३० असार २०७७ मंगलबार
विचार

सेना दिवसको सान्दर्भिकता

नेपालको इतिहासमा १८०० सालपछिका वर्षहरूलाई आधुनिक काल मानेको छ। तर वर्तमान सेनाको सुरुवात १६१६ सालमा लिगलिगकोट (हाल गोर्खा) का राजा द्रव्य शाहले भगीरथ पन्तलाई सेनापति बनाई खडा गरेको सैनिक दलबाटै भएको हो। बाइसे चौबिसे राज्य, काठमाडौं उपत्यकाका तीनवटा मल्ल राज्य र तराई क्षेत्रमा रहेका तीनवटा सेन राज्यमध्ये सबैभन्दा कान्छो र गरिब राज्य गोर्खाको इतिहास १६१६ सालमा सुरु हुन्छ। वर्तमान नेपाल र अस्तिका राजवंशको क्रमिकता त्यही वर्ष र स्थानबाट सुरु भएको तथ्य घामजत्तिकै छर्लङ्ग छ। यसर्थ त्यही मिति र स्थानमा खडा भएको नेपाली सेनाको उमेर ४५२ वर्ष पूरा भएको छ।

वर्तमान नेपाली सेनाले पृथ्वीनारायण शाहका बेला सुरुमा तिलंगा, नुवाकोट विजयपछि गोरखाली सेना, चन्द्रशमशेर राणा प्रधानमन्त्री भएको समयमा नेपाली सेना, राजा महेन्द्रका पालामा शाही सेना, राजा वीरेन्द्रका पालामा शाही नेपाली सेना र दोस्रो जनआन्दोलनपछि बनेको वर्तमान सरकारबाट पुनः नेपाली सेनाको नाम पाई साढे ४ शताब्दी पार गरिसकेको छ।

राज्यको आवश्यकतामै सेनाको विस्तार र विकास हुने हो। यही क्रममा गोरखा राज्यको राजनीतिक इच्छा–शक्तिले आफ्नो भूभाग बढाउने सपना देखेरै अन्ततः एक संगठनात्मक सेनाको विकास भयो। नेपाल एकीकरणका विभिन्न युद्ध हुँदै गयो र मकवानपुर राज्य र त्यसअन्तर्गतको सिन्धुली इलाकासमेत गोरखालीले जितेपछि बंगालको नवाव मिर कासिमको फौज एक्कासि वि.सं. १८१९ मा मकवानपुर कब्जा गर्न आयो। शत्रु पक्षको विशाल फौजलाई नेपाली सेनाको सानो फौजले अपत्यारिलो तरिकाले हरायो।  करिब ५ सय राइफल र २ वटा तोप खोसे भने हजारौं वैरी मारे। तिनै हतियारबाट सोही वर्ष सेनाको इतिहासमा पाश्चात्य पाराले ५ वटा कम्पनी खडा भए।

सेना दिवस मनाउने चलन राजा वीरेन्द्रका पाला र प्रधानसेनापति महारथी सत्चित शमशेर राणाको कार्यकालबाट सुरु भएको हो। संसारका प्रायः सबै सेनाले आफ्ना दिवस मनाउँछन्।

मकवानपुरको युद्धले २ वटा अभिलेख राखेको छ। पहिलो हो– नेपाली सेनाले पहिलोपटक विदेशीसँग युद्ध गरेको र अर्काे हो– सेनाको कम्पनी तहको संगठनात्मक रूपरेखा तयार भएको। त्यसभन्दा पहिला राजा द्रव्य शाहकै पाराको सैनिक व्यवस्था थियो।

प्रथम विश्वयुद्धमा नेपालले ब्रिटिसलाई भारतमा सहयोग गर्न नजाउन्जेल नेपाली सेनामा महाभारत, रामायणलगायत युद्धमा प्रयोग हुने अर्थात् पूर्वीय युद्धकलामा रहेर जोतिषीको साइतमा निशान निकालेर युद्ध  प्रारम्भ गरिन्थो। जसमा राजा, मन्त्री, सेनापति सबै आआफ्ना तहबाट सहभागी हुन्थे। राजा अघि लागेपछि सम्पूर्ण फौज युद्धमा अरिंगालजस्तै होमिन्थे। त्यही सिद्धान्तमा नेपाल एकीकरण युद्ध तथा विदेशी आक्रमणविरुद्ध भएका बंगाली फौज, अंग्रेज, तिब्बती, चिनियाँ फौजविरुद्ध राजा पृथ्वीनारायण शाहदेखि प्रधानमन्त्री, जनरलहरूसम्म अगाडि लागेर स्वयंले नेतृत्व गरे। त्यसैले हाम्रो देश बन्यो, जोगियो।

तर प्रथम विश्वयुद्धपछि अंग्रेजले तयार गरेको युद्धकला हामीले अपनायौं। जसमा कनिष्ठ कमान्डरले युद्धको अघिल्लो पंक्तिमा रहेर नेतृत्व गर्नुपर्ने र वरिष्ठ कमान्डरचाहिँ पछाडि बस्ने। पूर्वी युद्ध संस्कार यसको ठीक उल्टो थियो। हाम्रो युद्ध संस्कारमा हामी नेपालीलगायत चिनियाँ, तिब्बती, जापनीजमा मुख्य कमान्डर अगाडि लागेपछि ज्यान फालेर युद्धमा होमिने रगत छ। कनिष्ठ कमान्डर अगाडि लाग्दा फौजले पत्याउँदैन र युद्धको नतिजा गतिलो बन्दैन। यो पक्षमा नेपाली सेनाले पुनर्विचार गर्नुपर्छ।

अंग्रेजको सहयोगमा प्रधानमन्त्री चन्द्र शमशेरले प्रथम विश्वयुद्ध र प्रधानमन्त्री जुद्ध शमशेरले दोस्रो विश्वयुद्धमा नेपाली सेना पठाएपछि सैनिक युद्धकला तथा हातहतियारमा ठूलो परिवर्तन आएको थियो। नेपालमा प्रजातन्त्र आएपछि २००९ सालमा सेनाको पुनर्गठन भयो र देशलाई चाहिने जति मात्र सेना राखियो। विं सं. २००७ को सफल आन्दोलनपछि नेपाली कांग्रेस सरकारको पहलमा पहिलोपटक नेपाली सेना फिल्ड मार्सलको पद सिर्जना गरियो र रुद्र शमशेर राणालाई दिइयो। यो ऐतिहासिक पदलाई जनताको सरकारले सिर्जना गरेको थियो। अबको सरकारले पनि निरन्तरता दिए इतिहासको सम्मान ठानिनेछ।

अन्तमा, सेना दिवस मनाउने चलन राजा वीरेन्द्रका पाला र प्रधानसेनापति महारथी सत्चित शमशेर राणाको कार्यकालबाट सुरु भएको हो। संसारका प्रायः सबै सेनाले आफ्ना दिवस मनाउँछन्। उस बखत नेपाली सेनाको खर्च, समय र परिश्रम जोगाउने हिसाबले शिवरात्रिका दिनलाई नै सैनिक दिवस मानियो। शिवरात्रिमा सेनाको ठूलो खर्च हुन्छ। फूलपाती, घोडेजात्रा, शिवरात्रि– सैनिक पर्व होइनन्, सामाजिक–सांस्कृतिक पर्व हुन्। सेनाले नेपाली संस्कृतिमा ठूलो सहयोग गरिरहेको छ। वास्तवमा अब यसको जिम्मा स्थानीय सरकार वा नगरपालिकाले लिन जरुरी देखिन्छ। सेना दिवसलाई छुट्टै मान्ने हो भने अर्को ठूलो व्यंय हुने हुँदा ‘एक पन्त दो काज’ जस्तै भएको हो।

यसमा कुनै धर्म जोडिनु संयोग मात्र हो। तर पहिलेदेखि युद्धका बेला हामी दैवी शक्तिमा भरपर्ने जातजाति भएकाले नेपाली सेनाको निशान, पूजाआजा तिनै शक्तिमा आधारित छन्। यो सत्यता नबुझेर हाल समाज भड्काउने खालका अपव्याख्या पनि गरिन्छ। परापूर्वकालदेखि वर्तमानसम्म नेपाल र नेपालीका लागि वीरगति प्राप्त गर्ने ज्ञात÷अज्ञात सम्पूर्ण नेपाली सेनाप्रति सेना दिवसका अवसरमा भावपूर्ण श्रद्धाञ्जलिसहित सलाम। नेपाली सेना दिवस राष्ट्रको गौरव हो, नेपालीको इज्जत हो।
(बस्न्यात ‘नेपाली सेना: लिगलिगकोटदेखि वर्तमानसम्म’ पुस्तकका लेखक हुन्।)

प्रकाशित: ९ फाल्गुन २०७६ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App