दश वर्षे सशस्त्र क्रान्तिबाट भर्खर खुला राजनीतिमा आएका, व्यक्तिगतरूपमा पनि ठूलो क्षति बेहोरेका भण्डारीमा अहिले पनि क्रान्तिकारीपन घटेको छैन। अध्ययनशील, कानुनवेत्ता र प्रष्ट वक्ता एक जना असल मान्छे हुन् उनी। उल्लेखनीय कुराचाहिँ त्यसबेला उनले व्यक्त गरेको आपत्तिको विषय हो। मेरो 'फिचर' का चार पात्रमध्ये अर्का पात्र गोर्खाका नुरप्रसाद अधिकारी थिए। उनका भाइ द्वन्द्वका बेला माओवादीबाट चितवनमा मारिएका थिए। त्यही आक्रोशले होला, पछि नुरप्रसाद एक्लैले माओवादी अध्यक्ष 'प्रचण्ड' का लागि बनाइएको स्वागतद्वार पोखरामा जलाइदिएका थिए। त्यसपछि पक्राउ परेका उनको मोबाइल माओवादीले खोसेछन्। 'त्यो खोसिएको मोबाइल सेट माओवादी अध्यक्षको हातबाट फिर्ता पाउन चाहन्छु' भन्ने उनको भनाइ मैले 'कोट' गरेको थिएँ। मैले सम्झेसम्म भण्डारीको सबैभन्दा बढी आक्रोश यसैमा थियो। नुरप्रसादले गरेको प्रचण्डबारेको टिप्पणीले उनको चित्त दुखेको थियो। भण्डारीजीको भनाइ थियो- देउवा, गिरिजा र त्यसको नाइके ज्ञानेन्द्रबारे चाहिँ किन टिप्पणी छाप्नुभएन, किन प्रचण्डमाथि मात्र आक्रोश?'
भण्डारी र मेरो छ वर्ष पुरानो तीतो सम्वादको प्रसंग एकीकृत माओवादीको हेटौंडामा सुरु अधिवेशनको प्रसंगमा स्मरणीय छ। छ वर्षमा समय धेरै फेरियो। एक कलमजीवीका नाताले प्रचण्ड र भण्डारी दुवैलाई हेर्ने दृष्टिकोणमा त्यसबेला र अहिले पनि समानता छ। न कुनै अनुराग थियो, न कुनै द्वेष छ। तर भण्डारीको प्रचण्डप्रतिको त्यो आस्था भने समाप्त भएको छ। छ वर्ष बित्दा भण्डारी प्रचण्डप्रति नुरप्रसादभन्दा पनि कठोर टिप्पणी गर्नसक्ने भएका छन्। त्यसबेला टिप्पणी गर्दासमेत सहन नसक्ने भण्डारीलाई प्रचण्डमाथि विश्वास रहेन। उनी मोहन वैद्य अध्यक्ष रहेको नेकपा-माओवादीका नेता भइसकेका छन्।
एकीकृत नेकपा माओवादीको महाधिवेशन शनिबार हेटौंडामा सुरु भएको छ। यो २१ वर्षपछि हुन लागेको महाधिवेशन हो। भण्डारीको दृष्टिकोण त छ वर्षमै यति फेरियो भने २१ वर्षअघि पार्टी प्रमुख चुनिएका प्रचण्डप्रतिको दृष्टिकोण कति बदलियो होला? माओवादीको अघिल्लो अधिवेशन भएपछि जन्मेकाहरू अधिवेशनमा प्रतिनिधि हुने उमेर पुगिसके। यो अधिवेशनले सम्बोधन गर्नुपर्ने विषय कति जटिल होला? तर खुला करिब ३ हजार प्रतिनिधि भेला भएर पाँच दिनसम्म बहस गरी निकाल्ने निष्कर्ष भने खासै नौलो होला भनेर आशा गर्नु व्यर्थ हुन्छ। लोकतन्त्रको कसीमा आफूलाई घोट्ने भन्दै गरिने पार्टीका अधिवेशनहरू केबल औपचारिकतामा सीमित हुँदै आएका छन्। नेताहरूले मिलाएर लगेको विषयलाई अनुमोदन गर्न लगाउने काममात्र त्यहाँ हुनेछ। त्यसमाथि भर्खर सशस्त्र द्वन्द्वबाट आएको कम्युनिष्ट पार्टीले त नयाँ नीति र नेतृत्व जन्माउला भनेर आश गर्नु व्यर्थ हुनेछ।
माओवादीको खुलारूपमा हुन लागेको यो पहिलो महाधिवेशन हो। पार्टी फुटेको छ महिनापछि हुन लागेको यसलाई 'एकता महाधिवेशन' का रूपमा पनि प्रचार गरिएको छ। २१ वर्षदेखि पार्टी प्रमुख रहेका प्रचण्ड नै फेरि अनुमोदित हुने निश्चित छ। माओवादीको अघिल्लो अधिवेशन हुँदा पार्टी संयुक्त जनमोर्चा नामको चुनावी मोर्चावाट संसद्मा नौ सीट जित्ने हैसियतमा थियो। त्यसपछि यसले दश वर्ष 'सशस्त्र जनयुद्ध' गर्योम। आफ्ना १४ हजार 'योद्धा' को ज्यान गुमायो, तीन हजार 'दुश्मन' को 'सफाया' गर्यो । छ वर्षे संक्रमणकालीन राजनीतिपछि चेत खुलेको देखिन्छ- 'योद्धा' र 'दुश्मन' मारिएका हैनन्, सशस्त्र युद्धमा मारिने त मान्छे पो रहेछन्। यो चेत खुलेको हो भने गरिबका छोराको ज्यान र धनको क्षति हुने राजनीतिक मार्ग गलत भएको निष्कर्षको घोषणा माओवादीले गर्न सक्नुपर्छ।
दुई दशकमा पार्टीभित्रै पनि धेरै घटना भए। यानप्रसाद गौतमजस्ता नेता कारवबाहीस्वरूप श्रमशिविरमा रहेका बेला मारिए। शान्ति वार्ता गरी शान्तिपूर्ण राजनीतिक अवतरण गर्ने, संविधान सभाबाट संविधान बनाउनुपर्ने कुरा उठाएकै कारण उपाध्यक्ष बाबुराम भट्टराई नै झण्डै 'सफाया' मा परे। यो पछिल्लो एक दशकभित्रकै कुरा हो। त्यसबेला पनि पार्टी अध्यक्ष प्रचण्ड नै थिए। त्यति कडा पार्टी, उनै अध्यक्षले 'प्राधिकार' (सर्वेसर्वा) प्रयोग गर्दागर्दै शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा आए, उनै अध्यक्ष भएर। शान्ति र संविधानको मुद्दा अघि सार्दा कारवाही गरेका व्यक्तिलाई उनैले प्रधानमन्त्री बनाएका छन्। फेरि छ वर्षे संक्रमणकालीन संसदीय अभ्यासमा चलिरहेका छन्। यी सबै उतारचढावको कटु संश्लेषण गरी नेतृत्वको दूरदृष्टिबारे मूल्यांकन गर्नुपर्छ। त्यसो भए महाधिवेशन सफल मानिनेछ। चिन्तन नबिग्रिई जीवनशैली बिग्रन्न भन्ने मार्क्सवादी सिद्धान्तलाई पनि यो महाधिवेशनले व्यवहारको कसीमा घोट्न सक्नुपर्छ।
एकीकृत माओवादी पार्टीको रंग रातो रहेन भन्ने आरोप मोहन वैद्य पक्षको छ। लडेकाहरूले यसलाई 'रातो' नै देख्लान्। रातो रंगको हिस्सा आफूले लगेको वैद्य पक्षको दाबी छ। नेताहरूले अझै पनि 'क्याडर बेस' पार्टी माने पनि एउटा चुनाव लडेर सबैभन्दा ठूलो दल बनेको माओवादी अब 'मास बेस' पार्टीमा रूपान्तरण गर्न सक्नुपर्छ। युद्ध र हतियारको धङ्धङीबाट मुक्त भएर यो अधिवेशनले एउटा लोकतान्त्रिक वामपन्थी पार्टीमा स्थापित गर्न सक्नुपर्छ। १० वर्षे सशस्त्र द्वन्द्वमा सबै दललाई उछिनेर आफू स्थापित हुन सकेको माओवादी संसदीय अभ्यासमा सफल भएन। चार वर्षे संविधान सभामा कांग्रेस-एमाले दुवै दल जोड्दाभन्दा पनि ठूलो संख्या भएको माओवादी सधैं पराजित अवस्थामा देखियो। माओवादीसँग मुढेबल प्रयोग गर्ने नेतामात्र पो धेरै भएछन् कि भनेर अधिवेशनले सोच्नुपर्छ। खुला राजनीतिमा बलसँगै बुद्धि र विवेकशील नेतृत्व जरुरी पर्छ। अब युद्धकालीनभन्दा शान्तिपूर्ण राजनीतिमा सफल हुने नेतृत्व खोजी गर्नुपर्छ।
माओवादीले सशस्त्र द्वन्द्व त्यागेको व्यवहारबाट पुष्टि गरिसकेको छ- क्यान्टोन्मेन्ट खाली गरेर। त्यसैले केन्द्रमात्र हैन, स्थानीय तहसम्मको पार्टी संरचना हेरफेर गर्ने नीति माओवादीले अघि सार्नुपर्छ। सशस्त्र द्वन्द्वका बेला सबैभन्दा कम पढेको व्यक्ति लडाकुका लागि सबैभन्दा योग्य हुन्थ्यो होला, अब त गाउँ-समाजका शिक्षित र सामाजिक कार्यकर्ताले जनतामा अपिल गर्न सक्नेछन्। बन्दुक बोक्ने हैन, कलम बोक्ने कार्यकर्ता आकर्षित गर्ने नीति माओवादी महाधिवेशनले पारित गर्नुपर्छ। विनासंकोच खुल्ला राजनीति सुहाउँदा व्यक्तिलाई नेता र परिवर्तनमुखी सामाजिक लोकतान्त्रिक नीति अपनाएमा एकीकृत माओवादीको महाधिवेशन सफल हुनेछ। फेरि पनि कार्यकर्तामा भ्रम पार्ने र प्रचण्डलाई देवत्वकरण गर्ने काम यो अधिवेशनले पनि गर्योन भने फेरि २/४ वर्षपछि भण्डारीको जस्तै भ्रम अरुको पनि टुट्नेछ।
प्रकाशित: २० माघ २०६९ २३:१२ शनिबार