२५ फाल्गुन २०७७ मंगलबार
विचार

धमिलो राजनीति

नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षबीचको झगडा पाखुरा सुर्कासुर्की साँच्चै सकिएकै हो ? अब यस्ता बेतुकका झगडा हुँदैनन् ? दुवै कामरेडबीच पेट माझाभाझ भयो त ? कति फोहोर जम्मा भएको रहेछ त सर्वाधिकार सम्पन्न दुई अध्यक्षको पेटमा ? नत्र पेट माझिन यति धेरै दिन लाग्नुपर्ने थिएन । यी दुई महारथि भेट भएपछि प्रायः अढाइ घण्टा भन्दा अघि छुट्टिएको देखिँदैन । कस्तो प्रेमालाप होला त्यो ? संसारका शक्तिशाली राष्ट्रका राष्ट्रप्रमुखहरू, राष्ट्रपति वा प्रधानमन्त्री भेट्दा यस्ता अढाइ घण्टा, तीन घण्टा, साढे चार घण्टा मन्त्रणा गर्दैनन् त ! तर हाम्रा दुई नेता भेट भए भने यति लामो समय मन्त्रणा गर्छन् । के भन्छन् यसो अभिलेख गर्ने हो भने अरूलाई पनि यस्ता लामा कुराको कला सिक्न सजिलो हुने जस्तो लाग्छ । शिक्षाप्रद् नै हुन्थ्यो कि ?  

दुवै अध्यक्षद्वारा बनाइएको तर त्रिपक्षीय ६ सदस्यीय कार्यदलले एक साता झण्डै लगाएर १७ पृष्ठ लामो प्रतिवेदन दियो । कार्यदलले अध्यक्षद्वयबीच के त्यस्तो सैद्धान्तिक विमति, असहमति वा मतभेद पायो वा पाएन त्यो बाहिर आएन । फेरि जनताको बहुदलीय जनवाद (जबज) कि २१ औँ शताब्दीको जनवाद जस्तो जटिल कुरामा पनि छलफल भए जस्तो लागेन । उही राजनीतिक वा गैरप्रशासनिक नयाँ नियुक्तिमा पूर्वएमालेका मात्र पर्ने पूर्वमाओवादी भने नपर्ने, पार्टीसँग सरसल्लाह नमाग्ने, नमागी दिएको सल्लाह पनि उपेक्षा गर्ने जस्ता पेचिला कुरा पनि कार्यदलमा उठे जस्तो लागेन । तर कार्यदलले दिएको प्रतिवेदन पार्टीका कतिपय युवा नेताले नयाँ देखेछन्, पार्टी एकता गर्न बल पु-याउने पनि देखेछन् । मैले भने त्यो देखिन । कसले के देख्छ के ? मरुभूमिमा मृगले टल्केको बालुवालाई टाढाबाट पानी देख्छ । दौडेर आउँछ पानी खान भनी । तर त्यो पानी हँुदैन, बालुवा नै हुन्छ ।  

कति फोहोर जम्मा भएको रहेछ त सर्वाधिकार सम्पन्न दुई अध्यक्षको पेटमा ? नत्र पेट माझिन यति धेरै दिन लाग्नुपर्ने थिएन ।

एक जना बौद्धिक मान्छेले नेकपाका अर्का अध्यक्षलाई ‘पत्रपर्ण’ अध्यक्ष भन्नुभएछ, सुन्दर लाग्यो । तर अर्का अध्यक्ष भन्ने गर्थे– म त्यो भन्दा त ‘पत्रपर्ण’ अध्यक्ष नै सुहायो होइन र ? अँ के आयो त ६ सदस्यीय कार्यदलको प्रतिवेदनमा ठोस कुरा ? मैले त त्यसको जडी कुरा केही भेटिन । दुई अध्यक्षबीचको मतभेद एवं वैमनस्य विधिका लागि हो रहेछ कि पदका लागि भन्ने टुङ्गिएन । के विधि आयो त ? विधिमा के अन्तर आयो ? वास्तवमा दुई अध्यक्षबीचको झगडा यी दुईका बीच मात्र होइन माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम, सुवास नेम्बाङ केपी शर्मा ओलीबीचको पनि हो भन्ने गुह्य बुझेन भने यथार्थ बुझिँदैन । यी दुई अध्यक्ष त नाटकका निमित्त पात्र मात्र हुन सजिलोका लागि । पार्टीको एकता महाधिवेशनमा जबज कसरी आउँछ त्यो नै मूल एजेन्डा होला जस्तो लाग्छ ।  

अभियोग प्रायोजित हुन् ?
नेकपा कार्यदलले दिएको प्रतिवेदनले यथास्थितिलाई निरन्तरता मात्र दिएको हो त ? समय त धमाधम गइरहेछ । मुलुकमा कोरोना नआउँदा पनि व्यापक रूपान्तरणका संकेत देखा परेका थिएनन् । लुच्चोपन प्रवेश ग¥यो राजनीतिमा । लुच्चोपनले अरूलाई अलिअलि मात्र खान्छ तर आफूलाई सिङ्गै । यो कुरा नेतृत्वले बुझ्नुपर्ने । यस्ता मसिना कुरा धेरैले बुझ्ने पार्टीका ठुल्ठूला नेता किन बुझ्दैनन् र साँच्चै नबुझेकै हो कि बुझ पचाएको ? बुझ पचाएर भाग्ने ठाउँ छैन । प्रचण्डको व्यक्तित्व कास्कीको सिक्लेसबाट तत्कालीन गृहमन्त्री कृष्ण्प्रसाद सिटौलाले सरासर प्रधानमन्त्रीको सरकारी निवासमा ल्याउँदाका बेग्लै थियो । त्यतिबेला नेपाल सरकारसँग सशस्त्र जनयुद्ध समाप्त भएको बृहद् शान्ति सन्धिमा हस्ताक्षर गर्दाका प्रचण्डको छवि र हस्ताक्षरपछिको उत्कृष्ट व्यक्तव्यको तुलना न पहिले भएथ्यो न त्यसपछि नै ।  

मोहन वैद्य, डा. बाबुराम भट्टराई जस्ताको एकीकृत बुद्धि, जुक्ति र अरूका पनि बुद्धि लिन सक्ने प्रचण्डको आफ्नो विशिष्ट प्रतिभा खोइ अहिले ? डा. भट्टराई प्रचण्डलाई उछिन्न आकाश पाताल जोड्थे तर सकेनन् कहिल्यै । अहिलेको नेपाल कम्युनिस्ट पार्टीको सरकार कसको हो कसको ? प्रचण्ड साक्षी मात्र भए । राजनीतिक नियुक्तिमा स्वच्छ छवि भएका, विषयवेत्ताहरू त पर्दै नपर्ने भए । पैसाको तुरूप खेल भयो राजनीति । यस्तोसम्म हुन लाग्यो कोरोनाको उपचारका लागि उपकरण ल्याउँदा पनि अनैतिक, गैरकानुनी लेनदेन भएका समाचार छ्याप्छ्याप्ती छापिए । के यी सबै कुरा साँचा होइनन् ? सरकारले हालसालै नियुक्त गरेका महानुभावहरू स्वच्छ छविका छन् ? उनीहरूउपर उठाइएका प्रश्न प्रायोजित हुन ? के भन्छ सरकार ? 

६ सदस्यीय कार्यदलले एक साता झण्डै लगाएर १७ पृष्ठ लामो प्रतिवेदन दियो । कार्यदलले अध्यक्षद्वयबीच के त्यस्तो सैद्धान्तिक विमति, असहमति वा मतभेद पायो वा पाएन त्यो बाहिर आएन । 

प्रदीप गिरी आफ्नैखालका  
नेपाली कांग्रेसमा अर्का प्रदीप पनि छन् । उनी प्रदीप गिरी हुन् । उनी आफ्नै किसिमका छन् । सांसद हुन मन गर्छन् तर मन्त्री हुन मान्दैनन् । कांग्रेस कार्यसमितिमा बस्छन् तर पदाधिकारी हुन मान्दैनन् । हालै प्रदीप गिरीले एउटा पत्रिकासँग बडो रमाइलो कुरा गरेछन् । उनले दाबी गरे– म जस्ता मान्छे चाहिएको छ । मन्त्री नभएर के भो, मन्त्रीमाथि नियन्त्रण गर्ने मान्छे चाहिएको छ । म यो मान्छेले बोल्यो त सत्य बोल्यो होला भन्ने नागरिकमा पर्नुपर्छ । जनताले पत्याउने २० जनाले बोलिरहे सरकार ठेगानमा आउँछ । मनमा लागेको कुरा अनुशासनको कारबाहीको डर नमानी बोल्दिने मान्छे चाहिन्छ भन्दै उनले भनेछन्– गगन थापाले पार्टीले निर्णय नगरिकनै गणतन्त्रको नारा दिएको हुनाले उनी गगन थापा भए । कांग्रेसमा संघीयताको वकालत म र विमलेन्द्र निधीले सुरु गरेको हो । अन्ततः पार्टी सही मान्छेले बोलेको ठाउँमा आउँछ ।  

पार्टीमा रहने पार्टीको सततः आलोचना गर्नेको खाँचो छ । उनी भन्छन्– १० वर्षपछिको सोचेर बोल्दिने मान्छे हरेक पार्टीमा चाहिन्छ । गिरी फेरि भन्छन्– सबै जना पदको लोभी भएर हँुदैन । पदको आकांक्षाले भन्नुपर्ने कुरा भन्न सक्तैनन् । पार्टी जाओस् भाँडमा भनेर बोल्ने मान्छे चाहिन्छ । कांग्रेस सांसद प्रदीप गिरी भन्छन्– सोभियत संघ विघटन विश्वको एउटा ठूलो प्रतिगमनको घटना हो । कम्युनिस्ट आन्दोलन खराब भन्ने आमकांग्रेसको भनाइ म मान्दिन । युवा नेतृत्वबारे गिरी भन्छन्– चर्चिल, हिटलर युवा नै थिए । २०४६ सालको आन्दोलनका नेता ७५ वर्षका गणेशमान सिंह थिए । दोस्रो विश्व युद्धमा चर्चिल ७० वर्षका रहेछन् । उनको टिप्पणी छ– कांग्रेसमा ८० पुग्न लागेकाहरू नेतृत्व गर्न तत्परता देखाउँदैछन् । तर प्रधानमन्त्री हुनेले कम्तीमा १४ घण्टा खट्न सक्नुपर्छ । आज युवा पुँजीवादी, समाजवादी, साम्यवादी जुनसुकै विचारधाराको होस् उसको विचारको मसालले समस्याको समाधान देख्ने हुनुपर्छ ।  

अरू खोतलौँ गिरीलाई
मैले बुझेसम्म प्रदीप गिरीका दुइथरी देखाउने र चपाउने दाँत छैनन् । सोझै भन्छन् । अझ एकथरीको त कोखामा दाँत हुन्छ । उनको दृष्टिमा उमेर मात्र मुख्य होइन । परिवर्तन युवाले चाहना त गर्छन् । गान्धीले कि गोडल्सेले ? अथवा लेलिनले कि हिटलरले ? भन्ने प्रश्न पनि गर्छन् । आज हेर्ने हो भने संसारभर नै वृद्धतन्त्र हावी छ । पुस्ता भनेको नयाँ अनुहार हो कि नयाँ दृष्टिकोण ? युवा भन्नेबित्तिकै नयाँ दृष्टिकोण नै हुन्छ भन्ने हँुदैन । आज पार्टीका कार्यकर्ता, खासगरी सांसद बन्धक जस्ता भएको टिप्पणी गर्दै गिरी संविधानको रक्षक राष्ट्रपतिले एकदम अलोकप्रिय र अलोकतान्त्रिक प्रस्ताव एक घण्टा पनि नरोकीकन सहीछाप गर्नुहुन्छ ? गर्न मिल्छ कि मिल्दैन ? परामर्श त गर्न सकिन्छ भन्छन् । हो, मेरो पनि त्यही धारणा हो ।  

आजका राष्ट्रपति नेकपाका मात्र होइन, सिङ्गो देशका हुन् । राष्ट्रपति पदबाट निवृत्त भएपछि पनि राष्ट्रबाट पूर्वराष्ट्रपतिले पाउने सेवा र सुविधा लिउञ्जेल आफ्नो पूर्वपार्टीमा फर्कन नपाइने विधि हुनुपर्छ । नत्र राष्ट्रमा राम्रो स्थिति बस्तैन । कोरोनाबारेको एउटा जिज्ञासामा दिएको उत्तर पनि उत्कृष्ट लाग्यो । गिरीको दृष्टिकोण छ– हामी औद्योगिकीकरण, सहरीकरण, आधुनिकीकरण गर्न थालेदेखि नै गलत जीवन शैलीमा छौँ । कोरोनाले सबै समस्यामा पुनर्विचार भने गर्न बाध्य बनाइदिएको छ । करोड रुपियाँ थन्क्याएर राखे पनि काम लाग्ने रहेनछ । गिरीको भनाइ छ– माओवादी सशस्त्र विद्रोहले मान्छेलाई सहरमा ल्याइदिएथ्यो, कोरोनाले गाउँतिरै ठेल्दैछ । यस्ता प्रश्नमा व्यापक छलफलले नयाँ दिशा उद्घाटन गर्न पनि सक्छ जस्तो लाग्छ ।  

कांग्रेस कस्तो हुनुपर्छ ?  
अबको कांग्रेस धान्ने नयाँ पुस्ता के भन्छ आजको पार्टी शीर्ष नेतृत्वलाई । संवैधानिक नियुक्तिमा भाग खोज्न अञ्जुली थापेर बालुवाटार प्रवेश गर्ने नेतृत्वले कांग्रेसलाई अवसानतर्फको बाटोमा अग्रसर गराउँछ । वर्तमान सरकारको नेतृत्वको तिखो टिप्पणी गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल लेख्छन्– भविष्यको अगाडि ठाडो शीर गरेर उभिनसमेत नसक्ने सरकारले जनतालाई शासन गरिराख्दा प्रतिपक्षको रूपमा कांग्रेस के गर्दैछ ? आफैँप्रति पौडेल सोध्छन्– हामीले प्रश्न सोध्न बिर्सियौँ भने इतिहासले पनि हामीलाई बिर्सिदिनेछ । हो त नि कर्तव्य पूरा नगर्ने पात्रलाई इतिहासले मात्रै कहाँ सम्झन्छ र ? जनवादको सपनामा रक्तपातको बाटो हिँडेका कम्युनिस्टहरू आफ्नो उग्रता त्यागेर धमाधम शान्तिपूर्ण बाटोमा आउँछन् भने त्यो कांग्रेस विचारको विजय हो भन्ने दाबी गर्छन् र भन्छन्– कांग्रेस लोकतन्त्रको विचारले विजय हासिल गरेको समय हामी निर्वाचनमा भने किन पराजित भइरहेका छौँ ? त्यसैले महाधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकाको पनि मूल्यांकन गर्नुपर्ने विचार सार्वजनिक गर्छन् उनी ।  

कांग्रेससँग सत्ताको कोर्रा लागेर छटपटाइरहेका घाइते किसानलाई हात समातेर उठाउने अजेन्डा हुनुपर्छ भन्ने लोभ देखाउने प्रदीपको घतलाग्दो परिकल्पना छ । इमानको अदालतमा सतिसालझैँ उभिन सक्ने निष्ठावान नेताहरूको विशाल पंक्ति काग्रेससँग हुनुपर्छ । कांग्रेस कार्यकर्ता कस्तो हुनुपर्छ भन्दै पाँच वर्षमा हुने चुनावमा भोट माग्ने मात्र होइन, पार्टी र प्रजातन्त्रका लागि गाउँको चोक÷चौतारामा उभिएर आजको युगमा मानव जातिले जुझिरहेको गम्भीर चुनौतीमाथि चिन्तन गर्न सक्ने ऊर्जावान युवा अभियन्ताहरूको विशाल डफ्फा कांग्रेससँग हुनुपर्छ । हिजोको कांग्रेस सम्झँदै पौडेलको कल्पना छ– सानो झोला पिठ्युँमा बोकेर पञ्चायती कालरात्रिसँग जुध्ने कांग्रेस नेताहरू मध्यरात जनताको मझेरीमा ढिँडो खाएर संगठन गर्थे । कति राम्रो सम्झना ! प्रदीप भन्छन्– त्यसैले गाउँ चिनेका, किसानलाई बुझेका कुशल संगठकहरूको समृद्ध फौज काग्रेससँग हुनुपर्छ ।  

कांग्रेससँग प्रदीप पौडेलको अपेक्षा
बिपी नेतृत्वको समय सम्झदै बेला बेला नयाँ विचार आत्मसात गर्न सक्ने हुनुहुन्थ्यो भन्दै आजको कांग्रेस नयाँ जीवनतर्फको त्यो गति अहिले अवरुद्ध छ । पार्टी चिन्तन एवं विचारहीनताको गहिरो दलदलमा भासिएको गुनासो छ प्रदीपको । कांग्रेस उज्यालो दिन सक्ने हुनुपर्छ । सबैलाई उज्यालो दिन नसक्ने पार्टीको आज कुनै औचित्य छैन । कति उत्तम विचार ! कुनै कांग्रेसी युवकको मनमा यो बेला के हुण्डरी चलिरहेछ, त्योसँग उसले कसरी जुध्नुपर्छ । पार्टीको दर्शन र दार्शनिकी के हो जवाफ त चाहियो नि ? साम्यवादको विरोधमा प्रदीपको आफ्नै रुवाइ छ– साम्यवादको रुमानी सपनामा आफ्नो वैँश खेर फालिरहेका युवालाई वैचारिक दृष्टिभ्रमबाट मुक्त गर्न कांग्रेसले के गर्छ, कांग्रेससँग यसको जवाफ हुनुपर्छ । दलितहरूका लागि कांग्रेससँग समाधान छ ? आज पनि धारा र पँधेरोमा दलितहरू कुटिन छाडेका छैनन् । श्रम गर्नेहरू अहिले पनि अपहेलित छन् । अन्तर्जातीय विवाह गरेका कारण दानवीय अत्याचार भोगेका प्रेमजोडीका आक्रोशअगाडि उभिएर दिने जवाफ के छ कांग्रेससँग ? प्रदीपकै प्रश्न छ ।  

स्वयं प्रदीपको प्रश्न छ– कांग्रेस कस्तो र कसको पार्टी हो ? कांग्रेसका दिग्गज नेताहरूले आफ्नो ऊर्वर समय मधेसमा बिताएका थिए । त्यो कांग्रेस मधेसको कांग्रेस थियो । अहिले मधेसीसँग देश भक्तिको डिएनए परीक्षण गर्न खोजिन्छ । बाढी/पहिरो, भोक, जातीय उत्पीडन, भूकम्प, कोरोनाको बिपत्तिमा परेका जनताको पक्षमा कांग्रेसले आवाज उठाउन सक्यो/सकेन ? प्रश्न छ प्रदीपको । कांग्रेस यस्तो छ र ?

प्रकाशित: १५ भाद्र २०७७ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App