१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

निर्जीव कांग्रेसको एकता

नेविसंघ केन्द्रीय कार्यसमिति विघटन भए लगत्तै असन्तुष्ट कार्यकर्ता मातृपार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइराला भेट्न पार्टी मुख्यालय सानेपा गएका थिए। पद्दति र प्रक्रिया हुँदाहुँदै सभापतिले एकलौटी गर्न खोजेको उनीहरूको दुखेसो थियो। कुर्सीमा मौन बसिरहेका सभापतिलाई एक प्रतिनिधिले भने, 'सभापतिज्यु, भएको ढोका थुनेर झ्यालबाट छिर्नुभएन।'

कोइराला कुर्सीबाट जुरुक्क उठे। ढोका थुने, त्यसपछि झ्यालको पनि चुकुल लगाए। अनि भने, ल मैले झ्याल पनि थुनिदिएँ। अब के गर्छौ?' अब के भन्ने? कार्यकर्ताहरू सभापतिसँग हैरान भएर फर्के।

झ्यालढोका दुवैमा चुकुल लगाएको दस महिनापछि सभापति कोइराला भ्रातृ संस्थामा केही सदस्य संख्या थप्न तयार भएका छन्। कोइराला पक्षको 'मनोमानी' विरुद्ध कार्यकर्तालाई अनशनमा समेत उतार्न सफल शेरबहादुर देउवा आफ्नो पक्षलाई सम्मानजनक हैसियत दिएको भन्दै पार्टीका बैठक र औपचारिक क्रियाकलापमा सँगसँगै देखिन सहमत भएका छन्। देउवा पक्षको बहिष्कारका कारण यतिका समय संस्थागत निर्णय गर्न नसकेको कांग्रेसका ती कार्यकर्ताहरू झण्डै एक वर्षअघिको दृश्य सम्भि्करहेका होलान्। तिनले ठानेका होलान् - सभापति अब ढोकाबाटै छिर्नुहुन्छ।

कांग्रेसको पछिल्लो मेललाई नक्कली एकता मान्नेहरू भन्छन् - यो धेरै दिन चल्दैन। उनीहरू किन यति महिनासम्म मिलेनन्, यसको आधार छैन। अहिले किन मिल्न आएका हुन्, यसको पनि तर्क छैन। पछिल्लो समय राजनीतिमा गुमनाम झैं देखिएका कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला चाहिं कांग्रेसलाई 'प्रतिक्रियात्मक' पनि देद्यखैनन्। वाँस्तोलाको भनाईमा 'कांग्रेसमा सजीवता भन्ने तत्व नै हराइसक्यो।'

बाँस्तोलाको टिप्पणीलाई पछ्याएकै शैलीमा गत शुक्रबार कांग्रेसमा एकता देखियो। अवसान गराइएका भ्रातृ संस्थाहरू केही सदस्य थपिएसँगै अस्तित्वमा आए। विना सिद्धान्त, विना कार्यक्रम र विना एजेन्डा नौ महिनाअघि कांग्रेसमा उत्पन्न 'फुट' एजेन्डाविहीन हिसाबले मेलमिलापमा बदलियो। कांग्रेस एक त भयो, तर के का लागि? ऊ नमिल्नु र मिल्नुको उद्देश्य यतिका महिना पछि पनि पुष्टि हुन सकेनन्।

एकता शब्दले आफैंमा उत्साह जगाउँछ। जस्तोसुकै शर्तमा भए पनि फुट्नुभन्दा त मिल्नु नै कत्ति राम्रो। यस अर्थमा पनि धेरै कांग्रेस नेता कार्यकर्ता यसपालिको कांग्रेस मिलापले उत्साहित भएकै होलान्। गहिराइमा जाने हो भने कांग्रेसमा विभाजनचाहिँ के मा थियो - खोज्नुपर्ने हुन्छ। संविधानका मुद्दामा होइन, संघीयता पनि होइन, राज्यको पुनसंरचना, शासकीय स्वरुप, अन्य दललाई हेर्ने दृष्टिकोण अथवा आगामी योजना आदि कुनै पनि विषयमा कांग्रेसबीच मतैक्य थियो। सामान्यतयाः राष्ट्रिय राजनीतिका मुद्दामा कांग्रेससँग खास दृष्टिकोण थिएन। यसो भन्दा सोझा कांग्रेसजनलाई दुख्दो हो - मत नभएपछि मतभेद हुने कुरो पनि भएन।

लोकतन्त्रप्रतिको 'स्थायी प्रतिबद्धता' बाहेक पछिल्लो समय कांग्रेससँग आफ्नो भन्नु केही पनि थिएन। यद्यपि सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवामध्यै कुनै एक क्याम्पतिर कार्यकर्ता धु्रवीकृत भए। योबीचमा भ्रातृ संस्थाका केन्द्रीय समितिमा आफ्नो पनि नाम दर्ज गरिपाउँ भनेर प्रशस्तै दर्शनभेट र बिन्तीभाउ भए। राजनीतिमा कुनै एजेन्डा नभए पछि पार्टीहरू या त राष्ट्रियताको शंख फुक्छन् या त लोकतन्त्रको दुहाइ दिन्छन्। यसबीच कांग्रेसले माओवादीलाई धेरैपल्ट लोकतन्त्रको बुख्याँचा देखाएर तर्सायो। नागरिक पार्टी हुन सुझायो, लोकतन्त्रको पाठ पढायो। लोकतन्त्रका विषयमा कसैसँग सम्झौता नगर्ने भन्दै उसले देशभित्र र बाहिर थुप्रैलाई थर्कायो। उसको लोकतन्त्रको नारामुनि आफ्नै कतिपय कार्यकर्ता भने दास युगका व्यक्तिमा अनुदित हुन पुगे। अधिकांश नेता कार्यकर्तामा स्वाभिमान हरायो। भएका स्वाभिमानी निष्त्रि्कय भए। नेतृत्वले यता चासो लिएन, न त अलोकतान्त्रिक राजसंस्थाविरुद्ध लड्न उत्रने युवाहरूले आवाज मुखर गरे। कतैतिर समाहित नहुने कार्यकर्ता नभेटिएका होइनन् तर तिनको ध्वनि राजनीतिक रंगमञ्चमा टड्कारो सुनिएन।

कांग्रेस यतिखेर लोकतन्त्रको सर्वाधिक चर्को कुरा गर्ने अलोकतान्त्रिक संस्था हुन पुगेको देखिन्छ। गिरिजाप्रसाद कोइराला यस अभियानको सुत्रधार नै थिए। उनको शेखपछि पनि यो क्रम रोकिएन। महाधिवेशन सकिएलगत्तै गठन हुनुपर्ने केन्द्रीय विभाग र समितिहरू विवादकै कारण दुई वर्ष पुग्न लाग्दासम्म गठन भएनन्। सह-महामन्त्रीसहितका केन्द्रीय पदाधिकारी र सदस्यसमेत चयन भएनन्। सुशील कोइरालाको निरन्तर मनोमानी र त्यसका विरुद्ध देउवाको निरन्तर अस्वीकृति नै कांग्रेसको अघिल्लो हप्तासम्मको यथार्थ बनेको थियो। यसरी कांग्रेस मुखले लोकतन्त्रको जपना गर्न छाड्दैन, तर व्यवहारबाट त्यसलाई पुष्टि गर्न एउटा सिन्को पनि भाँच्दैन। यहाँनेर अचम्म मान्नुपर्छ, यत्तिका गैरजिम्मेवार क्रियाकलाप नेतृत्वबाट निरन्तर भइरहेछन्, तर किन कोही बोल्दैनन्? हिजो मञ्चमा उभ्भिएर राजा ज्ञानेन्द्रलाई लोकतन्त्रको मर्म पढाउनेहरू किन कोही पार्टी नेतृत्वका अकर्मण्यता र अलोकतान्त्रिक क्रियाकलापविरुद्ध जुध्ने साहस बटुल्दैनन्?

किनकि नेतृत्वको कुनै खास धु्रवको इशाराविना दायाँबायाँ गरे तिनको हैसियत गुम्नेछ। कांग्रेस नेता र उपल्ला कार्यकर्तालाई आफ्नो हैसियतको चिन्ता हुनु अस्वाभाविक होइन तर क्रमशः सजीवता गुम्दै गएको दल यही ताल रहे निष्प्राण होला। निष्प्राण दलभित्र शीर्ष तहको हैसियत बनाएर उनीहरूले के पाउलान्? मुद्दा सडकमा छरिएका छन्। कुनै कांग्रेस तिनलाई टिप्न र आफ्नो बनाउन जानेवाला छैन। उसलाई लाग्छ, मुद्दाहरू भइदिएकाले मैले तिनलाई बोक्नुपर्ने होइन, बरु मैले बोकेमा ती मुद्दा बन्ने हुन्। तसर्थ अहिले सर्वसाधारण नागरिकले बुझ्दै गरेको कांग्रेस मुद्दाविहीन कांग्रेस हो। यस्तो विनामुद्दाको विभाजन र विनामुद्दाकै एकताले सर्वसाधारणप्रति कुनै उत्साह भर्न सक्दैन। निष्प्राण एकताले अहिलेको पुस्तालाई आकर्षित गर्ला भन्नुपर्दैन।

संविधान बन्न नसकेको दोष परस्परमा लगाउन व्यस्त मुख्य दलका नेताको भीडमा कांग्रेस नेता पनि उभिएका छन्। नेपाली राजनीतिको अनौठो मौलिकता यो छ कि नेताहरू अर्को दलसँग अत्यधिक अपेक्षा गर्छन्, आफ्नो भूमिकालाई भने आफैं उपेक्षा गर्छन्। एकता र मेलमिलापका नाममा कांग्रेसले यतिखेर आफ्ना सैद्धान्तिक दार्शनिक प्रस्थापनाहरूलाई खतरनाक ढंगले उपेक्षा गरिरहेको छ। आफू दर्शक बन्न र प्रचण्डलाई हिरो बन्न आग्रह गर्ने सभापति सुशील कोइरालाले ढिलै समयमा भए पनि एकताको पहल लिएको पक्षलाई कसरी अन्यथा मान्न सकिन्छ र! तर विना आधार, विना जमिन र विना दिशाको एकताले कांग्रेसलाई पुनर्जीवन दिन गाह्रो छ। यसले सुशील कोइरालाले एक्लै थुनेका झ्याल ढोकालाई खोल्न सघाउँदैन। यसले त हामी दुवै मिलेर पद्दति र प्रक्रिया तिलान्जली दिउँ भन्ने सोचलाई मलजल गराउँछ।

आन्तरिक होस् या आम, महाधिवेशन र निर्वाचनबाट प्राप्त हुने आवधिक अनुमोदनमा नै लोकतन्त्रको रुख उम्रन्छ। कांग्रेसलाई यो थाहा नभएको होइन। तैपनि शिक्षकलाई कसैले पढाइरहनुपर्दैन भन्ने उसको एकोहोरो ढिपीको सिकार कांग्रेस आफैं बन्न पुगेको छ। कतै बाँस्तोलाले भनेको निष्प्राणता परबाटै स्पष्ट छुट्टिने गरी कांग्रेसमा प्रतिबिम्बित हुन थालेको त होइन? भर्खरै एकीकृत भएको कांग्रेस उनले लक्ष्य गरेको निर्जीवताको बाटोतिर हिँडिरहेको छ।

प्रकाशित: ३ असार २०६९ २२:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App