१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

कोरोनाको झ्यालबाट हेर्दा

संसार नै कोरोनामय भएको छ। जे विषयमा कुरा गर्न थालौँ, कोभिड–१९को यो महामारीको कुराले प्रवेश पाइहाल्छ। हामी सबैको दैनिकीमा यो आतङ्कले उथलपुथल ल्याइदिएको छ। कोभिड–१९को डरले हामी सबै घरभित्र बन्दी भएका छौँ। आर्थिक हिसाबले मध्यमवर्ग माथिका परिवार अहिलेसम्म जसोतसो धानिएकै छन् तर गरिबको बेहाल भने सुरु भइसकेको छ। परीक्षणको क्षमता सीमित भएकैले हुनुपर्छ, ‘सार्स–२–कोरोनाभाइरस’ नाम दिइएको यो नयाँ भाइरसबाट संक्रमितहरू धेरै पत्ता लागेका छैनन्। थाहा पाउने गरी ठूलो संख्यामा कोभिड–१९का लक्षणहरू देखा पर्न थालेपछि कस्तो परिस्थिति आउने हो, कल्पनै गर्नसमेत पनि साहस चाहिने स्थिति छ। सानै गल्तीले पनिस्थिति अनियन्त्रित हुन सक्छ।

र, जब रोगग्रस्त मानिसको संख्या मकैका फूल फुटेझैँ विस्फोटक रूपमा बढ्न थाल्छ, कोरोनाले कुनै विभेद नगरी धनी, गरिब, निर्धा, शक्तिशाली, शासक/शासित सबैलाई गाँज्नेछ। हामीले सतर्कता र तयारीका निम्ति पाएको समय र अवसर छिटोछिटो गुमाउँदैछौँ। अझै पनि केही समय बाँकी छ। यो महत्वपूर्ण अवसर नगुमाउने हो भने हामी अझै जित्न सक्छौँ। बोल्न र लेख्न सक्ने नागरिकले राज्यबाट भएका केही प्रयत्नलाई सकेसम्म सकारात्मकताका साथ हेर्नुपर्छ र त्यसमा सहयोग गर्नुपर्छ भनेरै अहिलेसम्म धेरै आलोचना भएको छैन। तर जुन स्तरको चेत, इमान्दारी र मेहनतको आवश्यकता  छ, त्यो सरकारका सबै अङ्गमा छैन कि भन्ने डर झन् झन् बढ्दैछ। र, यो डर प्रमाणित भएछ भने कोरोनाले भन्दा बढी हानिहुनेछ।   

कोभिड–१९को आतङ्कको प्रभाव हाम्रो दैनिकीमा मात्रै हैन, अन्य आयाममा पनि प्रकट हुन थालेका छन्। ती मध्ये एउटा हो– यसले हामी मानव जातिलाई नाङ्गो भएर यथार्थको ऐना अघि उभिन बाध्य बनाइदिएको छ। यो बेला सत्यको ऐनाअघि उभिने हो र प्राञ्जल दृष्टिले आफूलाई हेर्ने हो भने पहिले कहिल्यै नदेखेका आफूभित्र लुकेका कमजोरी र क्षमता देख्न सक्छौँ। विस्मित हुन सक्छौँ। लाजको पोखरीमा चुर्लुम्म डुब्न सक्छौँ। र,‘माताभूमिःपुत्रोऽहं पृथिव्याः’को मन्त्रजप्दै, चेतनाको रुमालले लाजले रुझेको आफ्नो मन पुछ्दै  कसरी फेरि पृथ्वीको असल सन्तान बन्ने भनेर चिन्तन गर्न सक्छौँ। आत्म केन्द्रित सोचबाट मुक्तहुन नयाँ पाइला चाल्न सक्छौँ। तर यस्तो निर्मलीकरण यज्ञमा सामेल हुने मानिसको संख्या ज्यादै नै कम देखिँदैछ। यो आतङ्ककै बीचमा पनि मान्छेका अनुहारका केही प्राणी कसरी आफ्ना निम्ति क्षुद्र फाइदा लिने भनेर योजना बनाउन थालेका देखिन्छन्।

जुन स्तरको चेत, इमान्दारी र मेहनतको आवश्यकता छ, त्यो सरकारका सबै अङ्गमा छैन किभन्ने डर झन् झन् बढ्दैछ। र, यो डर प्रमाणित भएछ भने कोरोनाले भन्दा बढी हानि हुनेछ।

यति ठूलो सन्त्रासकै बीचमा पनि छिटोछिटो पैसा कमाउन भनेर मान्छे लागेका देखिन्छन्। सुनिन्छ, कठिनाइको यो घडीमा आफ्नो मानवीय कर्तव्य पालन गर्न लागेका मानिसलाई समेत केही सत्तासीन मानिसहरू पैसाकै खेलोमा लाग्न उक्स्याउँदैछन् रे। यस्तो बेलापनि पैसाको खेला नहुने ठाउँमा प्रवेश गर्नै नचाहने मानिसको भीड राज्य सञ्चालन गर्ने ठाउँमा जम्मा भइरह्यो भने त्यसले विनाशको समयलाई अझै नजिक ल्याउने काममात्र गर्नेछ। यो त अत्यन्त गम्भीर चिन्तन गर्ने बेला हो। खुसी, समृद्धि, शान्ति र जीवनकै नयाँ अर्थ खोज्ने बेलाहो। अहिले कोरोना जातको भाइरसले थर्काइरहेको छ। अरु कुनै पनि भाइरस यसैगरी उत्परिवर्तित हुँदै कल्पनै नगरिएको रूपमा देखापर्ने सैद्धान्तिक र तार्किक सम्भावना जहिले पनि छ। भाइरस लगायत जीवनका सूक्ष्म रूपलाई यसरी उत्परिवर्तन गर्न उक्स्याउने काम हामी मानवकै गतिविधिले त गरिरहेको छैन ? 

हामीले एन्टिबायोटिक पत्ता लगाएर तिनको उपयोगर दुरूपयोग गर्न थालेको सय वर्ष पनि बितेको छैन। अहिले नै अनेक प्रजातिका ब्याक्टेरियाबीच एकता देखिन थालिसक्यो मानवका हतियारविरुद्ध जुझ्न। मानिसकै कारण असंख्य ठूलो प्राणी त पृथ्वीबाट लोप नै भइसके। तर अदृश्य सूक्ष्म जीवका अस्तित्वसँग जोडिएका सबै कुरा अझै मानिसलाई थाहा छैन। जीवविज्ञान र स्नायुविज्ञानले परिभाषित गरेका मानवीय चेतनाबाहेक चेतनाका अन्य रूपका बारेमा चिन्तन गर्न थालिएकै छैन।  मानवकेन्द्रित, द्रव्यकेन्द्रित, प्रकृतिद्वेषी, पृथ्वीद्वेषी हाम्रा गतिविधिले नै अनेक आत्मघाती परिणाम आइरहेको त हैन ?अब फेरि होसमा फर्केर हामीले गर्नैपर्ने के हो ?अरुका निम्ति नभएपनि आफ्नै सन्तान/दरसन्तानको भविष्यका निम्ति गम्भीर भएर सोच्नुपर्ने यस्तो बेलामा समेत पैसा बटुल्ने, शक्ति आर्जन गर्ने, प्रतिशोध साँध्ने जस्ता सस्ता र फोहोरी काममा लागिरहने हो भने यसले हामीलाई कहाँ पुर्‍याउँला?

मानिसले बनाएका कुनै पनि अस्त्रले नछुने कोरोनाको नयाँ अवतारले मानिसलाई ‘आफ्नो व्यवहार परिवर्तन गर’ भनिरहेको छ। आफू लगायत पृथ्वीवासी सबै प्राणीको हितका निम्ति होसमा फर्किएर मानव इतिहासकै सबभन्दा महत्वपूर्ण निर्णय लिने अवसर मानिसले पाएको छ। तर यस्तो बेलामा पनि आफ्नै प्रजाति भित्र समेत सामाजिक न्याय र समानताको सट्टा थोरै मानिसलाई शक्ति र धन आर्जनको सुविधा दिलाउने काममा जुटेका संयन्त्रहरूले सिङ्गो पृथ्वीको भविष्यको वास्ता गर्ने सम्भावना ज्यादै क्षीण छ।  हाम्रो देशको मात्रै कुरा हैन, विश्वकै कुरा हो यो। संसारमै परिवर्तन ल्याउने सामथ्र्य हामीमा नहोला तर आफ्नो देशलाई मात्रै भएपनि वातावरणीय स्वर्गका रूपमा स्थापनागर्न सक्छौँ किभनेर अब किन नसोध्ने ?

विकासको पश्चिमा नमुनालाई अक्षरशः पछ्याउँदा भएका गल्तीलाई किन पुनरावलोकन नगर्ने ? ‘यस्तानाथे कोरोना सोरोना आउँछन/जान्छन्। केही मानिस मर्लान्,कहिले पो मरेका थिएनन् र ?यस्तो कुराबाट आत्तिएर समृद्धिको बाटो छोड्नै हुँदैन’भन्ने तर्क गर्दै अझै पनि अनियन्त्रित अव्यवस्थित् पर्यटन उद्योगमात्र हैन, ताल परे युरेनियम खानी खनेरै भएपनि समृद्धिको बाटोमा हिँड्नुपर्छ भन्ने मानिसको स्वर अझै पनि ठूलै रहनेछ। इतिहासमा जहिले पनि थोरै मानिसको चेतले उज्यालोको बीऊको काम गरिरहेको हुन्छ। यस्तो बेला जतिसुकै थोरै संख्यामा भएपनि पृथ्वी नामको यो सुन्दर ग्रहको मायाँ गर्ने मानिसबीच सार्थक, गहनविचार विमर्श र सत्संग हुनु आवश्यक छ। यसले तत्कालै देखिने परिवर्तन केही नल्याउला तर उज्यालोको बीऊको भूमिका भने पक्कै निर्वाह गर्नेछ।  

कोभिड–१९को आतङ्कको प्रभाव हाम्रो दैनिकीमा मात्रै हैन, अन्य आयाममा पनि प्रकट हुन थालेका छन्। ती मध्ये एउटा हो– यसले हामी मानव जातिलाई नाङ्गो भएर यथार्थको ऐना अघि उभिन बाध्य बनाइदिएको छ।

धन्न हामी कहाँ लोकतन्त्रले केही काम गर्न थालेको छ। यो सन्त्रासकै बीचमा पनि नागरिक खबरदारी गरिरहेका छन् र बेलाबेलामा राज्य आफ्ना गल्ती सच्याउन बाध्य पनि भएको छ। हो, हाम्रो लोकतान्त्रिक यात्रा अझै काँचै भएका कारण सामाजिक सञ्जालमा निरर्थक गालीगलौजको प्रदूषण पनि प्रशस्तै छ। र,यसलाई पनि भौतिक प्रदूषणलाई जस्तै हटाउँदै जानु आवश्यक छ। हामीले लोकतन्त्रको यात्रा नथालेको भए विभिन्न सार्थक बौद्धिक आलोचना र सचेतनाका निम्ति यसरी बाटो खुल्ने पनि थिएन। त्यसैले लोकतन्त्रको यो यात्रामा हामीले गर्व गर्नुपर्छ। यसमा अनुभव बटुल्दै, हाम्रो बाटोलाई फोहोर पार्ने भ्रष्टाचार, अराजकता, शक्तिमोह जस्ता प्रदूषणलाई बढार्दै अघि बढ्ने सम्भावना र स्वतन्त्रता हामीलाई प्राप्त छ। समयले गरिरहेको आह्वानलाई सुन्न, बुझ्न र त्यस अनुरूप कामगर्न हाम्रो संघीयताले राम्रोसँग सघाउनुपर्ने हो।

तर अहिलेसम्मको हाम्रो संघीय अभ्यासबारे सन्तोष लिने ठाउँ देखिँदैन। कोभिडबाट जोगिनका निम्ति महत्वपूर्ण औजार बन्न सक्ने एउटा तत्व हो– सूचना प्रविधि। यसमा आधारित भएर छोटो समयमा धेरैको मेहनतले विकास गरिएको र अहिले काठमाडौँ महानगरपालिकाले उपयोगमा ल्याएको निगरानी प्रणाली (सर्भिलेन्स सिस्टम) लागु गर्ने क्रममा थाहा भयो, देशभरका नगर/गाउँपालिकाका वेबसाइटको मर्मत/सम्भारको स्वतन्त्रतासमेत ती ‘पालिका’लाई रहेनछ। सबै संघीय सरकारले नियन्त्रण गर्ने रहेछ। यो संकटका बेला संघीयताको मर्मलाई साँच्चै आत्मसात गर्ने हो र स्थानीय सरकारको वडा तहसम्मलाई उचित ढङ्गले परिचालन गर्ने हो भने सूचना प्रविधिमा आधारित निगरानी प्रणालीले जीवनरक्षाका निम्ति धेरै काम गर्न सक्छ।अझै पनि हामीसँग केही समय बाँकी छ। कोरोनाले मानिसलाई गरिरहेको यो आह्वानमा लोकतन्त्रको महत्ता र संघीयताको मर्म पनि सुन्न सक्ने कानको आवश्यकता छ। यो प्राप्त होस्। महामारीकै बीचपनि वसन्तऋतुको  शुभकामना !

प्रकाशित: २१ चैत्र २०७६ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App