२ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

कोरोनाको राक्षसीकरण

यान लुन
नोबेल कोरोना भाइरसको व्याख्या गर्न ‘उहान भाइरस’ वा ‘चाइना भाइरस’जस्ता शब्दावली प्रयोग गरिएकामा खरो विरोध गरेर चीनले ‘विश्वव्यापी महामारी’को समयमा ‘कृतघ्न भूमिका’ खेलिरहेको हो ? उहानमा कोरोना संक्रमण सुरु हुनेबित्तिकै नियन्त्रण नगरेर चीनले संसारलाई नै खतरामा धकेलेको हो ?

धेरै पश्चिमा मिडिया र राजनीतिक नेता भन्छन्, ‘हो, यसमा कुनै सन्देह छैन।’
तर विश्वले ‘लस एन्जेल्स भाइरस’ वा ‘अमेरिकी भाइरस’ भन्ने कुनै शब्द सुनेको छ ?

सन् १९८१ जुनको कुरा हो। लस एन्जल्सका स्वस्थ ५ युवामा दुर्लभ खालको निमोनियाँ देखाप-यो। सरुवा रोगसम्बन्धी विज्ञले १८ महिना लगाएर गरेको अनुसन्धानबाट त्यो प्रतिरोध क्षमता ह्रास हुने रोग (एड्स) भएको पत्ता लगाए। उनीहरूले त्यसका प्रमुख जोखिम पनि पत्ता लगाए।

बितेका ३९ वर्षमा त्यो प्राणघातक रोग अमेरिकाबाट विश्वभर फैलिसकेको छ। एचआइभी÷एड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग युएनएड्सअनुसार सन् २०१८ मा संसारभर ३ करोड ७९ लाख मानिस एचआइभी संक्रमित थिए। तीमध्ये १७ लाख बालबालिका थिए। ७ लाख ७० हजार मानिसको एड्ससँग सम्बन्धित रोगका कारण मृत्यु भयो।  पहिलोपटक एड्स फेला परेयता ७ करोड ४९ लाख मानिस एचआइची संक्रमित भए र ३ करोड २० लाख मानिसको मृत्यु भयो।

कसैले त्यो रोगका लागि ‘लस एन्जल्स भाइरस’ शब्दावली प्रयोग गरेको छ ? त्यो प्राणघातक रोगलाई आफ्नो सिमानाभित्र कैद गर्न नसकेकामा  कसैले अमेरिकालाई दोष लगाएको छ ? सन् २०१८ मा मात्र ७ लाख ७० हजार व्यक्तिको ज्यान लिएको त्यो रोगका कारण मानिस आतंकित छन् ?

यी सबै प्रश्नका उत्तर नकारात्मकै आउनेछन्। पहिलोपटक लस एन्जल्समा एड्स देखिएको २६ वर्षपछि सन् २००७ मा एरिजोना विश्वविद्यालयका जीवशास्त्रीले सन् १९६९ मा एचआइभी अफ्रिकाबाट हाइटी हुँदै अमेरिका प्रवेश गरेको कल्पना गरे।

विश्वले ‘लस एन्जेल्स भाइरस’ वा ‘अमेरिकी भाइरस’ भन्ने कुनै शब्द सुनेको छ ?

कसैले यो कुरा अस्वीकार गर्दै अमेरिकाले एचआइभी/एड्स ‘बनाउनु र फैलाउनु’ मा आफ्नो ‘भूमिका’ लुकाउन खोजिरहेको छ भन्यो ?

अहँ भनेन। बरु सबैले यो कल्पनालाई नै स्वीकार गरे।  
नयाँ किसिमको रोग वा भाइरस कहाँबाट जन्मियो भन्ने निक्र्योल गर्न वैज्ञानिकलाई जीवाणु, ‘सुरुको बिरामी’, ‘सुरुमा देखिएको ठाउँ’ पहिल्याउन लामो समय लाग्ने गर्छ। सन् १९१८–२० सम्म विश्वव्यापी रूपमा फैलिएको ‘स्पेनिस फ्लु’ भनिने इन्फ्लुएन्जा महामारीका कारण ४ करोड मानिसको मृत्यु भयो। त्यो रोग कहाँबाट सुरु भएको थियो भन्ने विषयमा शताब्दीयता पनि धेरैथरी परिकल्पना गरिएका छन्। कसैले फ्रान्सबाट सुरु भएको दाबी गर्छन्, कोही  अमेरिका त कोही चीनतिर औंल्याउँछन्।

कोरोना भाइरसको उद्गमस्थल उहानलाई मान्ने तर्कप्रति विमति राख्नुको अर्थ कोभिड–१९ चीनबाहिर समेत व्यापक बनिरहेको अवस्थामा आफ्नो जिम्मेवारीबाट ऊ भाग्न खोजेको होइन। चीनले यो भाइरसको सुरुवात कहाँबाट भएको थियो भन्ने कुरा पत्ता लगाउन सरुवा रोगका विशेषज्ञ र अन्य विज्ञको लामो र कठिन अनुसन्धानको खाँचो छ मात्र भन्न खोजेको हो। सुरुवाती चरणमा जापानमा कम्तीमा १२ मानिसमा यसको संक्रमण देखियो। ती मानिसले चीनको कहिल्यै भ्रमण गरेका थिएनन् न कोही  चिनियाँसँग सम्पर्कमा आएको देखिएको छ। अमेरिकी प्रतिनिधिसभाको सुनुवाइमा गत फागुन २९ गते अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का निर्देशक रोबर्ट रेडफिल्डले अमेरिकाका सबै सहर, राज्य र अस्पतालमा सिडिसीको निमोनियाँ परीक्षण प्रणाली नभएको हुँदा इन्फ्लुएन्जाले मृत्यु भएको भनिएका केही अमेरिकीको निधन कोरोनाका कारण भएको हुन सक्ने स्वीकार गरे।

नोबेल कोरोना भाइरस मानव जातिको साझा शत्रु हो। यसका कारण संक्रमित र मृत्यु भएका मानिसलाई दोषारोपण गर्नुपर्ने कुनै कारण छैन। भाइरस कहाँबाट उत्पति भयो भन्ने प्रश्नको हल गर्नुअघि कसैले पनि विशेषतः पीडितलाई हेला गरेर आफ्नो अज्ञानता प्रदर्शन गर्न हुन्न।  अमेरिकाका विदेश–सचिव माइक पम्पेओजस्ता राजनीतिक नेता र सञ्चारमाध्यमले यो भाइरसलाई ‘उहान’ र ‘चीन’सँग जोड्दा जातीय घृणा फैलिनेछ।

‘द न्युयोर्क टाइम्स’को आफ्नो पछिल्लो स्तम्भमा चिनियाँ स्तम्भकारले अमेरिकाको एसियाली समुदायमा भियतनामी मूलकी एक महिलालाई ‘अनौठौ खाना खाएको र त्यस्तो खाना त्यहाँ ल्याएको’ भन्दै अमेरिकीले हप्काएको उल्लेख गरेका छन्। आज धेरै पश्चिमा नागरिकका लागि एसियाली, आँखाको कसिंगर बनेका छन्। लन्डनमा एक समूहले सिंगापुरका एक  विद्यार्थीलाई कुटपिट ग¥यो। त्यो समूहले ‘आफ्नो देशमा कोरोना भाइरस नचाहिएको’ भन्दै कुटपिट गरेको थियो। यस्ता पूर्वाग्रही हमलाले विश्वव्यापी संक्रमणविरुद्ध लड्ने साझा प्रयासलाई कमजोर बनाउनेछ। यस्तो प्रवृत्ति अन्त्य गरिनुपर्छ।

उहानका १५ वटै अस्थायी अस्पताल अघिल्लो मंगलबारदेखि बन्द गरिएका छन्। यसबाट चीन कोरोना संक्रमणविरोधी लडाइँको अन्तिम चरणमा रहेको प्रस्ट हुन्छ। तर चीनले यो युद्धमा गरेको त्याग भुल्न हुन्न। पूरै हुपेई प्रान्तले लामो ‘लकडाउन’ सामना गर्नुप-यो। आर्थिक वर्षको पहिलो ३ महिनामा चीनको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ। संक्रमितको उपचारका लागि चीनका विभिन्न ठाउँबाट उहान पुगेका ४० हजारभन्दा बढी स्वास्थ्यकर्मीको योगदान पनि हामीले बिर्सनु हुन्न। चीनले यो भाइरसविरुद्ध चालेका कदमले चिनियाँ जनतालाई मात्र जोगाएको छैन, बरु यो रोगविरुद्ध लड्न अरू देशलाई पनि प्रेरणा दिएको विश्व स्वास्थ्य संगठनले बताएको छ।

वास्तवमा चीनले भाइरसविरुद्धको यो युद्धबाट धेरै पाठ सिक्नुपर्छ। जनस्वास्थ्य प्रशासनलाई महामारीको सुरुवाती दिनमै कसरी प्रभावकारी बनाउने भन्ने विषयमा चीनले सिक्न जरुरी छ। यो चिनियाँ अनुभव महामारीविरुद्ध लडिरहेका अन्य देशका लागि पनि अमूल्य सन्दर्भ–स्रोत हुन सक्छ। नोबेल भाइरसलाई ‘उहान भाइरस’ वा ‘चाइना भाइरस’ भन्नु राक्षसीकरणको सबभन्दा भद्दा रूप हो। त्यस्तो काम रोकिनुपर्छ।
(लेखक चिनियाँ पत्रकार हुुन्।)
स्रोतः चाइना डेली
नेपाली अनुवादः नीरज लवजू

प्रकाशित: ४ चैत्र २०७६ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App