१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

चाभेज र वाममार्गी रोमाञ्च

भेनेजुयाली नेता ह्युगो चाभेजको मृत्युपछि कथित वामपन्थी बुद्धिजीवी र वामपन्थलाई जीविकोपार्जनको माध्यम बनाएका पेशाकर्मी (राजनीतिकर्मी होइनन्) ले नेपालमा बगाएको आँसु उदेकलाग्दो छ। चाभेज प्रतिभाशाली नेता होलान् तर आराध्य देवता होइनन्। डेढ दशक भेनेजुयलाको सत्तामा रहेर उनले गरेका राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक परिवर्तन प्रशंसनीय हुन् तर अद्वितीय होइनन्। यो तथ्यलाई बंग्याउन आवश्यक छैन।

खोट चाभेजमा होइन, उनको स्तुति गाउने हाम्रै कथित नेता र बुद्धिजीवीमा छ। उनीहरुलाई आफ्नो विचारजस्तो चिज र सत्ता स्थापित गर्ने धरातलको आवश्यकता छ। संसारभर यो धरातल साँघुरिदै गएको छ। वाम भनेपछि नाक खुम्च्याइने अहिलेको स्थितिमा कम्युनिष्ट, मार्क्स वा वामपन्थसँग जोडिएर कहीँकतै, कसैले, आकर्षक केही गरिदियो भने वाममार्गी रोमञ्च र स्वार्थलाई ठूलो ऊर्जा प्राप्त हुन्छ। चाभेजको मृत्युमा पनि यही भएको छ।
समाजवादी साम्राज्यको पतनपछि अप्ठ्यारोमा परेका वामपन्थीहरु तारणहारको खोजीमा छन्। कोही त्यस्तो तारणहार हो भन्ने संकेत पाए भने उनीहरु नोस्टाल्जिक र रोमाञ्चित हुन्छन्। वामपन्थप्रतिको यो केटौलो लगाव हाम्रो समाज परिवर्तन र त्यससँग जोडिएको वैचारिक बहसका लागि हानिकारक छ। सैद्धान्तिक बहसबाट सर्वसाधारणको रुचि हटेको छ। उनीहरुलाई अर्थहीन गलफत्तीको तुक छैन भन्ने लाग्न थालेको छ। तापनि सैद्धान्तिक छलफल नगरिरहन भने सकिन्न।
परिवर्तन हामी सबैको अधिकार हो। हिजो जे सोच्थ्यौं, जे गर्थ्यौं, आज पनि त्यही गर्नुपर्छ भन्ने छैन। परिवर्तन लुकाउनुपर्दैैन। कुनै वर्गविशेषको नबनेर लोकतान्त्रिक दलमा वामपन्थीहरु रुपान्तरित हुनसक्छन्। तर यसमा उनीहरु खुलेर लाग्ने आँट गर्दैनन्। बलियो सामन्ती परम्परा भएको हाम्रो समाजमा लोकतान्त्रिक राजनीति गर्नका लागि स्वतन्त्रताप्रति चाख जगाउनुपर्छ, अर्काको अधिकारप्रति प्रतिबद्ध हुनुपर्छ र सहिष्णुतालाई जीवन पद्धतिको निर्देशक बनाउनुपर्छ। वामपन्थी अहंकारले यसो गर्न दिँदैन्।
साम्प्रदायिकता र ढोंगले वामपन्थीहरुलाई असहिष्णु र 'धार्मिक' बनाएको छ। आफ्नो अधिनायकत्व, इतिहास तथा ज्ञानप्रतिको यन्त्रवत् बुझाइलाई आधार बनाएर अति निश्चयका साथ उनीहरु आफूलाई 'सत्य-धारक' का रूपमा प्रस्तुत गर्छन्। मार्क्सको व्याख्याबाहेक संसारमा अरु विचार, विचार नै होइनन्, भए पनि तल्लो कोटीका हुन् भन्छन्। उनीहरुका लागि सैद्धान्तिक छलफल भनेको देश, काल, परिस्थितिअनुरूप मार्क्सले भनेका कुरामा केही थपघट गर्नेमात्र हो। यसकारण उनीहरुले इतिहास वा भविष्यप्रति नयाँ धारणा बनाउनै पर्दैन, ज्ञानको अभिवृद्धि गर्नै पर्दैन, मार्क्सवाद भन्दा बाहिरका सत्यको निरुपण गर्नै पर्दैन। सबैथोक मार्क्सले भनिदिएकै छन्। सृष्टिको रचना, इतिहासको निर्माण र भविष्यको गन्तव्य कुनै पनि कुरा मार्क्सले छुटाएका छैनन् भने किन नयाँ ढंगले सोच्ने, किन दायाँबायाँ हेर्ने?
मानव समाज कहाँबाट कहाँ पुग्ने हो मार्क्सले भनिदिएकै छन्। वामपन्थीहरुका अनुसार मार्क्सले मानव समाजलाई क्षेप्यास्त्र वा भू-उपग्रह जस्तै कुनै निश्चित विन्दुमा पुग्नेगरी प्रक्षेपण गरिसकेका छन्। त्यो निर्जीव, विवेकहीन क्षेप्यास्त्र मार्क्सले भनेकै विन्दुमा पुग्छ। दायाँबायाँ लाग्नै सक्दैन, तल-माथि हुनै सक्दैन। सामन्तवादबाट, पुँजीवाद त्यसपछि साम्यवाद। यसबाहेक अर्को बाटो मानव समाजले समाउनै सक्दैन। मानौं, मानव समाज निर्माणका घटकहरु स्थिर चल हुन्।
मानव समाज कुनै क्षेप्यास्त्र जस्तो निर्जीव र विवेकहीन होइन। यसले आफ्नो दिशा र दशा आफैं निर्धारण गर्छ। मानव समाजको बाटो निश्चित सरल रेखामा हँुदैन। यसलाई गणितीय सूत्रमा ढालेर निश्चित निष्कर्षमा पुग्न सकिँदैन। निश्चित भविष्य, समाज र विज्ञानप्रतिको वामपन्थी यान्त्रिक बुझाइले उनीहरुको हित त गर्दैन नै, समग्र समाजको अहित गर्छ । शास्त्रीय मार्क्सवादी पहिल्यै निर्धारित भएको, पहिल्यै ज्ञात भइसकेको भविष्यको कुरा गर्छन्। यसै कारण मार्क्सवादी उत्थानका लागि चाभेजले समाएको बाटो ठीक हो, हामीले उनको सिको गर्नुपर्छ भन्ने कुरा आएका हुन।
कुनै पनि समाज कसैको आदेशबाट मुक्त हुन सक्दैन, न कुनै शासकको दया/मायाले अभिषप्त मुलुकले नयाँ जीवन पाउँछ। परिवर्तनका लागि राजनीतिक निर्णय, आमजनताको परिचालन, संगठन, आशावादी, सरल र सहिष्णु तथा एकरूपको नेतृत्व चाहिन्छ । सहिष्णु हुनका लागि आफ्नै घेराभित्रको सत्यसँग टाँसिएर दुनियाँबाट आफूलाई एक्ल्याउनु हँुदैन। एकरूपताविनाको जोसुकैसँग लहसिने सहिष्णुताले फेरि आफैंलाई खाने डर हुन्छ। हामी जे भन्छौ र जे गर्छौं त्यसमा एकरूपता भयो भने त्यसले सहिष्णुताको रेखा कोर्छ।
लोकतन्त्र कुनै एक व्यक्तिको छत्रछायाँमा मौलाउन सक्दैन। यसलाई विकास गर्न लोकतान्त्रिक संस्थाहरु आवश्यक हुन्छन्। शक्ति पृथकीकरण, सन्तुलन र समन्वयबाट लोकतन्त्र संस्थागत हुनसक्छ। लोकतन्त्रको संस्थागत विकासले मात्रै आमजनताको समृद्धि, सुख, शान्ति, सुरक्षा र अमनचैन सुनिश्चित गर्छ। यस सन्दर्भमा चाभेज गलत उदाहरण हुन। उनको पालामा गरिब धनी भएर होइन, धनी गरिब भएर भेनेजुयलामा आर्थिक असमानता कम भयो। असहिष्णु राष्ट्रवादले महŒव पायो। उनको दल र मन्त्रीमण्डलका सदस्यले कतिपय सरकारी योजना तथा कार्यक्रमबारे उनको टेलिभिजन अन्तर्वार्ताबाट जानकारी पाउँथे। चाभेज लहडमा काम गर्थे।
त्यसैले चाभेजको नाम कम्युनिस्टसँग जोडियो भन्दैमा नेपाली कम्युनिस्टले उनलाई नायक बनाइरहनु पर्दैन। यसखालको वाममार्गी रोमाञ्च अहं तुष्टिको माध्यमबाहेक केही बन्न सक्दैन। संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडेका हाम्रा लागि चाभेज आदर्श व्यक्ति बन्न सक्दैनन्।

प्रकाशित: ४ चैत्र २०६९ ००:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App