काठमाडौंबासी खानेकुरा बढी भएर मरिरहेका छन्। 'डाइवेटिज', 'ब्लडप्रेसर', 'युरिक एसिड', मुटुरोगीको संख्या दिनानुदिन बढिरहेको छ। खानेकुरामा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन बढी भएर रोग लागिरहेको छ- काठमाडौंमा। कर्णालीमा भने खान नपाएर भोकले अहिले पनि मान्छे मर्दैछन्। काठमाडौंबासी हिउँ परेको देखे भने रमाएर रातारात त्यतैतिर दौडन्छन्- मनोरञ्जनका लागि। फूलचोकी, दामन, नगरकोट वा चरिकोटमा सामान्य हिउँ पर्दा कुद्ने काठमाडौंबासी सहज पहुँच हुने हो भने कर्णालीको हिउँमा कति रमाउँदा हुन्, अनुमानमात्र गर्न सकिन्छ। कर्णालीबासी भने हिउँसँग डराएर वर्षेनी ३/४ महिना दाङ-सुर्खेततिर झर्छन्। राजधानीबासीहरू चामल खान नहुने रोग लागेपछि मकै र अरु अन्नको खोजीमा छन्। चामल खाएमात्र भोक मेटिन्छ भन्ने तत्कालीन राजा महेन्द्रको दिमागको फलस्वरुप अहिले पनि कर्णालीबासी भने चामलको खोजीमा भौंतारिन्छन्, आफ्नै बारीमा फल्ने गहुँ र जौलाई खाद्यान्न मान्न छाडेका छन्। उन्नत जातका स्याउको खेतीतिर नलागी विनास्वादका पुरानै स्याउ फलाएर चित्त बुझाउँदैछन्।
जाडो लागेपछि राजधानी काठमाडौंबासीले फेरिएको फेसनसँगै नयाँ-नयाँ न्यानो लुगा किन्छन्। नफाटेका भए पनि पुराना लुगा लगाउने भने शहरिया गरिबको मात्र हुन्। चिनियाँ सामानका कारण अहिले त कर्णालीबासीले पनि ज्याकेट त किनेका छन्। नयाँ लुगा त किन्छन् तर पुरानो मैलो लुगा नफुकाली नयाँ लुगा त्योभन्दा बाहिर थप्दै जानु त्यहाँको 'फेसन' नै हो। लुगा धुनुपर्छ भन्ने पनि त्यहाँ खासै संस्कारकै अभाव देखिन्छ।
कर्णाली र काठमाडौंबीच ठीकविपरीत अरु पनि धेरै छन्। औषत आयु काठमाडौंभन्दा आधामात्र छ कर्णालीमा। काठमाडौंबासी औषत ६३.२ वर्ष बाँच्छन् तर कर्णालीबासीको औषत आयु ३६ वर्षभन्दा पनि कम छ। काठमाडौंमा 'जगिङ' गएर तौल घटाएको आत्मकथा सुनाएर वयस्क जमातमा आफ्नो गौरव गर्ने गरिन्छ तर कर्णालीबासी भने जति चाहेर पनि तौल बढाउन सक्दैनन्। त्यहाँका वयस्क पुरुषको तौल त्यस्तै ५० किलोको हाराहारीमा होला। तौल घटाउने ठाउँ नै हुन्न। बढाउने सामर्थ्य नै छैन।
महिलाको अवस्था त झन नाजुग देखिन्छ। त्यहाँ कोही पनि 'तरुनी' हुनै पाउँदैनन्। किशोरीबाट एकै पटक वयस्क अवस्थामा प्रवेश गर्नु त्यहाँको संस्कार नै छ। सानै उमेरमा विवाह, अनि काखमा सन्तान। उमेर भएका र उमेर गएका महिलामा अन्तर छुट्ट्याउन कठिन छ। सानै उमेरमा काखमा नानी बोकेका कालो अनुहारलाई घुम्टोले ढाक्नु त्यहाँका आम महिलाको शैली हो। टाइट टीसर्ट र जिन्समा सजिएका काठमाडौंका ५० नाघेका 'स्मार्ट' महिलाले त्यहाँका २५ ननाघेका युवा महिलालाई सहजै 'दिदी' भनेर सम्बोधन गर्ने अवस्था छ। उमेर ४० नपुग्दै हजुरआमा हुने कर्णालीका महिलाको अवस्था कस्तो छ भन्ने त अनुहार हेर्दै सहज अनुमान गर्न सकिन्छ। काठमाडौंका सबै महिलालाई कर्णालीका युवा उमेरका महिलाले 'बहिनी' भनिठान्ने अवस्था विद्यमान छ।
राजधानी काठमाडौं र राजधानीबाहिरका सबै अरु शहरमा सडक विस्तारको अभियान जारी छ। तर ढुंगाको पहरो काटेर सडक लैजानु निकै कठिन काम देखिन्छ। त्यहाँ महँगी घट्ने र रोजगारी बढ्ने आशाको सञ्चार भएको छ। यो राज्यले निभाउनुपर्ने प्रारम्भिक जिम्मेवारी हो। यसको स्तरोन्नति र कालोपत्रे गर्ने काम अझै कहिले होला, थाहा छैन्। कर्णालीका दुई जिल्ला हुम्ला र डोल्पाको त सदरमुकाम पनि सडक सञ्जालमा जोडिएको छैन। हुम्लाको ट्रयाक नेपाली सेनाले खनिरहेको छ। डोल्पा त कहिले जोडिन्छ, अनिश्चित छ।
मानव विकास मापनको आधार क्रयशक्ति, शिक्षा र स्वास्थ्य स्थिति हो। यी सबै हिसाबले कर्णाली देशमै सबैभन्दा पछाडि परेको क्षेत्र हो। पातलो आवादी, छरिएर बसेका बसोबास, खान नपाएरै मृत्युको मुखमा पुग्ने अवस्था अझै विद्यमान छ। काठमाडौंबाट हेर्दा 'स्वर्ग' ठानिने मुगुको रारा ताल मुगुबासीका लागि खासै महŒवको विषय बनेको छैन्। खान, लाउन र बिरामी पर्दा उपचार नपाउनेको जीवनमा मनोरञ्जनको आवश्यकता हुँदैन। त्यसलाई व्यावसायिक हिसाबले पर्यटन केन्द्रका रूपमा विकास गर्ने हो भनेमात्र त्यसको मूल्य स्थानीयले बुझ्नेछन्।
लोकतान्त्रिक राज्यमा काठमाडौं र कर्णालीबासीको अधिकारमा कुनै अन्तर छैन। कानुनी दृष्टिले समान छन् तर कर्णाली र काठमाडौंबीच असमानताको खाडल हेर्दा लाग्छ- काठमाडौं त के, पूर्वी पहाडभन्दा चार पुस्ता पछाडि छ कर्णाली। कम्तिमा पनि त्यहाँको जनजीवन देशका शहरी क्षेत्रभन्दा एक शताब्दी पछाडि छ। लोकतान्त्रिक राज्य हो भने त्यसलाई समानताको न्युनतम् स्तरमा पुर्याभउन पनि त्यहाँ शिक्षा, स्वास्थ्यमा लगानी गर्नुपर्छ। बाटो, बिजुलीमा केन्द्रित हुनु जरुरी छ। अत्यन्त ठूलो भू-भागमा छरपष्ट बसेका बस्तीलाई योजनाबद्धरूपमा निश्चित केन्द्रहरू बनाएर बस्तीहरू स्थानान्तरण गरिनुपर्छ। योजनाबद्ध वस्ती विकास गर्नु जरुरी छ। बाँकी क्षेत्रमा भने जडीबुटी, पशुपालनलगायत्का व्यवस्थित कृषि कार्य सञ्चालन गर्नुपर्छ। अहिलेकै अवस्थामा कर्णालीको विकास भन्दै घरघरमा बाटो वा बिजुली, खाद्यान्नका रूपमा चामल भन्ने अवधारणाले कर्णालीको चेहरा फेरिने छैन।
कर्णाली राजमार्गको नाग्मा-गमगढी सडक खण्डमा बाटोमा परेको हिउँ र रारा तालवरिपरि परेको हिउँपछिको घमाइलो दृश्य हेर्दा लाग्थ्यो- यो नै नेपालको स्वर्ग हो। संसारकै सबैभन्दा सुन्दर ठाउँमध्ये रारा पनि एक मानिन्छ। भारतको सिम्ला जाने पर्यटक एकपटक कर्णालीको रारा पुग्ने हो भने ऊ मन्त्रमुग्ध भएर फर्कन्थ्यो। काठमाडौंको नजरले यो देख्दा मुगुबासीले भने यस्तो अवश्य देख्दैनन्। सदरमुकाम गाडी पुगेको बेला जुम्ला र मुगुबासीको खुशियालीको सीमा थिएन। बाटोमा आएका गाडीलाई पूजा गरे। बाटो खन्ने नेपाली सेनाको जयजयकार गरे। गाडीमा आएका सबैलाई फूल, माला र अबिरले स्वागत गरे। ड्राइभरलाई पैसाका माला लगाइदिए। त्यही खुशी साटिरहेको भिडमा रमाइरहेकी जुम्ला जिअँगाउँकी धनुकली रावलको भनाइ रोचक थियो- 'गाडी आए भने साहूकै सामान त ओसार्लान्, हामी नाँगाका के ओसार्नू?' राज्यले खुशीभित्र छिपेको यो निराशालाई उत्साहमा फेर्नसक्नुपर्छ।
आदर्श लोकतान्त्रिक राज्यले धनी र गरिबबीचको खाडल घटाउने कार्यक्रम ल्याउनुपर्छ। यदि कर्णालीजस्ता विकट ठाउँका जनता खान नपाएरै मर्ने अवस्थाको अन्त्यका लागि बढी खाएर रोग लाग्ने गरेका काठमाडौंबासीले योगदान गर्नसक्ने खालको आर्थिक नीति राज्यले अघि सार्नुपर्छ। रोग लाग्नेगरी खानुको सट्टा बढी भएको खाना खान नपाउनेका लागि योगदान गरौं भनेर अपील गर्न सक्नुपर्छ। नत्र भने रारालाई स्वर्ग देख्ने काठमाडौंबासी र राराको मूल्य नै नबुझ्ने मुगुबासीबीचको खाडल कायमै रहनेछ।
प्रकाशित: ७ पुस २०६९ २३:३६ शनिबार