२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml
विचार

लकडाउन समयको लापरबाही

गत १० माघमा पहिलो कोरोना भाइरस संक्रमण पहिचान भएयता मंगलबारसम्म नेपालमा ८२ जनालाई यो घातक रोगको आक्रमण भइसकेकोछ । १६ जना निको भएका छन् भने अन्य उपचारकै क्रममा छन् । विश्वभर यो महामारीले पैतीस लाख भन्दाबढी मानिसलाई संक्रमित गरेको छ भने २ लाख ४० हजारभन्दा धेरै जनाकाे मृत्यु भइसकेको छ । 

यो भाइरसको फैलावट रोक्न चैत ११ देखि समग्र देश लकडाउनमा छ । यसरी ४३ दिनदेखि उद्योग, कलकारखाना, विद्यालय, सरकारी तथा निजी कार्यालय, यातायात ठप्प छन् । कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउनले उल्लेख्य भूमिका पनि खेलेको छ । मानिसदेखि मानिसमा भाइरस सर्ने भएकाले सामाजिक दूरी कायम गर्न, भीडभाड कम गर्न र रोग सर्न सक्ने सम्भावना निस्तेज गर्न लकडाउनको भूमिका सबैभन्दा महत्वपूर्ण छ ।

लकडाउनको कठिन उपाय यो संक्रामक रोग रोकथामको अल्पकालीन रणनीति मात्र हो । यस रणनीतिले कुनै एक ठाउँमा रहेका संक्रमित मानिसबाट अन्य धेरैमा सर्ने अवसर दिँदैन । लकडाउनले संभावित महामारीको उत्कर्षलाई पछाडि धकेलेकोछ । संक्रमणलाई यसले समाप्त पारेको छैन र पार्दैन । यो अवधिमा राज्यले  भाइरस रोकथाम, उपचार र सम्भावित फैलावट रोक्न युद्धस्तरमा काम गर्नुपर्ने हो । विश्वका अधिकांश मुलुकले यो अवधिलाई परीक्षण, उपचार, संक्रमितको नजिकमा रहेकाहरूको पहिचान, आइसोलेसन र क्वारेन्टाइनमा राख्न उपयोग गरेकाछन् । भाइरस नियन्त्रणसँगै यसको पुनः संक्रमण देखिनसक्ने भएकाले प्रभावकारी निगरानी संयन्त्र स्थापना र निरन्तरतामा ती देशले जोड दिएकाछन् । 

हाम्रा परिप्रेक्ष्यमा लकडाउनले राज्यलाई दिएको अवसरको उचित र प्रभावकारी सदुपयोग भयो÷भएन समीक्षा गर्नुपर्ने विषय बनेकोछ । यो अवधिमा आफ्ना स्वास्थ सेवा प्रणालीलाई चुस्त पार्न, विश्वसनीय परीक्षणका लागि पर्याप्त कीट व्यवस्था गरी परीक्षणको आकारलाई बृहत् पार्न र लकडाउनबाट देश बाहिरिँदा गर्नुपर्ने तयारी र भविष्यमा फैलन सक्ने संक्रमणलाई निगरानी गर्न आवश्यक संयन्त्र तथा संरचना बनाउन अपेक्षित काम हुन सकेको छैन । सरकारको गति र कार्यदिशा हेर्दा अलमल र अन्योल देखिन्छ । यो सुखद विषय होइन ।  

एकातिर हामी कोरोना भाइरसविरुद्ध देश युद्धमा छ भनेका छौँ तर युद्धकालीन तयारी छैन । यो अदृश्य शत्रुसँग लड्ने हाम्रो रणनीति र कार्यदिशा र एवं इमानदारी कस्तो रह्यो, समीक्षाको विषय बनेको छ र यसले हामीलाई अबको बाटो देखाउन सहयोग पुग्नेछ । 

लकडाउनको प्रभावकारी कार्यान्वयन प्रयास भइरहँदा छिमेकी मुलुक भारतबाट चोर बाटो हँुदै ठूलो संख्यामा नेपाली छिरेकाछन् । उनीहरूको पहिचान र कोरोना परीक्षणको गति सुस्त छ । उनीहरूलाई देश आउने अधिकार छ, तिनको स्वास्थ्यलाई ध्यानमा पनि राख्न सक्नुपर्छ । हाल भाइरस संक्रमणको अधिकांश बिरामी तराई क्षेत्रमा रहेकाले यो क्षेत्रमा युद्धस्तरमा रोकथामका प्रयास हुन जरुरी छ । भाइरस परीक्षणको विश्वसनीय विधि पिसिआर प्रविधि आवश्यक पर्ने रसायनहरूयो क्षेत्रका अस्पतालमा पर्याप्त नभएका समाचार आइरहेकाछन् । 

यसरी एकातिर प्रयोगशालाका लागि आवश्यक कच्चा पदार्थ अर्थात् रियाजेन्टको अभाव खट्किँदो छ भने अर्काेतिर भेटिएका संक्रमितको समुचित ढंगले कन्ट्याक्ट ट्रेसिङ र धेरै भन्दा धेरै परीक्षण गर्न सकिएकोछैन । यसो हुँदा लकडाउनले खोजेको उद्देश्य पूरा हुन सकेको छैन । अर्काेतिर नेपाल–भारतको खुला सिमानाका कारण लुकिछिपी नेपाल भित्रिने क्रम जारी रहनु अर्काे चिन्ताको विषय हो । सुरक्षा संयन्त्र र आमनागरिकले मिलेर काम गर्न सके मात्र यसको व्यवस्थापन हुन सक्छ । यो हेलचेक्र्याइँ गर्ने विषय होइन । अन्यथा, हाम्रा लकडाउनमा रहने दिन झन् लम्बिने छन् । 

बढी जनघनत्व तथा बाक्ला बस्ती भएका तराईका सहरहरूमा यो भाइरसको फैलावट भएमा स्थिति भयाबह हुन्छ । नारायणी अस्पताल वीरगन्जका प्रमुख डा. मदन उपाध्यायले भनेझैँ परीक्षणको दायरा नबढाउने हो भने लकडाउनले अपेक्षित फाइदा दिनेवाला छैन । उनले प्रदेश नं. २ मा परीक्षण र उपचार दुवै सन्तोषजनक नभएको सोमबार नागरिकसँग भनेका छन् र यो अत्यन्त महत्वपूर्ण विषय हो । 

लकडाउनको छैटौँ साता सकिँदा प्रतिकार्यले गति लिन नसक्नु र न्यूनतम काम हुन नसक्नुमा को जिम्मेवार छ ? प्रतिकार्यका नीति र योजना कसरी बन्दैछन् र यो समग्र प्रक्रियाको स्वामित्व र जवाफदेही कसैले लिएको छ वा छैन ? विचारणीय छ । मन्त्रालयमा हुने बैठक र गठन भएका विभिन्न समिती र अन्य समूहका हिसावले धेरै काम हुनुपर्ने हो । तर बैठक भन्दा पनि आमजनसाधारणले खोजेको विषय प्रभावकारी रणनीति, कार्ययोजना, त्यसको कार्यान्वयन, अनुमगन र यसले दिने परिणाम हो । 

यसैगरी अर्काे महत्वपूर्ण पक्ष भनेको लकडाउन खोल्नेबित्तिकै खाडी राष्ट्र, भारत तथा तेस्रो मुलुकमा लाखाँै नेपाली फर्कँदा उनीहरू परीक्षण तथा ट्रयाकिङ गर्ने सयन्त्र के हुने हो त्यसमा गृहकार्य गर्न जरुरी छ । चीनको वुहानमा पनि हाल बाहिरबाट फर्केकाहरूमा संक्रमण देखिएको छ । सिंगापुरमा आप्रवासी कामदारहरू फर्कँदा संक्रमण बढेकोछ । नेपालमा पनि यस्ता आप्रवासी समूहको वरिपरिबाट संक्रमण फेरि फैलियो भने त्यसको रोकथाम र प्रतिवाद कसरी गर्ने भन्नेमा ध्यान दिन जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा महामारीले विकराल रूप लियो भने जवाफदेही को हुने स्पष्ट किटान हुनुपर्छ र जवाफदेहिताले प्रतिकार्यलाई प्रभावकारी र चुस्त पार्नेछ । 

स्थानीय स्तरमा समुदायको परिचालन विपद् व्यवस्थापनको महत्वपूर्ण कडी मानिन्छ । तालिम प्राप्त जनस्वास्थ्य कार्यकर्ताको टिम र संयन्त्र,  स्थानीय सरकारको सक्रियता, स्वयंसेवी दस्ताहरूको गठन तथा सक्रियताले महामारी रोकथाम र व्यवस्थापनलाई प्रभावकारी पार्न सक्छ । फेरि पनि अन्तमा जोड दिनुपर्ने र दोहो-याएर भन्नुपर्ने कुरा परीक्षण हो । पछिल्ला दिनमा विभिन्न कारणले परीक्षणको संख्या घटेकोछ र यो दुःखद हो । भाइरस नियन्त्रणको प्रभावकारी र सजिलो उपाय व्यापक परीक्षण हँुदाहँुदै पनि यो वा त्यो कारणले परीक्षण बढाउन सकिएन भन्नु तर्कसंगत हुँदैन । यो हाम्रो नियन्त्रण बाहिर गयो भने परिणाम नियन्त्रण बाहिर हुन्छ र भयाबह पनि । 

नेपालमा पिसिआर परीक्षण हालसम्म मात्र साँढे १३ हजार हुन सकेको छ । यो दायरालाई बढाउन सकेमात्र हामी ढुक्क हुन सक्ने अवस्था आउँछ । यो परीक्षणको दायरा बढाएर आउने परिणाम र तथ्यांकका आधारमा मात्र हामीले संक्रमणको वास्तविक स्थिति थाहा पाउन सक्छौँ र भविष्यमा महामारीले कस्तो रूप लेला भनेर प्रक्षेपण गर्न सकिन्छ । थोरै परीक्षणले समग्र नतिजा र स्थितिलाई प्रतिनिधित्व गर्दैन । लकडाउन पुनः थप्ने विषयमा हाल चर्चा भइरहेको अवस्थामा परीक्षणलाई व्यापक बनाएर, सीमा क्षेत्रमाकडाइ गरेर र लकडाउनबाट बाहिर निस्कने व्यावहारिक र वैज्ञानिक रणनीति तथा कार्ययोजना अगाडि बढाउन आवश्यक छ । छोटो समयमा धेरै काम नगर्ने हो भने हामीलाई कोरोना भाइरसको दलदलबाट निस्कन गाह्रो पर्नेछ । 

प्रकाशित: २४ वैशाख २०७७ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App