प्रधानमन्त्री रणोद्वीप सिंहको हत्यामा आफ्नै बाजे डम्बरशमशेर संलग्न थिए भन्ने चाल पाएपछि बालकृष्ण समको बालहृदयमा घृणा पलायो। आफ्नी दिदीले सुनाएको रणोद्वीप हत्याकाण्डको कथा सुन्दा बालकृष्णलाई पीडा भएको थियो। उनले आफ्नो पुस्तकमा बाजे डम्बरलाई ‘हिरण्यकसिपुजस्तो’ भनेका छन्।ससाना केटाकेटीको दिमागमा घरका हरेक सदस्यको तस्बिर सुरक्षित हुन्छ। उमेर छिपिँदै जाँदा उनीहरू तिनको चरित्रको समीक्षा, विश्लेषण र हिसाब–किताब गर्न थाल्छन्। अनैतिक काम गर्नेको पनि ‘डोसियर’ हुन्छ, उनीहरूको दिमागमा। त्यसैले ती पक्का न्यायाधीश हुन्। ऐन–कानुन हेरेर सत्यनिरूपण गर्ने इमान्दार न्यायाधीशले मात्र न्याय दिन सक्छन्। त्यस्तै सत्य/असत्य विवेचना र मिमांसा गर्ने बौद्धिक ल्याकतले मात्र मानिसको व्यक्तित्व विकास हुन्छ। बालकृष्ण समले पनि गलत काम गर्ने जर्नेल डम्बरशमशेरलाई श्रद्धा गरेनन्।
धीरशमशेरका १७ छोरा थिए। वीर, खड्ग, रण, देव, चन्द्र, भीम, फत्ते, ललित, जीत, जुद्ध, डम्बर, जदु, पूर्ण, दुर्गा, शेर, खम्ब र हर्कशमशेरमध्ये धेरैको नाम चर्चामै आएन। जंगबहादुरको मृत्युपछि श्री ३ महाराज (प्रधानमन्त्री) बनेका रणोद्वीपले आफ्नै भतिजाले आफूलाई मार्लान् भन्ने कल्पनै गरेका थिएनन् होला। ‘जसको शक्ति उसकै भक्ति’ भनेझैं अन्यायपूर्वक मारिएका रणोद्वीपका पक्षमा बोलिदिने कोही भएन। ‘सत्रभाइ’ भनिने धीरका छोराहरूलाई सैनिक प्रशिक्षण दिने चक्रपाणी सापकोटाले तत्काल घटनास्थल पुगेर यो गलत भयो, के गरेको भन्दै धीरका छोराहरूलाई थर्काएछन्। घटनामा संलग्न खड्ग र डम्बरशमशेरले भनेछन्– ‘गुरु, इतिहास यसरी नै बदलिन्छ। तपाईंप्रति हिजोजस्तै भविष्यमा पनि सम्मान रहिरनेछ।’ सापकोटाका वंशजले पुराना डायरी पल्टाउँदा चक्रपाणीको टिप्पणी देखेको पंक्तिकारलाई सुनाएका थिए।
चक्रपाणी भारतमा अंग्रेज पल्टनमा काम गरेका अनुशासित र कडा जुनियर अफिसर थिए। रणोद्वीपको हत्या हुँदा उनी २७/२८ वर्षाका कप्तान थिए। जसले गलत गरे पनि प्रस्ट भन्दिने निर्भीक स्वभावका ती युवक चन्द्रशमशेरका प्रिय थिए। फर्पिङमा पहिलोपल्ट बिजुली उत्पादन गरिएको समारोहमा भाग लिन प्रधानमन्त्री चन्द्रले चक्रपाणीलाई बागलुङबाट काठमाडौं आउन पत्र पठाएको पाइन्छ। यसबाट स्पष्ट हुन्छ– योग्य मानिसको कदर गर्न जान्थे, चन्द्रशमशेर। १९६८ जेठ ९ मा राजा पृथ्वीवीरविक्रम शाहद्वारा उद्घाटन गरिएको बिजुली (चन्द्रज्योति) ७ लाख १३ हजार रूपैयाँ खर्चमा बनेको थियो। व्यक्तिगत प्रयोगका लागि १ हजार ७ सय कोठाको सिंहदरबार बनाउने चन्द्रशमशेरले आफ्नै दाजु देवशमशेरलाई अपदस्थ गरेर सत्ता कब्जा गरेका थिए। देवलाई धनकुटातर्फ लखेटे, चन्द्रले। त्यसैले देवलाई ‘धनकुटे महाराज’ भनिन्छ। तीन महिनामै अपदस्थ गरिएका देवले ‘गोर्खापत्र’ साप्ताहिक सुरु गरे। उनलाई सम्झिनुपर्ने आधार त्यही भयो। पुराना राजनीतिज्ञ खड्गमानसिंह बस्न्यात भन्थे– ‘देव कम खराब थिए।’
सञ्चार, विज्ञान र प्रविधिको उन्नयनसँगै संसार ब्युँझिएको छ। तसर्थ अब देश जनतालाई ढाँटेर चल्दैन।
‘घरमै बस्नुपर्ने, बाहिर घुमफिर गर्न नहुने’ महामारी यथावत् छ, यी पंक्ति कोरुन्जेल। पुराना पुस्तक खोज्दै पढ्दै छु। प्रथम विश्वयुद्ध (सन् १९१४–१८) चलिरहेका बेला बम्बईमा बसोवास गर्ने दुर्गादेवी, आ.दि.द्वारा लिखित दुर्लभ पुस्तक पुनः पढ्दै छु। सन् १९१६ मा पुस्तक लखेर छाप्ने नेपाली महिला कति थिए होलान् ? पढेलेखेका नेपाली कति थिए होलान्, ऊबेला ? अधिकार मात्र खोज्ने, कर्तव्य निर्वाह नगर्ने आजका अधिकतर मानिस ‘अधिकारवादी’ भएका छन्। ‘कर्तव्यवादी’ संघ/संगठन कति छन् ? दुर्गादेवीको पुस्तक ‘दम्पत्तिधर्म–भार्याकर्तव्य’ बडो घतलाग्दो छ। झन्डै सय वर्ष पहिलेका भाषा, शैली, तर्क, उदाहरण झन् रोचक छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्– ‘मीठो लाग्छ, मलाई त प्रियकथा प्राचीन संसारको।’ हुन पनि हो, नुतन र पुरातनभन्दा अनन्तकालअघिको सनातन संस्कृति आफंैमा पूर्ण छ। त्यसैले हाम्रा पुर्खाको धर्म (कर्तव्य), जीवनशैली र जीवनप्रतिको दृष्टिकोण आज विश्वका लागि चासोको विषय बनेका छन्।
दुर्गादेवी आचार्य दीक्षितले वि.(सं. १९७० मा तयार पारेको पुस्तकमा स्त्री जाति शालीन, शिक्षित, संस्कारी, विनीत, सनातन धर्मका अनुयायी, कुल धर्मका पालक भएमा परिवार संगठित, सभ्य र संस्कारी हुन्छ भनिएको छ। बम्बई (भारत) निवासी हरिहर आचार्य दीक्षितद्वारा प्रकाशित सो पुस्तकमा आर्य (सभ्य) नारीले इतिहासमा ठूलो योगदान गरेको उल्लेख छ। लाखौं रूपैयाँ खर्चेर अंग्रेजी भट्याउन सक्ने बनाएपछि अभिभावकको कर्तव्य पूरा हुन्छ भन्ने सोचले आज जरा गाडेको छ। त्यसैले मानिस प्रत्यक्ष÷परोक्ष रूपमा दिशाहीन बन्दै छन् भनेर तर्क गर्ने पनि धेरै छन्। प्रथम र दोस्रो विश्वयुद्धमा ब्रिटिसको सहायक सेना (भाडाका सिपाही) बनेर युद्ध गर्दा हजारौं नेपालीले ज्यान गुमाए। इतिहास बोल्छ– सय वर्ष भयो, अरूका देशमा नेपालीले पसिना र रगत बगाउन थालेको। यता घरघरमा आफन्तजनलाई रुवाउँदै ५० लाखभन्दा धेरै नेपाली बाहिरी देशमा श्रम गरिरहेका छन्।
‘रेमिट्यान्स’ भनिने त्यही पैसामा सत्तासीनहरू ‘डान्स’ गरिरहेका छन्। ‘अन्तिम राजा’ भनिएका ज्ञानेन्द्र शाहले गद्दी त्याग्दा ११ लाख युवक/युवती विदेशमा पसिना बगाउँदै थिए। जनताको तन्त्र भनिने गणतन्त्र ल्याएपछि ५० लाखभन्दा धेरै युवा विदेश पलायन भए। यो संख्या हरेक साल बढ्दै छ। भोलि इतिहासले प्रश्न गर्नेछ– राजनीतिका नाममा हजारौं अनुत्पादक र भ्रष्ट भाइरस पाल्न कहिलेसम्म युवा विदेशिनु पर्ने हो ? गुन्द्रुक–ढिँडो नै किन नहोस्, एउटै भान्सामा बसेर खान नपाउने उनीहरूले ? प्रश्नको उत्तर छैन, अनुत्तरदायीहरूसँग। संकटका बेला घरको दैलो ढकढक्याउन आउने आफ्नै परिवारका सदस्यलाई बाहिरै बस भन्छन्, उनीहरू। इटलीमा एघाराैँ शताब्दीमा ‘पास्ता’ नामक खानेकुरा खान काँटा (फोर्क) आविष्कार गरियो। वृद्ध पादरीहरूले ईश्वरको कृपाले पाएको हात छँदाछँदै काँटाले खानु पाप र ईश्वरको निन्दा हो भन्दै विरोध गरे।
इतिहासमा यस्ता धेरै रोचक प्रसंग पाइन्छन्। फिडेल क्यास्त्रोको हत्या गर्न ६ सय योजना बनाइए पनि उनलाई शत्रुले मार्न सकेनन्। उनका जासुस कति चलाख रहेछन् भन्ने विषयमा इतिहासविद् आज पनि खोजी गर्दै छन्। कतिपय कुरा इतिहासमा ओझेल पर्छन्। इजिप्टको सुन्दरी भनेर जगत्ले चिनेकी क्लियोपेट्रा इजिप्टकी थिइनन्, ग्रिसकी थिइन् भनेका छन्, इतिहासकारले। अमेरिकाका ३५औं राष्ट्रपति रिचर्ड निक्सन पाँचवटा बाजा बजाउँथे र सिद्धहस्त संगीतकार थिए भन्ने कुरा प्रचारमै आएन। नेपालको राजनीतिमा चर्चामा आइरहने सुवास नेम्वाङ राम्रा गायक र फुटबल खेलाडी पनि हुन। पूर्वअर्थमन्त्री महेश आचार्य राम्रो गीत गाउँछन्। कमल थापा फुटबल र लङ–टेनिसका असल खेलाडी हुन्। पत्रकार संघको सभापति भइसकेका कृष्णप्रसाद भट्टराई राम्रा निबन्ध लेख्थे, जसलाई उनी ‘गल्प’ भन्थे।
जसरी बालकृष्ण समले रणोद्वीपका हत्यारा ठानेर जर्नेल बाजे डम्बरशमशेरलाई रुचाएनन्, त्यसरी नै आजका सत्यवादी युवाले आफ्नै बाबु राष्ट्रघाती भए पनि मन पराउँदैनन्।
रामहरि जोशी सिद्धहस्त तबलावादक हुन्। नारायणहिटी दरबारबाट ‘रमझम’ पत्रिका निस्किन्थ्यो, जसका सम्पादक थिए– ज्ञानेन्द्र शाह। उनी गायक, संगीतकार र गीतकार हुन्। ‘बाँच्नु नै छ यदि भने बाँच नेपाली भई बाँच सधैं’ गीत आज पनि रेडियोमा बज्ने गर्छ। राजा महेन्द्र कवि र गीतकार हुन् भन्ने धेरैलाई थाहा छ। तर उनकी महारानी रत्न पनि रञ्जना शाहका नाममा गीत लेख्थिन् भन्ने कुरा कमैलाई थाहा छ। माधव घिमिरेको कविता छ– ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल।’ हुन पनि हो, राष्ट्र हाँक्नेदेखि बयलगाडा चढ्नेहरूसम्म पनि साहित्य, संगीत र कलाका पारखी छन्। स्तरीय, पठनीय र ग्रहणीय भएमा स्रष्टा उचाइमा पुग्छन्। स्तरहीन भएमा मूल्य हुँदैन। बालकृष्ण समलाई उनकै घरको आँगनमा भेट्दा ठट्टा गरे– ‘नेपालमा कम्युनिस्ट र कवि धेरै छन्। कागज पोको पारेर फ्याट्ट बाटोमा मिल्काउनुभयो भने कि कम्युनिस्टलाई लाग्छ कि कविलाई।
मुहारमा क्रिम पाउडर दलेर चिटिक्क परेर हिँड्थे, उनी। लामो लबेदा (दौरा) लगाउँथे। ज्ञानेश्वरस्थित घरबाट बाहिर निस्किँदा रिक्सामा ओहोरदोहोर गरेको देखिन्थ्यो। पुराना वैद्यले ओखती खोज्न जंगल चहारेझैं वृद्ध उमेरका ज्ञानीजनको संगत गर्न म युवावस्थामा टाढाटाढा पुग्थें। उनीहरू नलेखिएका इतिहास सुनाउँथे। पचासौं राम्रा पुस्तक पढ्दा जे पाइन्छ, महान् मानिसको सत्संगले त्यस्तै ज्ञान पाइन्छ भन्ने लाग्यो। ६ फिट ४ इन्च अग्ला दुब्ला–पातला अब्राहम लिंकन कुस्तीका चर्चित खेलाडी थिए भन्ने कुरा अमेरिकी इतिहासमा ओझेलमा पर्यो। सन् १८३० तिर ‘पाचक’ भनेर बनाइएको टमेटो केचप (सस) आज हरेक होटल र घरघरमा पुगेको छ। एउटा उद्देश्यले बनाइएको संरचना अरूतिर प्रयोग भएका दृष्टान्त धेरै छन्। ब्रिटेनको संसद्मा सभामुखभन्दा उच्च आसनमा राजमुकुट राखिन्छ।
त्यसको दाहिनेतिर धर्म–संस्कृति, परम्परा तथा राज्य–सत्ताका समर्थक (संस्थापन पक्ष) बस्ने गर्छन्। प्रतिपक्षी देब्रेतिर बस्छन्। वामपन्थी (लेफ्टटिस्ट) शब्दको प्रचलन त्यसरी भयो। आज कम्युनिस्ट सत्तामा भएका मुलुकमा पनि उनीहरूलाई वामपन्थी भनिन्छ। १२ वटा छोराछोरी जन्माइसकेकी महिलालाई पूर्व ‘कुमारी’ भनेझैं हास्यास्पद सुनिन्छ, त्यो। दसौं शताब्दीमा अमेरिका टेक्ने लेफ एरिक्सनको चर्चा भएन। धेरैले आज पनि अमेरिकी माटो टेक्ने र अमेरिका देख्ने प्रथम व्यक्ति कोलम्बस नै हुन् भन्छन्। इन्दिरा गान्धीलाई मोहनशमशेरका छोरा विजयले ५० हजार भारुको हिराको हार उपहार दिएछन्, २००६ सालमा। ऊबेला डकोटा विमान किन्न पाइन्थ्यो, त्यति पैसाले। चन्द्रशमशेरका प्रिय पात्र राममणि आ.दि.ले आफ्नो पुस्तकमा त्यसको चर्चा गरेका छन्। हाम्रा पुर्खा मगन्ते थिएनन्। काठमाडौं उपत्यका र राजधानीबाहिर प्राचीन धरोहरमा नेपाली स्रोत/साधन र पसिना मात्र परेको इतिहास बोल्छ। शौचालय बनाउन पनि विदेशी पैसा माग्न थालेका छौं, हामी। कुनै बेला ब्रिटेन र चीनलाई पनि मद्दत गर्ने नेपालमा आज उपकार पाउने व्यक्तिभन्दा ‘उपकारी’ एनजिओ÷आइएनजिओ धेरै भएका छन्।
सुदूर गाउँमा पुगेर उनीहरू चामल, ओखती र वस्त्र होइन, फिरंगीका किताब बाँड्छन्। हिन्दू र बौद्धलगायत प्राचीन धर्म–संस्कृतिको जरा काट्छन्। संसद्, सिंहदरबारलगायत टाकुरामा बसेका भाइरस वा विषाणु उनीहरूका संरक्षक बनेका छन्। राष्ट्र असफल बन्दै गएमा हाम्रो हालत स्विटजरल्यान्ड होइन, सुडानको जस्तो बन्छ। हल्यान्ड होइन, होन्डुरस हुन्छौं, हामी। इतिहासबाट नसिक्ने र सिक्नै नचाहनेहरू वसुधा आफ्नैवरिपरि घुमिरहेको छ भन्ने सोच्दा हुन्। तर यथार्थ अर्कै छ। जब समयको चक्र (कालचक्र) बदलिन्छ, त्यसबेला युगले कोल्टे फेर्छ। आजका भ्रष्ट, अकर्मण्य, कुरौटे र परजीवी पातालमा भासिन्छन्। त्यो बेला एउटा प्रबल नायकको उदय हुन्छ। गीतामा भगवान् कृष्णले भनेका छन्– ‘जब धर्मको नास हुन्छ, त्यो बेला दुष्टलाई दण्ड दिन र सज्जनको रक्षा गर्न म अवतार लिनेछु।’ राष्ट्र गम्भीर संकटमा पर्दा चुनौती र अवसर दुवै आउँछन्। संकटको अन्धकारबाट इजरायल र जापानजस्ता कैयन् राष्ट्र उज्यालो युगमा प्रवेश गरे। एउटै राष्ट्र नायकले सिंगापुरको भविष्य सुरक्षित बनाए। दान–दातव्यको आशा गर्ने, विदेशीले दिएको अथाह सम्पत्तिमा आँखा गाड्ने र सर्पको मुखमा परेको भ्यागुताले फट्यांग्रा तान्न खोजेझैं महामारीमा पनि कमिसनको भारी कस्नेहरूलाई इतिहासले क्षमा गर्दैन।
कुनै दलमा कैदी नभएका स्वतन्त्र देशभक्त युवाले सडकमा ल्याएर भ्रष्टहरूलाई धोबीले लुगा चुटेझैं चुट्नेछन्, एकदिन। विवेकीले अपराध गर्नेलााई माया गर्दैनन्। जसरी बालकृष्ण समले रणोद्वीपका हत्यारा ठानेर जर्नेल बाजे डम्बरशमशेरलाई रुचाएनन्, त्यसरी नै आजका सत्यवादी युवाले आफ्नै बाबु राष्ट्रघाती भए पनि मन पराउँदैनन्। सञ्चार, विज्ञान र प्रविधिको उन्नयनसँगै संसार ब्युँझिएको छ। तसर्थ अब देश जनतालाई ढाँटेर चल्दैन। साँझमा कसैले अपराध गर्यो भने उज्यालो नहुँदै संसारमा फैलिन्छ। दलको झण्डा ओढेर अपराध लुकाउन सक्ने भए संसारका कुख्यात नेता जेलमा हुने थिएनन्। नेपालका राष्ट्रघातीले केही महिना, केही वर्ष झुक्याउलान्, तर जनताले माफ गर्दैनन्।
प्रकाशित: २२ चैत्र २०७६ ०६:२६ शनिबार