११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

अर्थतन्त्रमा कोरोना असर

नेपाल भ्रमण वर्ष २०२० मा ५ लाख चिनियाँ पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य चीनमा कोरोना भाइरस फैलिएका कारण असम्भव बनेको छ। कोरोना संक्रमणकै कारण नेपाल–चीन उडान गरिरहेका अधिकतर हवाईसेवाले उडान स्थगित अथवा कटौती गरेका छन्। विभिन्न पाँच चिनियाँ हवाईसेवाले नेपालमा दैनिक १४ उडान गरिररहेका थिए भने चीनका विभिन्न ५ सहरमा नेपालको हिमालय वायुसेवाले उडान गरिरहेको थियो। अहिले भएका सीमित उडानमा अत्यन्त कम संख्यामा चिनियाँ पर्यटक नेपाल भ्रमणमा जाने गरेका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१९ मा नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। नेपाल भ्रमण गर्ने पर्यटकमा सबैभन्दा धेरै खर्च गर्नेमा चिनियाँ नै पर्छन्। नेपाल राष्ट्र बंैकले सन् २०१० मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर ८० अमेरिकी डलर खर्च गर्छन्। तर अन्य देशका पर्यटकले ४३ डलर मात्र खर्च गर्छन्। चिनियाँ पर्यटक अन्य देशका पर्यटकजस्तो लामो समय बस्दैनन्। सरदर १० दिन बसेको मान्ने हो भने गत वर्ष चिनियाँ पर्यटकले नेपालमा १६ लाख ९५ हजार ४ सय ३० दिन बिताएका छन् र दैनिक ८० डलरले गणना गर्दा उनीहरूबाट मात्र गत वर्ष नेपालले १३ करोड ५६ लाख ३४ हजार ४ सय अमेरिकी डलर आम्दानी गरेको छ। यो तथ्यांक सन् २०१० का आधारमा निकालिएको हो। यो दस वर्षमा चिनियाँ नागरिकको क्रयशक्ति  २ गुणाले बढिसकेको छ। उनीहरूको नेपाल–बसाइ पनि लम्बिन थालेको छ। भारतबाट आउने पर्यटक धेरै भए पनि चिनियाँको तुलनामा ती नगण्य खर्च गर्छन्। उल्लिखित तथ्यांकलाई आधार मान्दा नेपालको पर्यटन उद्योगका लागि चिनियाँ पर्यटक मेरुदण्ड हुन्। तर कोरोना भाइरसले त्यो मेरुदण्ड भाँच्ने सम्भावना देखिएको छ।

नेपालको पर्यटन बजार अफ–सिजनमा पनि चिनियाँ पर्यटकले धानेका थिए। सधैं चिनियाँ पर्यटकको भिडभाड देखिने काठमाडौंको ठमेल र पोखराको लेकसाइट सुनसान हुन थालेको समाचार नेपाली सञ्चारमाध्यममा आइरहेका छन्। चितवनका पर्यटन व्यवसायीले पनि चिन्ता व्यक्त गरिसकेका छन्। कोरोना भाइरस संक्रमणकै कारण आगामी मार्च र अप्रिलमा हुने चिनियाँ सरकारी भ्रमण पनि स्थगन भइसकेका छन्। नेपालमा विमानस्थल बनाउन जान तयार भएका चिनियाँ प्राविधिक र कामदार पनि रोकिएका छन्। लगानीको उद्देश्य बोकेर नेपाल जान चाहने चिनियाँको ‘मुड’ परिवर्तन भएको छ। राष्ट्रिय संकटका बेला उनीहरूमा विदेशमा लगानी गर्ने उत्साह नदेखिनु स्वाभाविकै हो। नेपाल–चीनका मुख्य व्यापारिक नाका पनि धमाधम बन्द हुँदै छन्। तर यी सबै अवरोध दीर्घकालीन होइनन्। तर, भ्रमण वर्षको सुरुमै देखिएका नकारात्मक प्रभावले नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकलाई दीर्घकालीन असर पर्ने सम्भावना छ। नेपालमा जाने चिनियाँ पर्यटक घट्नु, लगानीमा उत्साह नदेखिनु, नेपाल र चीनबीचको व्यापारमा प्रभाव पर्नु आदि कारण नेपालको अर्थतन्त्र खुम्चिने सम्भावना छ। चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमणले नेपाली अर्थतन्त्रमा त यस्तो असर पारेको छ भने झन् चीनमै कस्तो असर पु¥याउला भनेर अहिले नै लेखाजोखा गर्नु हतार हुनेछ। तर पनि कोरोनाले चिनियाँ अर्थतन्त्रको पहिलो त्रैमासिकमा असर पार्ने विभिन्न प्रतिवेदनले औंल्याइसकेका छन्।

कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।

जनवरी २९ तारिख साङहाइ अन्तर्राष्ट्रिय मामिला अनुसन्धानालयले ‘चीनले गरिरहेको कोरोना भाइरस प्रतिरोध ः विकास तथा प्रभाव’ शीर्षकमा प्रतिवेदन सार्वजनिक गरेको छ। जसअनुसार कोरोना भाइरसबाट चीनको अर्थतन्त्रमा सेवा, उत्पादन तथा व्यापार गरी तीन क्षेत्रमा तत्काल प्रत्यक्ष प्रभाव पर्नेछ। तर चीन विश्वको दोस्रो ठूलो आर्थिक एकाइ भएकाले उपभोग क्षमता, सहरीकरण, फाइभजी र कृत्रिम बौद्धिकताजस्ता नयाँ आर्थिक क्षेत्रले चीनको अर्थतन्त्र जोगाउने प्रतिवेदनमा उल्लेख छ।

कोरोना भाइरसबाट चीनको अर्थतन्त्रमा पर्ने असरको मात्रा भाइरस नियन्त्रण र प्रतिरोधको सशक्ततामा निर्भर रहने भन्दै यस किसिमको असर अस्थायी भएकाले चीनको अर्थतन्त्रको दीर्घकालीन अवस्थामा परिवर्तन नहुने चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख ल्यान वैल्याङले फेब्रुअरी ३ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा दाबी गरेका छन्।
 
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रवक्ता गेरी राइसले नयाँ कोरोना भाइरसको महामारी परम्परागत चिनियाँ नयाँ वर्षको बिदासँगै परेको र यसले यात्रा तथा उपभोगमा निश्चित प्रभाव पारेकाले अर्थ–व्यवस्थामा अनिश्चितता ल्याउने बताएकी छन्। उनले चीनको अर्थ–व्यवस्थामा यो महामारीले अस्थायी रूपमा प्रतिकूल प्रभाव पार्ने भन्दै अवस्था सुधारपछि सम्बन्धित आर्थिक गतिविधि सामान्य रूपमा सञ्चालन हुने र अर्थ–व्यवस्था पुनर्उत्थान हुने आशा पनि व्यक्त गरेकी छन्।     कोरोना भाइरसका कारण नयाँ वर्षको बिदादेखि बन्द  चिनियाँ बजार अहिलेसम्म खुल्न सकेका छैनन्। बजार सुस्त भए तापनि चीनका विभिन्न ई–वाणिज्य प्लेटफर्मले आपूर्ति शृंखला कायम राख्दै बिक्री गरिरहेका छन्। केही ई–वाणिज्य प्लेटफर्मको तथ्यांकअनुसार वसन्त चाड (चिनियाँ नयाँ वर्ष)का अवधिमा अन्न र तेलजस्तै जैविक सामग्रीको माग बढ्दै गएको छ। तरकारी बिक्री गत वर्षको तुलनामा ७.५ गुणाले बढेको छ। यसपटक चिनियाँ घुम्न नगई घरमै बसेकाले भिडियो गेम, प्रत्यक्ष प्रसारण, अनलाइन खेल, अनलाइन शिक्षा आदि उद्योगले राम्रो व्यवसाय गरेका छन्।

चीनको डिजिटल अर्थतन्त्र लगातार विकास भइरहेको छ। चीनसँग विशाल उपभोक्ता रहेकाले भ्रमण, किनमेल र मनोरञ्जन–मेला कम भए तापनि डिजिटल रूपमा अर्थतन्त्र उठाउने क्षमता चीनसँग छ। विगतका वसन्त चाडमा कुरियरमार्फत हुने कारोबार ठप्प हुन्थे। यसपटक नयाँ कोरोना भाइरसबाट बच्न विशेषगरी कोरोनाको उद्गमस्थल हुपेई प्रान्त र यसको सदरमुकाम उहानमा कुरियर संस्थाको व्यवसाय व्यापक रूपमा बढेको छ। कुािरयर संस्थाहरूले ढुवानी गरेर ती क्षेत्रमा आपत्कालीन उद्धार र आधारभूत आवश्यकताका सामान आपूर्ति गरेका छन्। फेब्रुअरी २ तारिखसम्म चाइना पोस्टले ३२ हजार हुलाकी वाहन र पाँचवटा हुलाकी जहाजद्वारा मास्क तथा औषधिलगायत ४९ हजार बाकस सामान ढुवानी गरेको ३ तारिख बेइजिङमा आयोजित चिनियाँ राज्य परिषद्को पत्रकार सम्मेलनले जानकारी दिइयो। साथै आपूर्तिमा चीनका ११ मुख्य ई–वाणिज्य संस्थाले पनि विशेष भूमिका खेलेका छन्। ती संस्थाले विश्व आपूर्ति शृंखला स्रोतको प्रयोग गरी विश्वव्यापी रूपमा मास्क, सुरक्षा कपडा, चस्मा आदि आवश्यक सरसामान किन्ने काम तथा आपूर्ति उद्योगसँगको सहयोग  सबल बनाएका छन्।

जनवरी ३१ तारिखसम्म चीनका बैंकिङ र बिमा संस्था तथा उद्योगले १ अर्ब ४० करोड युआनबराबर सहयोग गरिसेकका छन्। बिमा संस्थाले कोरोना प्रतिरोध तथा नियन्त्रणमा कार्यरत फ्रन्टलाइन व्यक्तिलाई बिमा तथा महामारी नियन्त्रणसम्बन्धी पुँजी हस्तान्तरण व्यवसायलाई शक्ति प्रदान गरेको छ। चीन सरकारले कोरोना भाइरस नियन्त्रण गर्न आफूमातहतका निकायलाई २७ अर्ब ३० करोड युआन उपलब्ध गराएको छ। यसले पनि तत्काल चिनियाँ अर्थतन्त्रलाई पृष्ठपोषण गर्नेछ।
 
एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री वेई साङचिनका अनुसार २०२० को पहिलो त्रैमासिक अवधिमा चीनको अर्थतन्त्र वृद्धिमा १ प्रतिशत गिरावट आउने सक्नेछ। तर महामारी तुरुन्तै नियन्त्रणमा भएमा पहिलो त्रैमासिकपछि चिनियाँ अर्थतन्त्रको वृद्धिदर स्थिर हुने पनि उनले बताए।

कोरोना भाइरसबाट तत्काल परेको असरमा चिनियाँ यातायात क्षेत्र र लजिस्टिक व्यवस्था हो। यो क्षेत्रले अप्रत्यक्ष रूपमा चीनको वैदेशिक व्यापार र लगानीमा पनि असर पार्छ। अन्य मुलुकले कोरोना त्रासका कारण चीनबाट आयातमा सुरक्षा–व्यवस्था कडाइ बनाउन सक्छन्। वसन्त चाडको बिदापछि खुल्न नसकेका कलकारखानाले विदेशी मागअनुसार तत्काल आपूर्ति गर्न पनि सक्दैनन्। सन् २००३ मा सार्सले पनि चिनियाँ अर्थतन्त्रलाई गम्भीर प्रभाव पारेको थियो। तर विकल्पमा सेवामूलक उद्योग बढाइएको थियो। त्यसपछि सन् २००८ मा सिचुवान प्रान्तमा भूकम्पले चिनियाँ अर्थतन्त्रलाई असर पु¥याएको थियो। तर पनि पश्चिमा आर्थिक मन्दीको असर चीनमा पर्न सकेको थिएन। ती अनुभवका आधारमा पनि कोरोनाले चीनको अर्थतन्त्रमा तत्कालीन असर पारे पनि दीर्घकालीन असर पार्दैन भन्नेमा चिनियाँ अर्थविद् ढुक्क छन्।
(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सिआरआई नेपाली सेवामा विदेशी विशेषज्ञ छन्।)

प्रकाशित: २४ माघ २०७६ ०४:३४ शुक्रबार

चीन अर्थतन्त्र कोरोना_भाइरस