१६ जेष्ठ २०७७ शुक्रबार
विचार

चीनको लकडाउन

म २०१९ सेप्टेम्बर १ तारिखका दिन बेइजिङमा विद्यावारिधि पढ्न आइपुगेकी थिएँ। यो वर्ष चिनियाँ नयाँ वर्ष अर्थात वसन्त चाड जनवरी २५ मा परेको थियो। वसन्त चाड र जाडो बिदाको १ महिनाभन्दा बढी छुट्टी थियो। साथीहरू आ–आफ्नो देश फर्किए। म भने कोरिया घुम्न जाने सोच बनाएर भिसाका लागि कोरियन दूतावास जाँदा थाहा भयो कि नेपाली विद्यार्थी चाइनाबाट कोरिया घुम्न जानका लागि दुई वर्षभन्दा बढी चाइनामा बसेको हुनुपर्ने रहेछ। त्यसपछि म यहीँ पढेर बस्ने कि नेपाल फर्कने भन्ने द्विविधामा थिएँ। त्यहीँ समयमा एक जना चिनियाँ शिक्षिकाले फोन गर्नुभयो र भन्नुभयो– वसन्त चाड उहाँको घरमा गएर मनाउने र छुट्टी समयभर उहाँकै घरमा बस्ने। मैले पनि सहर्ष स्वीकार गरेँ। जनवरी १५ मा हामी बेइजिङबाट उहाँको घर सान्सी प्रान्तको पाव चि सहर गयौँ। 

केही दिनपछि कोरोना भाइरसको समाचार आयो। मलेरिया, डेँगु जस्तै त होला भन्ने लागेको थियो तर दिनदिनै भाइरस बिरामी र मर्नेको संख्या ह्वात्तै बढ्दै गए। प्रत्येक दिन विभिन्न प्रान्तमा यो रोग देखिन थाल्यो। सरकारले सूचना जारी गरेर सचेत रहन आग्रह गरेको गर्‍यै थियो। विदेशी विद्यार्थी विभागबाट पनि के गर्ने के नगर्ने भन्ने सूचना वि च्याट, क्यु क्यु जस्ता सामाजिक सञ्जालमा पठाएर सचेत गराएको गरायै गर्न थालियो। योसँगै मनमा डर पैदा भयो। एक जना दाइ पनि हुनुहुन्थ्यो उहाँ २५ तारिखमा सि आन सहर घुम्ने अनि भोलिपल्ट बेइजिङ फर्कने योजना थियो। २३ तारिखमा, शिक्षिकाले दाइसँगै सि आन घुम्न जाने भए घुमेर आऊ भन्नुभयो। त्यही मौका पारेर म पनि उहाँसँगै बेइजिङ फर्कन्छु भनेर शिक्षिकासँग आग्रह गरेँ। किनकि मलाई डर थियो कि कथंकदाचित बिरामी भइहालियो भने के गर्ने ? पहिला त मानिरहनुभएको थिएन। दाइले भाइरसका कारण ऊ डराइरहेकी छ भनेपछि बेइजिङमा बिरामी भयो भने विश्वविद्यालयका गुरुहरूले हेर्नुहुन्छ, नेपाली दूतावास पनि बेइजिङमै छ जाउ न त भन्नुभयो। 

त्यो बेलासम्म कोरोनाको उद्गमस्थल उहान बन्द भइसकेको थियो। अरु प्रान्तमा मान्छेको आवतजावत, भिडभाड कम हुँदै थियो। सि आनको वातावरण र अवस्था हेरेर घुम्ने गरी २५ तारिखमा पाव चि सहरबाट सि आन सहर गयौँ। एक त मौसम धुम्म थियो अर्को कोरोनाको त्रासले घुम्नेखालको वातावरण पनि थिएन। साँझपख सार्वजनिक बगैँचा (पार्क) तिर घुम्न निस्कियौँ। अरु समयमा साँझतिर पार्कमा मान्छेको भिड हुन्छ तर त्यो दिन निकै कम थिए। सबैले मास्कले मुख छोपेको देख्दा त्यहीँबाट कारोना सर्ने हो कि भन्ने लागिरहेको थियो। भोलिपल्ट बेलुकी ८ः५५ मा सि आनबाट बेइजिङको उडान थियो, २ घण्टा ढिलो भयो। कतिपय उडान रद्द भइसकेका थिए। धन्न ढिला भए पनि बेइजिङ उडान भने भयो। म लगायत केही विदेशी विद्यार्थीलाई होटेलमा राखिएको छ। बाहिर ननिस्कनु भनेकाले केही दिन पुग्ने सामान किन्न नजिकैको पसलमा गएँ। पसलमा सामान पहिलेको जस्तो भरिभराउ थिएन। भाइरस बिरामीको संख्या बढेको देख्दा र चीनको जनसंख्या हेर्दा लाग्यो– साँच्चै भाइरसले गर्दा भोकमरी नै निम्त्याउँछ कि क्या हो ? नेपाल जाउँ कि भन्ने पनि लागिरहेको थियो तर विश्वास थियो कि चीनले चाँडै समाधान गर्छ भनेर। 

आफन्त/साथीहरूले बारम्बार नेपाल फर्कन सुझाव दिए। तर मैले भने ‘कोरोनाका कारणले मरेँ भने यहीँ मर्छु तर कदापि अरु नेपालीलाई लाग्ने कारण बन्दिन’ भन्ने अठोट गरेँ। त्यही भएर म चीनमै बसेँ।

जनवरी २७ तारिखदेखि म कोठाभित्रै थुनिएर बसिरहेकी छु। यो दिनदेखि आजसम्म सधैँजसो मेरो खुवाइ, बसाइ तथा गृहकार्य एउटै भइरहेको छ। मैले प्रायः चाउचाउ, बिस्कुट र फलफूल खाँदै दिन बिताइरहेकी छु। किनकि होटेल अर्थात मेरो होस्टेलमा आफैँ खाना बनाएर खाने सार्वजनिक किचेनको व्यवस्था छैन। यहाँ आफूलाई चाहिने सामग्री फलफूल, सब्जी, रेडिमेड खानेकुरा अनलाइनबाट मगाउन सकिन्छ। त्यसैले कहिलेकाहीँ आफैँ तातो पारेर (ट्राभलमा जाँदा बोक्ने) खाने खाना सेट अनलाइनबाट मगाउने गरेकी छु। कोरोना उग्र भएको समयमा हप्ता दश दिनमा आइपुग्थ्यो तर अहिले भने २–३ दिनमै आइपुग्छ।  केही प्रान्तमा पूर्णरूपमा भाइरस नियन्त्रणमा आए पनि बेइजिङमा भने अझै पनि पूर्णरूपमा नियन्त्रण भइसकेको छैन। त्यसैले केही क्यान्टिन खुला भए पनि त्यहाँ जान मन लाग्दैन। धेरै बिस्कुट, चाउचाउ खानु स्वास्थ्यका लागि राम्रो भने होइन तर बाध्यतावश मेरो मुख्य खाना यही भइरहेको छ। सामान अनलाइनबाटै मगाउँछु। सबैभन्दा पहिले सामान गेटको पालेलाई दिइन्छ। पालेले भाइरस मार्ने स्प्रे हानेपछि मात्र कोठामा ल्याउन पाइन्छ। सामान लिएपछि डेटोल पानीले हात धुन्छु। कोठामा बसिराख्दा पनि छिनछिनमा सेनिटाइजर लगाइरहन्छु। यहाँको सरकार, विश्वविद्यालय, डाक्टरले भनेका कुरा पालना गर्दै आएकी छु।

कोठामा थुनिएपछि कसैसँग भेटघाट/बोलचाल नहुने, आफन्त साथीभाइसँग सामाजिक सञ्जालमा कुरा एकदम कम हुन्थ्यो। कोरोना संक्रमितको संख्या बढिरहेको समाचार सुन्नुपर्दा निकै डर लाग्थ्यो। सुरु सुरुमा किताब पढ्ने, टिभी हेर्ने, फिल्म हेर्ने गर्थेँ, त्यसैले त्यस्तो केही भएन। तर यसरी एक्लै कोठामा थुनिँदा, लामो समय एउटैखालको क्रियाकलाप गरिरहँदा दिमाग धुम्म हुने, पढेको कुरा बिर्सने, छटपटी हुने, निन्द्रा नलाग्ने हुँदाहुँदै बिस्तारै डिप्रेसनको लक्षण पनि देखिएला जस्तो हुन थाल्यो। त्यसपछि डिप्रेसन नहोस् भनेर दिनमा के/कस्ता क्रियाकलाप गर्ने भन्ने सूची तयार गरेँ। झ्याल खोलेर बस्ने, शारीरिक व्यायाम गर्ने, चित्र कोर्ने, साथीहरूलाई फोन गर्ने, कोर्सको किताब भन्दा पनि मन परेका किताब पढ्ने, आधिकारिक स्रोत भएको समाचारमात्र पढ्ने/हेर्ने/सुन्ने, केही पढ्नुपर्दा ठूलो आवाज निकालेर पढ्ने, टिभीमा आफूलाई रुचि लागेका कार्यक्रम हेर्ने, गीत सुन्ने/गाउने गर्न थालेपछि त्यस्तो केही भएन। यहाँ हामी विद्यार्थीलाई अझै एक/अर्कासँग भेट गर्न अनुमति दिइएको छैन। कोठामा म एक्लै। बोल्ने साथी नहुँदा कस्तो कस्तो लाग्छ। आफैँ मनलाई दरिलो पार्ने कोसिस गर्छु। दिनदिनै कोठा सफा गर्न होटलका स्टाफ आउँछन्। म उनीहरूसँग कुराकानी गर्न आग्रह गर्छु।

हामी हाँस्छौँ/बोल्छौँ। आजकल मेरो दिनदिनै बोल्ने साथी बनेका छन् उनीहरू। यहीँबाट मलाई यो अनुभव भयो कि हामी यस्तो संकटको समयमा नआत्तिइ आफूलाई रुचि लागेको कार्य गर्ने, पानी धेरै पिउने, अनलाइनबाट अरूसँग कुरा गरिरहने गर्‍र्यौँ भने मानसिक स्वास्थ्यमा खासै गम्भीर असर पर्दैन। हाम्रो स्वास्थ्य तन्दुरुस्त राख्न प्रयास गर्ने पहिलो डाक्टर हामी स्वयं हौँ। जनवरी २९ तारिखदेखि अहिलेसम्म पनि बिहान/बेलुकै शारीरिक तापक्रम जाँच्न होटलका कर्मचारी आउने, स्वास्थ्य के/कसो छ सोध्ने अनि हामी विदेशी विद्यार्थीलाई कस्तो छ भनी विश्वविद्यालयबाट पनि सोधपुछ गर्न आउने, फलफूल दिने, मास्क दिने हुँदा पनि मन शान्त हुँदै आयो। म भने रुघा/खोकीसम्म पनि नलागोस् भनेर गुलियो कम खाने, तातो पानी धेरै पिउने, तातो सुप पिउने गर्दै आएकी छु। कोरोना आतंक बढ्दै गएपछि विश्वविद्यालयले विदेशी विद्यार्थीलाई आफ्नो देश फर्कने वा चीनमै बस्ने विकल्प दिएको थियो। त्यो बेलासम्म कतिपय देशमा हवाई उडान बन्द भइसकेको थियो। त्यसैले कुनै विद्यार्थी स्वदेश फर्कन पाएनन्। मलाई पनि स्वदेश फर्कन त मन थियो। भाइरस कसरी अर्को व्यक्तिमा सर्छ थाहै नहुने र कोरोना भाइरस लागेको १४ दिनपश्चात मात्र देखिने भएकाले नेपाल फर्कँदै गर्दा भिडभाडमा कोरोना बिरामीबाट मलाई स¥यो भने नेपालमा पक्कै फैलन्छ। नेपालमा सरकारी तयारी थिएन।

त्यसैले यो संक्रमण फैलिएमा धेरै क्षति हुन्छ भन्ने लाग्यो। त्यही भएर नेपालमा कोरोना  नछिरोस् भन्ने लागेर यतै बसेँ। आफन्त/साथीहरूले बारम्बार नेपाल फर्कन सुझाव दिए। तर मैले भने ‘कोरोनाका कारणले मरेँ भने यहीँ मर्छु तर कदापि अरु नेपालीलाई लाग्ने कारण बन्दिन’ भन्ने अठोट गरेँ। त्यही भएर म चीनमै बसेँ। अहिले बेइजिङमा कोरोना भाइरस पूर्णरूपमा नियन्त्रण नभए पनि निकै कम भइसकेको छ। त्यसैले म विश्वविद्यालयको बगैँचामा गएर घुम्ने/बस्ने गर्न थालेकी छु। तर कोठा बाहिर निस्कँदा भने मास्क अनिवार्य छ। विद्यार्थीलाई विद्यालय प्रांगणभन्दा बाहिर जाने अनुमति छैन। हामी बाहिर निस्किएको एक घण्टाभित्र कोठा फर्किसक्नुपर्छ। विश्वविद्यालय खुल्ने ठेगान छैन। दुःखको कुरा, चीनमा कोरोना नियन्त्रणमा आए पनि अहिले विश्वका अन्य देश, विशेषगरी युरोप/अमेरिकामा कोरोनाले भयबह रूप धारण गरिरहेको छ। नेपालमा पनि संक्रमित देखिन थालेका छन्। त्यसैले सबै नेपालीले नआत्तिने, जुन पायो त्यही सूचना/समाचारको विश्वास नगर्ने, सरकारले भनेका कुरा पालना गर्नु उपयुक्त हुनेछ। अहिलेको प्राथमिकता भनेको जतिसक्दो आफूलाई सुरक्षित राख्ने र अरूलाई पनि सुरक्षित बनाउने हो। यस्तो संकटका बेला आफैँ सचेत बन्नुपर्छ। सर्वसाधारण जनताले यति गर्न सक्नु नै सभ्य नागरिकको पहिचान दिनु हो। सरकारलाई सहयोग गरेर देशलाई संकटमुक्त बनाउनु हामी नागरिकको  दायित्व हो। 
(बेइजिङमा विद्यावारिधि गर्दै) 

प्रकाशित: १८ चैत्र २०७६ ११:३० मंगलबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल