४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
विचार

वामदेवका लागि प्रधानमन्त्री मृगतृष्णा

सत्तासीन नेकपाभित्रको असन्तुष्टि शनिबारसम्म उत्कर्षमा पुगेको जस्तो देखिए पनि पार्टी सचिवालयको बैठकपछि मत्थर भएको सन्देश प्रवाह भएको छ।  बैठकमा के के विषयमा चर्चा भए, त्यसको विस्तृत जानकारी आइसकेको छैन्। यद्यपि मत्थर गरिएका विषय भने बाहिरिएका छन्। प्रम केपी शर्मा ओलीले अहिलेसम्म कहिल्यै नगरेको आत्मालोचना गर्नुभयो रे। दोस्रो समस्याका सूत्रधार बनेका वामदेव गौतमलाई भावी प्रधानमन्त्रीका लागि मार्ग तय गर्न सहमति जनाउनुभयो रे। जे होस्, छलफलबाट तत्कालको समस्या समाधानसहित निष्कर्ष निकाल्न नेकपा सफल भएको छ। कार्यान्वयन कहिले हुने हो, भविष्यको गर्भमा छ तर नेकपामा तत्कालको संकट भने टरेको छ। 

समस्यालाई आफैँले उठान गरेर त्यसको समाधान पहिचान गर्न सक्नु प्रम ओलीको चतुर्‍याइँ हो। दोस्रो पटक मिर्गाैला उपचारका लागि फागुनको तेस्रो साताको सोमबार  प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनु एक दिनअगावै ग्रान्डी अस्पताल पुगेर दुर्घटनामा घाइते माले महासचिव सिपी मैनालीलाई भेट्न पुगेका थिए। सिपी दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए। माओवादीसँग मिलेर नेकपाका अध्यक्ष बनेका ओलीले कुनै बेला सिपीलाई पार्टी एकीकरणका लागि छेउ पर्नसमेत दिएका थिएनन्। मैनाली एक्लै माले पार्टी चलाएर बसेका छन्। सिपीलाई भेटेर ओलीले आफूलाई उच्च संवेदना भएको राजनीतिज्ञका रूपमा प्रस्तुत गरिरहँदा वामदेवका बारेमा पार्टी सचिवलायको निर्णयलाई बेवास्ता गर्दै अस्पताल पुगेका थिए। परन्तु तत्कालीन समयमा वामदेवलाई राष्ट्रिय सभामा मनोनित गरेका भए अहिलेको संकटले यो रूप धारण गर्ने थिएन्। अहिलेसम्म संसद चलेको हुने थिएन्।

सबैजना संसद् अधिवेशनको पर्खाइमा हुने थिए। वर्तमान महामारीका बीच संसद् अधिवेशन सुरु भएपनि बजेटको तयारीमा अघि बढ्ने थियो। बजेटप्रति विपक्षीको आलोचना र आक्रमणको प्रतिरक्षामा सत्तापक्षका सासंदलाई भूमिका निर्वाह गर्न नैतिक बाध्यताको अवस्था रहन्छ। त्यतिञ्जेल राजनीतिक कोर्सले नयाँ नयाँ अध्याय पार गरिसकेको अवस्था हुनेछ। वामदेवलाई संविधान संशोधन गरेर प्रम बनाउने विषयले शायद संसद्मा प्रवेश नै पाउन सक्ने संभावना रहँदैनथ्यो। विपक्षीले त्यसै पनि उक्त विषमा असन्तुष्टि जनाइरहेका नै छन् र थिए। प्रक्रियागत तवरबाट संविधान संशोधन गरेर वामदेवलाई प्रम बनाउन हुन्छ वा हुँदैन् भन्नेबारे बहस जारी रहन्थ्यो। हुने वा नहुने भन्ने विषयमा नेकपाभित्रको कित्ताकाटको राजनीति रूपान्तरण भएको अवस्थामा रहन्थ्यो भन्न सकिन्छ। सिपीलाई भेट्न पुगेर उदार बनेका प्रम ओली कुनै बेला सिपीसँगै पछिल्लोपटक माले पार्टी बनाएर पुनः माउ पार्टी एमालेमा फर्किइ वर्तमानमा नेकपासम्मको सहयात्री बनेका वामदेव गौतमको सन्दर्भमा भने अनुदार बनिदिए।

ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न फागुन तेस्रो साता अस्पताल भर्ना भए। डिस्चार्ज भैरहँदा पार्टीभित्रको उक्त कोर्स नयाँ अध्यायमा पुगेको थियो। नागरिक सहानभूति भने प्रम ओलीको पक्षमा प्रकट भएको थियो। प्रतिपक्षदेखि सबैले उनको स्वास्थ्यलाभको कामना गरे। सम्भवतः प्रत्यारोपण भइसकेपछि नेकपाका उच्च तहका नेताहरू भेट्न अस्पताल पुगे तर पार्टी उपाध्यक्ष गौतम पुगेनन्। किनकि वामदेवलाई आफ्नाविरुद्ध गरिएको निर्णयले उनलाई प्रम अस्पताल भेट्न जान सकेनन्। बालुवाटारमा स्वास्थ्यलाभ गरिरहेका प्रमले आफ्ना पक्षमा राजनीतिक माहोल बनेको अनुभव गरिरहँदा यही बीचमा कोरोनाको संक्रमणले देश लकडाउनमा पुग्यो। मिडियाका अनुसार त्यहीबीचमा बालुवाटारको ग्रायन्ड डिजाइनमा अध्यादेश र संसद् अपहरणसम्मको खेल भयो। गौतमकै कारण पार्टी अध्यक्ष हुँदै वर्तमानमा ओली प्रधानमन्त्री बन्न सफल रहे। तर यतिबेला गौतमप्रति फेरि प्रम ओली उदार प्रकट भएका छन्। उदार र अनुदार हुँदै यसपटक फेरि गौतमप्रति उदार प्रकट हुन पुगेका छन्। गौतमलाई पार्टी उपाध्यक्ष बनाए पनि उनको हैसियत के भन्ने कुरालाई प्रधानमन्त्री ओलीले व्यवहारमा पटक पटक प्रकट गरेका पनि छन्। त्यसो त उपाध्यक्ष बनेका वामदेव पार्टी एकता बखत बनेका हैनन्।

गौतमलाई मात्र नभएर आफ्नाविरुद्ध मोर्चा कसेका सबैलाई ओलीले आफू पद्मशमशेर नभएर चन्द्रशमशेरकै हैसियतमा सत्ता चलाउन काबिल छु भन्ने स्पष्ट सन्देश प्रवाह गरेका छन्।

दुई अध्यक्षबीचको शक्ति सन्तुलनका लागि निगाहमा बनेका हुन्। प्रम ओलीले आफ्नाविरुद्धको षडयन्त्रलाई निस्तेज पार्न यसपटक फेरि गौतमलाई कार्ड बनाएर संकटलाई एकतामा रूपान्तरण गर्न सफल भएका छन्।  गौतम यसपटक फेरि तासको तुरूप जस्तै प्रयोग भएका छन्। त्यसले उनको सार्वजनिक छवि महत्वाकांक्षी र अडान नभएका नेताका रूपमा परिणत भएको छ। कुनैबेला निडर र निर्भिक नेताको पहिचान बनाएका नेता गौतम पछिल्ला अस्थिर खेलका कारण पदका आशक्त नेताका रूपमा परिचित हुन पुगेका छन्। त्यसो त कुनै बेला माधवकुमार नेपाल कांग्रेससहितको नेतृत्वको सरकारका प्रधानमन्त्री बनेका बेला सडकबाट नेपालको राजीनामा माग्ने नेता पनि गौतम हुन्। यो स्तम्भकारसँग २०७२ सालमा कारोबार दैनिकका लागि अन्तर्वार्ता लिन पुग्दा नेता नेपालले भनेका थिए– वामदेव जस्तो अस्थिर र अरुको गोटी बन्ने व्यक्ति कहिल्यै प्रधानमन्त्री बन्न सक्दैनन्। आफ्नो सत्ता बहिगर्मनका लागि पार्टीभित्रबाट निर्वाह गरिएको भूमिकाका बारेमा त्यस बखत नेपालले तीक्त अनुभव प्रकट गरेका थिए। 

यतिबेला माधव नेपाल उनकै निवासमा पुगेर बैठक गरेको भए पनि आफ्नाविरुद्ध गरिएको त्यो ताण्डव कसरी बिर्सिए होलान् ? अन्तरमुखी स्वभावका नेता माधव नेपाललाई नजिकबाट संगत गरेका नेताले भनेका थिए– सार्वजनिक गरिएका सवाल भन्दा नगरिएका सवालमा परिणाम निकाल्न र आफ्ना पक्षमा माहोल बनाउन सक्ने क्षमता माधव नेपालमा छ। यसपटकको खेलमा पनि परिणाम त्यस्तै देखिन आएको छ। माधव नेपाललाई निर्णय प्रक्रियामा पर्गेल्दै आएका प्रम तथा पार्टी अध्यक्ष ओलीले माधव नेपालको भूमिका आत्मसात् गर्न बाध्य भएका छन्।  यसपटक फेरि आफ्नै पार्टीका प्रधानमन्त्री ओलीको राजीनामा माग्ने खेलमा माधव नेपालको पालामा जस्तै वामदेव फेरि सहभागी र सक्रिय देखिए। त्यसले जनतामा गौतम महत्वाकांक्षी व्यक्ति नै हुन् भन्ने बुझाइ पर्न गएको छ। गौतमले कुनैबेला पार्टीले छोइछिटो बारेको अवस्थामा तत्कालीन राजा ज्ञानेन्द्रकहाँ पुगेर दसैँको टीका थापे। त्यो पनि उनको मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) बन्ने गुप्त आकांक्षाकै उपज थियो तर उनी राजाको विश्वासपात्र बन्न भने सकेनन्।

त्यसपछि उनै गौतम माओवादीहरूसँग सामीप्य भएर राजनीतिमा आफ्नो हैसियत कायम गराउन लागिपरे। २०६३ अघि लोकेन्द्रबहादुर चन्दको सरकारमा गृहमन्त्री रहँदा उनले नै आतंककारी विधेयक ल्याएर माओवादी आन्दोलन निस्तेज पार्न चाहेका थिए। त्यसैले गौतम पद र प्रतिष्ठाका लागि अस्थिर बनिरहेका पात्र हुन् भनेर बुझ्दा अन्यथा नहोला। उनको अस्थिरता यसपालि फेरि प्रकट हुन पुग्यो। जसरी ज्ञानेन्द्रले उनको चाहना बुझेर पनि सिद्ध हुन दिएनन्, ओलीले पनि ठीक त्यसैगरी गत फागुनमा उनको आकांक्षालाई निस्तेज पारिदिए।  ओलीले आयातित टेक्नोक्रेट मन्त्री युवराज खतिवडालाई गौतमविरुद्ध ढाल बनाए। राष्ट्रियसभा सदस्य हुँदै मुलुकको सर्वोच्च कार्यकारी पदसम्म पुग्ने गौतमको चाहनालाई उनले निष्प्राण सावित गरिदिए। प्रम ओलीले पार्टी सचिवालयले गरेको निर्णयसमेत लागु गरेनन्। फागुन २० भित्रै मन्त्रिपरिषद्ले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि सिफारिस गर्नुपर्ने भए पनि त्यसो नगरी प्रधानमन्त्री अस्पताल हिँडेपछि गौतमको चाहना केटाकेटीको खेलजस्तै बन्न पुगेको थियो। 

गौतम नेपालको सत्ता इतिहासबारे पटक–पटक अनभिज्ञ देखिएका छन्। जसरी राणा प्रधानमन्त्री चन्द्रशमशेरका मुख्तियार रहेका मोहनशमशेरले रोलक्रमअनुसार पद्मशमशेरलाई श्री ३ मा विराजमान् गराए र अस्वाभाविक तरिकाबाट पदच्युत गराएका थिए, त्यही शैलीमा गौतमलाई अघि ल्याएर ओलीलाई पदच्युत गराउने खेल वर्तमानमा पनि चल्न पुग्यो। तर उक्त सत्ता इतिहासबाट प्रम ओलीले शिक्षा लिएको जस्तो देखिएको छ। किनकि पद्मशमशेरका मुख्तियार रहेका कृष्णशमशेरको तत्कालीन निवास तथा वर्तमान राष्ट्रपतिको कार्यालय शीतल निवासलाई साक्षी राखेर चालेका कदमले उनी त्यो घटना र सत्ताको इतिहासबारे अपडेट भएको अनुमान गर्न सकिन्छ। प्रम ओलीलाई सत्तामा प्रगाढ तुल्याउने केही सीमित पात्रमध्ये एक हुन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा (प्युठान पुत्र) सूर्य थापा। वामदेवको पैत्रिक स्थल प्युठान नै हो। बालुवाटारमा वामदेवको अस्थिर खेलका कमी÷कमजोरी औल्याउने पात्र उनै थापा नहोलान् भन्न सकिँदैन्।

त्यसैले इतिहासका घटनाबारे धेरथोर जानिफकार ओलीले आफ्नो कार्यकालमा इतिहासको पुनरावृत्ति नहोस् भनेर सचेतता अपनाएको बुझ्न कर लागेको छ। जे÷जसरी भएपनि यस पटकको संकट प्रम ओली मत्थर बनाउन सफल भएका छन्। मन्त्री खतिवडालाई निरन्तरता दिएर वामदेवलाई पाखा लगाएका ओलीले फेरि बामदेवलाई मन्साएर र संकटमोचन गरेका छन्। ओलीको उखान टुक्काको भाषामा भन्ने हो भने जुन आगोले पोल्यो त्यही आगोले सेक्न उनी सफल भएका छन्। गौतमलाई मात्र नभएर आफ्नाविरुद्ध मोर्चा कसेका सबैलाई ओलीले आफू पद्मशमशेर नभएर चन्द्रशमशेरकै हैसियतमा सत्ता चलाउन काबिल छु भन्ने स्पष्ट सन्देश प्रवाह गरेका छन्। फागुनमा अस्पताल जानुअघिको भिडियो सन्देशमा होस् वा शुक्रबार सार्वजनिक गरिएको कवितामा त्यो सन्देशको छनक पाइन्थ्यो। ओलीविरुद्ध मोर्चा कसेर प्रतिनिधिसभामा पराजित बामदेवको चोर बाटोबाट भए पनि कार्यकारी प्रमुख बन्ने सपना फागुनमा निस्तेज भएको थियो। शनिबारको सचिवालय बैठकले उनको निस्तेज सपनालाई फेरि ब्युँताएको छ। बामदेवका लागि प्रमको पद मृगतृष्णा जस्तै भएको छ। यसपटक फेरि प्रधानमन्त्री ओलीले गरेका प्रतिबद्धता बामदेवका लागि विगतमा जस्तै ‘माछो–माछो भ्यागुतो’ नहोला भन्ने के ग्यारेन्टी ?

यही सन्दर्भमा भारतीय इतिहास स्मरण गर्नु उचित होला। प्रधानमन्त्री इन्दिरा गान्धीले सत्ताको शक्ति–उन्मादमा सन् १९७५ मा संकटकाल लगाइन्। त्यसपछि भएको निर्वाचनबाट सन् १९७७ मा मोरारजी देसाईको नेतृत्वमा सरकार बन्यो। उक्त सरकार बीचमै ढलेपछि जयप्रकाश नारायणले सम्भावित प्रधानमन्त्रीको नयाँ अनुहार खोजी गरिरहँदा समाजवादी नेता जगजीवन रामलाई भेटका लागि दिल्ली बोलाएछन्। जयप्रकाश नारायण त्यसबेला भारतीय राजनीतिका धरोहर थिए। उनी दिल्लीको दिनदयाल मार्गस्थित ‘गान्धी पिस फाउन्डेसन’मा बस्थे। पटक–पटक मन्त्री भएका राम प्रधानमन्त्रीबाहेक अन्य मन्त्रालय सम्हालेका अनुभवी राजनीतिज्ञ थिए। उनी दलित थिए। जयप्रकाशका स्वकीय सचिवलाई रामलाई प्रधानमन्त्री बनाउने निर्णय मन परेको रहेनछ। राम बोलावट भएको समयमै गान्धी पिस फाउन्डेसन पुगेछन्। तर स्वकीय सचिवले जयप्रकाश आराममा रहेको र कोही आए पनि नबोलाउनू भनेको भनी बहाना गरिदिए। घन्टौँ कुर्दासमेत जयप्रकाशलाई भेट्न नपाएपछि उनी फर्किए। पछि जयप्रकाशले सोध्दा पनि सचिवले उनलाई कोही भेट्न नआएको भनी ढाँटिदिए। यो सुनेर जयप्रकाशलाई रामप्रतिको विश्वास उड्यो। सोचे– बोलाउँदा त नआउनेले प्रधानमन्त्री बनेपछि झन् के टेर्ला ?

उनले चौधरी चरण सिंहलाई प्रधानमन्त्री बनाए। आजीवन समाजवादी कित्तामा रहेका राम इमानदार र आज्ञाकारी हुँदाहुँदै पनि स्वकीय सचिवको दुर्नियतले गर्दा प्रधानमन्त्री हुन पाएनन्। गौतमको हकमा पनि संयोगले त्यस्तै घटना पुनरावृत्त भएको अनुमान गर्न सकिन्छ। किनकि गौतम प्रधानमन्त्री भएको देख्न नचाहनेहरू बालुवाटारका कर्ताधर्ता छन्। गौतमले पटक पटक पार्टी नेताहरूलाई लगाएको गुनका कारण यसपटक प्रधानमन्त्री ओलीपछिको रोलक्रममा पर्न अपनाएको जुक्ति उनीहरूलाई मन परेको छैन्। त्यसैले जयप्रकाश नारायणका स्वकीय सचिवजस्तै बालुवाटारका कर्ताधर्ताहरूले फेरि पनि गौतमलाई पन्छाउन भूमिका निर्वाह नगर्लान् भन्न सकिँदैन्।  

प्रकाशित: २३ वैशाख २०७७ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App