चलायमान विश्वलाई झण्डै ८ महिनाअघि चीनको एउटा सहरबाट सुरु भएको कोरोना भाइरसले स्थिर बनाएको छ। आवतजावत, भेटघाट बन्द भयो, व्यापार÷व्यवसाय खस्कियो। भाइरसले थलिएका रोगीका कारण अस्पतालहरू बिरामीको बोझ थेग्न असमर्थ देखिए। आवधिक तथ्यांकअनुसार संसारका झण्डै २ करोड मानिस कोरोना संक्रमणमा परेको अनि करिब ७ लाख मरेको मेडिकल जाँचले एकिन ग¥यो। स्रोत अभावमा गरिब मुलुकमा पर्याप्त परीक्षण नहुनु अनि कैयौँ मानिसमा रोगको लक्षण नदेखिएका कारण चिकित्सकीय परामर्शकालागि नजानुले रोगीको संख्या परीक्षणले पुष्टि गरेभन्दा अधिक रहेको अनुमान गरिनु अन्यथा भएन। एउटा अध्ययनले डाक्टरी परीक्षणले एकिन गरे भन्दा झण्डै १० गुणा मानिसलाई कोरोना लागेको भन्छ। उक्त प्रक्षेपणलाई पत्याउने हो भने संसारका झण्डै २० करोड जनसंख्यालाई यो भाइरसले सताएको देखियो। कोरोना रोगीको संख्या ‘एक्स्पोनेन्सिएल’गतिमा बढेकाले संक्रमण रफ्तारलाई धीमा गर्न नसके संसारका सबैलाई रोगले सताउन धेरै समय नलाग्ने भन्छ।
बिरामीको संख्या बढ्दा तथा रोगीको मृत्यु भएको खबरले आफूलाई पनि रोग लाग्ला कि भन्ने त्रास हुनु अस्वाभाविक होइन। छिमेकीलाई सरुवा रोग लाग्दा मन काम्ने नै भयो। तर भाइरसको आक्रमण र रोगको लक्षणबीच अनौठो सम्बन्ध देखियो। भाइरसले संक्रमण गर्दा एउटा समूहलाई रोगको कुनै लक्षण नदेखिनु, केहीलाई रोगले धेरै च्याप्नु अनि केही भने यमराजको चंगुलमापुगेको देखियो। यस्तो विषम परिस्थितिमा रोगको आयतन किन यसरी फरक फरक हुन्छ त? भन्ने प्रश्नको उत्तर दिनु आयुर्विज्ञानको कर्तव्य बन्छ।
आविष्कारहरू सदैव सत्य हुनुपर्छ। वैज्ञानिक परिणामले झुटा सन्देश प्रवाह गर्दा ठूलो मानवीय क्षतिसमेत हुन सक्ने भएकाले ‘साइन्टिफिक आर्टिकल’ का आधिकारितालाई प्रकाशनअघि पुनः परीक्षण गरिन्छ। दुर्घटना नहोस् भन्नकालागि कुनै पनि साइन्सका उत्खननलाई समकक्षी परीक्षण (पियर रिभ्यु) पछि मात्र प्रकाशित गरिन्छ, सर्वसाधारणको जानकारीमा पुग्छ। तर वैज्ञानिक सोधकार्यहरू पुनर्परीक्षणपछि छापामा पुग्न ‘जर्नल’ को स्तरअनुसार वर्ष दिनसम्म पनि लाग्न सक्छ। अत्यधिक महत्वका ‘साइन्टिफिक डिस्कभरीहरू’ लामो समयपछि सार्वजनिक हुँदा लक्षित परिणाम दिन नसक्ने भएकाले ‘द्रुत प्रकाशन’ तथा समकक्षी जाँचबिना नै सार्वजनिक गर्ने पद्धति बस्यो।
आहारबिहार तथा दैनिकीमा परिवर्तन गरी भाइरस जित्न सकिन्छ भन्ने कुरालाई हृदयंगम गरी तद्अनुरूपको व्यवहार अंगाल्न आवश्यक छ।
उदाहरणका लागि अहिलेको समयमा फलानो सावधानी लिँदा मृत्युशैयाका कोरोनाका रोगीलाई पुनर्जन्म दिन सक्ने पुष्टि भएको अनुसन्धानलाई लामो समय व्यतीतगरी प्रकाशित गर्दा धेरैको ज्यान जान सक्छ। त्यस्तो अवस्थामा ‘पियर रिभ्यु’ विना नै आविष्कार प्रकाशन गर्नु बाध्यता बन्छ। उपयुक्त परिस्थितिलाई मध्यनजर राख्दै वैज्ञानिकहरूले कोरोना भाइरससम्बन्धी अनुसन्धानहरू परीक्षणबिना नै सार्वजनिक गर्ने निधो गरे। परिणामस्वरूप छोटो समयमा धेरै अनुसन्धान सार्वजनिक भए। समकक्षी परीक्षण नहुँदा सत्य÷असत्य दुवै किसिमका खबर बाहिरिए। परीक्षण नहुने भएपछि जालीहरूले पनि झुटा खबर छाप्न भ्याए। विरोधाभाष अनुसन्धान बाहिरिए। चिकित्सकहरू मात्र होइन बरु विश्व स्वास्थ्य संगठन जस्तो निकायसमेत आचारसंहिताको मामलामा रनभुल्ल देखियो। कुन खबर सत्य हो भनी खोट्याउने अवस्था आयो।
भाइरसले संक्रमण गरेमध्ये एउटा ठूलो जमातलाई रोगले खासै पिरोल्दैन, सामान्य असहजतामै रोगी पीडामुक्त बन्छ। अर्को समूहकालागि त्यही भाइरसको संक्रमण जटिल बन्छ तर कुनै ओखतीमूलोबिना नै उनीहरू रोगमुक्त हुन्छन्, स्वस्थ भएर आफ्नो काममा फर्कन्छन्। तर, तेस्रो समूहका लागि त्यही भाइरसको आक्रमण ‘रेस्पिरेटरी फेलिएर’ को कारक बन्छ, फोक्सो खराब भएर मानिस मर्छ। एउटै भाइरसको प्रभाव भिन्न समूहमा किन फरक फरक देखिन्छ त भन्ने प्रश्न अस्वाभाविक रहेन। भाइरसका जीवाणु फरक फरक मात्रामा शरीरमा भित्रँदा तिनीहरूको प्रभाव व्यक्तिनै पिच्छे पृथक देखिन्छ भन्ने मान्यता बन्यो। अनि, भाइरल लोडले व्यक्तिमा पृथक लक्षण देखिएको हो कि त भनी अध्ययन गरियो। तर भाइरसको खुराकले मात्र व्यक्तिमा देखिने लक्षण फरक भएको हो भन्ने ठोस अनुसन्धानात्मक नतिजा आएन। त्यसपछि व्यक्तिको अणुवांशिक भिन्नताले कोरोना भाइरसको प्रभाव फरक फरक देखिएको हो कि भन्ने विषयमा केन्द्रित भयो सोधकार्य।
अध्ययनले ‘रेस्पिरेटरी फेलिएर’ भएका रोगीमा ‘एबो’ जिनमा खराबी देखियो। ज्ञात रहोस्, एबो जिनले हाम्रो ब्लड ग्रुप ‘ए, बि र ओ’ लाई निर्देशित गर्छ। तर केबल एउटा जिनमा आएको खराबीले भाइरसको घातकपन निर्देशित गर्छ भन्नेमा वैज्ञानिकहरू विश्वस्तदेखिएनन्। त्यसमाथि, समान प्रकृतिको अणुवांशिक बनोट रहेको जुम्ल्याहामध्ये एउटामा कोरोना घातक देखिनु अनि अर्कोमा संक्रमणपछि पनि रोगको लक्षण नदेखिनुले उक्त प्रस्तावलाई कमजोर बनायो। केटाकेटीलाई कोरोनाले नसताउने, अनि पहिलेदेखिनै मुटुरोग, क्यान्सर, मधुमेह जस्ता रोग लागेका मानिसलाई भाइरसले सताउँछ भन्ने मान्यता लामो समय रह्यो। तर हालै देखिएका नतिजाले भर्खरका बच्चालाई कोरोनाले मृत्युशैयामा पु¥याउँदैन भन्ने मान्यता गलत देखियो।
विगतको दुःख स्मरण गर्नु भन्दा संभाव्य सुखद भविष्यको कल्पनामा रमी प्रशन्न रहँदा इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली) दह्रो हुन्छ।
त्यस्तै, अन्य कुनै रोग नलागेका मानिसमा कोरोना घातक हुँदैन भन्ने मान्यता गलत सावित भयो। हट्टाकट्टालाई पनि भाइरसले ढाल्छ भन्ने देखियो। यसरी भिन्न भिन्न पाटो खोतल्दा पनि ठोस नतिजा नआएपछि अन्य मार्गहेर्न आवश्यक बन्छ। अनि‘इम्युन सिस्टम’ (प्रतिरक्षा प्रणाली)ले मानिसमा कोरोनाको प्रभाव निर्देशित गर्छ भन्ने मान्यता स्थापित हुनु अस्वाभाविक भएन।
देशलाई बचाउने सेनाझैं हामीलाई ब्याक्टेरिया, भाइरसलगायतका संक्रमणबाट जोगाउन प्रतिरक्षा प्रणालीका एकाइहरू हरदम क्रियाशील रहन्छ। मानव कोसमा अन्तरनिहित विशेष चरित्रका कारण प्रतिरक्षा प्रणालीले आफ्ना र बाह्य जीवाणुलाई सहजै छुट्याउन सक्छ। यस्तो विशिष्ठ चरित्रका कारण बाह्य ब्याक्टेरिया तथा भाइरसलाई पहिचान गरी नास गर्न सक्छ इम्युन सिस्टमले।
अब, कोरोना भाइरसको संक्रमण र बिरामीको अवस्था हेरौँ। कोरोना संक्रमणपछि हाम्रो प्रतिरक्षा प्रणालीका कोसले प्रारम्भिक चरणमै भाइरसलाई नास गरे हामीले रोगका लक्षणको अनुभूति गर्न सक्दैनौँ। यस्तो अवस्थामा कोरोनाले आक्रमण गरेको थाहा नपाउँदै मानिस रोगबाट मुक्त भइसक्छ। कदाचित प्रथम चरणको संघर्षमा कोरोनाको जीत भयो भने बिरामीमा रोगका लक्षणहरू देखिन्छन्। कदाचित इम्युन सिस्टमका ‘बि’ र ‘टि’ सेलहरूले छिटैनै भाइरसलाई निस्तेज गर्न सक्ने एन्टिबडी निर्माण गर्न सफल भए कोरोना नासिन्छ अनि हामी फेरि स्वस्थ हुन्छौँ। तर प्रतिकूल परिस्थितिमा प्रतिरक्षा प्रणालीका कोसहरूले भाइरसलाई असफल गर्न सक्ने हैसियत भएको ‘एन्टिबडी’ बनाउन सकेनन् भने हाम्रो शरीरमा भाइरसको राज हुन्छ अनि हामी मर्छौँ। उल्लिखित परिस्थितिले प्रतिरक्षा प्रणाली मजबुत भएको व्यक्तिले कोरोनालाई सजिलै जित्छ भन्ने देखायो।
कोरोना उपचारको औषधि उत्पादनका खातिर धेरै औषधि कम्पनी तल्लीन देखिए। भिन्न भिन्न विधिमार्पmत भाइरसलाई नियन्त्रण गर्न प्रयासरत छन् उनीहरू। सबैभन्दा सरल उपायभनेकोे हाम्रा प्रतिरक्षा प्रणालीका कोसले भाइरस नियन्त्रणमा प्रयोग गर्ने ‘एन्टिबडी’ ठूलो मात्रामा बनाउन फर्मास्युटिकल कम्पनीहरू सफल भए भाइरसको विनाश कठिन रहेन। तर शरीरमा बन्ने विशिष्ट प्रकृतिका एन्टिबडी ठूलो परिमाणमा बनाउने काम सहज भने छैन।
प्रतिरक्षा प्रणालीलाई कसरी सबलीकरण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर त्यति सहज देखिन्न। तथापि, भिन्न चरण र परिस्थितिमा भएका अनुसन्धानले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने आधार भने दियो। क्षणिक तनावले मानिसलाई ऊर्जा दिने गरेको देखियो भने लामो ‘स्ट्रेस’ ले प्रतिरक्षा प्रणाली कमजोर भएको पाइयो। अरूलाई गरिने माया र आफूले पाउने स्नेह तथा स्तरीय साथीभाइसँगको अन्तरक्रियालेइम्युन सिस्टमलाई मजबुत बनाउने मात्र होइन बरु मानिसको वृद्धावस्था सुखीपूर्वक बित्नेयथार्थ हार्वार्ड विश्वविद्यालयको एउटा अनुसन्धानले देखायो। ठूलो आवाज निकालेर हाँस्दा, पर्याप्त सुताइ तथा शारीरिक व्यायामले समेत प्रतिरक्षा प्रणाली मजबुत हुने गरेको पाइयो। अनि हर्दी, अदुवालगायतका जडीबुटी अनि हरियो सागपात, गाजर, आँप जस्ता रंगीचंगी खानकी भाइरस नियन्त्रणमा फाइदा कारक देखियो। विगतको दुःख स्मरण गर्नु भन्दा संभाव्य सुखद भविष्यको कल्पनामा रमी प्रशन्न रहँदा इम्युन सिस्टम दह्रो हुने देखियो। रक्सी तथा चुरोट सेवनले प्रतिरक्षा प्रणालीका लडाकु ‘बि’ र ‘टि’ कोसहरू निर्बल हुने भएकाले धूमपान तथा मद्यपान त्याग्न सल्लाह दिन्छन् विज्ञहरू। खेतमा काम गर्ने तथा सानैदेखि जनावरहरूसँग रमाउने मानिसलाई ‘एलर्जी’ ले नसताउनका अतिरिक्त इम्युन सिस्टम मजबुत हुने देखियो।
अरबौँ डलर खर्चिएर हजारौँ वैज्ञानिक अहोरात्र खट्दासमेत कोरोनाको औषधि बन्न सकेको छैन। तरअधिकांश अवस्थामा उक्त भाइरसलाई नियन्त्रण गर्न हाम्रो प्रतिरक्षा प्रणाली सहजै सफल भएको देखिन्छ। कोरोना भाइरसबाट मुक्ति दिलाउने मुख्य वस्तु भनेको हाम्रो शरीरको इम्युन सिस्टम नै हो। भ्याक्सिन तथा खोप नबन्दासम्म हाम्रो शरीरलाई मन्दिर सम्झी इम्युन सिस्टमलाई मजबुत बनाउनु पर्छ। आहारबिहार तथा दैनिकीमा परिवर्तन गरी भाइरसलाई जित्न सकिन्छ भन्ने कुरालाई हृदयंगम गरी तद्अनुरूपको व्यवहार अंगाल्न आवश्यक छ।
प्रकाशित: २७ श्रावण २०७७ ०५:२८ मंगलबार