१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

भाग्यमानी पुस्ता

नेपालमा कुनै समय सञ्चार भनेको कुन चरीको नाम हो थाहा थिएन। पहाड वा तराईतिरै पनि गाउँमा कसैको निधन हुँदा तत्काल मलामी जुट्दैन थिए। पहाडमा एउटा डाँडामा केही घर पारि डाँडामा केही घर हुन्थे। हाम्रो ग्रामीण समाजको स्वरूप यही थियो। मलामी जाने मान्छे जुटाउने कुनै साधन थिएन। त्यसैले शव बोकेर हिँड्नेहरू अघिअघि केही व्यक्ति शंख फुक्दै हिँड्थे। शंखको लय पनि मलामी जाँदा फुक्ने र पूजा आदिमा फुक्ने फरक–फरक हुन्थे। गाउँलेलाई थाहा हुन्थ्यो र उनीहरू सबै काम छाडेर  मलामी पछ््याउँदै घाट पुग्थे। यो त्यसबेलाको सञ्चार माध्यम थियो। अझै पनि पहाडी क्षेत्रका गाउँघरतिर यो चलन छ।

उसो त अहिले पनि लास बोक्ता शंख बजाउने चलन छ। हामीले पढेका छौं–राणाकालमा गाउँघरतिर कुनै सूचना दिनुप¥यो भने गाउँको चौतारीमा बसेर ड्रमवया बाजा बजाएर दिने गरिन्थ्यो, अथवा गाउँको चौतारीमा सिपाहीहरूले बिगुल फुकेर जनतालाई भेला पार्थे र आफ्ना सूचना दिने गर्थे। डाँक थियो। डाँकियाहरू झोलामा चिठीपत्र बोकेर गाउँ पु¥याउँथे। सायद नेपालको पहिलो आमसञ्चार यही नै थियो। त्यसपछि तारबिना सूचना प्रवाह गर्ने माध्यम ‘आकाशवाणी’ आयो। जिल्लाका सदरमुकाममा आकाशवाणी हुन्थे, त्यसमार्फत सूचना र पत्र पठाइन्थे। जिल्लाका प्रमुखले त्यसलाई कार्यान्वयन गर्थे। डाँक बोक्नहरूले हिँडेरै गाउँगाउँमा सूचना र पत्र पु-याउने चलन थियो।

राणा प्रधानमन्त्री देव शमशेरको ‘गोर्खापत्र’ प्रकाशनबाट यो व्यवस्थामा केही सुधार आयो। यो प्रभावकारी थिएन। अखबार भनेको त्यसबेला पढ्न सक्नेहरूका लागि मात्र हुन्थ्यो। अहिलेजस्तो  यसले व्यापारिक लुगा लगाएको थिएन। त्यसमा पनि सरकारको आदेश र सूचना, अनि कोहीबेला बजारभाउ छापिन्थे भन्ने सुनिन्छ। यो पनि जनताका लागि थिएन।

अब नेता, मन्त्री तथा सरकारी अधिकारी, न्यायाधीशहरूलाई पनि घुस खानुभन्दा पहिले सञ्चार माध्यमदेखि डराउनुपर्ने स्थिति आएको छ।

२००७ सालमा प्रजातन्त्र आएपछि रेडियो सुरु भयो। रेडियो पनि केही सीमित  धनीमानीका घरमा मात्र हुन्थ्यो। सर्वसाधारणले रेडियोबाट समाचार सुन्नै जानेका थिएनन्। अथवा सुने पनि रेडियोको भाषा बुझ्दैन थिए। विराटनगरबाट सुरु भएको रेडियो, काठमाडौंको सिंहदरबार पसेपछि केही विकास भएको पाइन्छ। त्यो पनि सुरुमा रेडियोको महŒव र खासगरी जनतालाई सुसूचित गर्ने तरिका थाहा नभएकाले त्यो जनताका लागि थिएन। यो पनि ठूलाबडा र पढेलेखेकाहरूकै लागि मात्र थियो।

२०१७ सालसम्म आइपुग्दा गोरखापत्रको अनुहार पनि केही फेरिएको थियो, रेडियो नेपालको स्वर पनि केही तीखो भएको थियो। त्यसको धेरै समयपछि नेपालमा टेलिभिजन आयो। रेडियो पनि एफएमकारू रूपमा आए। अहिले गाउँमा एफएम रेडियो समाचार, सूचना र शिक्षाको महŒवपूर्ण माध्यम भएका छन्। त्यसताका स्थापना र सञ्चालन हुन सक्ने रेडियो आएपछि समाचारपत्रको माग हुन थाल्यो। तर काठमाडौंबाट प्रसारण हुने ‘रेडियो नेपाल’ देशका धेरै भागमा सुनिँदैनथ्यो। पछि एफएम प्रविधि प्रारम्भ भएपछि गाउँघरमा रेडियोले व्यापकता पायो।

२०४१ मा नेपालमा टेलिभिजन स्थापना भएपछि सञ्चार क्षेत्रमा क्रान्ति नै आयो। अहिले अखबार र रेडियोभन्दा धेरैले रुचाउने र बुझ्न सजिलो पनि हुने भएकाले टेलिभिजनले व्यापकता पाएको छ। तस्बिर र आवाज सँगै आउने यो माध्यम आएपछि अहिले नेपालमा सञ्चारको क्षेत्रमा ठूलै फरक ल्याएको देखिन्छ।

अहिलेको पुस्तालाई अझ भाग्यमानी बनाउने इन्टरनेटले त सञ्चार क्षेत्रमा आमूल परिवर्तन ल्याइदिएको छ। हामी स्कुल÷कलेज पढ्दा यी सुविधा थिएनन्। अहिले बोर्डिङ स्कुलमा पढ्ने ससाना बालबालिकाले पनि आफ्नो गृहकार्य गर्न मोबाइल फोनको सहारा लिन थालेका छन्। यातायातको कुरा गर्ने हो भने २०२३ सालतिर इलामबाट काठमाडौं आउन भारतको रेल चढेर रक्सौल उत्रने र ट्रक चढेर दुई दिनपछि मात्र काठमाडौं आइपुगिने अवस्था थियो। पूर्व–पश्चिम राजमार्ग तयार भएपछि आज भारत नपसी सोझै १५÷२० घण्टाभित्र सजिलै राजधानी आइपुग्न सकिन्छ। यसलाई विकास भन्ने हो। अहिले त बाटोको सञ्जाल देशभरि फैलिएको छ। बरु जुनसुकै सरकार आए पनि राम्रो व्यवस्थापन गर्न नसक्दा दुर्घटना भने बढेको छ।

४०/५० वर्षभित्र ढयाङ्ग्रो ठोकेर जनतालाई सूचित गर्ने त्यसबेलाका सरकार  र अहिले आफ्नाविरुद्ध केही गोप्य कुरासमेत सञ्चारमा देखेर तर्सिएका अधिकारी वर्ग हेर्दा सञ्चार प्रविधिले कति फड्को मारेछ भनेर खुट्याउन सजिलो भएको छ। अब नेता, मन्त्री तथा सरकारी अधिकारी, न्यायाधीशहरूलाई पनि घुस खानुभन्दा पहिले सञ्चार माध्यमदेखि डराउनुपर्ने स्थिति आएको छ। देश र जनताका लागि अत्यन्तै दुःखद र घुस्याहा, फटाहा र लुटाहाहरूका लागि आज सञ्चारमाध्यम बाघ भएका छन्। तिनलाई कसरी लगाम लाउने भनेर खान पल्केकाहरू सबै एकजुट भएका छन्। तर तिनले नबुझेको कुरा के छ भने सञ्चारमाध्यम शत्रु होइनन्, बरु मित्र हुन्। तिनले गरेका खराब कार्यबारे र त्यसले समाजमा उनीहरूको अनुहार उदांगो पारेको उनीहरूलाई नै ब्युँझाउन हो।

कर्मचारीहरू पनि देश बनाउन कम्मर कसेर आएका हुन्। न्यायाधीशहरू पनि जनतालाई न्याय दिन आएका हुन्, तर आफ्नो मूल काम छाडेर जताततै जनतालाई भन्दा व्यापारी र ठूलठूला भ्रष्टाचारीलाई काखी च्यापेको कुरा सञ्चारमाध्यमले औंल्याइदिँदा यसबाट उनीहरूलाई सहयोगै पुग्नुपर्ने हो। अहिले नै बदनाम हँुदा उनीहरूको भविष्य पनि अन्धकारै हुन्छ, त्यसबाट सचेत गराएर गुण लगाउने सञ्चार जगत्को त तिनले प्रशंसै गर्नुपर्ने हो। मेरो विचारमा सरकार र सञ्चारमाध्यम त एक अर्काका परिपूरक हुन्। एकलाई अर्को नभई हुँदैन। मिलेर देश र जनताको हित गर्नुपर्छ। राज्यका अति महत्वपूर्ण र आवश्यक यी दुई अंगको सम्बन्ध जति बलियो भयो, त्यति देशले विकास गर्छ।

अहिलेको पुस्ता धेरै भाग्यमानी छ। यो अवसर उनीहरूलाई अहिलेको सञ्चार प्रविधिले नै दिएको हो। अहिले इन्टरनेट प्रविधिले त संसारमा ठूलै परिवर्तन ल्याइदिएको छ। अहिले हरेक मानिसका हातमा सम्पूर्ण ब्रह्माण्ड नै छ। अमेरिकाले इराकका सैनिक कमान्डरको हत्या गरेदेखि बदलामा इराकले अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार गरेकोसम्म हामी हत्केलामै हेर्न सक्छौं। हङकङजस्तो त्यति राम्रो र व्यापारिक क्षेत्रको बिजोग पनि त तपाईंले देख्नुभएकै हो।

हामी सानो छँदा नदेखेका, देखे पनि त्यससम्म पुग्ने पहुँच नभएकाहरूका छोराछोरी अहिले विज्ञानका तिनै उपलब्धि खेलाएर हुर्किरहेका छन्। हामी भने तिनको उपलब्धिबाट हाम्रो पुस्ताले प्राप्त गर्ने ज्ञानको ढोका बन्द गर्ने विचार गर्दै छौं। हामीजति पुरातनवादी को छ अरू ? विकास र प्रगति त्यो पनि विज्ञानको, त्यसलाई हत्केलाले छेक्ने प्रयास गर्ने मूर्खता गर्नुभन्दा त्यसबाट लिन सकिने फाइदाबारे सोच्नु राम्रो हुन्छ।

हो, विज्ञानको यस्ता उपलब्धिको दुरुपयोग पनि नभएका होइनन्। सञ्चारमाध्यममै पनि प्रविधिले दिएको उपलब्धि दुरुपयोग गरेर कसैका दुई टाउकालाई एकैठाउँ जोडेर, कसैले चरित्र हत्या गर्ने वा गलत सूचना दिएर झुक्याउनेजस्ता गलत गतिविधिविरुद्ध कडा कारबाही गर्नुपर्छ। तर कारबाहीको साटो कानुनै बनाएर त्यसलाई नै फ्याँक्ने प्रयत्न राम्रो होइन। गल्ती गर्नेले सजाय पाउनुपर्छ। प्रविधिको दुरुपयोग गर्नेलाई सजाय दिनुपर्छ। आफ्नो स्वार्थका लागि प्रविधि नै हटाउन खोज्नुचाहिँ सरकारको लाचारी हुन सक्छ। समाजमा राम्रा र नराम्रा दुवैथरीका मानिस हुन्छन्। तर नराम्रा प्रवृत्तिका मानिसलाई पनि सही मार्गमा ल्याउने उपाय हुन सक्छन्। त्यसतर्फ लाग्नु राम्रो हुन्छ।

सञ्चार विज्ञान हो, जसको गति र प्रगति रोकिँदैन। अझ मानव जातिको विकासमा यसको योगदान त हामीले देखेकै छैनौं। यस्ता प्रविधिको विकासलाई रोक्न र निरुत्साहन गर्न खोज्नुभन्दा त्यसलाई असल काम र देश विकासमा कसरी प्रयोग गर्ने भन्नेतिर ध्यान दिन सके राष्ट्र र जनताको हित हुनेछ। यस्ता प्रविधिको दुरुपयोग गर्नहरू अरू पनि समाजमा धेरै छन्। तर तिनलाई कानुनको दायरामा ल्याएर सजाय दिन सक्ने कानुन आवश्यक छ, जसका लागि सञ्चार र सरकारका प्रबुद्ध र प्रविधिका ज्ञाता बसेर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्छ।

सधैं हामी भ्रष्टाचार गरेर कमाउने ? हामी सञ्चार प्रयोगबाट विश्वमा भएका विकासजस्तो नेपालमा गर्न सक्दैनौं ? विश्वका विकसित भनिएका देश मेसिन र अन्य औजार प्रयोग गरेरै त्यस्ता भएका हुन्। हाम्रो देश प्रकृतिले जति धनी छ, त्यति अरू देश छैनन्। ती त मान्छेले नै गरेका विकासले नै धनी भएका हुन्। हामीलाई प्रकृतिले दिएको अथाह स्रोत, हावापानी र वनस्पति नै हाम्रो प्रगति गर्ने माध्यम हुन सक्छन्, तर तिनको प्रयोग गर्न जान्ने वैज्ञानिक र योजनाकारको आवश्यकता छ, हामीलाई। राणा शासन फाल्यौं, राजसंस्था अन्त्य ग¥यौं, अहिले भनिने लोकतन्त्रले पनि देश र जनताको विकास गर्न नसके अर्को कुन व्यवस्था ल्याउने ? व्यवस्था फेर्नेभन्दा सोच फेरौं, काम गर्ने तौरतरिका परिवर्तन गरौं। पैसै मात्र सब चिज हो भन्ने हाम्रो पुरातन सोच बदलौं। एकपल्ट होस्टेमा हैंसे गरौं, नहुने केही छैन।

आज हरेक नेपालीका हातमा ‘मोबाइल’ छन्। यो यस्तोे यन्त्र हो, जसबाट जे पनि गर्न सकिन्छ। संसारका जुनसुकै देशमा फोन गर्न सकिन्छ, समाचार पढ्न सकिन्छ, फोटो खिच्न र साथीलाई पठाउन सकिन्छ। टेलिभिजन, रेडियो, अखबारमा समाचार र तस्बिर पठाउन सकिन्छ। यस्तो अद्भूत माध्यम बोकेका नेपाली अब हरेक कुरामा सचेत भएका छन्। अहिलेको पुस्ता साँच्चै भाग्यमानी हो।

प्रकाशित: ५ माघ २०७६ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App