९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

अपराधिक क्रियाकलाप

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय युवा ओमप्रकाश महतोलाई शुक्रबार बिहान टिपरले किचेर मारेको समाचार सार्वजनिक भएको छ। उनलाई यसरी किचेर मार्नुपर्ने कारण अरु केही नभएर उनले अवैधरूपमा भइरहेको बालुवा गिट्टी उत्खननको विरोध गर्नु थियो। औरही खोलामा जथाभावी उत्खनन गरिँदा स्थानीयको बसोबास र जीविकोपार्जनमा असर पर्ने भन्दै केही समयदेखि हुँदै आएको विरोधको नेतृत्व उनले गरेका थिए। आखिर अन्याय र अत्याचारको विरोध गर्नु नै उनको मृत्युको कारण बन्यो।मुलुक लामो समय राजनीतिक संक्रमणकालमा बित्यो। माओवादीले थालेको ‘जनयुद्ध’, विभिन्न जातीय, क्षेत्रीय तथा स्वार्थले भरिपूर्ण समूहले आफ्ना माग पूरा गराउने बहानामा गरेका अनावश्यक आन्दोलन र मागहरूका कारण सरकार सधैँ जीर्ण रह्यो। अर्कोतर्फ स्थिर सरकार बन्न नसक्नाले यस्ता दल, समूह वा झुण्डको मनोबल झन् झन् बढ्दै जान थाल्यो। सोझो अर्थमा भन्दा यस्तो अवस्था राज्यको स्रोतसाधन दोहन गर्ने र व्यक्तिगत/परिवारगत फाइदा लिनेका लागि ऊर्वर बन्यो। क्रसर उद्योग यस्तै अवस्थाले सिर्जना गरेको एउटा सहउत्पादन थियो।

क्रसर उद्योगीको मनोबललेपछिल्ला समय सीमा नाघेको धेरै ठाउँमा देखिएको हो। कहीँ आफ्ना डोजरले मान्छे नै किचिदिने, कहीँ टिपरले साँढेझैँ जथाभावी हिर्काउँदै हिँड्ने अनि कहीँ भने स्थानीयका गरिखाने स्रोत नै नष्ट पारिदएर जिउँदै मारिदिने काममा पनि यी अग्रसर हुँदै आएका हुन्। धनुषाको श्रीपुरमा मारिएका ओमप्रकाश यसै शृंखलाको पछिल्लो प्रकरणमात्र हुन्।

सम्पत्ति राज्यको तर दोहन र प्रयोग भने व्यक्तिगत हुन थालेपछि यस क्षेत्रबाट अथाह कमाइ हुन थाल्यो। कमाइ हुन थालेपछि कतिपय ठाउँमा स्थानीय नेता र हुनेखाने पनि यसतर्फ आकर्षित हुन थाले। अनि कतिपय ठाउँमा भने साझेदारी पनि चल्यो। यसरी राज्यको सम्पत्ति दोहन र त्यसबाट प्राप्त आम्दानी बाँडफाँटमा समेत मिलेमतो भएपछि यसमा संलग्नहरू बलिया भए। एकातिर राज्यका सुरक्षा निकायलाई प्रभावित तुल्याउने हैसियतमा पुगे भने अर्कोतर्फ राजनीतिककर्मीसँग गाँसिएको लगनगाँठोका कारण उनीहरूका जस्तासुकै कुकर्म पनि क्षम्य हुन थाले। अझ कतिपय अवस्थामा त उल्टै संरक्षण र बचाउसमेत गर्न थालिए।यसरी बढ्दै गएको क्रसर उद्योगीको मनोबललेपछिल्ला समय सीमा नाघेको धेरै ठाउँमा देखिएको हो। कहीँ आफ्ना डोजरले मान्छे नै किचिदिने, कहीँ टिपरले साँढेझैँ जथाभावी हिर्काउँदै हिँड्ने अनि कहीँ भने स्थानीयका गरिखाने स्रोत नै नष्ट पारिदएर जिउँदै मारिदिने काममा पनि यी अग्रसर हुँदै आएका हुन्। धनुषाको श्रीपुरमा मारिएका ओमप्रकाश यसै शृंखलाको पछिल्लो प्रकरणमात्र हुन्।क्रसर उद्योगका नाममा यसमा संलग्नले जे÷जस्ता वितण्डा मच्चाउँदै आएका थिए, उनीहरूले त्यसबापत सजाय भोग्नै परेन। कारण माथि भनिएझैँ कि त उनीहरू कारबाही गर्नेका ‘नजिक’ थिए कि त साझेदार बनेका थिए। यस्तो अवस्थामा उनीहरूले जे गर्छन्, त्यो कहिल्यै कारबाहीयोग्य बनेन। जसले उनीहरूलाई कुकृत्य गर्न उक्साइरह्यो। सर्वसाधारणले केही गर्न नसक्ने, केही गर्न सक्नेले भने वास्तै नगर्ने अवस्था उनीहरूका लागि ‘भगवान दाहिना’ सरह थियो। ओमप्रकाश यही अवस्थाको सिकार भएकामात्र हुन्। उसै पनि आफ्नो जीविका संकटमा पर्न थालेपछि त्यसको विरोधमा उत्रनु स्थानीयको बाध्यता थियो। त्यसमाथि मेकानिकल इन्जिनियरिङ पढिरहेका ओमप्रकाशलाई डोजरको जथाभावी प्रयोगले भौगर्भिक सन्तुलनमा ल्याउने विखण्डनबारे अलिक बढी जानकारी हुनु स्वाभाविक थियो। अलि पढे÷लेखेको, बुझे÷जानेको भएकाले उनले यस्तो विरोध कार्यको नेतृत्व सम्हाल्नु पनि उचित थियो। तर,क्रसर उद्योगीका लागि यस्तै जानकार बाधक बन्दै आएका थिए। त्यसैले आफ्नो अवरोधकलाई सदाका लागि सिध्याइदिँदा ‘हाइसन्चो’ हुने ठानेर ओमप्रकाशको जीवन नै समाप्त पारिदिए। यो ओमप्रकाश एकजनाको मात्र जीवनको सवाल हुँदै होइन। उद्योगको आवरणमा आपराधिक क्रियाकलाप सञ्चालन गरिरहेका एउटा समूहको दादागिरी कहिलेसम्म चल्न दिने भन्ने प्रश्नसमेत हो। मुलुकले कानुनी राजको लिक छाडेको प्रमाण हो र प्रमाण हो– आपराधिक क्रियाकलापमा संलग्नप्रति दण्डहीनता कायमै रहेको। यसअघिका घटनामा क्रसर उद्योगीले गर्दै आएका गैरकानुनी क्रियाकलाप नियन्त्रण गरी उनीहरूलाई कारबाहीको घेरामा ल्याइएको भए यस्ता समाचार पक्कै दोहोरिने थिएनन्।

ओमप्रकाशलाई आफ्ना क्रियाकलापमा अवरोधक नबन्न आग्रह गर्दै क्रसर उद्योगीले ५ लाख रुपियाँसम्मको मोटरसाइकलसमेत किनिदिने आश्वासन दिएका रहेछन्। त्यसपछि ‘जे पनि हुन सक्छ’ भनेर धम्क्याएका उनका आफन्तले सुनाएका छन्। यसरी धम्क्याएको एक वर्षपछि उनी मारिनु संयोगमात्र पक्कै थिएन। तर अहिले मार्ने कार्यमा संलग्नहरू यो घटनालाई ‘दुर्घटना’ मा परिणत गर्न ‘साम–दान–दण्ड–भेद’ सहित लागिपरेका छन्। एकातिर ओमप्रकाश लोभी थिएनन् र उनी व्यक्तिगत स्वार्थका लागि विरोधमा लागेका थिएनन् भन्ने पुष्टि भएको छ भने अर्कोतिर बरु ज्यान दिन तयार हुने तर कुकृत्यको विरोध गर्न नछाड्ने अडान लिएर वर्तमान राजनीतिककर्मीहरूलाई गतिलो पाठसमेत सिकाएर गएका छन्।प्रत्येक जीवनको मूल्य उत्तिकै महत्वपूर्ण छ। त्यसैले ओमप्रकाश पनि होनहार युवा थिए जसलाई गुमायौँ हामीले। यो क्षति कुनै पनि हालतले पूर्ति हुनै सक्दैन। तर, आगामी दिनमा यस्ता घटना नदोहो¥याउन सबै पक्ष लागिपर्नुपर्छ। र, अझ मुख्य गरी सरकारसंवेदनशील हुन जरुरी छ। यो भनेको घटनाबारे चाँडो र निष्पक्ष छानबिन गर्ने र संलग्न देखिएकालाईकानुनअनुसार हदैसम्मको कारबाही गर्ने हो। यसो भए आगामी दिनमा यस्तो घटना गराउन तम्सनेहरू झस्किनेछन्। समग्रमा सरकार यस्तो आपराधिक क्रियाकलापमा संलग्नहरूलाई कारबाही गर्नमा शून्य सहनशीलतासाथ प्रस्तुत हुनैपर्छ।

प्रकाशित: २७ पुस २०७६ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App