३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
विचार

‘ठेकेदार कम्पनी र परामर्शदाताको त्रुटि’

मेलम्ची दुर्घटना

फाइल तस्बिर।

खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको अडिट गेट भत्किनुमा डिजाइन र निर्माणमा संलग्न कम्पनीको गम्भीर प्राविधिक त्रुटि रहेको निष्कर्ष निकालेको छ । समितिले गेट निर्माणको जिम्मेवारी पाएको भारतीय प्रिसिजन इन्फाटेक प्रालि र डिजाइन तथा सुपरीवेक्षणको जिम्मेवारी पाएको परामर्शदाता कम्पनी इटिप्साको गलत डिजाइनकै कारणले गम्भीर प्रकृतिको दुर्घटना भएको निष्कर्ष निकालेको छ ।  

समिति संयोजक सहसचिव रमाकान्त दुवाडीले अडिट ढोका निर्माण कम्पनी, परामर्शदाता कम्पनी र आयोजना तीनवटै निकायको प्राविधिक त्रुटिले गम्भीर प्रकृतिको दुर्घटना भएको बताए । ‘सुरुङको अडिट गेट भित्र खुल्ने गरी बनाइनुपथ्र्याे । त्यसो गरेको भए जतिसुकै दबाब भए पनि बाहिर खुल्दैनथ्यो,’ उनले भने, ‘सुरुङको अडिट गेट बाहिर खुल्ने गरी बनाइनु नै गम्भीर प्राविधिक त्रुटि हो । जसले गर्दा गम्भीर प्रकृतिको दुर्घटना हुन पुग्यो ।’  

संयोजक दुवाडीले ठेकेदार कम्पनीले पुरानो सम्झौता अनुसार गेट निर्माण नगरेको भेटिएको बताए । ‘पुरानो सम्झौता अनुसार अडिट गेट भित्र मात्रै खुल्ने गरी बनाउनुपथ्र्याे । अहिले बनाएको गेट भने बाहिर खोल्ने गरी बनाइयो,’ उनले भने, ‘बाहिर खुल्ने गरी बनाइए पनि पर्याप्त सुरक्षा सर्तकता र जोखिम पूर्वानुमान गर्न नसक्दा दुर्घटना भएको देखियो ।’  

अध्ययन समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन मगंलबार खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेलाई बुझाएको थियो । संयोजक दुवाडीले गेट निर्माण तथा डिजाइन गर्ने परामर्शदाता कम्पनीले आयोजनासँग सहमति नलिइकन गेटको डिजाइन फेरबदल गरेको पनि अध्ययनले देखाएको बताए । ‘निर्माण तथा डिजाइन कम्पनीले आयोजनाको अनुमतिबेगर नै गेटको डिजाइन फेरेको पाइयो,’ उनले भने, ‘आयोजनाले पनि गेट निर्माणमा हुन सक्ने जोखिमको पूर्वानुमान गरेको देखिएन ।’  

अध्ययन समितिले अडिट गेटको ढोका बाहिर खुल्ने गरी निर्माण गर्दा हुन सक्ने पानीको प्रेसर, जोखिम, गेटले धान्न सक्ने लोड लगायत विषयमा पर्याप्त विश्लेषण नगरेकाले दुर्घटना भएको जनायो । अध्ययन समितिले आयोजनाको अन्य अडिट गेट ग्याल्थुम, सिन्धु र सुन्दरीजलको आवश्यक परीक्षण नगरेसम्म पानी परीक्षण गर्न नहुने सुझाव दिएको छ । ‘अहिलेकै अवस्थामा मेलम्चीको पानी परीक्षण गर्न मिल्ने देखिँदैन,’ उनले भने, ‘सम्पूर्ण परीक्षण नगरी फेरि परीक्षण गर्न उपयुक्त देखिँदैन ।’  

संयोजक दुवाडीले बाहिरको गेटले आवश्यक दबाब थेग्न नसकेर दुर्घटना भएको देखिएको बताए । ‘सुरुङको गेटको बाहिरको नटबोल्टले पानीको प्रेसर थेग्न नसकेर दुर्घटना भएको देखियो,’ उनले भने, ‘अब कि त भित्र मात्रै खोल्ने गरी गेट निर्माण गर्नुपयो कि बाहिर खोल्ने गरी बनाउने भए आवश्यक दबाब थेग्न सक्ने बनाउनु आवश्यक छ ।’ अध्ययन समितिले खानेपानी आयोजनाको सम्पूर्ण उपकरण जडान गरेर मात्रै सुरुङ परीक्षण गर्न सुझाव दिएको छ । ‘म्यानुअल ढंगले हेरेर पुग्दैन,’ उनले भने, ‘अत्यावश्यक सम्पूर्ण उपकरण जडान गरेरमात्रै पुनः परीक्षण गर्नुपर्छ ।’  

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले अध्ययन समितिले दिएको प्रतिवेदनको आधारमा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । ‘अहिलेसम्म प्रतिवेदन पाइसकेका छैनौं,’ उनले भने, ‘प्रतिवेदनले दिएको सुझावको आएरमा त्रुटि सच्याएर अघि बढाउने छौं ।’ कार्यकारी निर्देशक खत्रीले आयोजनाको अनुमतिबिनै गेट निर्माणको डिजाइन परिर्वतन गरेकाले गम्भीर प्रकृतिको दुर्घटना भएको बताए । ‘निर्माण कम्पनी र परामर्शदाताले आयोजनाको स्वीकृतिबिनै गेट डिजाइन तथा निर्माण गरेकाले समस्या आएको देखियो,’ उनले भने, ‘निर्माण कम्पनीले सच्याएर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’

प्रकाशित: १५ श्रावण २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App