१५ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

जाँच, जाँच र जाँच

विश्व स्वास्थ्य संगठनका महानिर्देशक थेड्रोस आदानम ग्राब्रियासोसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका निम्ति एकमात्र विधि सुझाउँदै भनेका छन्– टेस्टिङ, टेस्टिङ एन्ड टेस्टिङ । अर्थात् यसको एकमात्र उपाय हो– जाँच, जाँच र जाँच । उनले यसो भनेको ३ चैतमा हो । उनले सतर्कता अपनाउन भनेको पनि दुई साता पुग्न लागेको छ । तर, यसबीचको हाम्रो तयारी भने अपुग देखिएको छ । हाम्रा चिकित्सक र संक्रमणबारे जानकार व्यक्तिहरूले समेत अहिले जुनरूपमा हामीकहाँ कोरोना जाँच भइरहेको छ, त्यो आफैँमा अपुग रहेको बताइरहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले नागरिकसँग प्रस्ट शब्दमा भनेका छन्– जाँचको दायरा बढाउनुपर्छ ।

कोरोना भाइरस संक्रमणबाट बच्ने एकमात्र उपाय यसलाई फैलन नदिनु हो । जति चाँडो यसको फैलावट रोकिन्छ, त्यति नै यसबाट मुक्ति मिल्छ । यतिबेला हामी बन्दाबन्दीको स्थितिमा छौँ । यसको पाँचौँ दिनमा आइसक्दा यसका चौथा बिरामी फेला परेका छन् । बन्दाबन्दीमा मुलुकलाई राख्नुको उद्देश्य सकेसम्म बिरामीको पहिचान र उपचार गर्ने हो । जसलाई संक्रमण भइसकेको छ, तिनलाई अलग्गै राखी उपचार गर्ने हो । संयोगले अहिलेसम्म हामीकहाँ अन्य मुलुकको तुलनामा धेरै बिरामी देखिएका छैनन् । चार बिरामीमध्ये एकको उपचार भएर घर गइसकेका छन् । बाँकी तीन जनाको उपचार भइरहेको छ । र, तीनै जनाको अवस्था राम्रो छ ।

यो संक्रमणमा हुने मृत्युको प्रतिशत अत्यन्तै झिनो छ । तर संक्रमण फैलिँदै गयो भने त्यसले वृद्ध, कमजोर र अन्य दीर्घ रोग लागेका व्यक्तिको जीवनमा गम्भीर असर पर्छ । त्यसले मर्नेको संख्या बढ्छ । आज इटालीलाई हेर्ने हो भने पनि यो प्रस्ट देखिन्छ । त्यहाँ भइरहेको मृत्युको दारुण दृश्यबाट हामी चेतेनौँ भने ठूलो आपत् आइलाग्छ । दक्षिण कोरियाले सकेसम्म यस्ता व्यक्तिको पहिचान गर्ने र तिनको सम्पर्कमा भएका सबैलाई खोजेर उपचार गरेका कारण चाँडै नियन्त्रणमा आएको हो ।

यस कारण पनि बिरामीको जाँचमा बढ्ता ध्यान दिनुपर्ने देखिन्छ । चिकित्सकहरूका अनुसार अहिलेसम्म हामीकहाँ कोरोना संक्रमण विदेशमा गएर आएका व्यक्तिमा मात्र देखिएको छ । यसको अर्थ हो– जति पनि यसरी बाहिरबाट आएका व्यक्ति छन्, तिनको बेलैमा पहिचान गरी उपचार गर्ने हो भने यो संक्रमणबाट हामीलाई बाहिर निस्कन समय लाग्दैन । एक हिसाबले यो संक्रमण हाम्रा निम्ति ‘आयातीत’ जस्तो मात्र छ । तर यो हाम्रो समुदायमा फैलिसकेको छ÷छैन भनेर थाहा पाउन जाँचमै बढ्ता ध्यान दिनुको विकल्प छैन ।

हाम्रो राजनीतिक नेतृत्वमा भने यसप्रतिको गम्भीरता देखिएन । अन्यत्र यो संक्रमण फैलिन थालेपछि जुन तहको तयारी हुनुपथ्र्यो त्यो भएन । अहिले बन्दाबन्दीमा मुलुकलाई छाडिदिएको छ । थप संक्रमण भएको थाहा पाउने गरी काम गरेको देखिएको छैन । पाँच दिन बितिसकेको छ । अर्को साता थप गर्ने तयारी छ । यो बन्दाबन्दीको स्थितिलाई सकेसम्म सदुपयोग गरी बढीभन्दा बढी जाँच हुनुपथ्र्यो । यस्तो जाँच संक्रमणको लक्षण देखिएकालाई मात्र होइन, अन्यलाई पनि त्यत्तिकै सरिक गर्नुपर्छ । अझ कतिपयलाई आफैँ शंका लागेको छ भने पनि जाँच गराउने व्यवस्था हुनुपर्छ ।

अहिलेको परिस्थितिबाट चिन्ता गर्नुपर्ने अर्को विषय हामीले हाम्रा स्वास्थ्य संरचनालाई किन भरपर्दो बनाउन सकेनौँ ? पछिल्ला बिरामीबारे जानकारी शुक्रबार मात्र सार्वजनिक गरेको छ सरकारले । तर, उनी बिरामी भई अस्पतालमा भर्ना भएका र नमुना संकलन गरी जाँचका लागि पठाइएको समय अत्यन्त लामो भएको छ । समयमै नमुना जाँच गर्ने व्यवस्था पनि गर्न सकिएन । एकातिर, हामी मुलुकलाई संघीयतामा लगेको भनेर गौरव गरिरहेका छौँ, अर्कोतिर यस्तो संक्रमणको जाँच गर्नेसम्मको क्षमता हामीले प्रदेशस्तरमा समेत बनाउन सकेका छैनौँ ।

हामीले विकास भनेको सडक बनाउने भन्ने मात्र बुझेका छौँ । जनस्वास्थ्यका निम्ति लगानी गर्ने र त्यसलाई आमनागरिकको हितमा प्रयोग गर्ने संयन्त्र बनाउनु कति आवश्यक छ भन्ने यसले देखाएको छ । हाम्रो मुलुकले कोरोना संकटबाट जुध्ने क्रममा लिनुपर्ने गम्भीर पाठ हो– जनस्वास्थ्यलाई भरपर्दो बनाउनु । यसका निम्ति हाम्रो ध्यान पुग्नुपर्छ । र, अहिलेको स्थितिमा कोरोना जाँचलाई व्यापक स्तरमा फैलाउनतिर सरकारको ध्यान पुग्नुपर्छ । आज चिकित्सकहरूले घोक्रो सुकुन्जेल ‘जाँच, जाँच र जाँच’ भनिरहँदा पनि सुतुरमुर्गजस्तो सुतिरहने हो भने स्थिति भयाबह हुनेछ ।

प्रकाशित: १६ चैत्र २०७६ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App