१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

गोसाइकुण्ड र तामाङ संस्कृति

गोसाइकुण्ड र तामाङ संस्कृतिको साइनो धेरै पुरानो छ। यो साइनो प्राचीन कालदेखिको हो। बौद्ध /बोन संस्कृति मान्ने तामाङ समुदायले गोसाइकुण्डलाई पवित्र तीर्थको रूपमा लिइएको पाइन्छ। गोसाइकुण्डप्रतिको आगाध श्रद्धाका कारण यस समुदायले कुण्डसँग एक किसिमको सांस्कृतिक साइनो नै स्थापित गरिसकेको छ। हरेक वर्षको जनैपूर्णिमा (चान्द्र पात्रोका अनुसार बदौ छेबा चोङ्ङा/च्येङा) को दिन गोसाइकुण्डमा बोन्पो (झाँक्री)सहित गीत गाँउदै नाचेर पूजा गर्छन्। गोसाइकुण्डलाई हिन्दुहरूले पनि पवित्र धाम मान्छन्। भोटेली एवं वैदिक तामाङ भाषामा 'गो' भनेको टाउको वा शिर भन्ने जनाउँछ। 'सा' भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ। अर्थात् यसले भार्खुगाउँको सिरान (शिर) को भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ। कुण्ड रसुवा जिल्लाको स्याफ्रु गाउँ विकास समिति-६ ठूलोभार्खु गाउँको सिरानमा पर्छ।

बोन्पोहरूको गोसाइकुण्डसँग बलियो धार्मिक सम्बन्ध छ। बोन्पो प्रकृति पूजक हुन्। सूर्य, चन्द्र, तारा, ग्रहगण, पानी, कुण्ड, झर्ना, जलाशय, वनस्पति रुख, विरुवा, हिमाल, पहाड, माटो, आदिलाई बौद्ध र बोन धर्मले देवीदेवताको प्रतीक मान्छ। रसुवा जिल्ला ठूलोभार्खुगाउँका अवतारी बोन्पो कार्पु बेनका सन्तान बोन्पोेहरू गोसाइथानको मुख्य पुजारी रहँदैआएका छन्। यी बोन्पो झाँक्री विद्या सिकेपछि एकपटक कुण्डमा जानैपर्ने र मरेपछि झाँक्रीको आत्मा स्वर्ग पठाउने काम (बेन्शे) को लागि पनि जनैपूर्णिमाको दिन गोसाइकुण्डमा गएर पूजा गरी कुण्डदेखि पश्चिम पहाडमा रहेको छेखाङ, डुप्खाङ गुफामा विर्सजन गर्नुपर्ने धार्मिक परम्परा छ।
यस पूर्णिमालाई वर्षभरिको पवित्र पूर्णिमा ठानेर एक छाक टार्न मुस्किल हुने विपन्न परिवारका बोन्पोे पनि ऋण काढेरै किन नहोस् गाउँले महिला पुरुष, युवायुवती (स्यारास्यार्मा)लाई स्याल्कर (रक्सीको सगुन/निमन्त्रणा) दिएर र आफैं खर्च बेहोरेर गोसाइकुण्डमा पूजाको लागि लैजान्छन्। बोन्पो (झाँक्री) को निमन्त्रणालाई स्वीकार्नु र सेसे बोन्पो गीत गाएर नाचेर बोन्पोेसँग कुण्ड जानु तामाङको सामुदायिक कर्तव्य हो।
गोसाइकुण्ड जानका लागि केही धार्मिक संस्कृति पूरा गर्नुपर्छ। गाउँलेलाई रक्सीको सगुन निमन्त्रणा (स्याल्कर) ख्वाएपछि गाउँले पनि खेतीपातीका काम थन्काएर तयारी हुन्छन्। यस्तो सूचना बोन्पोले एक महिना अघि नै गाउँलेलाई दिने चलन छ। युवायुवती नयाँ लुगा किन्नु पर्ने भए किनेर ठिक्क पार्छन्। गरगहना जोड्छन्। गीतहरू बिर्सेका भए बूढापाकाकोमा गएर सिकेर अभ्यास गर्छन्। विशेषगरी बोन्पोसग गाउने गीत अलि बेग्लै खालको हुन्छ जुन अरू शुभ साइतको बेला गाएजस्तो हुँदैन। हरेक गीतसँग 'सेसेबोन्पो वा सोसो बोम्बो' जोडेर गाउनुपर्छ।
बोम्बोको घरमा अन्नको रक्सी पारिन्छ। कुण्ड जानेहरू पनि जाडोमा ज्यान तताउनुपर्छ भनेर मीठो रक्सी पार्छन्। रक्सी बोम्बोको हरेक पूजा कार्यमा अनिवार्य हुन्छ। सबै देवी देवतालाई पूजा गर्न रक्सी चाहिँदैन। त्यस्ता देवी देवतालाई चामलको पीठो वा दूधको झोल बनाएर ह्वोफी/ह्वोबी चढाइन्छ। जस्तै मादेउ, नाग, ङिन्सेर (सूर्यदेवी) लाई ह्वोफी चढाउनुपर्छ। बर्तेन बोन्पो भए एउटा कुखुराको भाले र श्यारबोन्पो भए पोथी कुखुरा चाहिन्छ। बोन्पोको दृष्टिकोणमा छोकर (ग्यो/ह्वे) सबैभन्दा शक्तिशाली कुण्ड हो। यो कुण्डमा गएर जे माग्यो त्यो दिन्छ भन्नेमा उनीहरू विश्वास गर्छन्। भगवानमध्येको सर्वशक्तिमान भगवान ह्याप छोग्याल क्षेम्बो र देवीमध्येका सर्वशक्तिमान देवी ह्युम फामा डोल्मो यहीँ विराजमान छन् भनेर उनीहरूको मन्त्रले बताउँछ।
यस दिन हिन्दु धर्मावलम्बी र बौद्ध/बोन्पो धर्म मान्ने तामाङ जाति गोसाइकुण्ड गएर पूजा गर्छन्। हिन्दु धर्मको दृष्टिकोणबाट गोसाइकुण्डको उत्पत्ति र महŒवका बारेमा आफ्नै व्याख्या छन्। त्यसरी नै बौद्ध/बोम्बो धर्म मान्ने तामाङ जातिको पनि गोसाइकुण्डको उत्पत्ति र महŒवका बारेमा आफ्नै व्याख्या पाइन्छ। दुवै धर्मका धर्मावलम्बीका आआफ्नै बुझाइ र व्याख्या रहेको भए तापनि गोसाइकुण्डबारेमा दुवै धर्मका अनुयायीको समान श्रद्धा र एक अर्काको धर्मप्रतिको सहिष्णुता आजसम्म रहनु नै सबैभन्दा ठूलो हो।

प्रकाशित: १८ श्रावण २०६९ २३:२० बिहीबार