सरकारले कोेरोना रोग संक्रमण रोकथाम तथा उपचारका लागि खटिने चिकित्सक, नर्स तथा स्वास्थ्य प्राविधिकलाई प्रोत्साहन भत्ता दिने भएको छ। कोरोना संक्रमणविरुद्ध स्वास्थकर्मीलाई प्रोत्साहित गर्न जोखिम अवधिभर आइसोलेसनमा रहेका बिरामीको उपचारमा खटिने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् भने दोस्रो पंक्तिमा रहेर प्रयोगशालामा काम गर्ने स्वास्थ्यका प्राविधिक कर्मचारीले तलवको ७५ प्रतिशतप्रोत्साहन भत्ता पाउँछन्। त्यस्तै तेस्रो पंक्तिमा रहेर सेवा सहयोग गर्ने सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थाका कर्मचारीले तलवको ५० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्।
मुलुकभर ७५३ स्थानीय तहमा कार्यरत ५० हजारका हाराहारीमा रहेका स्वास्थ्य स्वयम्सेविकालाई समेत कोरोना संक्रमण रोकथामका लागि जनचेतना फैलाउन र संक्रमणका शंका भएकालाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था मिलाउने जिम्मेवारी दिइएको छ। कोरोना महामारी फैलिएसँगै हाम्रो जीवनरक्षा मूलतःस्वास्थ्यकर्मीको हातमा गएको अवस्थामा स्वास्थ्यकर्मीकै सुरक्षा, प्रोत्साहन र उच्च मनोबल नहुँदासम्म उपचारमा विश्वसनीयता र प्रभावकारिता हुन्न। स्वास्थ्यकर्मीलाई सुरक्षा कवचको अभावसँगै स्वास्थ्यकर्मी परिचालनको कमजोर व्यवस्थापनले भागाभागको अवस्था आउनुपहिल्यै सरकारले सुरक्षा कवच, परीक्षण सामग्री र प्रोत्साहन भत्ता व्यवस्था गर्दा संक्रमण नियन्त्रणका प्रयास सार्थक बन्न सक्छ।
कोरोना महामारीले विश्व कोलाहलमय भइसक्दा हामीकहाँ संक्रमितको संख्या नौ जनामात्र छ र तीमध्येएक जनाबाहेक सबै संक्रमित देशबाट आएका हुन्। संक्रमण दोस्रो चरणमा प्रवेश गरेपनि यो भयाबह अवस्थामा नपुग्दै नियन्त्रण गर्नेउपाय र समय अझै हामीसँग छ। यसका लागि प्रदेश स्तरका अस्पताल तथा स्थानीय स्तरका स्वास्थ्य चौकीहरूमा समेत संक्रमणविरुद्धको परीक्षण तालिम दिएर आवश्यक चिकित्सक, सहायक स्वास्थ्यकर्मी तथा गुणस्तरीय परीक्षण मेसिन उपलब्ध गराउनुपर्छ। क्वारेन्टाइनमा राखिएकाहरूको दुई हप्ता बित्नै लाग्दा पनि परीक्षण मेसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा स्वाब परीक्षण नभएको र कतिपयलाई दूरी कायम नगरी क्वारेन्टाइनमा राखिएकाले झगडा भएका घटना पनि छन् । धेरैजसो क्वारेन्टाइनमा खाने, बस्ने, सरसफाइ र स्वास्थ्य जाँचको राम्रो व्यवस्था नभएकाले रोग सर्ने सम्भावना बढेको भन्दै चिन्ता प्रकट भइरहेको तथ्यप्रति स्थानीय सरकार चनाखो हुनुपर्छ।
चीन, इटाली, स्पेन, फ्रान्स हुँदै हाल यसको महामारी अमेरिकामा तीव्ररूपमा फैलँदो छ। यस्तो अवस्थामा हामीले संक्रमणको हालको न्यून संख्याबाट बढ्न नदिन गरिने लकडाउनलगायतका प्रभावकारी रोकथाम तथा उपचार प्रयासले सरकारको प्रशंसा चुलिनेछ। संक्रमण हुने देश र मृत्यु हुने मानिसको संख्या दिनहुँ बढिरहेको अवस्थामा हामीकहाँ संक्रमितको संख्या कम छ भनेर मख्खिने समय अवश्य होइन यो। स्वास्थ्य सेवा र सुरक्षाको राम्रो प्रबन्ध भएको मानिने अमेरिकामा समेतस्वास्थ्यकर्मीको मनोदशा दिनदिनै गिर्दो अवस्थामा देखिएको र मर्नेको संख्या बढ्दै गएको अवस्थामाहाम्रो कमजोर स्वास्थ्य सेवाप्रति सचेत हुनैपर्छ। अमेरिका, बेलायत, स्पेनलगायतका देशमा महामारीसँगै आफूलाई असुरक्षित ठानिरहेका उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू आफ्ना सम्पत्ति र सन्ततिका बारेमा चिन्तित हुन थालिसकेका छन्।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिँदै उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। कोरोना संक्रमण हुने देश र बिरामीको संख्या दिनदिनै बढ्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा सबै राष्ट्रका नेतृत्वले महामारीविरुद्ध क्रियाशीलता र दूरदर्शिता देखाउनुपर्ने समय हो यो।संक्रमण हुने र मर्नेको संख्या बढेर विक्षिप्त बनेका राष्ट्रबाट बारम्बार सामाजिक सञ्जालमार्फत विश्वभरका नागरिकलाई घरभित्रै सुरक्षित भएर बस्न आग्रह गरिएका छन्। हाम्रै देशमा पनि लकडाउन सुरुभएको तीन हप्ता पुग्दैछ। योसँगै विदेशबाट फर्किएकाहरूको पहिचान गरी स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने र विपद्का समय भएकाले सबै निजी अस्पताललाई समेत सरकारी नियन्त्रणमालिएर स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्छ।
सरकारले कोरोना संक्रमणविरुद्ध लड्न सांसद विकास कोष दुई वर्षका लागि निलम्बन गरेको छ। संघीय सरकारमार्फत १६५ निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास कार्यक्रमका नाममा जाने ६ करोड रुपियाँका दरले हुने १० अर्ब रुपियाँसहित कोरोना कोषमा जम्मा भएको दुई अर्ब रुपियाँ स्वास्थ्य सेवा र नागरिकका दैनिक समस्या समाधानमा प्रयोग गर्न सकिन्छ। जनताको जीवन बचाउन र सरकारको गरिमा उँचो राख्न नेतृत्वले चौतर्फी आँखा डुलाउने र मन फुकाउने समय हो यो। महामारीको यो विपद्घडीमा गरिब विपन्नका लागि हुने राहत वितरणमा अनियमितता भएका र पार्टीगत विभेद भएका घटना बाहिरिइरहेछन्। लकडाउनको अवस्था अझै लम्बिन सक्ने अवस्थाको आकलन गरी कम्तीमा दुई महिनालाई पुग्ने गरी राहत सामग्रीको परिमाण र गुणस्तर बढाउनुपर्छ। किनभने लकडाउन खुल्नेबित्तिकै पनि मजदूर तथा पेसा÷व्यवसाय गर्नेहरू तुरुन्तै काममा फर्किने र आय आर्जन गर्ने अवस्था नहुन सक्छ। हरेक क्षेत्रमा हुने आर्थिक क्रियाकलाप र पारदर्शितालाई चुस्त/दुरुस्त बनाउनुपर्छ।
इटली, स्पेनलगायतका देशमा लकडाउन पालना नगर्दा स्थिति भयाबह भएको समाचारबाट हामी सचेत हुनैपर्छ। कोरोना भाइरसविरुद्धऔषधिसमेत नबनेकाले विश्व नै त्रसित भइरहेका अवस्थामा हामीलाई महामारीबाट बच्न समय, सुझाव र सूचनाहरूको सदुपयोग गर्ने अवसर अझै बाँकी छ। लकडाउनसँगै जनताको जीवन बाँच्ने आधार व्यवस्थापन गरी संक्रमणको परीक्षण र उपचार प्रक्रियालाई दु्रत गतिमा अघि बढाउन तीनै तहका सरकारको क्रियाशीलता र हातेमालो जरुरी छ। तीन चार महिनाअघिदेखि कोरोना भाइसरले विश्वलाई त्रसित पारेको छ। महामारी सकिँदा विश्व अर्कै रूपमा प्रकट हुने आकलन बाहिरिइरहेछन्। महामारीविरुद्ध सर्वप्रथम त आफैँलाई एक्ल्याउँदै र दूरी कायम गर्दै विश्वलाई भने एकजुट पार्न लागिपर्नुपरेको छ हामीले। मृत्युपछि मलामीसमेत नपाउने यो रोगको प्रलयकारी प्रताडनाबाट आफूलाई बचाउन हरउपाय अवलम्बन गर्नैपर्छ।
यसैले पनि आगामी दिनमा रोगविरुद्ध लड्न चिनिया उपाय ररणनीतिको सुझबुझपूर्ण अवलम्बनसँगै स्वास्थ्य सेवालाई व्यापक विस्तार गरी प्रभावकारी बनाउन हाम्रो नेतृत्वको त्याग, क्रियाशीलतार दूरदर्शिताको आवश्यकता अझै खट्केको छ। चिकित्सा क्षेत्रमा विश्वको सबैभन्दा अगुवा मानिने मुलुक अमेरिकासमेत स्वास्थ्य सेवाका दृष्टिले रोगसँग लड्न अक्षमता देखाइरहेको, अझ भनौँ हाम्रा नजरमा देखिने सुविधासम्पन्न र आकर्षक चिकित्सा व्यवस्थासमेत खोक्रोपनमा रूपान्तरित हुँदैछ भने महामारीविरुद्ध यसबाट हामीले सबक सिक्नैपर्छ। जीवन सुरक्षाका लागि हामी घरभित्र थुनिएसँगै कलकारखाना र उद्योग/व्यवसायको ढोका पनि थुनिएका छन्।विश्वभर ताण्डव मच्याउँदै हामीमाझ झुल्किएको कोरोना महामारीविरुद्ध लड्न लकडाउन र क्वारेन्टाइनसँगै स्वास्थ्य क्षेत्र तथा स्वास्थ्यकर्मीको राम्रो प्रबन्ध सरकारको पहिलो जिम्मेवारी हो। एउटा भाइरसविरुद्ध लड्न खर्बौँकोरकम तुच्छ सावित भइरहेको अवस्थालेविश्वकै ध्यान सर्वप्रथम स्वास्थ्य सेवा प्रणाली सुधारमा केन्द्रित गर्नुपर्ने आवश्यकता खट्केको छ।
कोरोना महामारी हरेक राष्ट्रकानेतृत्वको परीक्षण घडी पनि हो। विश्वभरका राष्ट्रिय नेतृत्वले उच्च मनोबल र आत्मविश्वास बोकी सक्रिय भएर काम गर्नुपर्ने समयमा हामीकहाँ पनि त्यहीखालको क्षमता प्रदर्शनको अपेक्षा गरिनु अस्वाभाविक हैन। महामारीविरुद्धको लडाइँमा विश्वका अन्यत्र मुलुकमा देखिएका हेलचेक्र्याइँ,अज्ञानता र स्वास्थ्य सेवाको फितलोपनले यो महामारी अन्तिम अवस्थासम्म पुग्दा विश्वमा हजाराँैले ज्यान गुमाएर, लाखौँले परिवार गुमाएर र करोडौँले रोजगारी गुमाएर महासंकटको स्थिति नआउला भन्न सकिन्न। त्यसैले हामी पनि यस्तो अवस्था सामना गर्नुअघि नै होसियार हुन आवश्यक छ। र, त्यो भनेको यतिबेलाका लागि सतर्क भई सुरक्षित बस्नु नै हो।त्यसैगरी सरकारीतवरबाट पनिसम्भावित भोकमरी,बेरोजगारी र आर्थिक संकटलगायतका भयंकर घटना आकलन गर्दैआजैबाट दीर्घकालीन योजना ररणनीतिक सोच तथा क्रियाकलाप अंगालेर अघि बढ्नु सबैभन्दा बुद्धिमानी हुनेछ।
प्रकाशित: २९ चैत्र २०७६ ०६:०७ शनिबार