१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

हार्दैछन् विजेताहरू

युगले कोल्टे फेर्दैछ । इन्द्रलोक मानिएका राष्ट्र पनि भयाक्रान्त छन् । आत्माको अवमूल्यन गर्दै पदार्थलाई शाश्वत मान्ने आजका मानिसले नूतन ज्ञान पाएका छन् । सत्व, रज र तम जस्ता गुणले वशीभूत, मोहित एवं वन्धित हुँदै गएको संसारमा सत्य हरायो भने अबौंँ मानिस मात्र होइन, अनन्तकोटी प्राणी संकटमा पर्छन् भनेकै थियो हाम्रो शास्त्रले । हामीले शास्त्र बिर्सेर शास्त्रलाई अमोघ ठान्यौँ । असत्य, भ्रम र कल्पित विषयमा रमायौँ । 

वेद भन्छ– पृथ्वी सबैको हो । सनातन धर्मले विश्वका सबै मानिसलाई एउटै परिवार मानेको छ । ‘वसुधैव कुटुम्बकम्’ भनिएको छ । पूजा, यज्ञ, हवन गर्दा ‘अन्तरिक्ष शान्ति पृथ्वी शान्ति’ भन्दै आयौँ हामी तर पृथ्वीलाई युद्ध, अभिमान, हतियार र घात÷प्रतिघातले खण्ड–खण्ड ग-यो । झन्डै दुई सय दश टुक्रा बनाएर विश्वलाई प्लटिङ गरियो । प्राचीन सभ्यता मासिँदै गयो । विजेता बन्ने उन्मादले मानिसले करोडौँ मानिसको हत्या ग-यो । नागासाकी र हिरोसिमा बिर्सिन नपाउँदै एसिया, अफ्रिका तथा दक्षिण अमेरिकामा भीषण युद्ध भए । लाखौँ निर्दोष मानिस मरे, जसको युद्धसँग टाढाको पनि साइनो थिएन । 

डोनाल्ड ट्रम्पजस्ता शक्तिमान शासक दश औँला जोडेर प्रणाम गर्छन् भन्ने कल्पना बाहिरको कुरा थियो । शक्तिशालीहरूको तेजोबध हुँदैछ आज । नकारात्मक क्रिया÷प्रतिक्रियाबाट यदाकदा सकारात्मक परिणाम आउँछन् भन्ने दृष्टान्त हो । महाप्रलयले विश्ववन्धुत्वको भाव जागृत गर्छ कि भन्ने झिनो आशा पलाएको छ । संकट र चुनौती हजाराँै छन् । त्यति हुँदाहुँदै पनि सुदूर क्षितिजमा आलोक छ । विजेता बनेको अहंकार बोक्नेहरू थचक्क बसेका छन् परास्त बनेर । सत्य हारेको छैन । 

आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।

‘साम्राज्यवादी’ र ‘विस्तारवादी’ बनेर बद्नाम भएकै शक्तिहरूको चरणचिह्न पछ्याउँदै भौतिक विकासलाई सर्वोपरि मान्नेहरू आज हारिरहेका छन् । सभ्यताको रक्षा गर्ने निर्दिष्ट नियम छन् । ती सबै तोडेर चंगेज खाँ बन्न खोज्यो मानिस । वृद्ध आमाबाबु, ससाना छोराछोरी, आफन्तजन सबै छोडेर धन कमाउन हिँड्यो मानिस । लाखौँ, करोडौँ कमायो । धनी भएपछि ‘धुवाँ, धुलो, फोहोर ठाउँ’ भन्दै ऊ फिरंगी माटोमा घरजम गरेर बस्यो । आज गाउँ सम्झिएर रोइरहेको छ । ती सुन्दर पहाड, नदी, झरना, चराचुरुंगी, लेकबेँसी सबै सम्झिरहेको छ । हँसिला गाउँलेहरू सम्झिरहेको छ । गाउँका बिर्खे, हर्के, काली र पुकुलीसँग बाल्यकालमा खेलेको सम्झिरहेको छ । प्रलयले माटो सम्झायो । बिर्सिएका आफन्त सम्झायो । जननी र जन्मभूमि सम्झायो । आकाशमा पुगिसकेँ भन्नेहरूलाई धरातल सम्झायो । जीवनको अर्थ सम्झायो ।

फ्रान्सका सिपाही नेपोलियन बोनापार्ट सम्राट भए । युरोपलाई कज्याए । महान कमान्डर भनेको छ इतिहासले । अदम्य जोश, अठोट र साहसले जिते । क्रान्तिपछि राष्ट्र अन्योलग्रस्त भएका बेला उनी उदाए । ‘मैले धुलोमा मिल्काइएको राजमुकुट उठाएर लगाएँ । यो इतिहासले दिएको दायित्व हो ।’ फ्रान्सको मात्र होइन, इटलीको पनि सम्राट भए, झन्डै दश वर्ष । इटली ‘गणतन्त्र’ भएपछि पनि राष्ट्रपति भए उनी । चौँतीस वर्षको सैनिकले इतिहास निर्माण गर्दा दुनियाँ चकित भयो । सेन्ट हेलेना टापुमा कैदी भएकै बेला एकाउन्न वर्षमा उनले देहत्याग गरे । इतिहास भन्छ– उनी अन्त्यमा हारे । फ्रान्सका कतिपय ज्ञानीहरू भन्छन्– युद्धमा हारे पनि जनताको हृदय जित्ने विजेता थिए उनी । जति काम गरे, राष्ट्र र जनताको भलो होस् भनेर गरे ।

जिब्रो नचपाइ भन्ने हो भने नेपालमा स्वतन्त्रता र प्रजातन्त्र बचाउन दलहरू आवश्यक छैनन् । दलहरूले ठूला भ्रष्टाचारीलाई आफ्नो सिरकमा लुकाएर राष्ट्रघाती, भ्रष्ट र कुकर्मीको पालनपोषण गरेका छन् ।

‘दुःखका बेला मानिसको पहिचान हुन्छ’ भन्ने वाणीले धेरै अर्थ दिन्छ । गीतामा भगवान कृष्ण भन्नुहुन्छ– ‘श्रेयान् स्वधर्मो विगुवाः परधर्मात् स्वनुष्ठितात् । स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।।’ (अध्याय ३, श्लोक ३५) (अर्थ– आफूलाई तोकिएको कर्तव्य गुणरहित नै भए पनि अरुको कर्मभन्दा राम्ररी सम्पन्न गर्नु उत्तम हो । आफूलाई तोकिएको कर्म वा कर्तव्य (स्वधर्म) निम्ति प्राणत्याग गर्नु श्रेयस्कर छ तर परधर्म (अरुको कर्तव्य) गर्नु डरलाग्दो हुन्छ ।)

निर्धारित कर्म राजादेखि प्रजासम्म पालन गर्नुपर्छ भन्ने शास्त्रको मत छ । राजाले इमानदार, सज्जन, ज्ञानी र राष्ट्रहितैषी प्रजाको मात्र होइन, धर्म र संस्कृति रक्षाका लागि राष्ट्रघातीहरूको वध पनि गर्नुपर्छ तर आफू अनैतिक बन्नु हुँदैन भन्ने विद्वान्हरूको धारणा छ । 

दक्षिण अफ्रिकाका राजनेता नेल्सन मन्डेलाको कथन छ– ‘संकटका बेला अग्रपंक्तिमा उभिएर जनतालाई मार्गदर्शन गर्न सक्ने क्षमता भएको व्यक्ति नै नेता हो ।’ ऊ चुनावमा दुई चार मतले पराजित हुन सक्ला तर सदैव जनताको हृदयमा विराजमान हुन्छ । नेपालमा जघन्य अपराध गरेर पनि चुनाव जिताइएका कतिपय नेता छन्, जो एक्लै हिँडडुल गर्न र कडा सुरक्षाबेगर समुदायमा जान सक्दैनन् । ती प्राविधिकरूपले विजेता त हुन् तर जनताको नजरमा पराजित, अपमानित र घृणित पात्र । जनताका सही आकांक्षा र राष्ट्रको सपनालाई यथार्थमा अनुवाद गर्ने क्षमता भएका सत्यपात्रले चुनाव मात्र हेर्दैन, राष्ट्रको सुदूर भविष्य हेर्छ । राजनेता (स्टेट्सम्यान) पनि उही हुन्छ । राष्ट्र र जनताको हृदय पढ्ने (रिडर) नै भविष्यको ‘लिडर’ हुन्छ ।

इकोनोमिक टाइम्स पत्रिकाले गरेको सर्वेक्षणमा माओ, लेनिन, स्टालिन, इदी अमिनलगायतका आफ्ना युगका नायकहरूलाई पराजित, कुख्यात र निरंकुश ‘विजेता’ भन्दै घोर आलोचना ग¥यो । विद्वान्हरूको तर्क छ– वास्तविक नायकले स्वतन्त्रतासँग खेलवाड गर्दैन । कर्तव्यपरायण जनतालाई हतास बनाउँदैन । राष्ट्रलाई अनिर्णयको बन्दी बनाउँदैन । राष्ट्र निर्माणको काममा सबैलाई उत्साहित तुल्याउँछ र नायक राष्ट्र तथा जनताप्रति जिम्मेवार हुन्छ ।

२००७ सालपछि आजसम्म आइपुग्दा पनि जनता हिजोभन्दा आज असुरक्षित, अशान्ति र अन्योलको धुवाँबाट मुक्त हुन सकिरहेका छैनन् । प्रकृतिको अनन्त भण्डार, अनुपम छटा, कर्मनिष्ठ जनता, ऊर्वर माटो सबै छ नेपालमा । केवल राजनीति दुर्गन्धित छ । कैयन् राष्ट्रमा मार्गदर्शकहरू नै संकीर्ण स्वार्थले भास्सिएका र मासिएका छन् । तसर्थ, आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।

नेपाली जनतालाई विभाजित गराउन चाहने षडयन्त्रकारीहरूले मुख्तियार (तत्कालीन प्रधानमन्त्री) दामोदर पाँडेलाई राजद्रोही र राष्ट्रद्रोही भएको आरोप लगाएर राजाको कान भरे । उनलाई मृत्युदण्ड दिइयो । भीमसेन थापालाई प्रयोग गरेर पाँडे परिवारको पतन गराइयो । पाँडेको पतनपछि प्रधानमन्त्री भीमसेन थापाको पतन गराइयो । यस्तो षडयन्त्रमय खेलमा काठमाडौँस्थित ब्रिटिस राजदूतावास सक्रिय रहेको कुरा ‘अब यस्तो कहिले नहोस्’ भन्ने पुस्तकमा इतिहासकार बाबुराम आचार्यले सविस्तार बयान गरेका छन् ।

दामोदरको हत्यापछि उनीसँगै मृत्युदण्ड पाएका प्रवल राना मगर दिशा-पिशाव गर्ने निहुँमा जंगलै जंगल भागेर काशी पुगे । त्यहाँ दिनानाथ उपाध्यायलाई भेटेर सबै हालखबर बताए । प्रधानमन्त्री भीमसेन थापाका विरोधी दिनानाथले उक्साउँदै भने– ‘प्रवल भाइ, अब हामीले भीमसेनलाई लखेट्नुपर्छ । बलियो मोर्चा बनाऊँ ।’ प्रवल त्यसका लागि हतियार भएनन् । उनले भने– दाजु, भीमसेन थापाले प्राण लिन खोज्दा भागेर म काशी आइपुगेँ । नत्र दामोदर पाँडेसँगै लुमडीदेवीको मन्दिर (भद्रकाली) छेउमा मेरो पनि हत्या हुन्थ्यो । भीमसेन हाम्रा व्यक्तिगत शत्रु हुन् तर देशभक्त नायक हुन् । अंग्रेजले नेपाल खान खोजेका बेला हामीले उनलाई मद्दत गरेनौँ भने अनर्थ हुन्छ ।

प्रवलको तर्क मननीय थियो । दिनानाथलाई चित्त बुझ्यो । उनले भने– भाइ, म तिम्रो देशभक्तिपूर्ण भावनाको सम्मान गर्छु । स्याबास् बाबु, यसैलाई भन्छन् देशभक्ति ।

एक सय सोह्र वर्षपहिले (सन् १८०४ मा दामोदर मारिएका थिए) इतिहासले बोलेका कुरा बुझ्ने प्रवल राना मगरहरू आज भेट्न गाह्रो छ । सत्तामा जाउँ, कपाकप खाउँ भन्ने नेपाली राजनीतिक दलहरूको मुख्य ध्येय देखिन्छ । जिब्रो नचपाइ भन्ने हो भने नेपालमा स्वतन्त्रता र प्रजातन्त्र बचाउन दलहरू आवश्यक छैनन् । दलहरूले ठूला भ्रष्टाचारीलाई आफ्नो सिरकमा लुकाएर राष्ट्रघाती, भ्रष्ट र कुकर्मीको पालनपोषण गरेका छन् । मकै, कोदो, फापर, बाख्रा, कुखुरा र दही बेच्नेहरूलाई पनि निचोरेर कर लिने तर राजा वीरेन्द्रको सम्पत्ति पनि खोसेर माफियालाई दिनेहरूले राष्ट्र र जनतालाई कंगाल बनाएका छन् । संघीयता नामको खन्चुवातन्त्र चलाउन प्रतिदिन पँैतीस करोड रुपियाँ खर्च हुन्छ भन्ने अर्थशास्त्रीहरूको विश्लेषण छ । गाउँ, नगर र केन्द्रमा इमानदारीसँग काम गर्ने हो भने बीचमा भीरको चिन्डो जस्तो प्रदेश केका लागि चाहियो ? प्रश्न अनुत्तरित छ । देशभक्तिको भावना भइदिएको भए किसान–मजदूरलगायत मध्यम र निम्नमध्यम वर्गले तड्पिनुपर्ने थिएन । तसर्थ, अहिलेको तन्त्रले गणतन्त्र बचाउला, राष्ट्र सुरक्षित रहँदैन ।

अल्बर्ट आइन्स्टाइनको विचार घतलाग्दो छ । यहुदी समुदायका ती वैज्ञानिकले भनेका छन्– ‘यहुदीहरू राष्ट्रको पहिचानप्रति सम्वेदनशील छन् । न्यायको सम्मान गर्छन् । व्यक्तिगत स्वतन्त्रताको कदर गर्छन ।’ यो यहुदीको चरित्र हो । जापानीहरू पनि त्यस्तै छन् । मन, वचन र कर्मले अरुलाई चोट नपु-याउनू भनेर केटाकेटीलाई सानैदेखि सिकाइन्छ । नेपालको ‘आधुनिक’ वर्ग (नवधनाढ्य), शिक्षा पद्धति र चालचलन उल्टो बाटो हिँड्दैछ । इलाममा मलाई एकजना आफन्तले झस्काए– पढेलेखेका मान्छे तिमीहरूझँै सहर भासिन्छन् । गाउँमा बा–आमाको हेरचाह गर्ने, धारा, कुवा, बाटो बनाउने र मर्दापर्दा काम लाग्ने त अनपढ छोराछोरी नै हुन् । उनीहरूले धर्म, संस्कृति पनि बुझेका छन् ।

फरक ढंगले प्रगतिको परिभाषा नगर्ने हो भने हाम्रो रूपमात्र रहँला । व्यक्ति, समाज र राष्ट्र हुनुको सार रहँदैन । धन सम्पत्तिबाहेक शिक्षा, संस्कार, सभ्यता, धर्म, संस्कृति र मौलिक परम्पराप्रति आँखा चिम्लिनेहरू चिठ्ठा परेर करोडपति भएका असभ्य जस्तै हुन्छन् । उनीहरूले धन जिते पनि शान्ति गुमाइरहेका छन् । यो दार्शनिक प्रलाप जस्तो लाग्ला तर यथार्थ यही हो ।

प्रकाशित: ६ वैशाख २०७७ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App