५ पुस २०८१ शुक्रबार
image/svg+xml
विचार

भानुभक्तको पाल्पा बसाइ

रम्घामा भानुभक्तको सालिक

नेपालको इतिहासमा चौबिसी राज्यअन्तर्गत पर्ने पाल्पा राज्य भानुभक्त आचार्यको प्रचलित जन्म संवत् १८७१ भन्दा १० वर्षअघि संवत् १८६१ मा नेपालसँग एकीकृत भयो। यसपछि पाल्पा नेपालको पश्चिमी क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा स्थापित भएको देखिन्छ। त्यहाँ काठमाडौंबाट मुख्तियारका विश्वासप्राप्त नातेदारहरू प्रशासक भएर जान थाले। इतिहासमा उनीहरूले केन्द्रबाट अधिकार लिएर पश्चिम नेपालका लागि सैनिक खटनपटन गर्न थालेको भेटिन्छ। यसै सन्दर्भमा भानुभक्त आचार्यका बाबु धनञ्जय आचार्य पनि पाल्पा पुगेका थिए। तत्कालीन १८६९ पौष सुदि ६ को ‘अमरसिंह थापाकस्य पत्रम्’मा धनञ्जय आचार्यलाई खरिदार भनी लेखिएकाले उनी केही वर्षअगाडि पाल्पा पुगिसकेको देखिन्छ। यसले के देखाउँछ भने भानुभक्तको जन्म नहुँदै धनञ्जय पाल्पा बसेका थिए। पाल्पामा बसेका कारण भानुभक्तका आमाछोराको तनहुँ चुँदीरम्घा र पाल्पाबीच आवतजावत स्वाभाविक बन्न पुग्यो। धनञ्जय आचार्यले लगभग आफ्नो जागिरको सम्पूर्ण अवधि पाल्पामै बिताएको देखिन्छ। यहाँसम्म कि घरमा ६ भाइहरूसँग छुट्टी–भिन्न हुँदा पनि पाल्पामा बसेर उनैले बन्डापत्र लेखी तनहुँ घरमा पठाएको किंवदन्ती सुनिँदैछ। लामो समय पाल्पा बसेकाले समय–समयमा पत्नी धर्मावतीलाई साथमा राखेको हुनुपर्छ। किनभने, उनले अर्को विवाह गरेको देखिन्न। स्वाभाविक रूपले बेलाबेला भानुभक्त पनि आमाबाबुका साथमा पाल्पा बसे हुनन्। त्यस कारण पाल्पाले  भानुभक्तसँग बाल्यावस्थादेखि नै परिचित हुने अवसर पाएको हुनुपर्छ ।  

खरिदार धनञ्जय पाल्पामा कहाँ बस्थे भन्ने प्रश्न उठ्छ। पाल्पाकै पुष्कर अथक रेग्मी (अग्रदूत, २०७०ः१) ले ‘भानुभक्त आचार्य वि.सं. १९०२ भन्दा अघिदेखि दिननाथ नेपालको घरमा डेरा गरी बस्थे’ भनी लेखेका छन्। रेग्मीले छविलालको वंशावली उतार गरे अनुसार, छविलाल नेपाल भवानीशंकर नेपालका नाति र दिननाथ नेपालका एक मात्र छोरा हुन्। छविलालको तीन पुस्तासँग भानुभक्त आचार्यलाई हेर्दा भानुभक्तका समकालीन दिननाथ र भानुभक्तका छोरा रामनाथका समकालीन छविलाल नेपाल देखिन्छन्। यस आधारमा धनञ्जयका समकालीन भवानीशंकर हुन्छन्। पुष्करको भनाइमा भानुभक्त र दिननाथ दुवै सरकारी जागिरे भएको र कुरा पनि मिल्ने भएकाले दुवैले मीत लगाएका थिए। त्यसैले धनञ्जय आचार्य पनि भवानीशंकरकै घरमा डेरा गरी बस्थे भन्न सकिन्छ।  

मोतीराम भट्ट, बाबुराम आचार्य र पुष्कर अथक रेग्मीको लेखन तथा चुँदीरम्घाली अनुश्रुतिलाई संश्लेषण गर्दा भानुभक्त आचार्य बाबुका सहयोगी र जागिरे समेत भई करिब ८–९ वर्षजति पाल्पामा बसेको देखिन्छ। त्यसैले मोतीरामले भानु  जीवनी लेख्दा वि.सं. १८९८ देखि १९०५ भित्र भानुभक्तले लेखेको फेला पारेनन्।

किनभने धनञ्जय आचार्य पेटका रोगी थिए र शूलको व्यथाले मृत्यु भयो भन्ने रम्घाली अनुश्रुति छ। पुष्करले पनि भानुभक्त सुरुमा बिरामी बाबुलाई सघाउन गएको र पछि जागिरे भएको बताएका छन्। बाबुराम आचार्यले पनि ‘पुराना कवि र कविता’ पुस्तकमा वि.सं. १९०२ मा पाल्पामा धर्मदत्त ज्ञवाली मेजरमा भर्ना हुनुअगाडि नै भानुभक्त आचार्य जागिरमा भर्ना भइसकेको उल्लेख गरेका छन्।  यता मोतीराम भट्टले पनि ‘कवि भानुभक्तको जीवनचरित्र’मा वि.सं. १८९८ मा बालकाण्ड लेखेपछि वि.सं. १९०५ सम्म  ‘गजाधर्सोतीकी घरबुढि...’ भन्ने बाहेक अरु कविता नपाइने बताएका छन्। यस सन्दर्भबाट भानुभक्त बाबुलाई सहयोग गर्न पाल्पा गएको र जागिरे समेत भएको बुझिन्छ। भानुभक्तले बिरामी बाबुलाई पाल्पाबाट काशी बनारस लगेको कुरा मोतीराम, शम्भुप्रसाद, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्यले उल्लेख गरेका छैनन्। तर, अन्य भानुभक्तका जीवनी लेखकहरूले ‘काशी पुगेपछि पौष वदि ५ रोज १ तिर धनञ्जयको मृत्यु भएको’ जानकारी दिएका छन्। सर्वप्रथम २००५ कात्तिक १५ को नेपाल शिक्षामा प्रकाशित ‘भानुभक्तीय रामायण कविकै हस्तलिपिमा’ भन्ने लेखले यो जानकारी दिएको छ। त्यस लेखमा भानुभक्त आचार्यले मणिकार्णिका घाटमा धनञ्जय आचार्यको देहान्त भयो भनी छोरा रमानाथलाई पठाएको चिठी भानुभक्तीय रामायणभित्रै रहेको उल्लेख गरेको छ। पुराना पात्राहरू हेर्दा यो पौष वदि ५ रोज १ भन्ने मिति वि.सं. १९०४ पौष १३ गते परेको देखियो। यसको गणना के कसरी गरियो भन्ने कुरा २०७० फागुन १० गतेको गोरखापत्रको ‘भानुभक्तको कुमारी चोक र धनञ्जयको मृत्यृ’ भन्ने यस पंक्तिकारको लेखमा देखिन्छ। त्यसैले वि.सं. १९०४ मा काशी प्रस्थान नगरुन्जेल धनञ्जय आचार्य पाल्पामा शिवशंकर वा दिननाथको घरमा डेरा गरी बसेका र भानुभक्त पनि त्यहीँ रहेको पुष्टि हुन्छ। मोतीराम भट्ट, बाबुराम आचार्य र पुष्कर अथक रेग्मीको लेखन तथा चुँदीरम्घाली अनुश्रुतिलाई संश्लेषण गर्दा भानुभक्त आचार्य बाबुका सहयोगी र जागिरे समेत भई करिब ८–९ वर्षजति पाल्पामा बसेको देखिन्छ। त्यसैले मोतीरामले भानु  जीवनी लेख्दा वि.सं. १८९८ देखि १९०५ भित्र भानुभक्तले लेखेको फेला पारेनन्।  

मोतीरामले वि.सं. १८९८ मा भानुभक्तले बालकाण्ड लेखिसकेको बताएका छन्। यस काण्डभित्र दरबारी भाषाशैली (बक्सियोस्, हुकुम, अधिराज आदि) र पाल्पाली भाषिकामा प्रयोग हुने नामयोगी (थ्यैँ, थैँ, अचेल, थिम्) को देखिन्छ। चुँदीरम्घा र काशीमा बस्ने–पढ्ने भानुभक्त दरबारिया भाषाशैली र नेपाली भाषाको पाल्पाली भाषिकामा पाइने नामयोगी कतै सुने पनि प्रयोगमा अभ्यस्त हुनलाई भने पाल्पामै बसेको हुनुपर्छ। वि.सं. १९९० पछि  भानुभक्त काशीबाट पढेर पहाड आए भनिन्छ। यता पाल्पाको प्रशासक दरबारिया नै हुन्थ्यो। कर्णबहादुर बानियाँ क्षत्रीको विद्यावारिधि शोध प्रबन्धको प्रकाशित कृति ‘पाल्पा गौँडा ः एक ऐतिहासिक अध्ययन’ (२०६३ः३९–४०) अनुसार वि.सं. १९९० देखि १९९८ सम्म बख्तियार सिंह थापा, रणवीरसिंह थापा, रणदल पाँडे, सिंहवीर पाँडेहरू पाल्पामा प्रशासक बनेका देखिन्छन्। यस समयमा धनञ्जय आचार्य यिनै दरबारियाको मातहतमा बसी काम गर्थे। भानुभक्तले वि.सं. १८९८ पूर्व पाल्पामा बाबुसँग बसेर दरबारिया भाषाशैली र पाल्पाली नामयोगीमा अभ्यस्तता नबढाएको भए बालकाण्डमा दरबारिया भाषाशैली र पाल्पाली नामयोगीको प्रयोग भेटिने थिएन। तसर्थ, भानुभक्त र पाल्पाबीच आवतजावत र सम्पर्क लामै समय भएको देखिन्छ।  

बाबुराम आचार्य (२०६२ः८४) ले प्रशासक कृष्णबहादुर राणा भानुभक्त आचार्य र धर्मदत्त ज्ञवालीसँग प्रशन्न भएर यिनीहरूको कदर गरेको उल्लेख गरेका छन्। त्यसैले भानुभक्त र धर्मदत्तबीच घनिष्ठता पाल्पादेखि नै प्रारम्भ भएको देखिन्छ। यसबाहेक दिननाथ भानुभक्तका मीत समेत भएकाले दिननाथका छोरा छविलाल नेपाल (जन्म: १९०५) सँग अर्को किसिमको सम्बन्ध गाँसिन पुगेको छ। वि.सं. १९१० मा रिडीमा धर्मदत्त ज्ञवालीले छोरा बोधराज ज्ञवालीको व्रतबन्ध गर्दा भानुभक्तले गायत्री मन्त्र सुनाएका थिए। यसरी पाल्पासँग भानुभक्तको जागिरे सम्बन्ध, गुरुशिष्यको सम्बन्ध र मितेरी सम्बन्ध समेत रहेको छ।  

पुष्कर अथक रेग्मीको पुस्तक ‘अग्रदूत’मा ‘मितेरी सम्बन्ध भएका कारण छविलाल नेपाल १८–१९ वर्षको उमेरमा भानुभक्तसँग चुँदीरम्घा पढ्न गएको तर घरायसी समस्या परी पढाइ अधुरै छाडेर पाल्पा फर्कनुपरेको’ उल्लेख छ। यिनको भनाइ अनुसार त भानुभक्त आचार्य छविलाल नेपालका मीतबाबु हुन्। साथै, भानुभक्त जागिरमा मधेसतिर लाग्दा वा पाल्पा छोड्दा भने छविलाल दुई वर्षका थिए। छविलाल भानुभक्तसँग पढ्न दोस्रोपल्ट चुँदीरम्घा गएका थिए तर भानुभक्तको देहान्त भइसकेको हुँदा पढ्दै नपढी पाल्पा फर्किए। छविलालबाहेक चुँदीमा अन्य मानिस पढ्न गएको भेटिन्न। छविलाल पनि मितेरी नाताका कारण भानुभक्तसँग पढ्न गए भनिएको छ। पहिलोपल्ट थोरै समय भानुभक्तसँग पढेर पाल्पा गएका छविलालले मीतबाबुको कवित्व संस्कार बोकेर गएछन्। त्यसैले उनले लेखेका छन्–

‘भाषा श्लोकमहाँ सिपालु अघि खुब् श्रीभानुभक्तै थिया।  
सो ओस्ताज् बिति गै गया र पछि ता जान्ने छविलाल् भया।।’

यसरी आदिकवि भानुभक्त, पाल्पा र छविलाल नेपालबीच भौतिक र भावनात्मक सम्बन्ध रहेको देखिन्छ।

प्रकाशित: २९ असार २०७७ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App