जबजब तिज, ऋषि पञ्चमी जस्ता बिल्कुल महिलासँग सम्बन्धित धार्मिक पर्व नजिकिन्छन्, सामाजिक वृत्तमा यिनबारे बहस सुरु हुन्छ। एकातिर यी पर्वसँग जोडिएका विभेदकारी धार्मिक मिथकमाथि स्वयं महिला नै बहसमा उत्रन्छन् भने अर्कोतिर ‘संस्कृति भाँडेको’ आरोपमा परिवर्तनकामी महिलामाथि खनिने पुरुषहरूको ओइरो नै लाग्छ। यो वर्ष पनि यस्तै भयो। केहीअघि सोफिया थापाले तिजको व्रतमाथि नै प्रश्न उठाउँदै ‘नो व्रत प्लिज’ बोलको गीत सार्वजनिक गरेपछि केही पुरुष वर्ग उनको विरोधमा हात धोएरै लागिपरेको पाइयो र उनीमाथि नानाथरि अपशब्द प्रयोग भए। यतिमात्र नभएर धर्मको ठेक्का लिएका केही अतिवादीले उनलाई सो गीत युट्युबबाट नहटाए भौतिक कारबाही गर्नेसम्मको धम्की दिए र अन्ततः सोफिया गीत हटाउन बाध्य भइन्।
तिज भन्नेबित्तिकै खाने/पिउने र नाचगान भन्दा पनि यसले सनातनदेखि बोकिरहेको धार्मिक पाटो महत्वपूर्ण भएर समाजमा स्थापित रहेको बुझिन्छ। जुन पाटोले पतिलाई परमेश्वर मान्दै उसैको दीर्घायु र कल्याणका निम्ति चौबीस घण्टा निर्जला व्रत बसेर अन्तमा उसैको गोडा पखालेको पानी (जल) पिएर मात्र व्रत तोडिन्छ। अन्यथा व्रत पूर्ण भएको मानिँदैन। धर्मको आडमा पुरुषसत्ताले लादेको सबैभन्दा विद्रुप रूप हो यो खुट्टाको पानी खाने परम्परा। तर महिलाबाट कहिल्यै ‘नो’ को अपेक्षा नगरेको वर्ग यसरी सार्वजनिकरूपमै सोफियाले ‘नो खुट्टाको पानी’ भन्दा तिल्मिलाउनु स्वाभाविकै हो।
आजका कति महिला होलान् चौबीस घण्टा पानी पनि नपिइ तिजको व्रत बसेर भोलिपल्ट बिहानै पतिको खुट्टा पखालेको पानी पिएर व्रत तोड्ने ? अनि आजका कति पुरुष होलान् आफ्नी श्रीमतीलाई ‘मेरो खुट्टाको पानी नखाइ तिम्रो व्रत पूरा हुँदैन’ भनेर श्रीमतीतिर खुट्टा तेस्र्याउने ? यो प्रश्न बारबार मेरो मनमा उठिरहन्छ। किनकि आजका महिलालाई म ‘तेस्रो पुस्ताका महिला’ भन्छु जो आफैँ अधिकार सम्पन्न र सार्वभौम बन्ने बाटोमा लम्किरहेका छन्। के उनीहरू अझै पनि पतिको खुट्टाको पानीमा आफूलाई धन्य ठानिरहेछन् ? विश्वास लाग्दैन। म त भन्छु, अबका महिलालाई खुट्टाको पानी नखाऊ भन्नै जरुरी छैन। रह्यो व्रतको कुरा ! कुनै पनि बहानामा कहिलेकाहीँ व्रत बसेर शरीर शुद्ध गर्नु आफैँमा नराम्रो होइन। झन् ईश्वरको नाममा कोही व्रत बस्छ भने उसलाई नबस् भन्नु आवश्यक छैन। फरक यत्ति हो, बाध्यकारी कहीँ पनि हुनुहुँदैन, व्रत बस भन्न पनि र नबस भन्न पनि। स्वचेतनामा छोडिदिनु नै उचित हुन्छ जस्तो लाग्छ।
राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन।
सनातनदेखि चलिआएका हाम्रा विभिन्न धार्मिक परम्परा, संस्कार र संस्कृतिहरू हामी मानिस आफैँले बनाएका कुरा हुन् र आआफ्ना अनुकूलताका लागि लादिएका पनि हुन्। जुन अनेक आस र त्रासले भरिएका मिथकले सिंगारिएका छन्। यिनै मिथकले समाजलाई डो¥याएको छ, अनि डो¥याउने एउटा वर्ग छ, डोरिने अर्को वर्ग छ। तर अब बिस्तारै त्यो आस र त्रासको डोरो खुकुलो बन्दै गएको छ र डोरिने वर्गले स्वतन्त्र हिँडडुल गर्ने जमर्को गरिरहेको देखिन्छ। हो, यही जमर्को अर्को वर्गका निम्ति भुइँचालो बनिदिन्छ। अनि घोषणा गरिन्छ–स्वतन्त्रताको नाममा महिलाले धर्म मासे, धर्ममाथि आक्रमण गरे, संस्कृति बिथोले आदि।
परिवर्तन समयचेतले मात्र आउँदैन, अन्तरआत्माबाट पनि आउँछ भन्ने कुराको भेउ मैले पैँतालीस वर्षअघिबाटै पाएकी थिएँ जब मैले एउटी स्वाधीन र स्वावलम्बी महिलाको तिजको व्रतबारेको हरेक वर्षको उनको धारणा सुन्थेँ र खुसी हुन्थेँ। आफ्नो बाल्यकालदेखि जवानीसम्मै उनीसँगै हुर्किएकी म समवयका दुई महिलालाई सँगसँगै तर अलग सोच पालेर बाँचेको देखेँ। त्यो समयका मेरो नजिकका ती दुई महिला थिए– एक मेरी धाइआमा र अर्की मेरै आमा। प्रेमविवाह गरेको लोग्नेले अर्कै श्रीमती बिहे गरेर विदेशिएपछि एक्लै दश नङ्ग्रा खियाएर अरुको मेलापात र जुठो भाँडा गरेर छोरो हुर्काउँदै गरेकी धाइआमा जब हरेक तिजको अघिल्लो दिन दर खान हाम्रो घरमा आउँथिन्, दर खाँदै गर्दा सधैँ उनको एउटै भनाइ हुन्थ्यो– ‘बचेको दर मलाई दिनु है, म भोलि टन्न खाने हो।’ हामी पनि सधैँ उसरी नै उनलाई सोध्थ्यौँ– ‘भोलि व्रत बस्दिनौ र धाइआमा ?’ सधैँ उनको जवाफ हुन्थ्यो– ‘त्यो ...(लोग्नेको नाम लिएर)को लागि म व्रत बस्छु ? भोलि त अरू दिन भन्दा धेरै खाने हो मैले। बरु तिमीहरूको भाग पनि मलाई नै दिनु।’ हामी पेट मिचिमिची हाँस्थ्यौं तर उनका दुःख भने आँसु झर्नेखालका थिए।
खासमा यो कुनै सत्ताको दोष नभएर आफैँभित्रको सोचको दोष हो भन्ने कुरा बुझियो भने मात्र धर्म, संस्कार र संस्कृतिका नाममा ‘लादिएका’ कुरीति र विभेद अन्त्य हुन सक्छ न कि अन्य कसैको दबाबमा।
उता आमाले तिजमा पानी पनि नपिइ चौबीसघण्टे (अझ बढी) व्रत बसेर बुबाको दीर्घायुको कामना गर्दै भोलिपल्ट बिहान बुबाको खुट्टा पखालेको पानी पिएर मात्र व्रत पूर्ण गर्नुहुन्थ्यो। जबकि म देख्थेँ, कहिलेकाहीँ केही कुरामा चित्त बुझेन वा समयमा खाना तयार भएन भने पनि वा बाहिर अरू कसैसँग रिसाउँदै घर आउनुभएको छ भने पनि त्यो रिस आमामाथि नै पोखिन्थ्यो र तिनै ‘आमाले जल खाने खुट्टा’ आमाको ढाडमा बजारिन्थे। तैपनि आमाका लागि ती खुट्टा ‘पुण्य धाम’ नै थिए। जति सम्झाए पनि, बिरामी नै भए पनि आमाले तिजको व्रत छाड्नुभएन। तर उहाँको त्यो व्रतले बुबालाई दीर्घायु बनाउन सकेन, बरु असमयमै बुबाको निधन भयो। उता धाइआमाले तिजको दिन टन्न खाना खाइरहिन् र पनि उनको लोग्ने लामो आयु बाँचिरह्यो। मेरा लागि भने यी दुई महिला महत्वपूर्ण पाठशाला बने। जबजब तिज आउँछ, म उनै धाइआमालाई सम्झन्छु। ती महान् नारी जसले दशकौँअघि पनि धर्मान्ध समाजलाई चुनौती दिइन्, कथित धर्म र संस्कारको पर्दा च्यातेर हेर्ने एक्लो प्रयास गरिन्। न उनीमाथि ‘किन तिजको व्रत गरिनस् ?’ भनेर कसैले सोधे न ‘किन धर्ममाथि आक्रमण गरिस् ?’ भनेर कसैले औँला ठड्याए।
समय बित्दै गयो, आज मेरी आमाको बाटो पछ्याउने भन्दा ती धाइआमाको बाटो पछ्याउने छोरीहरू (जसलाई मैले तेस्रो पुस्ता भनिसकेकी छु) धेरै होलान् भन्ने लाग्छ। आमा रजस्वला हुँदा वर्षभरि गरेका ‘पाप’ पखाल्न ३६५ दतिवन र ३६५ स्नान गरेर ऋषिपञ्चमी पूजा गर्नुहुन्थ्यो। तर मलाई रजस्वला हुनु कहिल्यै ‘पाप’ लागेन न मैले कहिल्यै ऋषिपञ्चमीको पूजा गरेँ। आफूले जे गरे पनि आमाले कहिल्यै छोरीहरूलाई यो व्रत गर, त्यो व्रत गर भनेर कर भने लगाउनु भएन। हामी छोरीहरू स्वतन्त्र थियौँ। अहिले मेरी छोरीलाई शायद ऋषिपञ्चमी व्रत भनेकै थाहा छैन होला। किनकि उसले अहिलेसम्म ‘रजस्वला हुनु पाप हो’ भनेर कतैबाट सुनेकै छैन। पहिलोपटक रजस्वला हुँदा छोरीहरूलाई छाउगोठतिर पठाएकी मेरी आमाले आज ९० वर्ष पार गर्दैगर्दा सुनाउने गर्नुहुन्छ– ‘नछुने हुनु भनेको त फूल फुलेको रहेछ, कति दुःख काटियो कति !’ म हाँस्दै सोध्छु– कसरी थाहा पाउनुभो नि आमा ? ‘यी यसले भन्छ, भन्ने गर्छ नि त !’ सिरानीमा राखेको सानो रेडियो देखाउँदै आमा मुसुक्क हाँस्नुहुन्छ। ‘त्यसो भए ऊबेला हामीले सम्झाउँदा किन नसम्झेको त नि ?’ भन्दा आमा भन्नुहुन्छ– के गर्नु, ऊबेलाको जमानै अर्कै।
तर ९० पार गरेकी मेरी आमाको जत्तिको सोच आजका धेरै उनै तेस्रो पुस्ताका महिलामा अझै आउन सकेको देखिँदैन र रजस्वलालाई ‘पाप’ भन्दै पखालिरहन्छन् हरेक वर्ष धर्मका नाममा। आफू मात्र होइन, आफ्ना छोरीहरूलाई पनि रजस्वला हुँदा छोइछिटो बार्न दबाब दिने गरेको पाइन्छ। खासमा यो कुनै सत्ताको दोष नभएर आफैँभित्रको सोचको दोष हो भन्ने कुरा बुझियो भने मात्र धर्म, संस्कार र संस्कृतिका नाममा ‘लादिएका’ कुरीति र विभेद अन्त्य हुन सक्छ न कि अन्य कसैको दबाबमा। राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन। यो त समय र चेतनाले बिस्तारै ल्याउने कुरा हो। यसका लागि हरेक महिलाले आफूभित्रको चेतनाको दियो बाल्नु आवश्यक छ।
प्रकाशित: ३ भाद्र २०७७ ०५:१२ बुधबार