९ वैशाख २०७८ बिहीबार
विचार

वृद्ध बाआमा विशुद्धि होइनन्

सन्दर्भ विश्व अल्जाइमर चेतना दिवस

अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाका रूपमा लिई अल्जाइमरसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । यही सन्दर्भमा, हाम्रो नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, अल्जाइमर रोगसम्बन्धी कार्य गर्ने संस्था अल्जाइमर विस्मृति समाज र महासंघअन्तर्गत रहेका ज्येष्ठ नागरिक जिल्ला संघहरू र अन्य विभिन्न संघ/संस्थाले अल्जाइमर रोग लागेको हो÷होइन, त्यस्ता व्यक्तिको पहिचान गर्ने, अल्जाइमर रोगीका परिवार सदस्यलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहका लागि अल्जाइमर केयर तालिम सञ्चालन गर्ने, विभिन्न सञ्चारका माध्यमबाट अल्जाइमर विशेषज्ञहरूबाट अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्ने, अल्जाइमर रोगबारे लेख रचना प्रकाशन गर्ने जस्ता जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिरहेको कुरालाई आत्मसात गर्न सकिन्छ ।

अल्जाइमर डिजिज इन्टरनेसनलले यस वर्षको नारा गत वर्षझैँ ‘विस्मृति रोगबारे चर्चा गरौँ’ भन्नेलाई नै कायम राखेको छ । केही वर्षदेखि अल्जाइमर डिजिज इन्टरनेसनलको आह्वानमा विश्व अल्जाइमर चेतना दिवस २१ सेप्टेम्बरदेखि एक महिनासम्म मनाउंँदै आइरहेका छौँ । यस वर्ष २७ औँ विश्व अल्जाइमर चेतना दिवस हो ।

डिमेन्सिया एउटा सिन्ड्रोम हो जसले स्मरण, सोच, व्यवहार र दैनिक गतिविधिमा फरक ल्याउँछ । अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा सामान्य रूप हो । यसले ६० देखि ७० प्रतिशत केसमा योगदान गर्छ । विश्वमा लगभग ५० करोड मानिस डिमेन्सियाबाट पीडित छन् । जहाँ प्रत्येक वर्ष १० करोड नयाँ घटना वृद्धि भइरहेका छन् । डिमेन्सिया भएका व्यक्तिको कुल संख्या २०२० मा ८२ करोड र २०५० मा १२२ करोड पुग्ने अनुमान छ । यो रोग धेरैजसो कम र मध्यम आय भएका देशमा बढ्दो छ ।

२०१५ मा डिमेन्सियाको विश्वव्यापी अनुमानित लागत ८ सय १८ अर्ब अमेरिकी डलर अर्थात ग्लोबल जिडिपिको १.०९ प्रतिशत थियो । विश्वव्यापी लागत अमेरिकन डलर १ ट्रिलियन भन्दा माथि पुग्न सक्छ । यो खर्च अनौपचारिक हेरचाह, सामाजिक रेखदेख र चिकित्सामा हुने खर्च मात्र हो ।  

यस्ता बिरामीको हेरविचार गर्ने सबभन्दा राम्रो तरिका भनेको नै आवश्यकताअनुसार उनीहरूको मर्यादा कायम गर्दै उनीहरूको मानसिक शान्ति र जीउधनको सुरक्षा गर्नु हो । 

नेपालको सन्दर्भमा अनुमान गरिएअनुसार लगभग १० प्रतिशत अर्थात् एक लाख पैंतीस हजार व्यक्ति डिमेन्सियाबाट पीडित छन् । यो संख्या प्रत्येक २० वर्षमा दोब्बर हुने आशा गरिएको छ । नेपालीले यसलाई बुढेस कालको रोग भन्ने गर्छन् । जसका कारण पनि उनीहरू यो रोगबारे अनभिज्ञ छन् ।

लक्षणका हिसाबले यो रोगलाई कम कडा, अलि कडा र अति कडा गरी तीन अवस्थामा वर्गीकरण गर्न सकिन्छ । कम कडा प्रारम्भिक अवस्था हो । स्मरण शक्तिमा क्रमिकरूपमा कमी हुनु, चिनेको मानिस, आफन्त, नातागोता एवं ठाउँ चिन्न समस्या हुनु, पहिलेदेखि गरिआएको काम गर्न पनि पहिलेको दाँजोमा धेरै समय लिनु, कारोबार एवं व्यवसाय गर्न समस्या हुनु र क्रमिकरूपमा गलत किसिमका निर्णय गर्दै जानु, व्यवहार र व्यक्तित्वमा क्रमिक परिवर्तन हुँदै जानु जस्ता लक्षण कम कडा अवस्थामा देखा पर्छन् ।

यस्तै, यस्तो समस्या क्रमिकरूपमा बढ्दै गएर परिवारभित्रैका सदस्य पहिचानमा समस्या हुनु, पढाइ÷लेखाइ÷सामान्य गिन्ति गर्ने र गणितीय काममा समस्या देखिनु, नयाँ कुरा र काम गर्न समस्या हुनु, दिनहँु हिँडिरहेको बाटो बिराउनु, एउटै कुरा दोहो¥याइरहनु, शङ्का गर्नु, नभएको कुरा देख्नु÷सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु, सामाजिकरूपमा आपत्तिजनक काम÷व्यवहार÷भाषा प्रयोग गर्नु दोस्रो अवस्थाका लक्षण हुन् ।

यस रोगको तेस्रो चरण अति कडा अवस्था हो । यस अवस्थामा पहिलेका लक्षण क्रमिक बल्झिँदै जानुका साथै थप समस्या देखापर्छन् । खाना खान÷चपाउन÷निल्नमा क्रमिकरूपमा समस्या आइ सर्केर हुने न्युमोनियाबाट बिरामी बारम्बार पीडित भइरहनु, तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु, दिसा÷पिसाब नियन्त्रण गर्न असमर्थ हुनु, कपडा÷बिस्तारामै दिसापिसाब हुनु, अस्पष्टरूपमा आवाज निकाल्नु, बिस्तारामै सीमित भई सोसम्बन्धी जटिलता बढ्दै जानु यस अवस्थाका विशेष लक्षण हुन् ।

अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । खाली चिकित्सकले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउने छन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गति मत्थर पार्न भने सकिन्छ ।

सही जीवनशैलीका कारण अल्झाइमर रोग हुने सम्भावना कम गर्न सकिन्छ । सामाजिक क्रियाकलापमा बढी सक्रिय तथा बौद्धिक व्यायाम हुनेखालका काममा लाग्नाले मस्तिष्कको कार्यक्षमता जोगाउन सकिन्छ । सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्तदुरुस्त राख्नेखालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नबाट जोगाउन सकिन्छ । चिल्लो पदार्थ कम भएको सागसब्जी र फलफूल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्झाइमर रोगको सम्भावना न्यून गर्ने उपाय हो । मेडिटेर्यानियन आहारलाई अल्जाइमर रोग हुन नदिने राम्रो आहारका रूपमा लिइएको छ ।

अल्जाइमर भएका मानिसको हेरचाहका लागि परिवारका सदस्यले केही सावधानी अपनाइ उनीहरूको जीवनलाई सहज र सरल बनाउन मद्दत गर्न सकिन्छ । सकुन्जेल त्यस्ता बिरामीलाई आपूmखुसी छाडिदिनुपर्छ । उनीहरूले गर्ने कामका लागि दैनिक समय तालिका बनाएर दिनुका साथै त्यसलाई पालना गर्न सहयोग गर्ने र आपूmले समयमै औषधि दिनुपर्छ । घर सधैँ सफा राख्ने, कठोर नबन्ने बरु लचिलो व्यवहार गर्ने, सकिन्छ भने तालिम प्राप्त हेरचाह गर्ने मानिस राख्न पनि सकिन्छ । यस्ता बिरामीका लागि भरपर्दाे सुरक्षा व्यवस्था मिलाउनुका साथै परिचयपत्रको व्यवस्था गर्ने र मिल्छ भने निगरानीको उपकरण जडान गर्न सकिन्छ । यसबाट बिरामीको अवस्था र गतिविधि बुझेर हेरचाह गर्न मद्दत मिल्छ । यस्ता बिरामीका लागि घरायसी वातावरण परिवर्तन गर्नुका साथै उनीहरूलाई आदर सत्कारका साथ व्यवहार गरेर हेरचाह र स्याहारसुसार गर्न सकिन्छ ।

यस्ता बिरामीको हेरविचार गर्ने सबभन्दा राम्रो तरिका भनेको नै आवश्यकताअनुसार उनीहरूको मर्यादा कायम गर्दै उनीहरूको मानसिक शान्ति र जीउधनको सुरक्षा गर्नु हो । हेरविचारकर्ताले डिमेन्सिया भएको मानिसको आवश्यकताअनुसार उचित व्यवस्था गर्न समर्थ हुनुपर्छ । पारिवारिक हेरविचार गर्ने व्यक्तिले बिरामीलाई आवश्यक पर्ने सामानको सूची बनाएर राखेको हुनुपर्छ । जसमा स्वास्थ्यका लागि आवश्यक पर्ने प्रोक्सी उपकरण, ध्यान दिनुपर्ने कुराहरूको साथमा औपचारिक र अनौपचारिक सहमतिसमेत समावेश हुनुपर्छ । हाम्रो जस्तो समाजमा पारिवारिक र बाहिरबाट ल्याइएको स्याहारकर्तासमेत हुने भएकाले सोहीअनुसार बुझ्नुपर्ने हुन्छ ।

वृद्ध हुनुभएका बा÷आमाहरू विशुद्धि भएका होइनन् । विस्मृति रोगले गाँंजेको बुझौँ वितृष्णा र दिक्दारीले होइन माया र सद्भावले स्याहार गरौँ ।  
(महासचिव– राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ)

प्रकाशित: ६ आश्विन २०७७ ११:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
को हुनेछ नागरिक नायक २०७८ ?