५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

तीज व्रत मौलिकता र विकृति

हिन्दु पात्रोअनुसार प्रत्येक संवत्सरको भाद्रशुक्ल द्वितीयाका दिन विशेष सात्विक तथा पौष्टिक आहार गरी दोस्रो दिन तृतीयामा हरितालिका तीजको व्रत बस्ने गरिन्छ । आफ्नो शरीरको शक्तिअनुसार निराहार, जलाहार, फलाहार, एक छाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत बसेर दीप, कलश र गणेशको पूजा गरी उमामहेश्वरको पूजा गर्ने धार्मिक मान्यता छ ।  

तीजका व्रतालुले पहिलो दिन रातको ११ बजेभन्दा पहिला नै भोजन गरिसकेपछि भोलिपल्ट बिहान उठेर तिल र अमलाको चूर्णले विशेष स्नान गर्नुपर्ने शास्त्रीय विधान छ । यस दिन यथासम्भव पाटको कपडा लगाएर साँझपख पूजाकोठा वा मन्दिरमा वा पवित्र ठाउँमा गई हरितालिका व्रतका दिन उमामहेश्वरको पूजा गर्न व्रत बसेका हुनाले हाम्रो घरपरिवारमा नकारात्मक सोच, पापादि आचरणबाट मुक्त भएर जन्मजन्मान्तर सौभाग्य ऐश्वर्य अखण्डितरूपमा प्राप्त भइरहोस् भनी कामना गर्दै संकल्पपूर्वक दियो, कलश र गणेशको पूजा गरी बालुकामय उमामहेश्वरको षोडशोपचारले विधिअनुसार पूजा गर्नुपर्ने व्रतराज नामक पुस्तकमा उल्लेख छ ।

व्रतको महिमा
व्रत भनेको स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषय हो । आफ्नो स्वास्थ्यका लागि योग गर्नु, ध्यान गर्नु, व्रत बस्नु, देवताहरूको दर्शन गर्न मन्दिर जानु, मान्यजनप्रति प्रातः कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले दर्शन ढोगका माध्यमबाट आभार प्रकट गर्नु मानवीय कर्तव्यअन्तर्गत पर्छन् । व्रतचाहिँ खराब र योगचाहिँ राम्रो वा ध्यानचाहिँ राम्रो भन्ने हुँदैन । शरीरको सामथ्र्यअनुसार योग, ध्यान, व्रत, उपासना आदि कृत्यले मानिसलाई शारीरिकरूपमा सबल बनाउँदै मानसिकरूपमा पनि दृढनिश्चयी भाव विकास गराउँदैै स्वकार्य सम्पादनमा दक्षता हासिल गराउँछन् । त्यसैले व्रत, उपासना, योग आदि साधन हुन्, साध्य होइनन् । साध्य त केवल परमात्मा प्राप्ति, मोक्षप्राप्त गर्नु मात्र हो । अतः योग, ध्यान, व्रत, उपासना वा मान्यजनप्रति आदरभाव प्रकट गर्नुको तात्पर्य हो कि यस लोकमा आवश्यक पर्ने सुखशान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोक साध्य कृत्यमा तल्लीन गर्नु÷गराउनु नै व्रतादिको मुख्य उद्देश्य हो ।  

संकल्प वाक्यमा अरूका लागि व्रत बस्ने विधान छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन ।

व्रत बस्दा म यो यो नियममा रही आजको व्रत बस्छु भनी संकल्पपूर्वक व्रत बस्नुपर्छ । व्रत कसैका लागि बसिदिने विषय होइन । व्रतमा संकल्प मुख्य मानिन्छ र त्यसमा नियमादि सबै कुराको उल्लेख गरी यस प्रकारको व्रत बस्दैछु भनी प्रातः स्नान गर्दा नै आफूले लिने व्रतको स्वरूपको निर्धारण स्वयं व्रतालुले गर्छन् । व्रत बस्दा जस्तो नियम पालन गर्छु भनिन्छ त्यस्तो नियम पालन गर्ने उसै व्रतालुको मात्र विषय हो । व्रत सकेपछि भोलिपल्ट व्रतको समापन अर्थात् व्रतपारणा गर्नुपर्छ । यति गर्दा मात्र एउटा व्रत पूर्ण भएको मानिन्छ ।  

संकल्प वाक्यमा अरूका लागि व्रत बस्ने विधान छैन र अर्काले व्रत बसिदिएर अरूको भलो हुने विषय पनि होइन । अतः आफ्ना लागि आफूले भोजन गरेजस्तै व्रत बस्ने विषय पनि आफ्नो कल्याणका लागि र आफ्नै कामना पूर्तिका लागि बस्ने हो । पतिले पत्नीका लागि र पत्नीले पतिका लागि व्रत बस्ने भनेको एकांगी होइन । दुवै पतिपत्नी भएर तीज आदि सबैको व्रत बस्ने हो । पतिविनाको व्रतपूजा र पत्नीविनाको व्रतपूजा पनि निरर्थक हुने हुनाले हरितालिकालगायत सबै व्रतपूजामा छोराछोरीसहित दुवैको सहभागिता अनिवार्य छ । शक्त पतिपत्नीका लागि पत्नी वा पति व्रत बस्ने भन्ने कुरा भ्रम मात्र हो । दुवै भएर व्रतको अन्त्यमा यसरी प्रार्थना गनुपर्छ भनिएको छ ः  

‘पुत्रान् देहि धनं देहि सौभाग्यं देहि सुव्रते  
अन्याश्च सर्वकामांश्च देहि देवि   नमोऽस्तु ते’  

अर्थात् हे देविदेवताहरू, यहाँलाई नमस्कार छ । हामीलाई सन्तान, धन, सौभाग्य दिनुहोस् साथै सम्पूर्ण मनोकामना पूरा गरिदिनुहोस् ।  

अव्यावहारिक कठिनाइका कारण पतिको सहित स्त्रीहरूले व्रत लिएको हुनुपर्छ । व्रतविधिका दृष्टिले पत्नीले पतिको दीर्घजीवनको कामना मात्र गरेर कुनै पनि व्रत लिनू भन्ने निर्देशन धर्मशास्त्रमा पाइँदैन बरु व्रतपूजादिमा दुवैको सहभागिता वा उपस्थिति भने अनिवार्य गरिएको पाइन्छ ।

‘भत्र्रा सह कथां श्रुत्वा भक्तियुक्तेन   
चेतसा  
कृत्वा व्रतेश्वरं देवि सर्वपापैः प्रमुच्यते

सप्तजन्म भवेद् राज्यं सौभाग्यं चैव वद्र्धते’ अर्थात् पतिपत्नी सँगै चित्तलाई भक्तिमा लगाएर व्रत बसी भगवान्को महिमा वा कथा सुन्नाले सम्पूर्ण पापबाट मुक्त हुनुका साथै सात जन्मसम्म राज्य प्राप्ति वा सौभाग्य वृद्धि हुन्छ । यसरी व्रतबाट इह लौकिक सुख प्राप्ति र पारलौकिक मोक्ष रूपफल अवश्य प्राप्त हुन्छ भनी बताइएका अनेकौँ प्रसंग पाइन्छन् भने व्रत नगर्दा त्यसबाट हुने हानि पनि हुन्छन् भनिनुका साथै व्रतबाट हुने फाइदाबाट अवश्य वञ्चित भइन्छ भनिएको छ ।

तीजको व्रत र निर्जला एकादशीको व्रत सामथ्र्यअनुसार प्रायः निराहार नै लिने उल्लेख धर्मशास्त्रमा पाइन्छ । तर निराहार मात्र व्रत हो भनी किटान गरेको पाइँदैन । स्वस्थ शरीरका लागि व्रत बस्ने हो । अस्वस्थ एवं रोगी व्यक्तिले यथाशक्य नियममा रहेर दूध फलफूल खाएर पनि व्रतादि गर्नू भन्ने शास्त्रमै उल्लेख छ । अत्यधिक भोजनादिको सेवन अस्वस्थताको कारण बन्ने हुनाले नियमित खानपान, रहनसहन र हिँडडुललाई आयुर्वेद र धर्मशास्त्रले बारम्बार जोड दिएकोे पाइन्छ । यसैलाई आधार मानेर हरेक धर्मसमुदायका मानवले आआफ्नो रीतिअनुसार चाडपर्व मनाउँछन् र व्रत पनि बस्छन् । व्रतादिबाट आफूलाई संयमित बनाउन सकिन्छ भन्ने नै शास्त्रहरूको आशय छ ।  

पतिविनाको व्रतपूजा र पत्नीविनाको व्रतपूजा पनि निरर्थक हुने हुनाले हरितालिका लगायत सबै व्रतपूजामा छोराछोरीसहित दुवैको सहभागिता अनिवार्य छ ।

‘हिताशी स्यान्मिताशी स्यात् कालभोजी जितेन्द्रियः
पश्यन् रोगान् बहून् कष्टान् बुद्धिमान् विषमाशनात्’ अर्थात् संयमित बनाउन बुद्धिमान् मानवले आफ्नो स्वास्थ्यलाई ख्याल गरी संसारमा देखिएका अनेकौँ रोगहरू र तिनले दिने कष्टहरू विचार गरेर स्वस्थकर, थोरै, ठिक्क र तागतिलो भोजन ठीकठीक समयमा गर्नुपर्छ भन्ने शास्त्रको आशय छ ।  

विकृति पक्ष  
अहिले हाम्रो समाजमा विषयको गाम्भीर्य विचार नगरी बोल्ने, लेख्ने चलन बढ्दै गएको छ । व्यवहारका दृष्टिले पनि नारी पुरुष एक अर्काका परिपूरक हुन्् नै । एकको अभावमा अर्काले पूर्णता प्राप्त गर्न नसक्ने हँुदा धार्मिक एवं व्यावहारिक पक्षमा दुवैलाई अनिवार्य गरिएको छ । तीजको व्रत होस् वा मन्दिर जाने कुरा वा श्राद्धादि कर्म नै किन नहुन्, पत्नीविना वा पतिको अभावमा यी कृत्य पूर्ण हँुदैनन् । यो धार्मिक विश्वास एवं शास्त्रीयताको विषय हो । तर, धर्मशास्त्र वा कुनै पनि विषयको उठानमा हामीले गम्भीरपूर्वक विचार गरेर मात्र बोल्नु लेख्नुपर्नेमा उदांगो पाराले लाज पनि नढाक्ने गरी बोलिदिन्छौँ । लगभग २५ सय वर्षपहिले लेखिएको कौटिल्यको अर्थशास्त्र चटक्कै बिर्सिएर लगभग २ सय वर्षभित्र लेखिएका अर्थशास्त्रका विद्यार्थीलाई अर्थशास्त्रका प्रणेता भनी प्रमाणित गरेर पढाउँछौँ । पढाइको मर्म मूलजरोबाट सुरु हुन्छ र त्यसमा देखिएका विषय हाम्रो राष्ट्रसँग देश, काल, परिस्थितिअनुसार मेल खाने÷नखाने विषयमा विचार गरेर पाठ्यक्रम तयार पारिन्छ । नहुने भएमा त्यसमा पुनर्विचार गर्न सकिन्छ तर शाश्वत नियमको उल्लंघन कसैले पनि गर्नुहुँदैन ।

तीजकै व्रतबारे पनि हाम्रो समाजले नबुझी पालेका अनेकौँ भ्रम र त्यसबाट सिर्जित धेरै विकृति छन् । जस्तै– महिलाले मात्र व्रत बस्नुपर्ने, पतिकै दीर्घजीवनका लागि व्रत बसिदिने, पत्नीले कष्ट गरी गरी व्रत बस्नुपर्ने तर फल पतिले मात्रै पाउने, रोगी, अशक्तले पनि निराहार उपवास (भोकै) व्रत बस्नुपर्ने जस्ता गन्नै नसकिने विकृति पालेर बसेका छौँ । बेलाबेलामा समाजलाई कसरी आकर्षित गरेर आफू चर्चामा आउने भन्ने मात्र तुच्छ ध्यान मनमा राखेर कहिले ‘पोइल जान पाम..., बिच्च बिच्चमा..., मान्देऊ न शिवजी..., यसपालिको तीजमा नो व्रत प्लिज...’ जस्ता गीतका माध्यमबाट क्षणिक चर्चामा आउने कोसिस मात्र हाम्रो समाजका तथाकथित शिक्षित वर्गकोे पाइयो । यी व्रतसंस्कृतिको रहस्य के हो ? यसमा वास्तविक तत्व के छ ? युगौँदेखि यी कसरी चलेर आए र अहिलेसम्म कसरी रहिरहेका छन् ? यतातिर शिक्षित वर्गको ध्यान किन गएन ? यो गलत मानसिकताको दरिद्र उपज हो ।  

स्वराष्ट्रिय पहिचान नबुझेरै कलम चलाउनु निकै दुःखद् पक्ष हो । कलाकार, लेखक, गायक÷गायिकाको आशय गलत नहोला तर शब्दले पूरै गलत भाव व्यक्त गरिरहेको सभ्य समाजमा नांगो आवरणले गलत सन्देश दिन्छ र हाम्रो भावी पुस्ता नास्तिक बन्दै पाशविकतातिर जाने छर्लंगै देखिन्छ । यस्तै तीज आएपछि नचल्ने कलम पनि तीजको व्रतप्रति लक्षित गरी वज्रप्रहार गर्छन् । हाँस्य कलाकारका हँस्यौली ठट्यौली पनि धर्ममाथि नै प्रहार गर्नेखालका किन हुन्छन् ? यी सबैभित्र कुन रहस्य लुकेको छ ? सर्वसाधारणले यो विषय सहीरूपमा बुझेको छैन ।  

विकृत मानसिकताको उपजले मात्र समाजमा विकृति सिर्जना गर्ने र बलात् फैलाउने हो । स्वराष्ट्रिय संस्कृतिले राष्ट्रको धर्मसंस्कृतिको सुवास विश्वभर परिचयका साथ फैलाइरहेका हुन्छन् । धर्म, संस्कृति, सांस्कृतिक कार्यक्रम, व्रत पर्व, मेलाजात्रा आदि हरेक राष्ट्रका परिचयका गहना मानिन्छन् । यिनीहरूको सम्मानमा नै राष्ट्रबासीको स्वाभिमानको भाव लुकेर बसेको हुन्छ ।  

अन्त्यमा  
नेपाल विश्वकै सनातन धर्म संस्कृतिको उद्गमस्थलका रूपमा सुपरिचित छ । यहाँका प्रत्येक राष्ट्रवासीमा दया, माया, आदर, सत्कार गर्ने भाव यहीँका व्रतपर्व संस्कृतिका देन हुन् । नेपाली इमानदार छन्, परिश्रमी छन्, सुखी छन्, यो प्रत्येक नेपालीको आत्मगौरव हो । सरकारी उदासीनताका कारण पाठ्यक्रममा यी विषय राखेर पूर्णरूपमा पढाइँदैनन्, जसकारण बेलाबेलामा नकारात्मक भावका गीत, लेख, टिप्पणी आउने गर्छन् । हरेक राष्ट्रका चाडपर्वले त्यस देशको ऐतिहासिक मौलिकता, रीतिस्थिति, चालचलन उजागर गरिरहेका हुन्छन् । हाम्रो राष्ट्रमा रहेका व्रत पर्वहरूलाई गहनाका रूपमा ग्रहण गर्ने र राष्ट्रिय स्वरूपलाई अखण्ड राख्न दिएको योगदानलाई कदर गर्दै राष्ट्रियताको परिचय अक्षुण्ण राख्नु हो । यसमा विकृति छ भनी गहिरो ज्ञानबिना बोल्नु आफ्नो अध्ययनको न्यूनता प्रदर्शन गर्नु मात्र हो ।  

हरितालिका तीज यस्तो पर्व हो जुन अवसरमा सासू बुहारीका, नन्द आमाजूका, आमा छोरीका बह, वेदना एक ठाउँ भेला भएर समूहगतरूपमा गाइने गरिन्छ । त्यसबाट यो पर्वलाई एउटा उन्मुक्त पर्वका रूपमा पनि लिन सकिन्छ । यस पर्वको धार्मिक विधि पूर्ण गरेपछि एक ठाउँ जम्मा भएर दिदीबहिनीबीच आआफ्ना कथा व्यथाहरू वाद्यवादन र दोहोरी गीत आदिका माध्यमबाट व्यक्त हुन्छन् । जसले गर्दा उनीहरूमा स्वतन्त्रताको अनुभव सतहदेखि भएको महसुस गरी सन्तोष प्राप्त गर्छन् । यसैगरी व्रतको माध्यमबाट अभीष्ट सिद्धिका लागि एक दिन शक्तिअनुसारको उपवास बस्दै भगवती उमा र भगवान् महेश्वरमा समर्पण गरी यो लोक र परलोकमा पनि प्रत्येक व्रतालुले आफूलाई धन्य धन्य बनाउनु नै हरितालिका व्रतको प्रमुख उद्देश्य भएको पाइन्छ ।  

प्रकाशित: ४ भाद्र २०७७ ०५:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App