएका मुलुकका जनतालाई। प्रकृतिले उपहार दिएको यो ऋतुजन्य पर्व हाम्रा गौरव बन्छ। प्रकृति प्रदत्त यो बहार प्रकृतिलाई अबिरले अभिषेक गर्ने संस्कृति हो। अबिर रातो मात्र नभई सप्त रङ्गी चुनरी बन्छ। सूर्य किरण सातै रङ्गका समिश्रणबाट उद्भव भएको उज्यालो हो। उज्यालो सेतो रहन्छ निख्रा। सप्त रङ्ग बेजोड फन्फनिँदा सेतो उज्यालो बन्छ। सूर्यको सामु परेको पृथ्वीको भागको दिनमान पृथ्वीको आफ्नै धुरीमा घुम्ने चाल/गतिले दिएको प्रमाण बनेको छ। वसन्तको उज्यालो र नवपल्लवको स्वागत अञ्यर्थनामा हामी उमङ्गित हुन्छौं। मनभरी, मुटुभरी उल्लासित रहन्छोैं हामी। तिनै मनका उल्लासहरु अबिर बनेर छर्किन्छन् आपसमा। मौसमी होली, उमङ्गको झोली, स्नेहको लचकिँदो डोली बन्छ। युवतीलाई डोली चढ्न मन फुर्छ। युवकलाई डोली बोक्ने तराना उठ्छ।
क्या वसन्त! क्या होली! क्या बहार! यी सब जीवन उपहार! यौवन होली उत्सवलाई उपहार। यो उपहार उमङ्गोत्सवकै बहार। उमङ्ग उत्सव अँगालेर आएको पुरुष-नारी मनको मोह। बाँच्दाका मधुमय आलिङ्गन, चुम्बन! अबिरले गालाभरी चुम्बन लाउँछ। मन फुरङ्ग फुरुङ्गिन्छ। मेरोमात्र होइन, मायालु मन। दुई दुई मनहरुको, मुटु मुटुहरुको। मन र मुटुहरुलाई लसक्क लस्काउने होलीको जस्सादार लस्काई त अबिर बन्छ। त्यसैले हामीलाई मन पर्छ होली। अबिरको देखिने यो झोली। भित्री तहमा लुकामारी गर्ने मायाको लोला गोला नशा नशामा बग्ने खोला। मन बहकाउँदो होइन, बहलाउँदो छ अबिरको होली! अझै ताजा छ सम्झना यो हातले अबिर पोतेको सुकुमारी गालामा। यिनै अबिरको पोताईले पारेथ्यो मनलाई मायाको भङ्गालोमा। अबिरको होली, मायाको झोली, स्नेहको होली भन्न रुचाएको यसैले। अबिर पोतेको गाला त अहिलेसम्मै सासूकी छोरीको गाला पो बनेको छ।
अबिर सप्तरङ्गी नै बन्छ। रङ्ग त सौर्य ऊर्जाको पूर्जा हो। राती, सुन्तली, प्याजी, सुनौली, निली, हरियाली, सेती रङ्गेली रूप हुन्। यी सप्तरङ्गीन चुनरी। उमङ्गका परेली उल्लासमय तरेली बन्छ। होली चाडभित्रको अन्तर मर्म समझदारीको मर्म। आपसी सद्भावनामा आलिङ्गन गर्नु होलीको कर्म। अबिर त सद्भाव छर्नुको माध्यम वस्तु। होली त्यसैले सद्भाव, समझदारी अनि आलिङ्गनकारी चाड-पर्व! अर्ब र खर्बमा पनि नपाइने रसरंगको होली! आनन्द लहरका उल्लासमय डोली बोकुँबोकुँ लागिरहन्छ उमङ्गको जुनेली! हिरण्य कस्यपुकी बहिनी-होलिका दहनको उपलक्ष्यका होली! होलिका त प्रह्लादलाई दाह गर्ने कुन्सितताका प्रतीक भन्छु। आफ्नै भदालाई काखी च्यापी जलाउने होलिकाको राक्षसी प्रवृत्ति नभए अरु के भनूँ ..? त्यसैले होली पर्वको अन्तिम पहर चीरदाहसित समाप्त हुन्छ। चीरदाह होलिकाभित्रको कुत्सित तरङ्गलाई खरानी पार्ने अवसरको प्रतीक जलन ठान्छु। होलीभित्रको यो महामन्त्रलाई यन्त्र, जन्त्र, तन्त्र जे भनौँ, सारगर्भित सांस्कृतिक संस्कार नठानौं किन ...? होली हाम्रो सांस्कृतिक संस्कारको डोली, रङ्ग रसको होली!

प्रकाशित: १३ चैत्र २०६९ २३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App