पञ्चायती व्यवस्था ढलेको तीन दशक बितेको छ । लोकतन्त्र पुनस्र्थापना भएको पनि त्यति नै भयो । गणतन्त्र आएको करिब डेढ दशक बितेको छ । पञ्चायतकालमा पञ्चायत र राजालाई गाली गरेर राजनीति गरियो । बहुदल आएपछि पनि राजालाई औँला ठड्याउँदै आइयो । लोकतन्त्रले जनयुद्घ जन्मायो । जनयुद्घले संघीय गणतन्त्र जन्मायो । लोकतन्त्रका नाइकेहरूले जनयुद्घका नाइकेका थाप्लामा दोष वर्र्षाए । जनयुद्घका नाइकेले लोकतन्त्रका मसिहामाथि विभिन्न हर्कत प्रयोग गरे । कालान्तरमा सबै राजनीतिक विचार बोक्ने राजनीतिक दलले सरकार गठन गरे र उनीहरूका कार्यशैली देखाए । अहिले गाली गर्ने र दोषारोपण गर्ने त्यस्तो संस्था र व्यक्ति नभएपछि यिनै लोकतन्त्र, गणतन्त्र र संघीयताका हिमायतीहरू एकअर्कालाई गाली र दोष देखाउन व्यस्त हुन थालेका छन् ।
आफ्नो मूल्यमा राजनीति गर्ने होइन, अर्कोलाई होचो, कमजोर र खराब देखाएर राजनीति गर्ने संस्कार हुर्कँदै आएको छ । देश र जनताको मुहार फेर्ने खोक्रा नारा जसले जति लगाए पनि वास्तवमा न त्यस्तो कामको सुरुवात खासरूपमा अहिलेसम्म हुन सकेको छ न त जनताले त्यस्ता नारामा विश्वास नै गरेका छन् । एकपछि अर्को गर्दै जनताले सबैलाई परीक्षण गरिसकेका छन् । पञ्चायत, राजा, बहुदलीय लोकतान्त्रिक व्यवस्था, संघीय गणतन्त्रात्मक व्यवस्था यी सबैको रूप रङ्ग जनताले देखिसकेका छन् । जनताको नजरमा आशा जाग्दो, पत्यारलाग्दो कामको दृष्टान्त कसैले पनि प्रस्तुत गर्न सकेका छैनन् । फाट्टफुट्टरूपमा केही पात्रले गरेका केही असल सुरुवातलाई पनि बीचैमा तुहाउने काम भएका छन् ।
अहिलेसम्मको राजनीतिक परिदृश्य विश्लेषण गर्दा सबैभन्दा बढी दलका नेता, सरकारका नेता र संवैधानिक अङ्गका नेता नै सुशासनविरुद्ध देखापरेका छन् ।
सत्ता छाड्ने, नेतृत्व छाड्ने, नेता हुन छाड्ने, खोक्रा नारा र पुङमाङे गफ दिन छाड्ने कोही पनि देखिएका छैनन् । ढाँट्न, छल्न र झुक्याउन सबै एकसेएक छन् । ‘तँ वीर कि म वीर’ का रूपमा प्रस्तुत भएका पात्रहरूको झाँकी देखिएको पनि लामै समय भइसक्यो । अल्पमतले पनि नहुने, बहुमतले पनि नहुने र दुईतिहाइ निकटको बहुमतले त झन् नहुने देखिएपछि नेपाली जनताले कसलाई मत दिएर किन जिताउनु भन्ने ज्वलन्त प्रश्न उठ्न थालेका छन् । अहिलेसम्मको राजनीतिक परिदृश्य विश्लेषण गर्दा सबैभन्दा बढी दलका नेता, सरकारका नेता र संवैधानिक अङ्गका नेता नै सुशासनविरुद्घ देखापरेका छन् । उनीहरूलाई न संविधान र कानुनले छुन्छ, न त पार्टीका विधानले । न विधि र प्रक्रिया मान्नुपर्छ न त कार्यकर्ताको भावना नै । केवल कारबाहीको, सजायको, अनुशासनको र बहुमतको डण्डा चलाएर आफ्नै दलभित्रका आफ्ना विरोधीलाई र विपक्षी दलका मन नपरेका नेताहरूको हुर्मत काढ्नेबाहेक उनीहरूले राजनीतिक सुसंस्कृतिको जग कहिल्यै बसाउन सकेनन् ।
पार्टीका निकायहरू समयमा निर्माण हुँदैनन् । भइहाले गुण र क्षमताका आधारमा नभई गुटगत निकटताका आधारमा भूमिका निश्चय गरिन्छ । निर्मित संरचनाका बैठकहरू भरसक बस्दैनन्, बसिहाले विनाअजेन्डा बस्ने गर्छन् । अजेन्डा तोकिए पनि त्यसमा छलफल नै हुँदैन । बैठक बस्न हिँडेका सदस्य बैठकस्थल पुगेर वा बाटैबाट बैठक बस्न नसकेको सन्देश छर्दै फर्कनुपर्ने अवस्थामा पुग्दा पनि खाने, पाउने स्वार्थ र आशले गर्दा त्यस्ता प्रवृत्तिको कडा शब्दमा विरोध गर्नुको सट्टा लुरुलुरु तिनै नेताको पछि लाग्दै गरेको देखिएको छ । संवैधानिक निकायलगायतका सार्वजनिक पद लामो समयदेखि रिक्त रहँदा पनि दलीय भागबन्डा र गुटगत स्वार्थ नमिलेका कारण पूर्ति हुन निकै गाह्रो पर्दै गएको छ । पटकपटक सत्ता सम्हाल्ने मौका पाउँदासमेत देश र जनताका लागि सम्झन लायक एउटै पनि काम गर्न नसक्नेहरूले नै पटकपटक चुनाव जित्दैछन् । चुनाव निष्ठावान, क्षमतावानलाई जिताउन उम्मेद्वार बनाउने नभएर विभिन्न तिकडम गरी जित्न सक्नेलाई उम्मेद्वार बनाउने संस्कृतिमा रूपान्तरण हुँदैछ । गुन्डागर्दी, घुसखोरी, कमिसनतन्त्र र बिचौलियाको भूमिका जस्ता दुष्प्रवृत्तिमा रहेका व्यक्तिले ठूलो धनरासी खर्च गरेर चुनाव जित्ने र जितिसकेपछि झन् सत्ताको आडमा आफ्ना उपर्युक्त हर्कतलाई सगौरव बढावा दिने काम हुँदै आएका छन् ।
क्षमतावान, गुणवान र निष्ठावान व्यक्तिहरू आफ्नो स्वाभिमान र आत्मसम्मानले गर्दा दिन÷प्रतिदिन राजनीतिको मूलधारबाट पाखा लाग्दैछन् । राज्यका निकायमा मात्र हैन, जनताको जीवनपद्घतिमा नै यसखाले संस्कृतिले जरो गाड्न लागेको छ जसले गर्दा जनतामा अहिले ठूलो निराशा छाएको छ । कसलाई पत्याउनु, कसलाई विश्वास गर्नु, कसको पछि लाग्नु र कसलाई भोट हाल्नु ? यी अहम् प्रश्न जनताको अन्तस्करणमा उब्जिएका छन् । यो निराशाले गर्दा एकातिर जातीय, धार्मिक भड्कावहरू देखिँदैछन् भने अर्कातिर राजा र सेनाको भूमिकालाई राजनीतिमा गाँस्ने प्रयास पनि हुन थालेका छन् । कसैले गुलेली हानेर गणतन्त्र आउँदैन, बयलगाढा चढेर अमेरिका पुगिँदैन भने । कसैले संसद् भनेको खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो भने । कसैले लोकतन्त्रको मन्त्र जप्दै लोकतन्त्रलाई लगेर दरबारमा बुझाए तर तिनै व्यक्ति अहिले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता भएर हिँड्दै छन् । त्यस्तो कार्यको विरोध गर्नुको सट्टा उनीहरूलाई नै नेता मानेर हिँड्ने व्यक्तिको संख्या निकै ठूलो छ । आसेपासे उनीहरूलाई उचालेर खाने÷पाउने दाउमा लागिरहेका छन् ।
हामीले जति नै राजनीतिक प्रणाली र तिनका पात्र फेर्दै आए पनि सुशासन सुरु हुन सकेन । दोषीलाई कहिल्यैै उत्तरदायी बनाउन नसक्दा असल र खराबका बीचमा विभेद हुन सकेन ।
जसले देश र जनताका लागि केही गर्ने भन्दा आफू र आफ्ना मान्छेको स्वार्थपूर्ति गर्नका लागि देशको ढुकुटीको ठूलो धनरासी स्वाहा पारे, उनीहरू नै बाँचुन्जेल राज्यको कोष दोहन गर्ने गरी सुविधा खान पाउने हर्कत निरन्तररूपमा गरिरहेका छन् । नेपाली जनतालाई अनाहकमा त्यस्ता सेता हात्ती पाल्नुपर्ने बाध्यता आइपरेको छ । भुमिगत कालमा खान/लाउन नपुग्नेहरू अहिले राजनीतिक दल र सत्ताको आडमा आलिसान महल बनाएर नवधनाढ्य वर्ग सिर्जना गर्न सफल भएका छन् । तिनीहरूका ती टाउको उचालेर हेर्दा टोपी खस्नेखालका महलले भ्रष्टाचारको बिम्बको काम गरेको मात्र हैन, निष्ठावानहरूको निष्ठालाई मानमर्दन गर्ने व्यंग्य पनि प्रस्तुत गरिरहेका छन् । उनीहरूले यसबीचमा गरेका आर्जनको निष्पक्ष छानबिन गर्ने हो भने अहिलेका समकालीन राजनीतिका अधिकांश नेता शुद्घताको कसीमा खरो उत्रन सक्ने देखिँदैन । यो दुष्प्रवृत्ति अहिले संघीय प्रणालीको नाममा केन्द्रबाट सरेर प्रदेश हुँदै स्थानीय तहसम्म पुगिसकेको छ र क्रमशः झाँगिदै गएको छ ।
हामीले हेर्दाहेर्दै, जान्दाजान्दै हाम्रै आँखाअगाडि देशलाई खरानी पार्न लाग्दैछन् । यत्रो कोरोना भाइरसको कहरमा जनता भोकमरी र स्वास्थ्योपचार नपाएर छट्पटाइरहँदा राज्यले कसैलाई पनि राहत दिन सकेको छैन । सत्ताका नायकले आफ्नो आर्थिक हैसियतकै नजरले जनतालाई हेरेका अनुभव हुँदैछ ।
हामीले जति नै राजनीतिक प्रणाली र तिनका पात्र फेर्दै आए पनि सुशासन सुरु हुन सकेन । दोषीलाई कहिल्यैै उत्तरदायी बनाउन नसक्दा असल र खराबका बीचमा विभेद हुन सकेन । असललाई न्याय दिन र खराबलाई दण्ड चखाउन नसकेपछि दुवैको सामाजिक राजनीतिक अस्तित्व बराबरै हुन पुगेको छ । त्यसैले राजनीतिक घटनाहरूले परिवर्तन ल्याउँदै गए तर प्रवृत्ति भने पुरानै दोहोरिइरह्यो । प्रवृत्ति दोहोरिने कारणले नै प्रणालीहरूसमेत बदनाम भए । दोष पात्रहरूको थियो तर दोषी पात्रहरूलाई दण्ड गर्नुको सट्टा छूट दिएर हामीले दोषीहरूको दोषको सजाय प्रणालीलाई दिँदै आयौँ । त्यसैले प्रणाली जति फेरे पनि प्रवृत्ति जस्ताको तस्तै रहँदै आयो । जसले गर्दा राणा शासनकालदेखि अहिलेसम्म पनि हैकमवाद, नातावाद, कृपावाद, भाग्यवाद, चाकरीवाद र दण्डहीनताको दुष्चक्र दोहिरिइरह्यो । परिणामतः हामीले आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न सकेनौँ । पछाडिका दुई खुट्टा भाँचिएर टेक्न नसक्ने भएको कुकुरले अगाडिका दुई खुट्टाको बलले आफ्नो जिउलाई घिसार्दै हिँडेको जस्तो रूपमा विकास निर्माण, आर्थिक सुधार तथा राजनीतिक सुसंस्कृति एवं सुशासनको गति देखापर्न गयो ।
अझै पनि हामीले दोषी पात्रहरूलाई दण्ड चखाउनुको सट्टा प्रणालीलाई मात्रै परिवर्तन गर्दै गएर तिनै दोषी पात्रहरूलाई नेता मान्दै पछ्याउँदै र चुनावमा जिताउँदै गयौँ र उनीहरूलाई उत्तरदायी बनाएर दण्ड चखाउन सकेनौँ भने देश र जनताको भाग्य भविष्य निर्माण गर्ने कुरा मृगमरीचिका जस्तै बन्न पुग्छ । दोषीहरू सदैव प्रणालीलाई बदनाम तुल्याएर आफू उम्कँदै भए पनि राज्यको दोहन गर्ने दुष्चक्र चलिरहनेछ ।
वरिष्ठ अधिवक्ता
प्रकाशित: २६ भाद्र २०७७ ०५:४० शुक्रबार