२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

कठै कांग्रेस !

६ दशकअघि नेपाली कांग्रेस नाम गरेको प्रजातान्त्रिक राजनीतिक पार्टी स्थापना भएको थियो। हुन त यसभन्दा १० वर्षअघि नै ‘प्रजापरिषद्’ पार्टी गठन भइसकेको थियो। प्रजापरिषद् केही उत्साही देशभक्तको प्रयत्नमा भएको थियो। गोप्य रूपमा। त्यसको सुइँको पाउनासाथ निरंकुश जहानियाँ राणा शासकले पार्टी स्थापनाका निम्ति सक्रिय १७ जनालाई पक्राउ गरी चरम यातना दियो।

तिनै १७ राजबन्दीमध्येका चार होनहार युवा– धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई झुन्ड्याएर मारियो। त्यतिले पनि नपुगेर उनीहरूलाई गोली ठोक्यो, राणाा सरकारले। हो, यो देशका यिनै चार महान् सपुतकै सहादतले नयाँ पुस्ताका युवालाई देशका निम्ति मरिमेट्न प्रेरित ग-यो। हाँसीहाँसी बलिदानी दिएका यिनै वीर सहिदद्वारा दीक्षित गणेशमान सिंहजस्ता व्यक्तिको समेत संलग्नतामा २००५ सालमा नेपाली कांग्रेस स्थापना भएको हो। नेपाली कांग्रेस कस्ता–कस्ता व्यक्तिद्वारा स्थापित एवं सञ्चालित पार्टी हो भन्ने कुरा नबुझी नेपाली कांग्रेसलाई बुझ्न सकिन्न। त्यसैले यो पार्टी स्थापनामा सक्रिय प्रमुख तीन नेतामा यो आलेख केन्द्रित छ।

गणेशमान सिंह
गणेशमान सिंह, उमेरमा बिपी कोइरालाभन्दा कान्छा थिए। तर उनले बिपीले भन्दा डेढ दशकअघि राजनीतिको अन्धकारमा हामफालिसकेका थिए। प्रजापरिषद्का नेताहरू धर्मभक्तलगायत चार जनालाई फाँसीको सजाय सुनाएकै बेला गणेशमान सिंहलगायत अन्य ५ जनालाई सर्वस्वसहित जन्मकैद तथा टंकप्रसाद आचार्य र रामहरि शर्मालाई सर्वस्वसहित जन्मकैदका साथै चारपाटे मुड्नेसम्मको अत्याचार गरिएको थियो।

नेपाली कांग्रेस आज सबै दृष्टिले थला परेको छ। यसले हार्दिकता र प्रजातान्त्रिक संस्कार त बिस्र्यौ बिस्र्यौ, आफ्नो आदर्श र सिद्धान्तलाई पनि तिलाञ्जलि दिइसकेको छ।

वि.सं. १९९७ मै पक्राउ परेका गणेशमानले राणाको जेलभित्रै गरेका कैयौं विद्रोहका कथाले नेपाली जनमानसमा उनी नायकका रूपमा स्थापित भइसकेका थिए। उनको साहस र वीरताको कथा सुन्नका निम्ति मात्र पनि त्यसबेलाका युवा हजारौं रुपैयाँ खर्च गर्न पछि हट्थेनन्। २००१ सालमा गणेशमान सिंहले राणा सरकारका यावत् सुरक्षा घेरा छिचोल्दै भद्रगोल जेलको पर्खाल नाघेर भागे र भारतमा गएर नेपालीलाई संगठित गरी राणाविरुद्धको क्रान्तिको तयार गर्न थाले। त्यही बेला बिपीसँग उनको भेट भयो। त्यो पहिलो भेटमै गणेशमानले अठोट गरेछन्– ‘नेता भनेको यस्तो पो हुनुपर्छ। अब यही बाहुनको साथ लिएर क्रान्ति सम्पन्न गर्नुपर्छ।’ उता बिपी पनि मन भित्रभित्रै भन्दै थिए रे– ‘मसँग जनतालाई देखाउनका निम्ति उपयुक्त क्रान्तिकारी नेता थिएन। अब गणेशमानजी भेट हुनुभएको छ। उहाँ नेपालीको मनमस्तिष्कमा राज गरिसक्नुभएको व्यक्ति हो। उहाँलाई नै अगाडि सारेर क्रान्ति सफल पार्नुपर्छ।’ कत्रो विश्वास र सम्मान एकअर्काप्रति ! यी दुई महाननेताबीच पहिलो दिनमै स्थापित विश्वास र आपसी सम्मान एवं सम्बन्ध आर्यघाट नपुगुन्जेलसम्मै कायम रह्यो।

गणेशमान सिंहलाई राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले बारम्बार प्रधानमन्त्री बनिदिन आग्रह गरे तर, उनले कहिल्यै स्वीकारेनन्। तर आफ्नो पार्टीले भने पछि उनले मन्त्री पद पनि स्वीकारे। पार्टीप्रति अगाध विश्वास र एकप्रकारको भक्ति नै थियो, उनको। गणेशमानले जीवन रहेसम्म बरु दुःख मन्जुर गरे, तर सिद्धान्तसँग कहिल्यै सम्झौता गरेनन्। त्यसैले त उनलाई ‘लौह पुरुष’, ‘वीर’ तथा ‘सर्वमान्य नेता’जस्ता अलंकारले पुकारिन्छ। प्रजातन्त्र स्थापना र पुनःस्थापनाका निम्ति भएका ३÷३ वटा क्रान्ति, सत्याग्रह र जनआन्दोलनको नेतृत्व गरे, उनले। तर कहिल्यै सत्तामा गएनन्। जनताबीच नै रहेर प्रजातन्त्र संवद्र्धनका निम्ति खटिरहे, जनताको आवाजमा आफ्नो आवाज एकाकार बनाइरहे। उनी भन्थे– ‘म जनताको अधिकार र प्रजातन्त्रका निम्ति वाचडगको भूमिका अदा गर्नेछु।’

जनरल सुवर्णशमशेर
जनरल सुवर्णशमशेर, महासामन्त थिए। राणा परिवारका सदस्य, देश–विदेशमा व्यापार तथा सम्पत्ति, अनि देशभित्रै मधेसमा हजारौं विगाह र काठमाडौंमा हजारौं रोपनी जमिन थियो, उनको। दरबार, महल, कोठी र घर त कति हो कति ! यस्ता महासामन्तले देशमा प्रजातन्त्र ल्याउन र समाजवाद स्थापना गर्न आफ्नो सर्वस्व सुम्पन १ मिनेट अलमल गरेनन्। क्रान्ति तयारी कालको एउटा प्रसंग छ। दृष्टिपात गरौं।

बिपी कोइराला र गणेशमान सिंहले क्रान्तिका निम्ति यावत् अवयवको बन्दोबस्त मिलाइसकेका थिए। उहाँहरूले व्यवस्था गर्न नसकेको कुरा एउटा मात्र थियो– पैसा। सस्तो जमाना थियो। तर पनि सशस्त्र क्रान्तिजस्तो कुरा हजारौं थान हतियार, गोलाबारुद, रासन–पानी, अनि अन्य बन्दोबस्तीका सामाग्री जुटाउन ‘पूँजी’को आवश्यकता पथ्र्याे नै। बिपी र गणेशमानले एकदिन सल्लाह गर्नुभएछ– सुवर्ण शमशेरसँग मागौं। त्यसबेला आम व्यक्तिबीच एउटा हल्ला थियो– ‘सुवर्ण शमशेरले शासन–सत्तामा भाग खोज्नाका निम्ति राणा शासकलाई घुक्र्याउन कांग्रेससँग मिलेकोजस्तो देखाएका मात्र हुन्। भाग पाउनासाथ पुनः फर्किन्छन् दरबारमै।’

कांग्रेसले अरू दललाई प्रजातान्त्रिक संस्कार, संस्कृति र यसका मूल्य÷मान्यता सम्झाउनुपर्नेमा आफैं यसरी दिग्भ्रमित एवं विचलित हुँदै गएको देख्दा नेपाली कांग्रेसका समर्थक चिन्तित छन्

जनताको यो सोचविपरीत एकदिन स्वयं सुवर्णशमशेरले बिपी र गणेशमानलाई कलकत्तामा आफूले बस्ने ठाउँमा बोलाएर भने– ‘क्रान्तिका निम्ति हामी यति अघि बढिसक्यौं, तर तपाईंहरू रुपैयाँ÷पैसाको कुरै गर्नुहुन्न। के व्यवस्था गर्नुभएको छ ?’ बिपीले भने– ‘जरसाबलाई हामी भन्नेवाला थियौं। आफैं सोधेर हामीलाई हल्का बनाइदिनुभयो। धन्यवाद !’ सुवर्णले भने– ‘कति रकमको व्यवस्था गरौं त ?’ सुवर्णको कुरा सुनेर बिपी र गणेशमानले एकअर्काको मुख हेराहेर गरे। धेरै भने बिच्किएलान्; थोरै भने बाँकी रकम कहाँ खोज्ने ? बडो मुस्किल अवस्था थियो। दुई नेताको मौन संवादपछि बिपीले भने– ‘२५–३० लाखजति व्यवस्था जर्साबले गरिदिनुप¥यो।’ सुवर्णशमशेरको चेहरामा अस्वाभाविक परिवर्तनको झल्को देखेका बिपीले थपे– ‘यो अनुमान मात्र हो। जर्साबलाई उपयुक्त जति लाग्छ, त्यति व्यवस्था गरिदिए हुन्छ।’

तुरुन्त सुवर्णले भने– ‘जाबो २५–३० लाख रुपैयाँले सशस्त्र क्रान्ति हुन्छ ? मैले ३ करोड अन्दाज गरेको छु। रकम कहिले चाहिने हो, केही दिनअघि नै बताउनुहोला। नगद व्यवस्था गर्न केही समय लाग्न सक्छ। यतिले नपुगे हामी छँदै छौं !’ सुवर्णले फेरि भने– ‘क्रान्तिका निम्ति आवश्यक रकम म र मेरा भाइले आधा÷आधा बेहोर्ने निश्चय गरेका छौं।’ (स्मरण रहोस्, त्यसबेलाको ३ करोड भनेको आधा काठमाडौं नभए पनि पूरै ललितपुर वा भक्तपुर जिल्ला किन्न पुग्थ्यो)। यस्ता दानवीर थिए– सुवर्णशमशेर !

जनरल सुवर्णशमशेर दानवीर मात्र थिएनन्। उनी त सिद्धान्तनिष्ठ र विकासप्रेमी पनि थिए। २०१५ सालमा बनेको नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादी सरकारका अर्थमन्त्री पनि भए, उनी। देशको महासामन्तमध्येका एक मानिने अर्थमन्त्री जनरल सुवर्णशमशेरले आफ्नै कार्यकालमा राजा/रजौटा उन्मूलन, प्रगतिशील भूमिसुधार र समाजवादी अर्थ–व्यवस्था शुभारम्भ गरेका थिए। उनको त्यो कदमले नै आजका मितिसम्म पनि कांग्रेसले ‘हामी समाजवादी हौं’ भन्न पाइरहेका छन्।

बिपी कोइरालाबारे धेरैले धेरै कुरा लेखिसकेका छन्। उनीबारे गैरकांग्रेसीले पनि पर्याप्त लेखिसकेका छन्। बिपीको राजनीतिक उचाइ नेपालमा मात्र होइन, दक्षिण एसियामै प्रशंसित थियो। समाजवादी आन्दोलनका अग्रजमध्ये पर्ने भएकाले उनलाई विश्वस्तरको राजनितिज्ञ मानिन्थ्यो। आन्तरिक राजनीतिमा पनि उनीबराबर आजसम्म कोही पुग्न सकेका छैनन्। तर यो आलेखमा गणेशमान र सुवर्णशमशेरबारे अलि बढी लेखिएको छ। कारण– सत्तारूढ कांग्रेसीले यी दुई महान् नेता एवं धर्तीपुत्रलाई ओझेलमा राखेर आफ्नो दुनो सोझ्याउन र कांग्रेस पार्टीको जग हल्लाउनमै यी ३ दशक खर्च गरे। फलतः जुन नेपाली कांग्रेसको नाम सुन्दा मात्र पनि राणा एवं शाह शासकको मुटु काँप्थ्यो, अहिले कम्युनिस्ट भनाउँदाहरूले चौतारीमा बसेर गिज्याउँदा पनि प्रतिक्रिया–शून्य छन्– कांग्रेसी। हिजोका कांग्रेसी कांग्रेसलाई दिएर थाक्दैन थिए। आजका कांग्रेसी त्यो कांग्रेसको लाम्टा चुसेर कहिल्यै अघाउँदैनन्।

पुरानो कांग्रेसमा एउटा सस्ंकार थियो– साथीको आदार तथा सम्मान गर्ने। कांग्रेस स्थापनाकै समयमा बिपी चाहन्थे– कांग्रेस र क्रान्तिको नेतृत्व गणेशमानले लिउन्। तर गणेशमानले बिपीलाई नेता बनाए। अनि बिपीले क्रान्ति सफल पार्न रणनीतिक हिसाबले पार्टीको सभापतित्व मात्रिकाप्रसादलाई सुम्पिए। क्रान्तिपश्चात् मात्रिकाप्रसादले बाटो बिराउन थालेपछि पुनः त्यो पद बिपीले नै सम्हाले। ११ सालमा बिपीले त्यो पद सुवर्णलाई सुम्पिए। पछि राजा महेन्द्रले २०१७ सालमा सैनिक ‘कु’ गरेपछि आफू जेलभित्र बस्नुपरेका कारण नेपाली कांग्रेसको प्रमुख पद जेलबाहिर रहेका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सुम्पिए बिपीले। प्रतिबन्धित कालभर कांग्रेसको दियो निभ्न नदिई जोगाइराखेका कृष्णप्रसादले ८ वर्ष लामो जेल जीवनपछि नेपाली कांग्रेसको नेतृत्व पुनः बिपीलाई स्वीकार्न अनुरोध गरे। तर बिपीले उनलाई नै निरन्तरता दिए।

यसरी आपसमा हार्दिकतासाथ नेतृत्व हस्तान्तरण गर्ने गरेको नेपाली कांग्रेसको संस्कार गिरिजाप्रसाद कोइराला नेतृत्वमा आएपछि अवरुद्ध भयो। उनलाई गुरु मान्ने सुशील कोइराला र शेरबहादुर देउवाले पनि त्यही नीति अपनाए।

नेपाली कांग्रेस आज सबै दृष्टिले थला परेको छ। यसले हार्दिकता र प्रजातान्त्रिक संस्कार त बिस्र्यौ बिस्र्यौ, आफ्नो आदर्श र सिद्धान्तलाई पनि तिलाञ्जलि दिइसकेको छ। लज्जाको कुरा त आफ्नै विधानले बनाइदिएको व्यवस्थाअनुसार समय छँदै गर्नुपर्ने पदाधिकारी नियुक्ति पनि महाधिवेशन आउन २ दिनअघि मात्र गरिन्छ ! विधानले ती पदाधिकारीको व्यवस्था ‘मानका खातिर मान’ का निम्ति मात्र गरेको थियो ? कि पार्टीलाई आम जनतासँग जोड्न ? ४ वर्षसम्म आवश्यक नठानिएको नियुक्ति म्याद सकिन २ दिनअघि किन ? कांग्रेसले अरू दललाई प्रजातान्त्रिक संस्कार, संस्कृति र यसका मूल्य/मान्यता सम्झाउनुपर्नेमा आफैं यसरी दिग्भ्रमित एवं विचलित हुँदै गएको देख्दा नेपाली कांग्रेसका समर्थक चिन्तित छन्।

प्रकाशित: २८ फाल्गुन २०७६ ०५:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App