२२ जेष्ठ २०७७ बिहीबार
विचार

बेलायतको लकडाउन

मार्च १२ अर्थात फागुन २९ देखि अफिसको काम घरबाट नै गरेको छु। २ हप्ता पुग्दा घरमा बस्नुको मजाभन्दा भय बढ्दो छ। लगातार अफिसमा काम गर्दा लाग्थ्यो कि ‘वर्क फ्रम होम’ भैदिए हुन्थ्यो नि। त्यो इच्छा पीडादायीरूपमा पूरा भयो। बेलाबेलामा घरबाटै अफिसको काम नगरेको भने होइन। महिनामा २ दिन जस्तो घरबाट नै काम गर्थेँ। यो पटकको अवस्था भने नितान्त फरक छ। सामान्य जागिरेभन्दा मेरो अवस्था अलि फरक पनि छ। घर र अफिसको दूरी २४० किलोमिटर रहेकाले सोमबारदेखि बिहीबारसम्म म घरभन्दा टाढै बस्ने गरेको छु। शुक्रबार बेलुका घर फर्केर सोमबार बिहान अफिस फर्कने मेरो नियमित प्रक्रियालाई कोरोना भाइरसले परिवर्तन गरिदिएको छ। घर नै अफिस अर्थात होमअफिस बनेको छ।

‘वर्क फ्रम होम’ ले उत्साह थप्न भन्दा भयको ब्यारोमिटरमा पारो बढाउने काममात्र गरिरहेको छ। जब अफिसको नियमित मंगलबारको मिटिङमा बुधबारदेखि नै सबैले घरबाट काम गर्ने भन्ने निर्णय भयो तबमात्र कोरोनाको आतंक महसुस भयो मलाई। लाग्यो, अवस्था गम्भीर नै भइसकेको रहेछ। काल बाटोमै आइपुगेको रहेछ जस्तो भो। मनभित्र डरले डेरा जमायो। बच्चाहरूको स्कुल सुचारु नै थियो। उनीहरू स्कुलबाट घर फर्किएपछि कुनैबेला हल्का खोके वा हाछ्युँ गरे भने पनि मनभित्र डरको पारो एक्कासि उक्लन्थ्यो। सपिङ गयो, उतै त्रास। सपिङका लागि आवश्यक पर्ने ट्रली समात्न नै डर लाग्ने। सामान छनोट गर्दा छुनै डर। स्टोरमा खाद्यान्न अभावले चाहिने सामान किन्न पनि नपाइने। अवस्था एकाएक दयनीय भयो। 

मार्च २० अर्थात चैत७ बाट स्कुलहरू पनि बन्द भए। बच्चाहरू लामो छुट्टी भन्दै खुसी भए। उनीहरूलाई कोरोनाको डर छैन। वास्ता पनि छैन। खेल्ने समय पर्याप्त पाउने भएकाले नै उनीहरू खुसी छन्। प्रविधिका कारण उनीहरूलाई घरभित्रै राख्न सहज भएको छ। पार्कमा खेलाउन लैजान परेको छैन। सिनेमा जान परेको छैन। एक्सबक्स र गेमिङ कम्प्युटर उनीहरूलाई भुलाउन पर्याप्त भएका छन्। अरु समयमा स्क्रिन टाइम लिमिट गर्ने हाम्रो प्रयास अहिले बन्द भएको छ। उनीहरू खुला भएका छन्। सोही शुक्रबारबाट नै सम्पूर्ण पब, रेस्टुरेन्ट र लेइजर सेन्टर (जिमलगायत) हरू बन्द गर्न सरकारले आह्वान गरेको थियो तर पब कल्चरलाई आफ्नो परम्परागत संस्कार मान्ने ब्रिटिसहरूले सरकारको उक्त आह्वानलाई टेरेनन्। केही पब खुले। युवाहरूको भिड केही कम भए तापनि पूर्णरूपमा बन्द भएनन्। पार्कहरूमा भिड घटेन। त्यस्तो अवज्ञापछि सरकारले सोमबार (मार्च २३) रातिदेखि बेलायतमा पूर्ण लक डाउनक घोषणा गर्‍यो। सम्पूर्ण पब, जिम सेन्टर, सबै पसल (खाद्यान्न र मेडिकल पसलबाहेक) बन्द भए।

छिनछिनमा स्यानिटाइजर प्रयोग गर्दा हात त सफा हुने रहेछ तर त्यसले मन सफा गर्न नसक्ने रहेछ।

प्रत्येक दिन कोरोना संक्रमितको संख्या तीव्ररूपमा वृद्धि हुँदै मृतकहरूको संख्या थपिँदै जाँदा मनभित्र रहेको भयको आकर पनि उत्तिकै बढ्दो छ। संक्रमित हुनबाट रोकिने उपाय भनेकै घरभित्र बसिरहनु र बाहिरी मान्छेको सम्पर्कमा नजानु नै हो तर यो भन्न जति सजिलो छ, निर्वाह गर्न उत्तिकै गाह्रो पनि। खाद्यान्न, दूध, ब्रेड, बच्चाहरूको खाना सकिन्छ अनि सुपरस्टोर दौडिनैपर्ने हुन्छ। पसलमा जाँदा सामानको ट्रली समात्नै पर्‍यो, सामान छान्नै पर्‍यो, पैसा तिर्ने बेलामा कतै न कतै छुनै पर्‍यो। यस्तो हुँदा छोएको सतहबाट भाइरस आफूमा सर्ने सम्भावना उत्तिकै रहने भयो। त्यो सम्भावनाको डरले आफूलाई भित्रभित्र तर्साउँदा साँच्चिकै भाइरस भन्दा पनि मनको भाइरसले सताउँदो रहेछ। छिनछिनमा स्यानिटाइजर प्रयोग गर्दा हात त सफा हुने रहेछ तर त्यसले मन सफा गर्न नसक्ने रहेछ।

फेब्रुअरी मध्यबाट बेलायतका स्कुलहरूमा १ हप्ता बिदा हुन्छ। स्कुल बिदामा आफ्ना बच्चा लिएर होलिडे जाने ब्रिटिसहरूको पुरानो प्रचलन नै हो। इटाली पनि यिनीहरूको एउटा प्रमुख होलिडे गन्तव्य हो। यो पटकको स्कुल बिदामा इटाली होलिडे गएर फर्केकाहरू आफूमात्र आएनन्, कोरोना भाइरस पनि बोकेर ल्याए। बोकेर ल्याएमात्र होइन, बेलायतभरि फैलाउने कार्य पनि गरे। तर त्यो सबै अन्जानमा भएको थियो। उनीहरू आफैँ पीडित थिए। स्कुल होलिडेपछिको हप्तापछि बेलायतमा कोरोना ब्यापकरूपमा फैलियो। म र मेरो परिवार भने भाग्यमानी रहेछौँ। हामी कोरोना रहित साइप्रसको भ्रमणमा सोही हप्ता गयौँ। फर्किएर आउँदा विमानस्थलमा पनि हामीलाई कोरोना भाइरसले भेट्न सकेनछ।  बेलायतमा स्कुलहरू निकै पछि मात्र बन्द गरिए। कारण थियो– स्कुल बन्द गरेपछि बच्चाहरूलाई हेरचाह गर्न घरमा कम्तीमा एक जना वयस्क हुनैपर्ने।

यस्तो हुँदा बेलायतको स्वास्थ्य र अन्य अत्यावश्यक क्षेत्रमा काम गर्ने कामदारहरू बिदामा बस्नुपर्ने अवस्था आउने थियो र समग्र स्वास्थ्य क्षेत्रनै प्रभावित हुने थियो। तर संक्रमण व्यापक हुँदै जाँदा सरकार स्कुल बन्द गर्न बाध्य भयो तर स्वास्थ्य र अन्य अत्यावश्यक क्षेत्रमा काम गर्ने कामदारका बच्चालाई स्कुल पठाउने र स्कुल उनीहरूका लागि खुला रहने व्यवस्था गरियो। त्यसैले अहिले स्कुल पूर्णरूपमा बन्द छैनन्।  केयर होम र रेसिडेन्सियल होमहरूमा सयौँ ज्येष्ठ नागरिक सँगै बस्ने गरेका छन्। यदिस्कुल बन्द गर्दा कसैले आफ्ना बच्चाको रेखदेख गर्न यिनै हजुरबा÷हजुरआमालाई केही दिनका लागि घरमा फिर्ता लगे भने कोरोना उनीहरूमा सर्ने सम्भावना रहने भयो। र, सम्पूर्ण केयर होममा बसेकालाई जोखिम हुने देखेर पनि स्कुल बन्द नगर्ने निर्णय गरिएको थियो। पूर्ण लक डाउनको अघिल्लो दिन नराम्रो खबर सुन्नुपर्‍यो– एक नेपाली मूलका मित्रलाई कोभिड–१९ ले लगेछ। त्योभन्दा केही दिनपहिले पनि एक रिटायर्ड ब्रिटिस गोर्खालाई लगिसकेको थियो। तुरुन्तै अर्को खबर आयो– मेरा एक मित्रकी दिदीलाई कोभिड–१९ कै कारण हस्पिटल भर्ना गरिएको रहेछ। अन्य केही नेपाली कोरोना भाइरसबाट संक्रमित भएछन्। ती सबै खबर मनको भय बढाउनमात्र सहयोगी थिए।

आफ्ना मिल्ने साथीहरूसँग फोनमा कुरा ग¥यो। कोरोनाकै त्रासमा छन्। सामाजिक सञ्जाल र समाचार हेर्‍यो, सबैतिर कोरोना नै कोरोना छ। स्वास्थ्य र जागिरको चिन्तामात्र देखिन्छ सबैमा। लाग्छ, कस्तो अदृश्य शक्ति आयो सबै क्षेत्रमा हलचल मच्चाउने । नेपाल र बेलायतमा लकडाउन लगभग एउटै समयमा सुरु भयो। बेलायतमा खाद्यान्न र औषधि पसलबाहेक सबै पसल बन्द छन्। चोक र पार्क सुनसान छन्। सार्वजनिक यातायातका साधन सीमित गरिएको छ। मान्छेलाई अत्यावश्यक कामका लागिमात्र बाहिर निस्कन अनुरोध गरिएको छ। कर्मचारीले सम्भव भएसम्म घरबाट नै काम गर्ने गरेका छन्। तर बिहान÷बेलुका वाकिङ गर्नेको संख्या भने घटेको छैन। साइक्लिङ गर्नेहरू बढेका छन्। कुकुरलाई हिँडाउन लैजानेको निरन्तरतामा कुनै फरक परेको छैन। लक डाउनपछि खाद्यान्न किन्न म ५ किलोमिटर टाढाको सुपरस्टोर पुग्दा त्यहाँ लामो लाइन थियो। २–२ मिटरको दूरीमा मानिस लामबद्ध थिए। समानको मूल्यमा कुनै वृद्धि थिएन तर निश्चित सामानको अभाव यथावत थियो ।

कोरोनाले बन्दी बनेको म डराएको छु तर हारेको छैन। कोरोनालाई बन्दी अवस्थाबाट नै पराजित गर्नेछु। तपाईँहरू पनि त्यसै गर्नुहोस्। 

यति नै बेला नेपालको एउटा भिडिओसहितको समाचार हेर्न पुगेँ। साइकलमा एक्लै कतै जाँदै गरेका एक युवालाई प्रहरीले निर्ममतापूर्वक पिटेको देखियो। यस्तो लाग्यो कि नेपालमा लक डाउनलाई कर्फ्युभन्दा कडा बनाउन प्रयास गरिएको छ। तर बेलायतमा नितान्त फरक लकडाउन छ। २ जना भन्दा धेरै मान्छे कतै जम्मा भए भने प्रहरीले उनीहरूलाई सम्झाएर तितरबितर बनाउँछ। पार्कहरूमा फरक परिवार जस्ता देखिने मान्छे रहेछन् भने सोधेर उनीहरूलाई छुट्टिन आग्रह गर्छन्।  कारहरू रोकेर कसैलाई प्रश्न गर्दैनन् किनकि प्रहरीलाई जनताप्रति विश्वास छ। तर पटक पटक अटेरी गरेको अवस्थामा भने प्रहरीले जरिवाना तिराउने प्रावधान छ। पिट्ने गर्दैन। नेपालमा भने लाठी प्रयोग गरेर जनतालाई तह लगाउने प्रहरी र सरकारको आग्रह नटेर्ने जनता हुँदा समस्या देखियो। कोरोना भाइरसले निम्त्याउनसक्ने जोखिमलाई नजरअन्दाज गरियो। जनतालाई सरकार र सरकारलाई जनताको विश्वास नभएको अवस्था देखियो।

मिनेट मिनेटमा कोभिड–१९ का कारण मृत्युका समाचार आइरहेका छन्। पत्रपत्रिका र सामाजिक सञ्जाल हेर्‍यो, कोरोना भाइरसकै मात्र कुरा देखिन्छ। विश्वको अर्थतन्त्र कोरोनाले सखाप पार्‍यो। सारा संसार अदृश्य दुश्मनसँग युद्ध गरिरहेको छ। युरोप कोरोनाको केन्द्रबिन्दु बनेको छ। इटाली र स्पेन रोइरहेका छन्। बेलायतमा यस्तै अवस्था रहेमा दुई लाख पचास हजार मानिसले ज्यान गुमाउन सक्ने र मृत्यु हुनेको संख्या २० हजारभित्र राख्न सकियो भने ठूलो उपलब्धि हुने कुरा बताइएको छ। लगभग ६ करोड जनसंख्यामा यो निकै ठूलो संख्या त होइन तर सानो पनि होइन।  प्रत्येकपटक खोकी आउँदा, हल्का शरीर तात्दा वा घाँटी खसखस हुँदा कोरोनाकै शंका लाग्ने। विदेसिएका हामी नेपालीलाई यताको परिवारमात्र होइन, नेपालमा रहेका आफन्तजनको उत्तिकै चिन्ता हुँदा डरको डबल डोज पुग्ने रहेछ। भनिन्छ नि जे लेखेको छ भोग्नुपर्छ भनेर। काललाई न रोक्न सकिन्छ न त बोलाउन नै। तर काल कसैको प्यारो भने हुँदैन। तरपनि कोरोनालाई रोक्न सकिन्छ। काल बन्नबाट छेक्न सकिन्छ। कोरोनाकै कारण कालको प्यारो हुनुपर्ने छैन।

केबल सजगता अपनाउनुपर्‍यो। सरकारले भनेका सावधानीका उपाय अवलम्बन गर्नुपर्‍यो ।कोरोनाले म जस्ता लाखौँ कामदारलाई घरमै बन्दी बनाएको छ भने लाखौँको रोजगारी पनि खोसेको छ। हजारौँका आफन्तलाई लुटेर बिचल्ली पारेको छ। शोकमा डुबाएको छ। मानव जातिकै एक दुश्मनका रूपमा यो अदृश्य शक्ति उदाएको छ। तर यो दुश्मनलाई हराउन हामी सक्नेछौँ। त्यसका लागि‘ब्रेक द चेन’ भने गर्नैपर्छ। सजगता अपनाउनैपर्छ। कोरोनाले बन्दी बनेको म डराएको छु तर हारेको छैन। कोरोनालाई बन्दी अवस्थाबाट नै पराजित गर्नेछु। तपाईँहरू पनि त्यसै गर्नुहोस्। 

प्रकाशित: १८ चैत्र २०७६ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %

नेपाल रिपब्लिक मिडिया (प्रा) लि.ले नेपाली भाषामा नागरिक राष्ट्रिय दैनिक (गुणराज लुइँटेलको सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।

मुद्रा विनिमय

नेपाल रिपब्लिक मिडिया (प्रा) लि

रजिस्टर्ड नंः १६३/०५४/०५५
जेडिए कम्प्लेक्स
सुन्धारा, काठमाडौं
फोनः ४२६५१००
फ्याक्सः ४२५२२६२
प्रबन्ध निर्देशकः विनोदराज ज्ञवाली
निर्देशकः शोभा ज्ञवाली
प्रधान सम्पादक: गुणराज लुइँटेल