१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोना जित्न सामूहिक पहल

विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोभिड–१९ को प्रभावबाट नेपाल पनि अछूतो रहेन। यो भाइरसको सामुदायिक विस्तार भइसकेको छ। सामुदायिक विस्तार रोक्न बन्दाबन्दी र अन्य विभिन्न निषेधात्मक आदेश जारी गरिएको अवस्थामा वीरगन्ज, रूपन्देही, धादिङ, बाग्लुङ, काठमाडौँ र कैलालीमा केही सङ्क्रमणका विवरण देखिएका छन्। नेपालमा कोरोना भाइरस संक्रमण र फैलनुको कारण दक्षिणी सीमाबाट अनधिकृत नेपाल प्रवेश र सङ्क्रमणको सम्भावना भएकाहरूको हेलचेक्र्याइँलगायत छन्।  

गत चैत ११ गतेबाट सुरु भएको बन्दाबन्दी जारी छ। कोरोना संक्रमणको अवस्था हेर्दा बन्दाबन्दीको समय अझै बढ्न सक्ने देखिन्छ। यो प्रभावकारी हुँदाहुँदै पनि पूर्ण वा पर्याप्त देखिएको छैन। यसको मुख्य कारण नागरिकको तहबाट यसको पूर्ण पालना नहुनु हो। कोरोना नियन्त्रण अभियानमा सरकारसँगै नागरिक पनि उत्तिकै जिम्मेवार भइदिएका भए नेपाल अहिलेसम्म कोरोनाबाट त्रसित हुनुपर्ने अवस्थामा पुग्दैनथ्यो। कोरोना संक्रमितको हेलचेक्र्याइँ, दक्षिणी नाकाबाट अनधिकृत प्रवेश र समयमै सरकारको पर्याप्त पूर्वतयारी नहुँदा संक्रमणका घटना बढ्दै गइरहेका छन्। यसले समाजमा संशय र त्रास उत्पन्न भइरहेको छ।  

यस्तो परिस्थितिमा आयातित र सामुदायिक विस्तार दुवै रोक्नु महामारीको जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो उपाय हो। यसको विकल्प छैन। सफल अभ्यासहरूले पनि त्यही देखाउँछ। महामारीलाई नेपालको स्वास्थ्य सेवाको क्षमताभित्रै कायम राख्नु अत्यन्त जरुरी छ। यो नै नेपालसामु उत्पन्न चुनौती हो।सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा परीक्षणको दायरा र गति पनि बढ्दै गएको छ। सबै दृष्टिकोणले नेपालको तथ्याङ्क दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा सापेक्षितरूपमा राम्रो छ। परीक्षण प्रभावकारी बनाउन ट्रेसिङ र ट्रयाकिङलाई पनि प्रभावकारी बनाउन आवश्यक छ।  मूलतः अहिलेको अवस्थामा आयातित सङ्क्रमण र सामुदायिक विस्तार रोक्ने कार्य विश्वसनीय बनाउन सही रणनीति तर्जुमा अपरिहार्य छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि ६ बुँदे ‘सिक्स टि’ रणनीति सार्वजनिक गरेको छ। यी रणनीति यात्रामा रोक, परीक्षण, पहिचान, उपचार र साथ छन्। मन्त्रालयको उक्त रणनीतिमा उल्लिखित ६ विषयमा स्रोत/साधन र ध्यान केन्द्रित गर्न आवश्यक देखिन्छ। सङ्कटको बेला रणनीतिको मुख्य पाटो नै स्रोत/साधन र श्रमको प्राथमिकीकरण हो। सम्भावित सङ्क्रमितको टेस्टिङ र सङ्क्रमणको लक्षण देखिएपछि वा टेस्टिङबाट पोजिटिभ नतिजा देखिएपछि मात्र दक्ष स्वास्थ्यकर्मीबाट उपचार हुन्छ। अहिले स्वास्थ्यकर्मी र स्वास्थ्य सेवासम्बन्धी संरचनाको क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने स्वास्थ्य सेवाको जनशक्ति रोकथामसम्बन्धी सुरक्षामा परिचालित छ। त्यसैले ६ बुँदे रणनीति कार्यान्वयनका लागि प्राथमिकता निर्धारण पहिलो आवश्यकता हो।  

यात्रामा रोक, पहिचान जस्ता सुरक्षात्मक कार्यमा स्वास्थ्यकर्मी होइन, स्थानीय तहको सक्रियतामा समुदाय र सुरक्षाकर्मी खटिनुपर्छ। यही नै आयातित सङ्क्रमणहरू र सामुदायिक विस्तार रोक्ने एउटै भरपर्दो उपाय हो। रणनीतिका साथै हिँड्ने पाटो पहिलो प्राथमिकतामा पर्नुपर्छ। स्वास्थ्य सेवा क्षमतामा चाप बढ्न नदिन सुरक्षासम्बन्धी रणनीतिको पूर्ण कार्यान्वयन जरुरी छ। सामान्य र सङ्कटग्रस्त अवस्थामा पुगेका राष्ट्रले पनि यही अभ्यास गरिरहेका छन्। सफल राष्ट्रलाई पनि सफलता यही विकल्पले दिएको हो। अहिलेसम्म कोरोना नियन्त्रणमा प्राप्त सफलताको आधार प्रहरी जवान र आमनागरिकको योगदान हो। नेपालको भविष्यको सफलता बन्दाबन्दीको सफल कार्यान्वयनमा निर्भर रहन्छ। गृहमन्त्रालयले बन्दाबन्दी कार्यान्वयनमा खेलेको भूमिका उचित छ। एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायमा जान नदिने आदेश जारी भएको छ। सरकारले सबैलाई अत्यावश्यक भन्दा बाहेक घरभित्रै बस्न भनेको छ।

यात्रामा रोक, पहिचान जस्ता सुरक्षात्मक कार्यमा स्वास्थ्यकर्मी होइन, स्थानीय तहको सक्रियतामा समुदाय र सुरक्षाकर्मी खटिनुपर्छ। यही नै आयातित सङ्क्रमणहरू र सामुदायिक विस्तार रोक्ने एउटै भरपर्दो उपाय हो।

आयातित सङ्क्रमण रोक्न सरकारले सीमा सुरक्षामा थप सुरक्षाकर्मी तैनाथ गर्न लागेको समाचार पनि आएका छन्। दक्षिण भारतको सीमावर्ती प्रान्तमा संक्रमणको आवृत्ति र गति बढ्दै जाँदा नेपालको सीमामा चाप बढ्ने निश्चित छ। लकडाउनकै अवस्थामा पनि सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम जारी छ। जतिसुकै ठूलो सङ्ख्यामा परिचालन गरे पनि सुरक्षाकर्मीको तैनाथीले मात्रै नेपाल भारतबीचको सीमा नियन्त्रण सम्भव हुँदैन। त्यसैगरी सुरक्षाकर्मी मात्रैको परिचालनबाट आन्तरिकरूपमा लकडाउन कार्यान्वयन र घरभित्रै रहन सरकारले गरेको आह्वानको परिपालना सुनिश्चित छैन। कुनै विश्वसनीय उपचार व्यवस्था आविष्कार हुने सम्भावना अहिलेको अवस्थामा देखिएको छैन। रणनीतिक सफलताको महत्वपूर्ण आयाम स्वास्थ्य सेवाको सफलताले होइन, सुरक्षात्मक उपायले निर्धारण गर्नेछ। त्यसैले नेपालमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र निर्मूल गर्ने कार्यका लागि सुरक्षात्मक व्यवस्था विश्वसनीय बनाउनुपर्छ।  

कोरोना भाइरसविरुद्ध लड्न सरकारले स्वास्थ्य सेवामा ५० हजार स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने निर्णय गरिसकेको छ। यो भविष्यमुखी प्रबन्ध हो जुन सकारात्मक छ। जति सङ्क्रमण फैलिँदै जान्छ, त्यति नै स्वास्थ्यकर्मीहरूको आवश्यकता र जिम्मेवारी बढ्दै जान्छ। स्वास्थ्यकर्मीको परिचालन सङ्क्रमण पत्ता लगाउन र उपचार गर्नका लागि हो। विकसित स्वास्थ्य प्रणाली भएका राष्ट्रहरूसमेत निष्प्रभावी भइरहेको वर्तमान अवस्थामा संरचनागतरूपमा र स्वास्थ्य क्षेत्रको क्षमताका हिसावले अहिले सुदृढ गरिने कार्यबाट मात्रै नेपालको स्वास्थ्य प्रणालीले सम्भावित महामारी थेग्न सक्छ भन्नु महाभूल हुन्छ। त्यसैले स्वास्थ्य संरचना र प्रणालीमा पर्न सक्ने भार नियन्त्रणका लागि सङ्क्रमण फैलिन नदिनु विवेकी र बुद्धिमानी हुन्छ। यो रोकथाम र नियन्त्रणमा रणनीतिगतरूपमा ध्यान केन्द्रित गर्ने बेला हो। महामारीको गहिराइमा पनि यसको विकल्प नभएको संसारबाट हामी सिक्न सक्छौँ।

आयातित सङ्क्रमणका स्रोतहरू पूर्णरूपमा बन्द गर्ने, व्यक्तिगत स्वास्थ्यको स्तरोन्नति गर्ने र सामाजिक दूरी कायम गर्नु अहिलेको आवश्यकता हो। यसका लागि स्थानीय तहहरूको भूमिका महत्वपूर्ण हुन्छ। हाल पाँचखाल, रूपाकोट, काठमाडौँको महाराजगन्ज आदि स्थानमा स्थानीय तहको सक्रियतामा समुदायको प्रभावकारी परिचालन भएको पाइएको छ। स्थानीयकै सक्रियतामा तराईका कतिपय गाउँमा स्थानीय लकडाउन गरिएका कार्य रोकथाम र नियन्त्रणमा सराहनीय छन्। कोभिड–१९ विरुद्धको लडाइँमा स्थानीयको भूमिका प्रभावकारी हुनुपर्छ। यिनै सफल अभ्यास हाम्रो सफलताका लागि भावी रणनीति र कार्यनीति निर्माणका आधार हुन्। सुरक्षात्मक कार्यमा स्थानीयलाई परिचालन गर्ने कार्य प्रभावकारी बनाउनु नै कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा सफलता प्राप्त गर्नु हो। 

सुरक्षाकर्मीहरूले गर्दै आएका कार्यलाई थप प्रभावकारी बनाउन समुदाय स्तरमा कोरोना सुरक्षा स्वयम्सेवक दस्ता परिचालन गर्नु आवश्यक छ। सङ्क्रमण व्यापक हुँदै गएपछि यो कदम चाल्न खोज्दा त्यसको प्रभावकारिता स्वतः न्यून हुनेछ। स्वयम्सेवक दस्ताले देहायअनुसारको जिम्मेवारी बहन गर्न सक्छ :  

- लकडाउन कार्यान्वयनका लागि समुदायकै स्थानीय स्वयम्सेवकबाट सुरक्षाकर्मीलाई सहयोग गर्ने। 
- स्थानीय स्वयम्सेवकले वास्तविक समस्या पहिचान गरी स्थानीय स्तरमा समाधान गर्ने।
- सुरक्षाकर्मीहरू पुग्न नसक्ने स्थानमा पनि स्वेच्छिकरूपमा परिचालित         स्वयम्सेवकहरूले स्थानविशेषमा रहेर लकडाउन कार्यान्वयन गर्ने/गराउने। 
- सुरक्षाकर्मीले कार्यान्वयन गर्दा आउन सक्ने नकारात्मक टिकाटिप्पणीमा ह्रास   ल्याई स्वस्फूर्त सहभागितामा लकडाउनको प्रभावकारिता वृद्धि गर्ने।
-  दैनिक उपभोग्य सामग्रीको व्यवस्था र वितरणलाई सहजीकरण गर्ने।
- स्वास्थ्य सेवा आवश्यक पर्ने व्यक्तिलाई सहज व्यवस्था गर्ने। 
-  कोरोनाबाट सुरक्षित रहन समुदायमा निरन्तर सचेतना फैलाउने कार्य गर्ने।
-  सुरक्षाकर्मीलाई अन्तर्राष्ट्रिय सिमाना पूर्णरूपमा बन्द गर्न थप बलका रूपमा कार्य       गर्ने। 
-  स्थानीय तह, जिल्ला वा प्रदेश तहको सीमा अनुगमन र आवतजावत नियन्त्रणमा सहयोग गर्ने।

अन्तर्राष्ट्रिय  सीमा नियन्त्रणको सफलतामा कोभिडविरुद्धको हाम्रो लडाइँ निर्भर रहन्छ।  भारतसँगको अन्तर्राष्ट्रिय सिमाना पूर्णरूपमा बन्द गर्नुपर्छ भन्ने आवाज जनस्तरबाट उठिरहेको छ। विश्वका शक्तिराष्ट्रले गर्न नसकेको सफलताको कथा निर्माण गर्नसक्ने सम्भावनाको सिंँढीमा अहिले हामी छौँ। सुरक्षा स्वयम्सेवक दस्ताको परिचालन तत्काल गर्न सकियो भने कोरोना निर्मूल गर्न सम्भव छ। यो अवसर गुमायौँ भने फेरि विश्व समुदायसामु हात थाप्ने विकल्प मात्रै हामीलाई बाँकी रहनेछ।जनघनत्व, अन्तर्राष्ट्रिय सीमाबाट निकटता र स्वास्थ्य जनचेतनाको स्तर आदिका कारण दक्षिणी सिमाना जोडिएका गाउँ/बस्ती नै यसबाट बढी प्रभावित हुने हुँदा स्थानीयको आफ्नै सुरक्षाका लागि पनि स्वयम्सेवकहरू सङ्गठित गरी परिचालित गर्नुपर्ने समय आएको छ। यसले आयातित सङ्क्रमण रोक्न तथा सामुदायिक विस्तार नियन्त्रणमा मियोको कार्य गर्नेछ।

स्वयम्सेवकहरूलाई थप प्रेरित गर्न विशेष किसिमको कोरोना सुरक्षा स्वयम्सेवक ‘राष्ट्रको सुरक्षामा खटिएको’ भन्ने किसिमको ड्रेस, जिम्मेवारीसम्बन्धी अभिमुखीकरण, सहभागी हुने र राम्रो काम गर्नेलाई प्रशंसापत्र एवम् पुरस्कारको व्यवस्था आदि गरी परिचालित हुन आह्वान गर्नुपर्ने बेला भएको छ। हामीले अहिलेसम्म कोरोना भाइरसविरुद्धको लडाइँमा राम्रो सफलता हासिल गरेका छौँ। रोकथाम र नियन्त्रणका लागि सरकारले राष्ट्रिय स्तरमा विभिन्न रणनीति निर्माण गरी कार्यान्वयनमा लगेको छ। परिस्थितिबमोजिम थप रणनीति अवश्य पनि अख्तियार गर्ने नै छ। तर कोरोना भाइरसको प्रवृत्ति हेर्दा यसको रोकथाम र नियन्त्रण सरकारमात्र होइन, व्यक्ति व्यक्तिमा निर्भर गर्छ। आफ्नो व्यक्तिगत स्वास्थ्य सुरक्षामा सदैव सचेत रहने, अरुलाई सचेत गराउने, सामाजिक दूरी कायम गर्ने र अरुलाई पनि यसमा प्रेरित गर्नु नै यसको वास्तविक उपचार र निराकरण हो। कोभिड–१९ लागेपछि आफ्नै रोग प्रतिरोधी क्षमता भन्दा यसको अर्को औषधि छैन। त्यसैले रोग लाग्नै नदिनु नै विवेकशील हुन्छ। 

प्रकाशित: ७ वैशाख २०७७ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App