७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

मेरी आमा अर्थात् संघर्षको कथा

आमा र बुबाको मुख हेर्ने दिनको बाल्यकालको सम्झना मलाई अहिले पनि मीठो लाग्छ। बाआमालाई भेट्न फुपूहरू आउनुहुन्थ्यो। फुपूहरू आउँदा सँगै आउने फलफूल, मिठाई, चकलेट, बिस्कुट र भाइबैनी–रमाइलो लाग्थ्यो। बाआमाले दिनभरि पालैपालो सबै छोरीले ल्याएका कपडा लगाउने, ममीले पकाएको आलुचाना र ढकनी खाएर मनाइने यो चाडले मलाई बाल्यकालको स्मृतिमा लैजान्छ।बाल्यकालमा मनाएको आमाको मुख हेर्ने दिन र अहिले हामीले मनाउने आमाको मुख हेर्ने दिनलाई स्मरण गर्दै यो कोरोनामय वातावरणमा भेट्न नपाएपनि यसपटक ममीलाई यसरी सम्झिन चाहन्छु।

(हजुरबुबा–हजुरआमालाई बा आमा भन्ने र आफ्ना जन्मदिने बाबुआमालाई बाबा–ममी भन्ने बानीले यस आलेखमा मैले मेरो बोलीचालीको भाषा नै प्रयोग गरेकी छु।) नेपाल प्रहरीमा जागिर खाने मामाले बैनीहरूलाई पढाउनुपर्छ भने पनि ५ कक्षापास गरेपछि पढ्न अलि टाढा जानुपर्ने भएकाले राई गाउँ नजिकको स्कुलमा छोरीलाई नपठाउने भनेर हजुरबुबाले त्यसभन्दामाथि पढाउनु भएन। २०१५ सालमा खोटाङको विजयखर्क गाविसको बसेरी भैरम्पुरमा जन्मनुभएकी ममी १४ वर्षको उमेरमा विवाह भई खोटाङकै लामीडाँडा पिपलचौर पुग्नुभयो। विवाह गर्दा बाबा १८ वर्ष पूरा भएर १९ वर्षमा हिँड्दै हुनुहुन्थ्यो रे। एसएलसी दिएर बसेकाबेला हजुरबुबाको जोडबलले विवाह भएको र विवाह पछि परिणाम(रिजल्ट)निस्किँदा पास भई आइए पढ्न बाबा महेन्द्र मोरङ क्याम्पस (विराटनगर) जानुभएछ। अनिदुई वर्षको पढाइ सकेर गाउँ नै फर्केर स्थानीय स्कुलमा पढाउन थाल्नुभएछ। ममीकाअनुसार विवाह गरेका सुरुका वर्षमा बाबाको स्वभाव अलि उरन्ठेउलो थियो, ममीलाई बाबाको भन्दा बाको बढी भर लाग्थ्यो।

१६ वर्षको उमेरमा ठूलो दिज्यू र ३२ वर्षको उमेरमा कान्छी बहिनी गरी हामी ६ छोरी जन्माएको त्यो शरीरको जाँगर, ऊर्जा र इच्छा–शक्ति देख्दा जो कोहीले उहाँको प्रशंसा गर्छन्। घरभरि वर्षैपिच्छेका ससाना छोरी, बाबा नोकरीको सिलसिलामा सधैं बाहिर, वस्तुभाउ, खेतीपाती भएको घरकी एक्ली बुहारी कामको कस्तो दबाब हुन्थ्यो होला !जतिपनि कामगर्न सक्ने,  जस्तोसुकै परिस्थितिमा पनि छोरीलाई भोकै, नाङ्गै र फोहोरी  नराख्ने, सबै काम एक्लै छिमल्ने केले बनेको छ, तिमीहरूको आमाको शरीर भनेर छिमेकी आमा, हजुरआमाले भन्नुहुन्थ्यो।एक रातमा एउटा स्वेटर बुनेर भोलिपल्ट लगाइदिने, हामीलाई घरबस्दा लगाउने जामा, समिज–कट्टु आफैँ सिलाउने, कपाल काट्नेदेखि गाउँभरि ककसलाई पिलो निस्किएको छ, फुटाउने जिम्मा ममीकै हुन्थो। हाम्रा खेतबारीसँग स्थानीय चौधरीका खेत जोडिएका थिए। घरनजिक जंगल नहुँदा गहुँ/धानबारीका आलीमा घाँस सिला खोज्नुपर्ने।

हामीले आमाका रूपमा यस्तो चौतारी पाएका छौं, जहाँ दुःखसुख, पिरमर्का, कुण्ठा, अप्ठ्यारा सबै बिसाएर डङ्ग्रङ लड्दा शीतल हावा शरिरभरि फैलन्छ।

घाँस काट्दाकाट्दै खेत–मालिक आइपुगेर डोको खोस्दा सँगै गएका साथी डरले भाग्ने, ममीचाहिँ चौधरीहरूसँग प्रतिवाद गरी आफ्नो मात्र होइन, साथीहरूको समेत घाँससहितको डोको फिर्ता ल्याउनुहुन्थ्यो रे। अहिले पनि ठूलममी/काकीहरूयस्ता कुरा गरेर विगत सम्झिनुहुन्छ। अर्को एउटा महत्वपूर्ण कुरा, अस्तित्वले प्रवाह गरिरहेको शुभ–अशुभ संकेत उहाँलाई बोध हुन्थ्यो।साथै उहाँमा धार्मिक स्वभाव र गहिरो आध्यात्मिक चेतना पनि थियो पहिल्यैदेखि। गाउँमा घरघरमा हुने अन्याय/अत्याचारविरुद्ध आवाज उठाउने, बूढाबूढीलाई अत्यन्तै सम्मान/प्रेम गर्ने, असहाय/गरिबप्रति करुणा, उहाँका विशेषता। बाटोमा लडेका मान्छेलाई अस्पताल पुर्‍याएर उपचारको प्रबन्ध गर्ने, नागरिकता नभएका वृद्धवृद्धा तथा असहायलाई नागरिकता बनाउन पहल गर्ने, महिला हिँसामा परेकालाई उजुरीका लागि प्रहरी कार्यालय पुर्‍याउनेजस्ता सामाजिक कामपनि गर्नु हुन्थ्यो उहाँ।आफ्ना जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्ने र कसैसँग नझुक्ने/नडग्ने, फरासिलो उहाँको स्वभाव अहिलेसम्म कायमै छ।बहिर्मुखी स्वभाव भएकाले घर र सीमित पेरिफेरीमा मात्र साँघुरिन नचाहने उहाँको बानी थियो।

घरमा कहिलेकाहीं बाआमासँग ठाकठुक पर्दा मैले पनि रगत–पसिना बगाएकी छु,  केही गल्ती भए सजाय भोग्छु, नभए हड्डी घोटेर यही घरमा बस्छु भनेर कडा प्रतिवाद गरेको केही सम्झना छ। बाबा नोकरीका सिलसिलामा कहिले धनगढी, कहिले इलाम,कहिले भोजपुर,वर्षमा एक/दुईपटक मात्र घर आउने, माइती पहाडमा, बर्सेनि जन्मिने छोरी, तीन/चार दसक अघिको तराईको गाउँ, छोरीछोरी जन्माउने बुहारी/महिलाप्रतिको गाउँ/समाजको दृष्टिकोण, आर्थिक अभाव, कडा बुहार्तन र खटनपटनभित्रको निस्सासिँदो जीवनबाट आत्तिएर कतिपटक त अब आत्महत्या गर्नुपर्‍यो भन्ने पनि सोच्नुभएछ। एकपटक त अब झुन्डिनुपर्‍यो भनेर घरपछाडि आँपको रूखमा डोरी बाँध्दै गर्दा एकपटक छोरीहरूको मुख हेरेर आउँछु भन्ने लागेछ र भित्र पस्दा ८वर्षदेखि ६ महिनासम्मका ४ छोरी सुतिरहेको देखेर यस्ता छोरी छाडेर मैले के गर्न आँटेकी भनी झस्किएर निकै बेर रुनुभएछ र अठोट गर्नुभएछ– ‘म मर्दिनँ, यिनै छोरीलाई हुर्काउँछु, पढाउँछु, यही घरमा संघर्ष गर्छु। सकिनँभने यत्तिको काम अन्य स्थानमा ज्याला/मजदुरी गरेर पनि आफू बाँच्न र छोरीहरूलाई हुर्काउन सक्छु।’ २३ वर्षको उमेरमा हामी४ छोरी जन्मिसकेका थियाैँ।

ममीलाई जीवनको संघर्षमा अगाडिबढ्न बाबाको निकै ठूलो नैतिक समर्थन थियो। परिवार र आफन्तको आशय बुझेर ममीले बाबालाई मबाट छोरा हुन सकेनन्,हजुर अर्को विवाह गर्नु भन्दा बाबाले आखाँभरि आँसु पार्दै तिमीबाटै जन्मिन्छन्, नभए मलाई छोरा चाहिँदैन, यी छोरी नै हाम्रा छोरा हुन् भन्नुभएको कुरा ममीले हामीलाई अहिले पनि सुनाउनुहुन्छ। परिवारबाट दोस्रो विवाहको कुरा आउँदा बाबाले सधैं नकारेको कुरा पनि ममीलाई आफन्तले पछि सुनाउँथे रे। धेरैजसो समय टाढा भएपनि बाबाले ममीलाई लेखेका चिठी अत्यन्तै प्रेमपूर्ण र हौसलाले भरिएका हुन्थे। छोरीको राम्रो हेरचाह गर, पढाऊ, तिनै हुन्–हाम्रा सम्पत्ति, केही समय संघर्ष गर, तिमीहरूलाई मरूखको फेंदमा लगेर भएपनि पाल्नेछु भन्ने भरोसा दिलाएका ती चिठी हामी अलिबुझ्ने भएपछि ममीले देखाउनुभएको थियो। बाबाले लेखेकाती चिठी ममीसँग अझै सुरक्षित छन्। संघर्षको पहाड छिचोलेर जीवनका ६२ वसन्त पार गरिसक्दा ममीको दिनचर्या बदलियो, तर सक्रियता उस्तै छ।

हामी यस अर्थमा भाग्यमानी छौँ कि आजसम्म हाम्री ममी हाम्रा लागिमात्र होइन, परिवारसँग जोडिएका जो कोहीका लागि एक सक्रियदाता हुनुहुन्छ।दिउँसो कार्यालयबाट के छ भन्नलाई फोन गर्‍यो, बेलुका पस न के खाजा बनाइदिऊँ भनेर सोधिहाल्ने, लगाएको राम्रो कुरो देखेर कति राम्रो लाउनुभएछ भन्यो,लगाऊ न त भनेर खोलिहाल्ने, जागिर खान/पढ्न/बालबच्चा सम्हाल्न भरोसाको केन्द्र नै हुनुहुन्छ।हामीले आमाका रूपमा यस्तो चौतारी पाएका छौं, जहाँ दुःखसुख, पिरमर्का, कुण्ठा, अप्ठ्यारा सबै बिसाएर डङ्ग्रङ लड्दा शीतल हावा शरिरभरि फैलन्छ। ०६२/०६३ को आनन्दोलनसम्म ममी र बाआमा तराईमै हुनुहुन्थ्यो। बाबाको नोकरी काठमाडौंमै थियो। हामी छोरी पनि यतै थियौं। मातातीर्थ औंसीमा गइँदैनथ्यो। त्यसपछि सबैजना यतै आउनुभयो। अनि मात्रै हामीले संयुक्तरूपमा यो चाड मनाउन थालेका हौं। जे पायो त्यही नलगाउने तथा नखाने, जीवनको संघर्ष क्रममा लागेको दृढ निश्चयी बानीले होला,ममीलाई मातातीर्थमा के उपहार दिने भन्ने कुरा हामी दिदीबहिनीका लागि केहीहप्ताको सोचनीय विषय बन्छ।

अगाडि देखिकै कुराकानीका आधारमा अप्रत्यक्ष रूपमा बुझेर उहाँ अर्थात् घरका लागि आवश्यक सामग्री उपहार दिइन्थ्यो, जुन देख्दा उहाँलाई लागोस् कि साँच्चै यो त चाहिएकै थियो। त्यो विचार नगरी लुगाफाटा बोकेर जाँदा त अनावश्यक खर्च र दुःख किन गरेको, चाहिएकै थिएन, मसँगै प्रशस्त छभन्ने कुरा सुन्नुपथ्र्याे। उहाँको जीवनको शब्दकोशमा ‘लिने’अपेक्षै छैन, ‘दिने’अभिलाषा मात्रै छ। नैतिकता, इमान्दारिता र सत्यवादिताले जितेको संघर्षको कथा हो–उहाँका विगत। लेख्ने विषय कति छन् कति! यीत प्रतिनिधि कुरा मात्रै हुन्। हिमाल जस्तै उच्च आत्मविश्वास, आकाशजस्तै फैलिएको करुणा, सागरजस्तै गहिरो चेतनाकी प्रतिमूर्तिलाई यस कोरोनामय समयमा आमामय केही हरफ उपहारस्वरूप अर्पण गरें।

प्रकाशित: ११ वैशाख २०७७ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App