भुक्तभोग गरेको घटना संस्मरणमा पनि आनन्दित हुँदोरैछ। आनन्दका स्वाद चाखिरैछु। फागुन ७, २००८ को प्रजातन्त्र दिवस समारोहको बखान हो। काठमाडौंको टुँडिखेललाई त्यसताका सदर टुँडिखेल भनिन्थ्यो। त्यहाँ एउटा यामानको खरीको रुख थियो। त्यसलाई ठूलो गोलो मञ्च जस्तै सिङ्गमरमरका इँटाले छाएको थियो। सबै प्रकारका राजघोषणा-सभाहरु त्यहीँ हुने गर्थ्यो राणा शासनकालदेखि। २००८ को पहिलो प्रजातन्त्र दिवस समारोह पनि त्यहीँ आयोजित थियो।
मञ्चमा श्री ५ त्रिभुवन एउटा कुर्सीमा राज भएको थियो। राजाका पछाडि लहरै प्रजातन्त्र सेनानी, नेताजीहरु लाम कसेका थिए। समारोहका उद्घोषक खड्गमान सिंह बस्नेत (हाल स्वर्गीय) थिए। आजीवन कारावास सजाय पाएका सिंह नेपाल प्रजापरिषद्का नेता थिए। उनी प्रखर वक्तासमेत थिए। राजा त्रिभुवनलाई इतिहासको त्यस कालखण्डमा 'राष्ट्रपिता' सम्मानले सम्बोधन गरिन्थ्यो। राजा त्रिभुवन नै उक्त कार्यक्रमका प्रमुख अतिथि थिए।
समारोहको मंगलाचरण जनकवि धर्मराज थापाको सुमधुर संगीतमा गुञ्जिएको स्वागत गानबाट थालिएथ्यो। टुँडिखेल खुल्ला मैदान थियो। अचेलझैँ फलामे बारले बेरिएको थिएन। न त रत्नपार्क नै थियो। फाँटिलो टुँडिखेल खुल्लम्खुला थियो। आम उपस्थितिले टन्न थियो टुँडिखेल। समारोहमा त्यत्रो सहभागिता आजसम्मै देख्न भ्याएको छैन मैले। नेताजीहरु बोल्दै गरेथे, एकपछि अर्कोले। प्रथम प्रजातन्त्र दिवस समारोह रोचक, रोमाञ्चक रह्यो।
युवा विद्यार्थी नेता विजयलाल श्रेष्ठको बोल्ने पालो आयो। उद्घोषक बस्नेतले उद्घोषण गरे- 'अब तपाईंहरुसमक्ष युवा विद्यार्थी नेता विजयलाल श्रेष्ठ बोल्नुहुनेछ।' युवा विद्यार्थी नेताको बोली बुलन्द जोश र जाँगरले भरपुर थियो। उनी बोल्दै थिए। बोल्ने क्रममा उनले भने- 'देशमा क्रान्ति भयो। राजाले पनि जनतालाई साथ दिए। नारायणहिटी दरबार त्यागेर भारतीय दूतावास पसे। नेपालबाट दिल्ली पुगे। दिल्लीमा सम्झौता भयो। सम्झौता देश र जनताको पक्षमा भएन। निहीत स्वार्थका लागि हुन पुग्यो। दाजुभाइ, दिदीबहिनी दिल्ली सम्झौता धोका हो। नेपालमा क्रान्ति गर्न पुगेको छैन।' आम स्रोता शान्त सुनिरहेथे।
उद्घोषक बस्नेतले भने मत्थर भएर बोल्न चिट् दिँदै गरेथे। तर युवा जोश मत्थरिएन। यत्तिकैमा खड्गमान सिंह माइक्रो फोन नै छोप्न गए। पलेटी कसिबसेका आमस्रोता सलहझैं उठे। भयङ्कर हो-हल्ला मच्चियो। समारोह सभा मासमा परिणत भयो। जमिनबाट कोलाहलपूर्ण आवाज गुञ्जियो- विजयलाई बोल्न दिनुपर्छ, पर्छ, पर्छ।
जनकवि धर्मराज थापा फेरि खरिबोटे मच्चमा उक्ले। उही सुमधुर संगीतको कण्ठ फुक्न थाले। जन कवि गाउन थाले। उनका गायनले छाएन शान्तमय चयन। केही दया चलेन। टुँडिखेल हो-हल्लाको मैदान बनिरह्यो। केही नलागेपछि विजयलाल श्रेष्ठलाई बोल्न आग्रह भयो। पुनः झुल्किए लाल श्रेष्ठ विजय। त्यतिन्जेल विजय पनि सम्हालिएका देखियो। बोलीको उत्तेजक ध्वनि सुशान्त सुनियो। स्रोताले विजयलाललाई पहिलेझँ लाल पाएनन्। विजय माइक्रो फोनमा बोल्दै रहे। उनी शहीद गङ्गालाल श्रेष्ठका सहोदर भाइ हुन्।
त्यस दृश्य/परिदृश्यमा उद्घोषणका उतारचढावमा, भाषणहरुका भावविभोरी र भावावेशहरुमा, सांगींतिक धून र स्वर गुञ्जनहरुमा आमस्रोताको सम्बोधन र संक्रमणहरुमा राजा श्री ५ त्रिभुवन उही एउटै जस्ताको त्यस्तै मुद्रामय आसनमा आसिन रहे। हलचल थिएन तिलभर। प्रत्यक्षदर्शी थिएँ म। २००८ सालमा जुद्धोदय पब्लिक हाइस्कुलको ८ कक्षाको निसंकोच विद्यार्थी थिएँ म। ६१ वर्षअगाडिको तर फाटिन सकेन सम्झनाको यो झ-झल्को प्रजातन्त्र दिवस २००८ को। उपहार मेरो ७८ वर्षे ज्येष्ठ नागरिक अनुभूति सार यो!
प्रकाशित: ७ फाल्गुन २०६९ ०१:१७ सोमबार