२१ फाल्गुन २०८० सोमबार
विचार

सेतीको संकेत

माछापुच्छ्रेको ठीक फेदमा रहेको छ खोर्चन डाँडा। पोखरा सहर अथवा साराङकोटबाट हेर्दा खोर्चनको दायाँपट्टि सेती नदी र बायाँ (उत्तर) पट्टि मर्दी खोलाको खोंच पर्छ। संसारकै सबैभन्दा रमणीय स्थल मानिन्छ अन्नपूर्ण हिमालको काखमा रहेको गुरुङ (तमु) जातिको ये थलो।

खोर्चन डाँडाको टुप्पामा पुग्न पोखराको ह्याङ्जा पार गर्दै रिभान गाउँहुँदै कस्सिएर दुई दिनको उकालो हिंड्नुपर्छ। टुप्पाबाट फैलिएको पोखरा उपत्यका, गणेश र गोरखा हिमालदेखि अन्नपूर्ण हिमालको शृंखला र धेरै तल भुसुनाजस्ता जोमसोमतर्फ लागेका हवाईजहाजहरू देखिन्छन्।
यस्तो रमणीय ठाउँमा पनि भौगोलिक उत्सुकताका कारण अन्नपूर्ण-४ को फेदतर्फबाट पोखरा उपत्यका झर्दाे सेती खोलाको खोंचतर्फ आँखा भने जान्छ।
भूगोल
धेरै शताब्दीअघि एउटा भीमकाय पहिरोले भीषण बाढी चलायो। अन्नपूर्ण-४ र माछापुच्छ्रेबीचको उच्च 'बेसिन' मा सुरु भएको त्यही ऐतिहासिक बाढीको बाटो गत शनिबार बिहानको विध्वंसकारी बाढीले पछ्याएको थियो।
त्यो अतीतको बाढीको वेगले उच्च हिमालमा थुप्रिएको चट्टान, ढुंगा, गिट्टी, बालुवा र माटो त्यतिबेलाको पोखरा उपत्यकालाई पुरै छोप्ने गरी उतारिदियो। सेतीले ल्याएको ढुंगाको ३०० फिट अग्लो रासले सेती नदी खोंच पुरिदियो र एउटा बडेमानको फाँट निर्माण हुनपुग्यो। त्यही प्रकोपको कारण नेपालका अन्यत्रका पहाडी क्षेत्रभन्दा पोखराले अर्कै बान्की लियो। पहिलाका पहाड टुप्पा र भन्ज्याङहरू आज फाँट माझका होचा टापू बन्न पुगे। त्यही भौगर्भिक पोखरेली सम्पदालाई आज ढुंगा उत्खनन् र प्लटिङले ध्वस्त बनाउँदैछ।
त्यतिबेला छेउछाउका पाखाबाट झरेका खोलाहरूको बाटो रोकिए र रूपा, वेगनास र फेवाताल बन्न पुगे। अनि ढुंगागिट्टीको त्यो पोखरेली पठारलाई सेती, विजयपुर तथा अन्य खोलाले समयक्रममा कटान गर्दा त्यस उपत्यकाको मौलिक तरेली परेको भूबनोट निर्माण भयो। यसै कारण पनि अन्य खोलाले जस्तो नगरी 'भर्टिकल' कटान गर्दै सेती नदी पोखरा सहरको भूगर्भबाट बग्छ।
पोखरा उपत्यकालाई यसरी आकार दिने एक जुगअघिको त्यो बाढीको बाटो खोर्चन डाँडाबाट प्रष्ट देखिन्छ। हिमालबाट झर्दै गरेको सेतीका दुई किनारामा तख्ता तख्ता परेका पाखाहरू पोखरातर्फ लम्कँदै गरेको पाइन्छ। अर्कोतर्फ रहेको मर्दी खोलामा भने त्यस्तो तख्ता पाईंदैन।
भूगर्भविद् नभईकन पनि धेरैअघिको बाढीको बाटो त्यही हो भन्न सकिन्छ। त्यही खोंच गरी आयो शनिबार बिहानको 'पहाडे सुनामी', जसको खारपानीमा विध्वंस नेपाली नागरिकहरूको मोबाइल फोन र भिडियो क्यामेरामा अंकित भएर अखबार, टेलिभिजन र यु-ट्युबद्वारा तुरुन्तै विश्वभरि प्रस्तुत भयो।
बसोबास
यस क्षेत्रको भौगोलिक उत्पत्तिको आफ्नै महत्व छ। यही क्षेत्र र आसपासमा तमु भाषा, संस्कृति र सामुदायिक पहिचान हुर्कियो। भनिन्छ, केही हजार वर्षअगाडि उत्तरपूर्वबाट दक्षिणपश्चिम हाँकिएको एक समुदाय कालीगण्डकीको खोंच काटेर यो स्वर्ण भूमिमा आइपुग्यो। एउटा 'बेयुल' जहाँ मौसम सुन्दर छ, हिमालैमुनि हराभरा सांग्रिला! आधुनिक युगमा समग्र यो भेग संसारकै प्रथम पर्यटकीय थल बन्न पुग्यो।
संसारको कुनै ठाउँलाई आर्थिक भौगोलिकीकरणले अछुतो राखेन र यो खोर्चन डाँडामै पनि साबित भएको छ। यहाँका धेरै गुरुङ परिवार पोखरा, काठमाडौं र विदेश बसाइँ सरिसके। डाँडामा घर टहरा रित्ता छन्, कति खण्डहरमा परिणत हुँदैछन्। अनगिन्ती पुस्ताले खेती गरेका कान्लाहरू उजाड छन् र शताब्दीयौंपछि जंगलले फेरि अधिकार जमाउँदैछ। सायद, यी घरटहरा र करेसाबारी सम्हालेका केही परिवार आज पूरै बसाइँ सरेर बेलायतका सहरहरूमा बस्दा हुन्। पुराना कान्लामा लंगुर र कालिजको आवतजावत छ।
खोर्चन डाँडा र आसपासमा आज अन्यत्र पहाडबाट आएका परिवारहरू पनि भेटिन्छन्। गरिब बाहुनहरूले माछापुच्छ्रेछेउ रहेको मर्दी हिमालको फेदैसम्म ठेक्कामा भैँसी र भेडीगोठ चलाएको पाइन्छ। डाँडामा 'डेमोग्राफी' चलायमान छ भने फेदमा पनि यही अवस्था देखियो। यो भेगका धेरै मूलवासी पोखरा सहर र अन्यत्र सरेका छन् भने अन्यत्रका यहाँ आएका छन्।
तल्लो भेगका राईहरूले कामको खोजीमा शेर्पाहरूको थलो उपल्लो सोलुखुम्बुमा होटेल र रेष्टुरेन्ट चलाउन उकालो लागे जस्तै गरी अन्यत्रका जातजाति सेती किनार आइपुगे। शनिबारको त्रासदीपश्चात्को मरणको सूचीले पनि हामीलाई यही बताउँछ। काठमाडौं उपत्यकाभन्दा पूर्व थातथलो रहेका तामाङ र भुजेल परिवार पनि सेतीमा आएको बाढीको सिकार बने।
जता जे प्रकोप पर्दा पनि आजभोलि मरणको सूचीमा हामी सिंगो नेपाल भेट्टाउँछौं। मिथिलाका सांस्कृतिक जुझारुबीच रामानन्दचोक जनकपुरमा १८ वैशाखमा बम पड्काइँदा मारिने र घाइतेहरू माझको विविधतामा हामी यो पाउँछौं। द्वन्द्वकालमा सेनासँगको भिडन्तमा मारिने माओवादी अथवा माओवादीको आक्रमणमा मारिने सुरक्षाकर्मीको सूची हेर्नुस्, सिंगो नेपाल त्यहीँ पाइन्छ।
माडी बम ब्लास्टमा हत्या हुने होस् वा दोरम्बामा सेनाको गोलीबाट मारिने, सबैतिरका नागरिक त्यहाँ पाउनुहुन्छ। बस दुर्घटनाको नावली हेर्नुस्; को मुसलमान, को मधेसी, जनजाति, दलित, सुदूरपश्चिमेली, पर्वते त्रासदीमा कहालीलाग्दो समावेशीपन पाउँछौं।
कालापहाड
सेती नदीको शनिबारको बाढीबाट हामीले धेरै नखोतलीकनै पनि केही सन्देश टिप्न सक्छौँ। के नेपालको भौगोलिक, आर्थिक, ऐतिहासिक, भूराजनीतिक, सांस्कृतिक तथा बसोबासीय अवस्था हामी नागरिकले पर्याप्त बुझेका छौँ त? विशेषगरी भविष्यको रेखा कोर्न भनेर संविधान बनाउन बस्दा नागरिक-नागरिक, नागरिक-राज्य तथा जनमानस-प्रकृतिबीचको सम्बन्ध हामीले बु‰न कोसिस गरेका छौँ कि छैनौं? विधिशास्त्र, संविधानवाद, प्राकृतिक विज्ञान, समाजशास्त्र, संस्कृति र मनोविज्ञानका आयाम बुझेर संविधान लेखनमा लागेका हौँ कि विभिन्न लहडको सँगालोका रूपमा हाम्रो नयाँ संविधान निर्माण हुँदैछ?
यसो हेर्दा सुझबुझ बिना कुरा अगाडि बढ्दैछ, नत्र तराई-मधेसलाई अलग प्रान्त बनाएर पहाडको धनबाट किन मधेसी नागरिकलाई वञ्चित गर्न खोजिँदैछ? मिश्रित बसोबासको वर्तमान वास्तविकताविपरीत किन संविधान लेखनमा पहिचानमा आधारित प्रान्तले प्राथमिकता पाउँदैछ?
वैज्ञानिक संघीयताले सिंगो राज्यलाई बलियो बनाउँछ र लोकतन्त्रको आगमनको फाइदा लिएर बल्ल 'नेपालको फाइदा नेपालीले पाउँछ' भन्ने आशा जागेको बेला अस्वाभाविक संघीयताले त्यो हात परिसकेको सम्भावना च्यूत गरिदिने जोखिम छैन र?
संविधानलेखनको अन्तिम क्षणमा, यो स्तम्भकार जानेसम्मको भूगोल, अर्थतन्त्र, राजनीतिक उत्पत्ति, बसोबास तथा समृद्धिको सम्भावनालाई हेरेर यति चाहिँ दोहोर्‍याउनै चाहन्छ :
१) शासकीय स्वरुपमा प्रतिनिधिसभा सार्वभौम भएको संरचनाले मुलुकको विविधता समेट्छ, निरंकुशतालाई एक हात पर राख्छ, खुला समाजद्वारा समृद्धिको सुनिश्चितता गर्छ। गाउँ, जिल्ला र प्रान्तको 'निर्वाचक मण्डल' बाट चुनिएका राष्ट्रपति तथा सदनप्रति उत्तरदायी प्रधानमन्त्री नै हिमाल, पहाड, तराई/मधेशका नागरिकको लागि सर्वश्रेष्ठ पद्धति हो।
२) संघीयताको विषयमा अर्थ-भौगोलिक दृष्टिले उत्तर-दक्षिण फैलिएको प्रभावशाली प्रान्तले मात्र समावेशी समृद्धिको सुनिश्चितता गर्छ। पहिचानमा आधारित संघीयता आलंकारिक हुन जान्छ, सीमान्तकृत समुदायको अग्रगमनमा भाँजो हाल्छ, र काठमाडौं केन्द्रित शासकलाई नै प्रभावशाली बनाइदिन्छ।
हरेक घटना, दुर्घटनामा खोज गर्दा केही सन्देश, केही सुझाव प्राप्त गर्न सकिन्छ। सेती नदीको शनिबारको भेलको गडगडाहट तथा अबोध नागरिकको मरण पनि अपवाद रहेन। हाम्रो धर्ती र बसोबासलाई अध्ययन गरौँ, त्यसमा गर्व गरौँ र सीमान्तकृतलाई समृद्धि दिलाउने संविधान लेखौँ।
जुन शासकीय स्वरुप र जुन संघीयताले नेपाली नागरिकलाई भारत, खाडी र मलेसियाको कालापहाडमा नभई आफ्नै गाउँ-सहरमै समृद्धि दिलाउँछ, त्यही राम्रो।

प्रकाशित: २९ वैशाख २०६९ ००:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App