योगको अर्थ मिलाउन वा जोड्नु हो। विशेष अर्थ लगाउँदा ध्यानमा एकाग्र हुनु नै योग हो। आध्यात्मिक दृष्टिकोणबाट योग अज्ञानबाट ज्ञानतर्फ, जडबाट चेतन, निर्बलबाट सबल, जीवनबाट ब्रह्म, सीमितबाट असिमिततर्फको निरन्तर आध्यात्मिक यात्रा हो। पातञ्जलि योग सूत्रमा चित्तका वृत्तिहरू निरोध गर्न वा रोक्न जोड गरिएको छ। समग्रमा योगले व्यक्तिलाई सम्पूर्ण रूपमा स्वस्थ, पूर्ण सार्थक, शक्ति–सम्पन्न र आनन्दित पारी, समभावमा राखी उसका सबै सम्भावना उजागर गर्छ। योग कुनै धर्म वा पन्थ नभई यो एक विशुद्ध विज्ञान हो।
तनाव के हो ?
हाम्रो जीवनमा आउने विभिन्न खतरा वा असहज परिस्थिति सामना गर्दा शरीरको सुरक्षा–यन्त्रले स्वचालित रूपमा प्रतिक्रया दिन एक प्रकारको हर्मोन उत्पादन गर्छ। उक्त हर्मोन लामो समयसम्म शरीरमा रहे वा चाहिनेभन्दा ज्यादा भएमा हामीमा तनाव उत्पन्न हुन्छ। हर्माेनको सन्तुलन मिलेका बेला शरीरमा ऊर्जा बढाउन र सतर्क रहन मद्दत गर्छ।
हामीले जीवनमा विभिन्न समस्या र चुनौती सामना गर्नुपर्ने हुन्छ। कतिपय बेला ती कुरा सामना गर्न हामीलाई असहज भइरहेको हुन्छ। यस्तो अवस्थामा तनाव हुनु सामान्य कुरा हो। तनाव प्रायः कुनै परिस्थिति सम्हाल्न कठिन भए पछि हुने गर्छ। जसलाई चाँडै व्यवस्थापन गर्न नसके त्यसले हाम्रो मानसिक, शारीरिक र दैनिक जीवनमा नकारात्मक असर गरी डिप्रेसन, एन्जाइटीलगायत विभिन्न रोगले सताउन थाल्छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वभर नसर्ने रोगहरूमा मानसिक रोग वृद्धि भई दोस्रो नम्बरमा आउने बताउँदै यो रोग विश्वकै प्रमुख समस्याका रूपमा देखापरिरहेको जनाएको छ। यसले तनाव कति भयावह रूपमा देखापर्दै छ भन्ने पुष्टि गर्छ। अहिले हाम्रो देशमा आत्महत्या र मानसिक रोगी बढ्नुमा यसैको प्रमुख भूमिका छ।
तनावका लक्षण
लगातार तनाव भइरहेमा मानिसको व्यवहारमा परिवर्तन आउँछ। सबैलाई उस्तै खालका लक्षण देखिन्छन् भन्ने छैन। यस्तो अवस्थामा प्रायः मानिस नियमित काम गर्न सक्दैनन्। उनीहरू चाँडै डराउने, रिसाउने, उदासी, चिटचिटाहट हुने, चिन्ता गर्ने, ध्यान केन्द्रित गर्न नसक्ने, भोजन तथा निद्रा अनियमित हुने, बेचैन हुने, बिर्सने, थकाइ बढी लाग्ने, शरीरमा ऊर्जा कम हुने, एक्लै बस्ने, टाउको दुख्ने, कब्जियत हुनेलगायत समस्या देखिन्छन्।
तनाव घटाउन योग
तनाव, डिप्रेसनबाट ग्रस्त मानिसलाई आधुनिक चिकित्सकले परामर्श दिने, कडा रोग भएकालाई औषधि दिने गरेर उपचार गर्छन। पछिल्लो समय उनीहरूले तनाव नलिन र नियमित योग गर्नसमेत सल्लाह दिन थालेका छन्। पहिला यसरी योगबारे बताउने गरेका थिएनन्।
योगले मानिसलाई परिवर्तन सहज रूपमा स्वीकार गर्न, वर्तमानमा बाँच्न, भूतको पश्चाताप नगर्न र भविष्यको चिन्ता नलिन, शान्त हुन सिकाउँछ।
मानिस स्वस्थ रहन आहार, निद्रा, ब्रह्मचर्य, योग, व्यायाम, स्नान, तनाव व्यवस्थापन, ध्यान, शरीरका विकार नियमित निष्कासन, सकारात्मक सोच आवश्यकता पर्छ। योगमा यी सबै कुरा राम्रोसँग सिकाइने हुँदा मानिस शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन्छ र जीवनमा आइपर्ने अपठ्यारा÷बाधा सहज रूपमा व्यवस्थापन गर्न सक्छ। शरीरमा सकारात्मक भाव बढ्ने हर्मोन उत्पन्न भई स्वस्थ, पूmर्तिलो, ऊर्जावान् हुँदै प्रतिरोध क्षमता बढ्छ, जसले गर्दा मानिस प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन सक्षम भई तनावमुक्त हुन्छ।
योगले मानिसलाई परिवर्तनलाई सहज रूपमा स्वीकार गर्न, वर्तमानमा बाँच्न, भूतको पश्चाताप नगर्न र भविष्यको चिन्ता नलिन, अनुशासनमा बस्न, सुखदुःखमा समत्वमा रहन, शान्त हुन, अरूसँगको व्यवहार सन्तुलित राख्न, सामाजिकीरण गर्न सिकाउँछ। जसले गर्दा तनाव बढ्ने परिस्थिति कम हुन्छ।
भोजनले हामीलाई शारीरिक तथा मानसिक प्रभाव पार्छ। भोजन सात्विक, राजसी र तामसी गरी ३ प्रकारका हुन्छन्। राजसी र तामसी भोजनले तनाव बढाउन बल पु-याउँछ भने सात्विकले घटाउन सघाउ पु-याउँछ। योगले सात्विक भोजन जुन सुपाच्य, पोषणयुक्त भई मनलाई शान्त र शुद्ध राख्ने खालको खाना खान प्रेरित गर्ने हुँदा मानिसलाई सन्तुलित र तनावरहित हुन सहयोग पुग्छ।
योग गर्नाले श्वासप्रश्वास, रक्तसञ्चार, स्नायुलगायतका प्रणालीमा सकारात्मक प्रभाव परी सम्बन्धित अंगहरू सक्रिय भएर राम्रो काम गर्ने हुँदा यसको असर मानिसको शारीरिक, मानसिक र आध्यात्मिक क्षेत्रमा पर्छ। यसले गर्दा मानिसमा आत्मविश्वास बढ्ने, दृढ निश्चयी, भयरहित, असल मानवीय गुणयुक्त व्यक्तित्वको विकास हुन्छ। साथै जस्तोसुकै कठिन अवस्थामा पनि त्यसको सामना गरी तनावरहित हुन मद्दत पु-याउँछ।
प्रकाशित: १९ फाल्गुन २०७६ ०५:३२ सोमबार