१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

कोरोना रोकथाममा ‘डिजिटल ट्रेसिङ’

चीनको वुहानबाट नेपाल फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण जनवरी महिनाको मध्यतिर नै देखियो। उनको उपचार भएर करिब दुई महिनाका लागि नेपाल कोरोना भाइरस मुक्त पनि बन्यो। जुन अवधि खासगरी नेपालजस्तो मुलुकका लागि कोरोना भाइरस रोकथामका लागि कदम चाल्ने पर्याप्त समय हो। खासगरी त्यो कारणले किनभने दुई महिनापछि लगातार भित्रिएका पाँचवटा संक्रमण पनि विदेशमा बस्ने नेपालीमा मात्रै देखियो। त्यसपछि दुईवटा घटना भारतबाट नेपाल भित्रिएका नेपालीमा देखियो। र, ९ औँ घटनाले भने नेपालमा महामारी दोस्रो चरणमा प्रवेश गरेको पुष्टि भयो। विदेशबाट नेपाल भित्रिएका व्यक्तिमार्फत एक महिलामा स्थानीयरूपमा भाइरस सरेको देखियो। यसको मतलव नेपाल अब महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ र महत्वपूर्ण कुरा के हो भने यो बढी घातक हुन्छ। र, हामीले रोकथामका लागि पनि सम्भव भएसम्म सबै उपाय अब नै चाल्नुपर्ने हुन्छ। 

पर्याप्त समय हुँदाहुँदै पनि आवश्यक कदमको तयारी गर्न नसक्ने विषयमा देश पछि परिसकेको देखिँदैछ। न समयदेखि नै चेक जाँच राम्रो भयो न त परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नै समयमा आएको छ। लकडाउनको निर्देशन मानेर घरभित्रै बसेका नेपालीले कोरोना भाइरसको मात्रै नभएर मानवीय संकटको यो विश्वव्यापी महामारीका बेला पनि भ्रष्टाचारको नियतबारे पढिरहेका छन्। तर समस्याका माझ पनि समाधानका उपाय खोज्न सकिन्छ र त्यसका लागि अब सुरु गरे पनि ढिलो नहुने सम्भवतः एकमात्रै विकल्प देखिएको छ। त्यो हो– सूचना प्रविधि प्रयोग गरेर सम्भावित संक्रमित खोजी गर्ने जसलाई डिजिटल ट्रेसिङ पनि भनिन्छ। चीनपछि कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरिया आक्रान्त बन्ने सम्भावना धेरै देखिँदा पनि रोकथामका लागि उक्त देशको प्रयासको सर्वत्र चर्चा भयो। देश पूर्णरूपमा लकडाउनमा कहिल्यै गएको छैन। र, पश्चिमा देश र अमेरिकामा दैनिकजसो संक्रमित हुने र मृत्यु हुनेको संख्या चुलिँदै गएका बेला दक्षिण कोरिया भने तुलनात्मकरूपमा संक्रमण रोकथामको प्रयासमा सफल भएको देखिएको छ। आखिर त्यहाँ केले काम ग¥यो र बाँकी विश्वलाई किन हम्मेहम्मे परिरहेको छ त ?

यसमा उसले मोबाइल एपमार्फत सम्भावित संक्रमितलाई परीक्षणका लागि नियन्त्रणमा लिइहाल्ने कदम चाल्यो। सबैभन्दा प्रभावित दुईवटा सहरबाहेक अरुमा लकडाउन पनि गर्नुपरेन। अहिले नेपालका खासगरी कैलाली, कञ्चनपुर र बाग्लुङ बढी निगरानीमा राख्नुपर्ने जिल्लाका रूपमा देखिएका छन्। दुई सातायता देश लकडाउनमा यसै पनि छ। यस्तो बेला लकडाउनकै समयावधि लम्ब्याइरहँदा पनि त्यसले खासगरी निम्न वर्ग र दैनिक ज्यालादारी गरेरमात्रै छाक टार्न पुग्ने वर्गलाई असर पार्ने देखिन्छ। त्यसैले सरकारका लागि अब उपयुक्त हुने विकल्प भने यी तीन जिल्लामा पूर्णरूपमा लकडाउनलाई जारी राख्ने। मानिसको आवतजावत फाट्टफुट्ट छ भने त्यसमाथि कडा निगरानी गर्ने र जुन जुन क्षेत्रका मानिसमा संक्रमण देखिएको हो तीसँग सम्पर्कमा आउने सम्भावित सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखेर परीक्षण गर्ने। 

बाँकीको हकमा एपमार्फत डिजिटल ट्रेसिङको काम गर्ने। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीका रूपमा घोषणा गरेलगत्तै नेपाल भित्रने सबै नेपाली तथा विदेशीलाई ट्रेस गरी परीक्षणमा राखेको भए सम्भवतः अहिलेको अवस्था पनि देखिने थिएन। छिमेकी चीनबाट संक्रमण सुरु भएको र स्वयं चीनका लागि उक्त भाइरस रोकथामका लागि ठूलो सङ्घर्ष गर्नुपरेको देखिएका बेला नेपालमा संक्रमण देखिए त्यो थाम्नै नसक्ने स्तरमा हुने भन्ने आकलन भएका छन्। त्यस्ता आकलनले मूर्त रूप लिन बाँकी नै छ। खासगरी अबको समयमा जतिबेला केवल विदेशबाट आएका नेपालीमा मात्रै नभई पहिलोपटक स्थानीयरूपमा कोरोना भाइरसको संक्रमण देखिएको छ। हामीले संक्रमित यतिमै सीमित होउन् भन्ने आशा गरे पनि भाइरसको स्वभाव त्यस्तो छँदै छैन। सर्ने माध्यम भेट्टाउनेबित्तिकै फैलन थालिहाल्छ। भाइरसलाई सर्न नदिनुबाहेक हामीसँग अर्को विकल्प छँदै छैन। 

कोरोना भाइरसविरुद्धको लडाइँको औजार भनेकै ट्रेस, परीक्षण र उपचार मात्र हो। यी मानकलाई यदि प्रविधिको उचित प्रयोग गर्‍यौँ भने यो लडाइँ छिटो पार लगाउन सकिनेछ।

सुरुमा फ्रान्स हुँदै कतार एयरवेजबाट काठमाडौँ झरेकी युवती कति व्यक्तिको सम्पर्कमा आइन होला ? अझ त्यसबाहेक विदेशबाट भाइरसको संक्रमण लिएर नेपाल भित्रिएका र पहिचान नभएका कति व्यक्ति अन्य कतिको सम्पर्कमा आए होला ? अहिले स्वास्थ्य मन्त्रालय तथा विपद् व्यवस्थापनलाई सबैभन्दा गाह्रो परेको विषय नै यही हो। सरोकारवाला निकायले जनाएअनुसार अझै संक्रमित व्यक्तिसँग सम्पर्कमा भएका व्यक्तिहरूको ट्रेसिङ गर्ने काम जारी छ र यो निकै अप्ठ्यारो छ।गर्न के सकिन्थ्यो भने एयरपोर्टमा वा प्रत्येक नाकामा आएका व्यक्तिको डिजिटल ट्रेसिङ। नेपाल दूरसञ्चार प्राधिकरणले जनाएअनुसार हाल नेपालको टेलिघनत्व १४५ प्रतिशत र इन्टरनेटको सञ्जालमा ७२ प्रतिशत जोडिएका छन्। यस हिसाबले नेपालका अधिकांश साना÷ठूला सहरमा मानिसले प्रयोग गर्ने मोबाइलबाट ट्रेसिङ गर्न सकिन्छ। यसो गर्नका लागि सरोकारवाला निकायले एउटा मोबाइल एप बनाउने र सम्पूर्ण जनातालाई उक्त एप मोबाइलमा हाल्न लगाउने। त्यस्तो एप डाउनलोड र सञ्चालन गर्न लाग्ने खर्च निःशुल्क उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन दिने। यसरी उक्त एपमा कोरोना भाइरसबारे सबै जानकारी उपलब्ध गराउन सकिन्छ। 

उदारहणका लागि जुनसुकै नाका वा एयरपोर्टमा आएका व्यक्तिको नमुना लिने र उनीहरूलाई उक्त एप सम्बन्धित मोबाइलमा हाल्न लगाउने। त्यसपछि ती मानिस कुन कुन ठाउँमा पुगे त्यसको जानकारी आफैँ अपलोड हुनेछ। परीक्षणपछि यदि कोही व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको देखिएमा उसलाई तुरुन्तै फोन गरी क्वारेन्टाइन बस्न लगाउने र सम्बन्धित नजिकको स्वास्थ केन्द्रबाट अस्पतालमा सार्ने। यता अर्को एकाइले ती व्यक्ति कुन कुन ठाउँमा पुगे त्यसको रेकर्ड हेरी सम्पर्कमा आएका व्यक्तिलाई स्वक्वारेन्टाइन बस्न आग्रह गर्ने र तिनीहरूको पनि नमुना लिइ परीक्षण गर्ने। यदि कोरोना नभए मोबाइल सन्देशमार्फत जानकारी गराउने। सबै व्यक्ति उक्त एपमा आइसकेपछि सबैको स्थान थाहा हुन्छ। यदि कोही व्यक्ति संक्रमित भएको थाहा भए ती व्यक्तिको नजिक पुग्न लागेका व्यक्तिलाई त्यसबारे सचेत गराउने। यस्तो ट्रेसिङलाई प्राविधिक भाषामा डिजिटल ट्रेसिङ भन्ने गरिन्छ। 

कम्तीमा देशका प्रमुख सहरहरूमा यस्तो किसिमको प्रविधि प्रयोग गर्ने विषय खासै गाह्रो काम होइन। नेपालका सफ्टवेयर कम्पनीले नै यस किसिमको एप बनाउन सक्छन्। एप राख्नका लागि नेपाल सरकार गृह मन्त्रालयसँग आवश्यक सर्भरहरू छँदैछ। यसरी कम खर्चमा नै मानिसको डिजिटल ट्रेसिङ गर्न सकिन्छ र यो विधि निकै प्रभावकारी सावित हुनेछ। अहिले दक्षिण कोरियाले यही विधि अपनाएकाले उसले देशव्यापीरूपमा लकडाउन गर्नुपरेको छैन। र, संक्रमित पनि धेरै बढेका छैनन्। उसको यही प्रभावकारी तरिकालाई एसियाकै सिंगापुर र जापानले पनि पछ्याएका छन्। हाल हामीले गर्दै आएको संक्रमित व्यक्तिलाई सोधेर गरिने परम्परागत ट्रेसिङ खासै प्रभावकारी भएको छैन र पूरै देशले बन्दाबन्दीको मार खेप्नुपरेको छ। यसरी डिजिटल ट्रेसिङले यदि कुनै ठाउँमा संक्रमण बढ्दै गइरहेको छ भने उक्त क्षेत्रलाई मात्र बन्दाबन्दी गर्न सकिन्छ। बाँकी क्षेत्रमा व्यापक जाँच गर्ने, संक्रमितलाई उपचार गर्ने र संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरूको ट्रेसिङ गर्ने। सोसम्बन्धी रिपोर्ट मोबाइलमा उपलब्ध गराउने।


हामीले संक्रमित यतिमै सीमित होउन् भन्ने आशा गरे पनि भाइरसको स्वभाव त्यस्तो छँदै छैन। सर्ने माध्यम भेट्टाउने बित्तिकै फैलन थालिहाल्छ। भाइरसलाई सर्न नदिनुबाहेक हामीसँग अर्को विकल्प छँदै छैन।

प्रत्येक व्यक्तिले आफूलाई शङ्का लाग्दा नजिकको ठाउँमा कोरोना भाइरसको संक्रमण भए/नभएको जाँच गरी अरूका लागि पनि आफू सुरक्षित छु भनी ढुक्क हुने स्थिति नभइन्जेलसम्म हामी कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सक्षम हुने छैनौँ।  कोरोना भाइरसविरुद्धको लडाइँको औजार भनेकै ट्रेस, परीक्षण र उपचार मात्र हो। यी मानकलाई यदि प्रविधिको उचित प्रयोग गर्‍यौँ भने यो लडाइँ छिटो पार लगाउन सकिनेछ। दक्षिण कोरियामा भाइरस संक्रमित हो वा होइन भनेर पत्ता लगाउनुपूर्व नै सबै मानिसको ट्रेसिङ भइसकेको हुन्छ। यदि जाँचपश्चात कोही संक्रमित भएको थाहा भएमा उसलाई फोन गरी जानकारी गराइन्छ र तत्काल उसलाई अस्पताल लगी उपचार गराइन्छ। यस्तो संक्रमित व्यक्तिको परिचय नखुलाइ उसको लोकेसन सबैलाई मोबाइलमा दिइन्छ र अरु मानिस पनि सचेत हुन्छन्। यसरी प्रत्येक नागरिकका पाइला नियमन गर्दै भाइरसविरुद्ध लड्दैछन् कोरिया सरकार र जनता। 
कोरियालीले पनि सरकारको यस्तो समयसापेक्ष रणनीतिक प्रयास बुझेर त्यसैगरी सघाइरहेका छन्। प्रत्येक चोकमा हिँडिरहेका वा साधन प्रयोग गरेका व्यक्तिहरूको जाँच गरिरहेका स्वास्थ्यकर्मी र जाँचमा सहयोग गरिरहेका छन् त्यहाँका जनता। आफू हिँडिरहेको स्थानमा संक्रमित व्यक्ति छन् कि छैनन् भनी मोबाइल एपमार्फत निक्र्याैल गरी थप सतर्क हुन्छन्। यसरी ह्वात्तै बढ्को संक्रमणको देशको सूचीबाट दक्षिण कोरिया छोटो समयमै सूचीको पछाडि पर्दै गएको छ। कोरोना भाइरस रोक्न विश्व स्वास्थ्य संगठनले भन्दै आएको अचुक उपाय भनेकै आइसोलेसनमा राखी संक्रमितलाई उपचार गराउने र धेरैभन्दा धेरैलाई परीक्षण गराउने हो। दक्षिण कोरिया, सिंगापुर र हङकङले गत फेब्रुअरीदेखि यही नै गर्दै आएका छन् र त्यहाँ संक्रमण फैलन पाएको छैन। यो विश्वव्यापी नमुना भएको छ र धेरै एसियाली मुलुकले यसको अनुशरण गर्न प्रयास गर्दैछन्। हामीले पनि प्रविधिमार्फत प्रत्येक नागरिकको पाइला नियमन गरी व्यापक जाँच र संक्रमितलाई उपचार गरी कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकिनेछ।
(अनुसन्धानकर्ता) 

प्रकाशित: २७ चैत्र २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App