विकास, समृद्धि र शिक्षा प्राप्तिका लागि धेरै प्रकारको अभ्यास र प्रयोग गरिएको छ । मानवजातिले हरेक वर्षजसो नै आफ्नो गुण र विचारमा परिवतर्न गरिरहेको हुन्छ । जसमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ । जहाँ र जहिल्यै पनि न केही नयाँ ज्ञान र सीप आर्जन गरिरहेको हुन्छ । मानिसहरू ज्ञान र सीपआर्जन गर्नका लागि मानव सभ्यताको विकास सँगै कहिले गुरु थापेर त कहिले गुरुको कुटीमा बसेर शिक्षा प्राप्त गर्ने चलन रहेको पाइन्छ । यसको क्रमिक विकास हुँदै जाँदा हालका विद्यालय तथा विश्वविद्यालयको स्थापना भएको हो ।
सन् १८०० को दशकतिर विद्यालय तथा विश्वविद्यालयमा सबै विद्यार्थीको पहुँच पुग्न नसकेकाले तत्कालीन अवस्थाका विद्यालय र विश्वविद्यालयले हुलाकमार्फत पत्राचार विधिबाट विद्यार्थीलाई अध्ययन गराई शिक्षा दिइन्थ्यो, दीक्षित गरिन्थ्यो । प्रविधिको विकास र गुणस्तरीयतामा वृद्धि भएसँगै सन् १९०० को दशकमा रेडियोबाट दूर शिक्षा सेवा सुरुवात भएको थियो । सन् १९१९ मा विस्कन्सिन विश्वविद्यालयका प्राध्यापकले एउटा रेडियो स्टेसनको सुरुवात गरे, जुन शैक्षिक प्रसारणमा समर्पित इजाजत प्राप्त पहिलो रेडियो स्टेसन बन्यो । प्रविधिको क्षेत्रमा क्रमिक सुधार हुँदै गयो । सन् १९३० मा आयोवा विश्वविद्यालयले टेलिभिजनबाट शैक्षिक कार्यक्रमहरू प्रसारण गर्न थाल्यो ।
सन् १९६७ मा जनतालाई शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले शैक्षिक तथा मौलिक कला र संस्कृतिसम्बन्धी रेडियो र टेलिभिजनहरू स्थापना गरियो, जसबाट धेरै ज्ञान र सीप हासिल गर्न सकेकोमा मानवजातिले हर्षित महसुस गरे । सन् १९८२ वेस्टन वेहेविहर साइन्स इन्सच्युटले कम्प्युटरको माध्यमबाट मानिसलाई दुर शिक्षा प्रदान गर्न थालेको थियो । सन् १९८९ मा फिनिक्स विश्वविद्यालयले इन्टरनेटको माध्यमबाट शिक्षा प्रदान गर्न सुरु गरेको पाइन्छ । सन् १९९८ मा अनलाइन शिक्षाको सुरुवात न्युयोर्क युनिभर्सिटी, वेस्टर्न गभर्नर युनिभर्सिटी क्यालिफोर्निया भर्चुअल युनिभर्सिटी र टाडेन्ट युनिभर्सिटी बाट भयो । यसको क्रमिक विकास र सुधार हुँदै आजको फेस टु फेस गरेर पढ्न र पढाउन मिल्ने खालको प्रविधि विकास भएको हो ।
विद्यालयको भूमिका
प्रविधिको विकाससँगै अनेकौं सम्भावना लिएर आएको अनलाइन शिक्षालाई प्रभावकारी बनाउन विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ । अलाइन शिक्षा प्रदान गर्न कुन एप्स प्रयोग गर्ने हो, सोको यकिन गरी अभिभावक तथा विद्यार्थीलाई सो चलाउन आवश्यक पर्ने प्राविधिक ज्ञान दिन आवश्यक छ । हाल बजारमा विभिन्न एप्सहरू सशुल्क वा निःशुल्क पाइन्छन् । जस्तै : जी स्विट, एमएस टिम, जुम मिटिङ आदि । दैनिक विद्यालय सञ्चालन गर्दाको समयमा जस्तो हुबहु नक्कल गरेर पाठ्यक्रम निर्माण गर्न थालियो भने यो अनलाइन शिक्षा निष्क्रिय हुन पुग्छ । अनलाइन शिक्षाका लागि छुट्टै प्रकारको पाठ्यक्रम निर्माण गर्नुपर्छ, जसले गर्दा विद्यार्थीमा सकारात्मक प्रभाव देख्न सकिन्छ ।
पाठ्यक्रम निर्माण गर्दा बालबालिकाको रुचि र उनीहरूलाई हौसला प्रदान गर्ने खालको हुनुपर्छ । लामो र समय बर्वाद गर्ने खालका पाठ्यक्रममा विद्यार्थीको ध्यान जाँदैन । रोचक तथा रमाइला प्रस्तुतिहरू दिँदै पढाउन शिक्षक शिक्षिकाहरूलाई प्रेरित गर्नुपर्छ । किताबका पाठ्य सामग्रीहरूको भरमा कक्षा सञ्चालन गर्न दिनुहुँदैन । कक्षा सञ्चालन गर्दा आवश्यक पर्ने शैक्षिक सामग्रीहरूका रूपमा घरभित्र तथा वरपर भएका सामग्री प्रयोगमा ल्याउनुपर्छ । बालबालिकाको सर्वांगीण विकासका लागि खेल महत्त्वपूर्ण हुन्छ । घरमा परिवारका सदस्यहरूसँग मिलेर खेल्न सक्ने खालका मोटर स्किल लर्निङसँग सम्बन्धित खेलहरू हरेक दिन पाठ्यक्रममा समावेश गर्नुपर्छ । घरमा बसेर गर्न सकिने क्रियाकलापहरू तथा समसामयिक घटनाहरू समावेश गर्नुपर्छ ।
दैनिक कार्यतालिकामा योगा तथा अन्य शारीरिक अभ्याससँग सम्बन्धित कसरतहरू राखिनुपर्छ, जसले गर्दा घरभित्र सानो—सानो ठाउँमा पनि सजिलै अभ्यास गर्न सजिलो हुन्छ । पढ्ने–लेख्ने खालकाभन्दा सिक्ने र सिकाउने खालका पाठ्य सामग्रीहरू समावेश गरिनुपर्छ । त्यस्तै, जे शिक्षा दिइन्छ, त्यस्तै पाठ्यक्रम निमार्ण गरेर बालबालिकालाई सिकाउनुपर्छ र सोही आधारमा विद्यार्थीको मूल्यांकन गरिनुपर्छ । किताबमा मात्र सीमित भएर मूल्यांकन गर्नुहुँदैन ।
शिक्षकको भूमिका
अनलाइन शिक्षामा शिक्षकको अहं भूमिका हुन्छ । पाठ्यक्रमको कार्यान्वयन गर्दा सिर्जनात्मक ढंगबाट विद्यार्थीसामु प्रस्तुत गरिनुपर्छ । शिक्षकको हाउभाउबाट विद्यार्थीहरूलाई अध्ययन तथा विषयवस्तुतर्फ आर्किर्षत गर्नुपर्दछ । बोल्दा नरम र बिस्तारै बिस्तारै टेलिभिजनमा समाचार वाचन गरे जस्तो गरी बोल्नुपर्छ । एक अर्कामा बोले जस्तो छिटो छिटो बोल्दा आवाज प्रस्ट नसुनिने र बालबालिकाले बुझ्न सक्दैनन् । किताबमा भएका र अन्य मौलिक सिर्जनात्मकताको प्रयोग गरी दैनिक कक्षा सञ्चालन गर्नुपर्छ । शिक्षकले पाठ्यक्रममाअनुसारको घरभित्र वा वरपर उपलब्ध हुने शैक्षिक सामग्रीहरू प्रयोग गर्नुपर्छ । शैक्षिक सामग्रीहरूमा भान्साकोठा, सुत्ने कोठा, बैठक कोठा तथा त्यहाँ उपलब्ध हुने वस्तु तथा सामग्रीहरूको उपयोग गर्नुपर्छ । झ्याल, ढोका, भर्याङ, छत सबैलाई शैक्षिक सामग्री बनाउन सकिन्छ । शिक्षकले प्रस्तुतिहरू दिइरहँदा एकोहोरो बोलिरहनु उपयुक्त हुँदैन । बालबालिकासँग हरेक ५—५ मिनेटमा दोहोरो संवाद गर्नुपर्छ । उनीहरुले विषयवस्तु बुझे–नबुझेको यकिन गर्नुपर्छ । सिकाइलाई प्रभावकारी बनाउन आफ्नो अनुहार तथा कपडामा कार्टुनका चित्रहरू समावेश गरी अध्यापन गराउँदा बालबालिकाहरू झन् आकर्षित हुन्छन् । अनलाइन कक्षामा विद्यार्थीहरू आउन र सहज तरिकाले बस्न करिब दुई हप्ताको अवधि लाग्ने भएकाले उक्त समय अवधिमा बालबालिकाहरूलाई डराउने, अनावश्यक प्रश्नहरू सोधने कार्य गर्नुहुँदैन ।
अभिभावकको भूमिका
बन्दाबन्दीको अवस्थामा बालबालिकाहरू घरबाहिर साथीसँग हिँडडुल गर्न नसक्ने भएकाले अभिभावकको भूमिका विशेष हुने गर्दछ । अभिभावकले उनीहरूसँगै नाच्ने, गाउने, खेल्ने, समसामयिक वा मौलिक कथा र कविता वाचन गर्ने, कसरतहरू गर्नुपर्छ । यस समयमा अभिभावक कुनै बन्द व्यापार वा जागिरमा नजाने भएकाले सम्भव भएसम्मका दैनिक कामहरू गरेर बालबालिकाहरूलाई देखाउनुपर्छ । जस्तै ः घरभित्र वा बाहिरको सरसफाइ, कौसी खेती, सामान्य मर्मत सम्भार । अभिभाकहरू पनि व्यस्त भएको भान बालबालिकामा पर्नु आवश्यक हन्छ । बालबालिकारूलाई दैनिक रुपमा शरीरको सरसफाइ गरी विद्यालय जाने समयको जस्तै फरक—फरक लुगाहरू लगाइदिनुपर्छ, हातमुख सफा गरी सुन्दर बनाएर मात्र अनलाइनकक्षामा सहभागी गराउनुपर्छ । यसो गर्दा बालबालिकालाई विद्यालय जान लागेको महसुस हुन्छ । बालबालिकाको नजिक बसेर लामो समयसम्म फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गर्नुहुँदैन । त्यस्तै, लामो समयसम्म समय व्यतीत गर्ने गरी भिडियो कलहरू गर्नु राम्रो बानी होइन । यस्ता गतिविधिमा अभिभावक क्रियाशील हुँदा बालबालिकाले अभिभावकबाट समय नपाएको र आपूm अपहेलित भएको महसुस गर्छन् । अभिभावकले बालबालिकाहरू अनलाइन कक्षामा बसेको समयमा वरपर अनावश्यक हल्ला वा पारिवारिक सरसल्लाह नगर्ने, कक्षामा भिडियो र अडियो दुवैबाट एकसाथ कक्षा भइरहने हुनाले सबैको माझमा पारिवारिक वातावरण के कस्तो रहेछ भन्ने कुराहरू तथा गोप्यताहरू भंग भई बाहिरिने सक्नेतर्फ सजक हुनुपर्छ । बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराएर नजिकैको बेडमा सुत्नु पनि राम्रो होइन । यो गतिविधि देखेर बालबालिका अल्छे हुन सक्छन् ।
विद्यार्थीको भूमिका
पाठ्यक्रमलाई धेरैभन्दा धेरै उपयोगी बनाउन खोजमूलक क्रियाकलापमा ध्यान दिनुपर्छ । साथीसँग अनावश्यक च्याट गरेर समय खेर फाल्नुहुँदैन । घर परिवारको बाध्यात्मक परिस्थितिको मूल्यांकन गर्नुपर्छ । अनलाइन कक्षामा दैनिक विद्यालयमा उपस्थित भई लिएको कक्षाभन्दा केही फरक हुने भएकाले
अवसरको खोजी गरिरहनु पर्दछ । दैनिक सफा र सुन्दर भएर अनलाइन कक्षामा सहभागी हुनुपर्छ । नबुझेका प्रश्नहरू च्याट गरी वा सोझै शिक्षकलाई सोधनुपर्दछ । लामो समय घरभित्र बसेको हुनाले अनलाइन कक्षामा बस्न केही समय असहज हुने भएकाले पुरै समय कक्षामा बस्ने कोसिस गर्नुपर्दछ । गृहकार्यहरू दैनिक विद्यालयगए भन्दा फरक र शैक्षिक सामग्रीहरू पनि घरभित्र वा वरपर पाइने सामग्रीहरू हुने भएकाले सहज तरिकाले यसको उपयोग गर्नुपर्छ । किताबका पाठ्य सामग्रीहरू इन्टरनेटमा पनि उपलब्द हुने भएकाले यसको भरपुर सदुपयोग गर्नुपर्दछ । कक्षामा बस्ने समयभन्दा बाहेकको समयलाई टेलिभिजन, मोबाइल वा इन्टरनेटका सञ्जालहरूमा व्यस्त हुनुको सट्टा अभिभावकहरूसँग विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गरेर, आफ्नो परम्परा रीतिरिवाज, चाडबाडबारे छलफल गरेर र अभिभावकहरूसँग कसरत वा अन्य शारीरिक अभ्यासहरू तथा खेलहरू खेलेर दैनिक घरभान्साको काममा सघाएर बिताउनुपर्छ । यस्तो खालको समय अन्य बेलाबखतमा मिल्नेछैन भन्ने कुराको हेक्का राख्नुपर्छ ।
मूल्यांकन
अनलाइन शिक्षा लिइरहँदा यसको मूल्यांकन कसरी गरिन्छ ? परीषा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आमचासोको विषय बनेको छ । हामी शैक्षिक सत्र हेरफेर गर्न सक्दैनौं भने निर्धारित समय अवधिभित्र नै अध्यन गरेको कक्षाका विभिन्न चरणका परीक्षाहरू पार गर्दै वार्षिक परीषा दिनुपर्ने हुन्छ । अनलाइनबाट नै परीक्षाहरू सञ्चालन गर्नुपर्छ ।
तर, सामान्य परिस्थितिमा जस्तो प्रश्नहरू सोध्नुहुँदैन । हाजिरीजवाफका जस्ता प्रश्नहरू, सही उत्तरमा चिनो लाउने जस्ता ज्ञानबद्र्धक प्रश्नहरू धेरै समेटिनुपर्दछ । प्रश्नहरूका लागि गुगल फर्म, एमएस फर्म, र अन्य एप्सहरूको प्रयोग गर्नुपर्दछ । शिक्षकले पर्दामा प्रश्नहरू देखाइदिने र निर्धारित समयमा विद्यार्थीले लेखेको उत्तरपुस्तिका शिक्षकसमक्ष पेस गर्न लगाउनुपर्दछ । शिक्षकले विद्यार्थीलाई निरन्तर उत्प्रेरणा दिनुपर्दछ ।
निष्कर्ष
हरेक चुनौतीहरू सम्भावना बनेर आउने भएकाले यसको खोजी गर्नुपर्दछ । यो बन्दाबन्दीको अवस्थाले आगामी दिनमा विद्यालयलाई प्रविधिमैत्री बनाउनेछ । किताब र कापीहरू बोक्न नसक्ने झोला बोकेर विद्यालय जाने बालबालिकालाई अनलाइनबाटै गृहकार्य दिने, शिक्षकलाई पेस गर्ने र आवश्यक सुझावहरू आदनप्रदान गर्न सकिन्छ । किताबहरू इ–बुकमा परिणत हुने छन्, जसले गर्दा समयमा नै पाठ्य पुस्तक हातमा नपर्ने, आधा वर्षसम्म पाठ्य पुस्तकबिना नै पढ्नुपर्ने समस्याको अन्त्य हुनेछ । अभिभावकसँग विद्यार्थीबारे आवश्यक सल्लाह र सुझाव आदनप्रदान गर्न विद्यालयमा नै उपस्थित हुनुपर्ने प्रथाको अन्त्य हुनेछ । योग्य शिक्षकशिक्षिकाहरूले जागिरको खोजीमा विद्यालयमा नै गई ९ बजेदेखि ४ बजेसम्म बसेर पढाउने व्यवस्थामा कमी आउनेछ । अनलाइन स्कुलहरूको स्थापना हुनेछन् । विदेशी शिक्षकशिक्षिकाहरूले पनि अध्यापन गराउन सुरु गर्नेछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम सभा समारोहहरूमा कमी आउनेछ । यी र यस्ता सबै कार्यहरूमा अनलाइन प्रविधिको प्रयोग आगामी दिनमा बढेर जानेछ ।
(लेखक काठमाडौं युरो स्कुलका संस्थापक अध्यक्ष हुन् ।)
प्रकाशित: २९ जेष्ठ २०७७ १०:५१ बिहीबार