६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

छोराको चाहना

सबै मानिसमा विवाहपछि सन्तानको चाहना पक्कै हुन्छ। त्यसमा पनि प्रायः नेपालीमा छोराको चाहना असाध्यै हुने गरेको छ। छोराकै आशामा १०/१२ वटासम्म छोरी जन्माउने गरिएका उदाहरण प्रशस्तै पाइन्छ। श्रीमतीले छोरा जन्माइन भनेर अर्के विवाह गर्ने, उसलाई शारीरिक/मानसिक यातना दिने, रजस्वला नहुँदै छोरीको विवाह गरिदिए, महायज्ञ/सप्ताह लगाए छोरा जन्मिन्छ अथवा पूर्वजन्ममा पाप गरेकाले छोरा नजन्मिएको भन्नेजस्ता अन्याय र अन्धविश्वास पनि कायमै छन्।

पहिलेको तुलनामा अहिले सन्तान जन्माउने दर त कम भएको छ, तर अहिलेका शिक्षित वर्गमा पनि छोराप्रतिको मोह उत्तिकै छ। अहिले गर्भ रहनेबित्तिकै लिंग पहिचान गर्ने र छोरी भए भ्रुणमै हत्या गर्ने विकृति बढेको छ। लाखौं छोरी त्यस्ता छन्, जसले उचित शिक्षा र अवसर पाउँदा आफूलाई अब्बल साबित गरेका छन्। हरेक क्षेत्रमा पुगेका छन्। कुशलतापूर्वक  जिम्मेवारी पूरा गरेका छन्। आमाबाबुप्रतिको दायित्व पनि मज्जाले निर्वाह गरेका छन्। तर पनि किन यो समाजमा छोराकै चाहना ज्यादा ?

प्रसंगवश कलियुगका मुना–मदनको कथा सुनाउन चाहन्छु। मुना जन्मेको केही दिनमै आमा बितिन्। बाबुले अर्की विवाह गरे। मुनाको हेरचाह र वास्ता भएन। मामाघरकी हजुरआमाले उनलाई हुर्काइन्। उनले पढ्ने/लेख्ने अवसर पाउने त कुरै भएन। १३ वर्षकै उमेर आफूभन्दा ८/१० वर्ष जेठो केटासँग उनको विवाह गराइयो। छोराको चाहना गर्दागर्दै उनका लगातार ४ छोरी जन्मिए। तर त्यसपछि मुना गर्भवती हुन छाडिन्।

मदनका छोरीहरूले हामी हेर्छौं, हामी पाल्छाैं, अब छोराको चाहना त्याग्नुस्, नभनेका होइनन्। तर मदनले मान्दै मानेन्। र, अन्ततः बूढेसकालमा अर्काको नासो अपनाए।  

छोरीहरूलाई पढाएर आफ्नै खुट्टामा उभ्याउने मुनाको ठूलो धोको थियो। तर गरिबीका कारण सकिनन्। ७÷८ कक्षा पढ्दापढ्दै दुई छोरीको विवाह गरिदिइन्। दुई छोरी पढ्दै थिए। मुनाबाट अब सन्तान हुँदैन भन्ने थाहा पाएपछि मदन अर्की श्रीमतीको खोजीमा हिँड्न थाले। त्यस क्रममा उनले २ श्रीमती ल्याए। तर पालैपालो ल्याइएका दुवै केही समय बस्दै पुनः आफ्नै बाटो लागे। भूमिहीन मदनसँग बस्ने घरसमेत थिएन। सडकछेउको जग्गामा सानो छाप्रो बनाएर बसेका थिए।
विवाह भइसकेका २ छोरीमध्ये एउटीको १ छोरा, अर्कीको १ छोरी भइसकेका थिए। मदन हजुरबा बनिसकेका थिए। तर उनमा अझै छोराको आशा मरेको थिएन। फोनमा कुरा गर्दागर्दै बूढेसकालमा मदन फेरि अर्की महिलासँग नजिकिन थाले।

केही दिनदेखि मदन मुनासँग बोल्नै छाडेका थिए। बिहानैदेखि कतै हराउँथे। राति अबेर घर आए पनि छुट्टै सुत्न थालेका थिए। यस्तैमा एक दिन  मदन एक महिला लिएर घर आए। घरमा पाहुना आएको छ भन्दै उनले मुनालाई खाना बनाउन भने। केही नबोली खाना बनाएर दुवै जनालाई दिइन्। को आए, किन आए ? मुनालाई अत्तोपत्तो थिएन। गाउँतिर निस्किँदा पो सबैले जिस्क्याउन थाले– ‘घरमा सौता भित्र्यायौ होइन ?’ मुना झसंग भइन्। मदनले त गाउँका मानिसलाई ‘मलाई भन्दा पनि मेरै श्रीमती (मुना)लाई छोरा चाहिएकाले उसैको सहमतिमा अर्की ल्याएको’ भनेका रहेछन्। मुनाको मनमा किला रोपियो।

पछि थाहा पाइन्। केही वर्ष पहिले ती महिलाका श्रीमान् बितेका रहेछन्। कसैसँगको शारीरिक सम्बन्धबाट उनी गर्भवती भइछन् र छोरा जन्मेछ। परिवारले स्वीकार्ने सम्भावना थिएन। त्यसैले उनी परिवारदेखि टाढा काठमाडाैंमा संघर्ष गरेर बस्न थालेकी रहिछन्। त्यही क्रममा मदनसँग फोनमा कुराकानी हुन थालेछ  र एकअर्कासँग नजिकिएछन्।

छोराकै आशाले मदनले बूढेसकालमा उनलाई भित्र्याएका रहेछन्। आफैंले जन्माएका छोराले त हेरचाह नगर्दा हजारौं आमाबाबु वृद्धाश्रममा बस्न बाध्य छन्। मदनका छोरीहरूले हामी हेर्छौं, हामी पाल्छांै, अब छोराको चाहना त्याग्नुस्, नभनेका होइनन्। हामीले जन्माएका सन्तान (छोरा)समेत तपाईंहरूकै हो पनि भनेकै हुन्। तर मदनले मान्दै मानेन्। र, अन्ततः अर्काको नासो अपनाउन तयार भए। अब उनीहरूको भविष्य के होला ?
करिब २ महिनाअघि भेटिएकी ती मुनाले सुनाएको यो वास्तविक कथा हो।

प्रकाशित: २ चैत्र २०७६ ०२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App